​सानी पराइ भएपछिका अनेक सपना


Friday, 28 Dec, 2018 1:55 PM

यस्तो हुने थाहा पाएको भए पहिले नै किन परिन्थ्यो र मायामा ? किन गाँसिन्थ्यो र पिरती सानीसित गाउँसमाजको दुश्मन बनीबनी ? आज त्यही मायाले उसलाई घर न घाटको बनाएको छ । यसरी दुनियाँसामु जोगीजस्तो, पागलजस्तो भएर बाँच्नुपर्छ भन्ने सपनामा पनि सोचिएको थिएन । बालककालमा अति मीठो कल्पना थियो प्रेमको, अहिले युवावस्थामा तीतो टर्राे यथार्थ भोगिँदै छ । 

बसाइँ सर्दै ०५६ सालमा गैंडाकोट पुगेको हो उसको परिवार । त्यो बेला १२÷१३ वर्षको हुँदो हो । सानीको घर अगाडिपट्टि सानो टुक्रा ऐलानी जग्गामा ब्लकको छाप्रो बनाई बसेका । कालिका माविमा कक्षा ६ मा भर्ना हुँदा सानी कक्षा पाँचमा पढ्थी । सानैदेखि पढाइलेखाइमा तिक्ष्ण दिमागको ऊ । सानी पनि पढाइलेखाइमा निकै मन गर्थी । कक्षा फरक भए पनि एउटै स्कुल सँगसँगै जान्थे, आउँथे । कान्छी छोरी सानी साह्रै राम्री । घर, स्कुल जताततै मन पराउने केटाहरूको कमी थिएन । तैपनि, सानी उसैलाई बढी मन पराउँथी । कुनै दिन नदेख्दा, नभेट्दा बेचैन हुन्थे दुवै । भाँडाकुटी, रुमाल लुकाई, चिंमुसी खेल्दाखेल्दै एकअर्कालाई मन पराउन थालेका । जानी नजानी प्रेमपत्र कोरेर मायाका भावना साटासाट गरेका । एकअर्कालाई विश्वास दिलाउन हातै काटेर रगतले समेत पत्र लेखेका । 

तर सानीको परिवारलाई यो सम्बन्ध अलिकति पनि पाच्य भएन । सुष्मिता (परिवर्तित नाम) मगरकी छोरी । कान्छी भएकीले सबैले सानी भनी बोलाउने । केटाकी ममी कँडेल भए पनि बाबु परियार भएकाले उसलाई सबैले दमाई नै भन्ने । त्यसैले सानो जातिको केटासित लागेकी भन्दै प्रेमको तगारो बन्यो सानीको परिवार । बच्चाबच्चीको मायामा पनि यसरी खनिए कि पानी नचल्ने केटाले उपल्लो जातिकी केटीसित लभ गरेको भन्दै समाज नै डाकेर कारबाही चलाए । आफ्नी छोरीलाई पनि बेस्सरी पिटे, कराए । अबउप्रान्त सानीसित नभेट्न उसलाई बारम्बार धम्क्याइरहे । तैपनि ऊ सानीलाई हेर्न, भेट्न जहाँ पनि पुग्थ्यो । सानी पनि आमाबाबुको आँखा छलीछली उसलाई भेट्थी । नमुना थियो उनीहरूको प्रेम । ठुल्ठूलैले वाह भन्थे । ईष्र्या गर्नेहरू त कति–कति ! उनीहरू कतै भेटेको, बोलेको देखेर सानीका आमाबाबु र दाइलाई कुरा लगाइदिने हुँदाहुँदै उही उमेरका साथीसंगीको साथ–सहयोग पाएको थियो उनीहरूको मायाले । साथीसंगीले नै घरमा अनेक बहाना बनाएर भेट्ने वातावरण मिलाइदिन्थे । सानीसँग भोलिको घरजम, बालबच्चाको सुन्दर सपना सजाएको थियो उसले । सानीले पनि उसको सपनाको महलमा इँटा थप्दै गइरहेकी थिई । घर आमने–सामने । राति एकअर्काको कोठामा सुत्न पुग्थे । बिहान मर्निङवाक (रनिङ) को बहानामा झिसमिसेमै भेट्न निस्कन्थे । एकार्काको आलिंगनमा बाँधिन्थे अनि आकाशमा देखिएको चन्द्रमालाई साक्षी राख्दै पति÷पत्नी भएको स्विकार्थे । केही दिनअघि चौरमा एक्लै सुत्दा देखिएको चन्द्रमा हेर्दै विगतका ती पल सम्झिरहेको थियो ऊ गहभरि आँसु बनाउँदै ।

भात गिलो हुँदा पनि त्यही दमाईलाई सम्झेर बसेकी थिई होली भन्दै कुट्ने कराउने गर्थे सानीका बाबुआमा । यस्तै टोकसोले पनि सानी उसलाई छाड्न विवश भएकी हो । ऊसँग जाँदा सानीले आफ्नो परिवार र आफन्तीको नाता नै तोडेर जानुपथ्र्याे, जसरी उसकी ममीलाई अहिलेसम्म माइतीले बोलाएको छैन । त्यसैले बेलाबेलामा आफूलाई बिर्सिदिन भन्थी, ‘यो जुनीमा तेरो हुन नसके पनि अर्काे जुनीमा तेरै हुनेछुु’ भन्दै । साँच्चिकै दशक लामो प्रेम सम्बन्धलाई तिलाञ्जली दिँदै पाँच वर्षअघि सानी यो जुनीमा उसलाई सधैंका लागि छाडेर गई धादिङतिरको एउटा व्यापारी केटासित । वर्षाैंपछि हालसालै गत महिना माइत आएकी बेला बाटोमा देखादेख भयो । सानी छोरा र आमासित आउँदै थिई । आमासित भएकीले बोलचाल भएन, नत्र हाँसेकी थिई सानी उसलाई हेरेर । त्यो बेला टाढैबाट उसलाई देख्नासाथ बल खेलाउँदै हिँडिरहेको ३÷४ वर्षे छोरा उक्त भकुण्डो छोडेर आमाको काखमा लुट्पुटिन गयो । त्यो देखेर हजुरआमाचाहिँ नातिलाई ‘हैन के भयो यसलाई ?’ भन्दै थिइन् । 

छोडी गयौ भनेर प्रिय, गुनासो गर्न खोजेको होइन

सुखमा रमेकी तिमीलाई दुःख देखाउन खोजेको होइन ।

तर, दुख्न त दुिखरा’छ छातीभित्र बिछोड व्यथा बनी

यादहरूमा जलेर कतिञ्जेल बाँचँु ? सक्दिनँ तिमीलाई भुल्न पनि

हात समाई पाठशाला गएको, घरमा आई रुमाल लुकाई खेलेको

पराईलाई हेर्दा जलेर दुवैले अरू कसैको नहुने वाचा गरेको 

तर पराई बनी गयौ भनी बिलौना गर्न खोजेको होइन

सुखमा रमेकी तिमीलाई दुःख देखाउन खोजेको होइन ।

हो प्रिय हाँसेको रोएको, आँखाको आँसु ओंठले पिएको

कल्पनाको देशमा दुवै मिली एउटा सुन्दर घर सजाएको 

रगतको चिठी अन्तरात्माको भावना नपढेको दिनै हुन्थेन

पिरती बढाउन जुठो खोसी खान्थ्यौं पलपल नभेटी मