​सेवा हैन, धोकाको अर्को नाम


Friday, 28 Dec, 2018 1:58 PM

  • संकेत कोइराला

एउटा जंगलमा विभिन्न जातका प्राणीबीच अगाध प्रेम थियो । यो प्रेममाथि डाहा गरेर कसैले जंगलमा आगो लगाइदिएछ । सबै जनावर आत्तिएर नजिकैको अर्को जंगलमा शरण लिन गए । तर, एउटा सानो चरा भने निडरतापूर्वक कुवा नजिकैको खाल्डोबाट पानी ल्याउँदै माथिबाट चुहाएर आगो निभाउने कोसिस गर्दै रहेछ । अरू जनावरले भनेछन्– ‘हे मूर्ख चरा, तेरो चुच्चोको पानीले जंगलको आगो निभ्दैन, बरु तँ उल्टै जलेर मर्न बेर छैन ।’ मुखभरिको जवाफ दिँदै त्यो चराले साहससाथ भनेछ– ‘डरछेरुवाहरू, तिमीहरूलाई केवल आफ्नो प्राणको चिन्ता छ । म इतिहासमा मरेर पनि अमर रहनेछु । कमसेकम कोसिस गरेँ नि !’ 

देशका ठूला दल जितेर पनि हारेका छन् । असन्तोषको आगो लाग्दा एउटा चराले जति प्रयास गर्ने कुनै माइकालाल देखिएनन् । न व्यक्ति फेरिए, न चरित्र फेरियो । अंकगणितमा दुईतिहाइ पाएको सरकार साहसमा चारतिहाइ खुम्चिएको छ । पूर्वराजा ज्ञानेन्द्रले एकपल्ट ‘रेसम फिरिरी’ को तालमा नाचेजस्तो गर्दा दुईतिहाइ सरकारका क्याप्टेन आत्तिएर झण्डै भीरमा विमान जोत्न तयार देखिए । ज्ञानेन्द्रले नियतवश चारपटक नाचिदिने हो भने संघीयताको सम्पूर्ण पिलर रसातलमा भासिने खतरा देखियो । नेपालका कम्युनिस्ट नेताको लागि साम्यवाद एउटा नशाबाहेक केही भएन । नारा छ, आत्मविश्वास छैन । आत्तिएका प्रधानमन्त्रीले अब भन्न बाँकी छ, ‘मजस्तो दूधले नुहाएको व्यक्ति प्रधानमन्त्री पाएपछि अरूथोक खोज्ने सरकारविरोधी हुन् ।’

सिद्धान्त र व्याख्याका नाममा बीपीको समाजवादबाहेक अरू सूचनाबाट विमुख त्यही कांग्रेसले नाकबाट पानी पिउँछ कि घाँटीबाट भनेर हिसाब लाउनु कम्युनिष्ट नेताको दिनचर्या बनेको छ । कांग्रेसभित्र पानी प¥यो भने कम्युनिष्टका पार्टी अड्डामा छाता बोक्नेहरूको जमात तयार हुन्छ । राजनेता हुने मौका पाएर दम्भका कारण राजनीतिक डनमा सीमित गिरिजाप्रसाद कोइरालाको अपाच्य शैलीलाई अहिलेका कम्युनिष्ट मुखियाहरूले अक्षरशः गुरुमन्त्रका रूपमा टिपेका छन् । चिटिक्क भएर हिँड्ने ड्रेस कोडदेखि ‘म नै राज्य हुँ’ भन्ने घमण्डको प्याकेजले समान घरबार गरेको छ । उनीहरूको रुचि कांग्रेसको भन्दा सम्भ्रान्त छ । आपूm माथिकालाई चाकरी गर्नु र मुनिकालाई चाकरी गराउनुमा कम्युनिष्ट नेता झन् खप्पिस देखिएका छन् । सके व्यक्तिगत, नभए गुटभन्दा माथि नउठ्ने थिति व्याप्त छ । एउटालाई राहत दिलाउन लाखौंलाई आहत बनाउने प्रतिस्पर्धा छ । सिंहदरबार गाउँ लैजाने बहसमा भर्खरै काठमाडौंमा बंगला जोडेकाहरूको सक्रिय सहभागिता देखिन्छ । यस्तो हुनु अम्लेट चाहिने, अण्डा नि फोर्न नदिने षड्यन्त्र हो । 

मतदाता पनि उस्तै देखिए । फेसबुकमा क्रान्ति उराले तर भोट तिनै गाली गरिने जनमाथि खन्याए । अमेरिका जस्तो देशमा घरजग्गा कारोवारी डोनाल्ड ट्रम्प सारथी भए । छिमेकी भारतमा केजरीवाल, अन्ना हजारे हुँदै योगी आदित्यनाथजस्ता पात्र सतहमा आए । चीनमा त झन् दुई बीस हाराहारी उमेरकाहरू कार्यकारी तहमा पुगिसके । २१ वर्षकी रञ्जु दर्शनाजस्ता पात्रलाई भोटको अंकगणित र राजनीतिक दाउपेच दुवैमा निर्वल बनाइयो । केपी ओलीलाई स्थानीय तहमा आफ्नो दल पहिलो भएकोमा खुशी लागेन बरु कांग्रेस दोस्रो कसरी भयो भनेर मनलाई मरिच बनाउनेतर्पm केन्द्रित भए । शेरबहादुर देउवालाई पार्टी डुबेको भन्दा प्रचण्डपुत्रीको कल्याण नहोला भन्ने चिन्ताले खग्रास बनायो । आर्थिक लाभांशको शेयर र राजनीतिको मेयर दुवै खोज्दा नेताहरू झन्झन् नांगिदै गए । यसरी चण्डमुण्ड, हुक्के, ढोके, नन्दीभृंगीले बचाएको लाजले कति दिन धान्नु ? 

नेपालमा बेथितिको उपचार गफले नभएर शल्यक्रियाबाट खोज्नुपर्ने अवस्था आएको छ । मलेशियाको कायापलट गर्ने महाथिर मुहम्मद, सिंगापुर बनाउने लिक्वान यु, बिहारलाई दोहोरो अंकको आर्थिक विकासमा पु¥याउने नितिशकुमार आएर हाम्रा मुखियालाई प्रवचन दिए पनि केही फरक पर्दैन । यस्ता व्यक्तित्वसँग बसेर एकाधवटा कुम जोडी फोटो खिच्नेभन्दा दोस्रो कर्म उनीहरूले जानेकै छैनन् । हामी पछि परेको नजानेर, नबुझेर, नदेखेर नभई नियत नै खोटो भएर हो । सरकारको नीति कार्यक्रमभन्दा प्रधानमन्त्रीको कमेडी चरित्रको चर्चा छ । यहाँ नेताको त्यागभन्दा बब मार्लिनको लट्टे कपाल बिक्छ । राखी सावन्तको छिल्लिएको मादक नखरा बिक्छ । नेपालमा मानिसको भिजन हैन, पोर्नस्टार सन्नी लियोनको अर्धनग्न जवानी बिक्छ । अझ विश्वबाट काम नलाग्ने भनी मिल्काइएको माओ डक्ट्रिन भित्तामा पु¥याइँदा पनि अभैm टालाटुली बटुलीका शैलीमा तानतुन पारेर राजनीतिक भोटो सिउने प्रयास गरिन्छ । यसरी क्रान्तिका नाममा रोपिएका धतुरोबाट धानको अपेक्षा गरिन्छ । अनि धान नफल्दा पुर्पुरोलाई धिक्कार्ने काम हुन्छ । विकास वादले नभई इच्छाशक्तिले हुन्छ भन्ने नर्सरी बालकले बुझेको सत्य तिनका हजुरबा पुस्ताको मथिंगलमा पसेको छैन । जीवनको पूर्वाद्र्धलाई उपेक्षा गरियो भने उत्तराद्र्धमा पुगेर बुझेको सत्य काम लाग्दैन । 
भूपि शेरचनको कविताले अरूलाई मिठास दियो । तर, जीवनको उत्तराद्र्धमा उनले निश्कर्ष निकाले– आपूmलाई दुईवटा क ले बिगारे । जसको अर्थ थियो– कविता र कम्युनिष्ट । जीवनभर नास्तिकवादमा कलम चलाउने लक्ष्मीप्रसाद देवकोटाले ब्रह्मनालमा पुगेपछि भने, ‘आखिर श्रीकृष्ण रहेछ एक ।’ विश्व राजनीतिमा निरंकुशताको सजीव पात्र सम्झिइने हिटलर कालिदासको शाकुन्तल महाकाव्यका प्रशंसक मात्र भएनन्, आर्य संस्कृतिको प्रतिरक्षा गरे । त्यसैले राजनीतिका नाममा मनमा एकथोक, बोलाई अर्को र गराई तेस्रो खाले संस्कृति नत्यागेसम्म हाम्रालागि राजनीति सेवा हैन, धोकाको अर्को नाम हुने निश्चित छ । 

क्रान्तिका नाममा जिन्दगीभर बन्दुक र बारुदको धतुरो रोपेका प्रचण्डले साठी नाघेपछि गरेको क्रान्तिको रहर आत्मघाती सिद्ध भएको छ । यस्तो कर्मले सेना र पुलिसका अगुवा–पछुवा बढाए पनि मलामी नबढाउने पक्का छ । सर्वहारा हैन, सर्वआहारा अनि दाँती मिलेका घर भएका धनाढ्यहरू यो पार्टीको चुलो चौकोमा पुगेपछि रगत र पानीको भेद अन्त्य भएको छ । धनयुद्धको राप र तापमा टिक्न नसकेर जनयुद्धका महिषीहरूको हातमा पश्चातापसिवाय केही हात लागेन । माओवादी नेतृत्वले जब शहरी नुनसँग बढी सम्झौता गर्न थाल्यो, ऊभित्रको रातो रंग खरानी बन्दै गयो । 

पुरुषको सफलतापछाडि महिलाको हात हुन्छ । यो सुल्टो व्याख्या भयो । तर, उसको असफलता पछाडि महिलाको हात हुन्छ हुँदैन ? यो पेचिलो प्रश्नको उत्तर त्यति सहज छैन । वर्तमान मन्त्रीहरूको सम्पत्ति विवरणमा उनीहरू सुनपति देखिनुको मनोविज्ञान पनि यसैसँग जोडिएको छ । धन त आउँछ, जान्छ । धन गएर मानिस बिग्रँँदैन तर चरित्र गयो भने मरेको म¥यै हुन्छ । विश्वका राजनेताले बद्नामीबाट बच्न पारिवारिक बन्धन चुँडाल्ने हिम्मत गरेका छन् । उनीहरूले राजनीतिको अम्लेट खान खोजे तर अण्डाको माया गरेनन् । पतिको शारीरिक कुरूपताप्रति तीव्र वितृष्णा भाव राख्ने मेरी टोड लिंकन कर्कश स्वभावकी थिइन् । विलासी जीवनको चाहना राख्थिन् । यसविपरीत अब्राहम लिंकन शान्त, सादा, सरल र विनयी थिए । कतिसम्म भने स्प्रिंग फिल्डमा रहँदा उनले लिंकनको मुखमा तातो कफी मिल्काइदिएकी थिइन् ।

संसारको कुनै पनि मनुष्यले आफ्नो दाम्पत्य जीवन पीडादायी र कष्टकर बनोस् भनेर चाहेको हुँदैन । समाजका सामान्य मानिस मात्र होइन, ख्यातिप्राप्त महामानवहरूको सोचाइ पनि यस्तै हुन्छ । तर, शक्ति र सत्ताको राजकीय मर्यादाका कारण यी महान् दम्पतीको पारिवारिक जीवन सदैव विषादपूर्ण रह्यो । भारतीय स्वतन्त्र संग्रामका महारथी महात्मा गान्धी श्रीमती कस्तुरबा गान्धीलाई एक सय चार डिग्री ज्वरो आउँदा पनि वास्ता गर्दैनथे । विश्वविख्यात राजनेता मण्डेला जब सत्ताको सम्प्रभुताको सिंहासनमा बस्न पुगे दुःखका दुष्कर यात्रामा साथ दिने पत्नी बिन्नीलाई त्याग नगरी धर पाएनन् । लोकतन्त्रको मातृभूमि मानिने बेलायती युवराज चाल्र्स र डायनाले परस्परमा छिन्नभिन्न हुनुप¥यो । माओ त्सेतुङ व्यक्तिगत हैसियतमा अत्यन्त कम खर्च गर्थे । पुरानो कोट र खुइलिएको कमिज नफाटुञ्जेल लगाउँथे । १९५८ तिर चिया र मासु महँगो ठानेर खानै छोडिदिए । तर, श्रीमती बटुल्ने र सन्तान जन्माउनेमा यिनी लापर्वाह थिए ।

४८ वर्षको उमेरमा २३ वर्ष कान्छी चियाङ चिङसँग चौथो घरजम गरे । उनको विलासी व्यवहार सम्झिनेहरू अहिले पनि नाक खुम्च्याउँछन् । आफ्नो परस्त्रीप्रतिको रुचिमा सुशीलाको गुनासो रहने गरेको स्वयं बिपीले उल्लेख गरेका छन् । अरू त अरू हरे कीर्तनमा लागेकी श्रीमतीको व्यवहारबाट जीवनको उत्तराद्र्धमा देशको मन्त्री भइसकेका लक्ष्मीप्रसाद देवकोटा आजित थिए । त्यसबेलाका धर्मगुरु कविप्रसाद गौतममाथि धर्मको आडमा समाज भाँडेको आरोप थियो । धर्म आवरणमा उनी महिलालाई जुठो ख्वाउने, खुट्टा ढोगाउने, खुट्टा धुन लगाएर पानी ख्वाउनेजस्ता काम गर्थे । एकातिर रोगी देवकोटा उपचार खर्च नपाएर थलिएका थिए भने अर्कातिर देवकोटा पत्नी मनदेवीमा यस्तो धार्मिक भूत चढेको थियो कि उनी लोग्नेको आँखा छलेर दहीको कतारोभित्र चाँदीको मोहोर लुकाई गुरु पोस्ने गर्थिन् । समाजमा अपराध बढेपछि गेरुवस्त्रधारीहरूको व्यापार पनि स्वतः बढ्छ । समय फेरियो, पात्र फेरियो तर शैली र प्रवृत्ति अहिले पनि उस्तै छ । जताततै कर्मवादीभन्दा भाग्यवादीको उपस्थिति सघन बन्दै गएको छ ।

मानिसको लामो यात्रा ठूलो पहाडले होइन, जुत्तामा अडकिएको सानो ढुंगाले छेक्छ । समुद्रमा कति पानी छ भनेर तर्क कुतर्क गर्नुको अर्थै छैन । बरु तपाईंको लोटीमा कति पानी अटाउँछ ? त्यो पो मुख्य सवाल हो । काठमाडौंका केही पात्र यति पुलपुलिएका र पाखण्डी छन् कि डाक्टरले भनिदिने हो भने तिनीहरू पानीसमेत साबुनले धोएर खान बेर लगाउँदैनन् । औंसीको रातमा उज्यालोको गीत गाउनु ती चिल्ला सुकिलाहरूको दिनचर्या हो । रगत चुस्न आउने लामखुट्टे त टाढैबाट टिं.....गर्दै थाहा दिएर आउँछ भने दुष्ट आत्मा भएका मान्छेहरूले पनि आपूm बस्ने घर कालो रंगले पोतिदिए कमसेकम असल मानिसले गोता खानु पर्दैनथ्यो कि ? तर, यस्तै मान्छेहरू बाघ, भालु नलाग्ने शहरमा आफ्नो घरलाई कोक्रोजस्तो छेकेर बस्छन् । अनि आपूmलाई नौनीको डल्लो ठान्छन् । समाज नामको चिजले पनि प्याच्चै भनिदिन्छ– वाह, कमाल होस् त त्यस्तो । 


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

Top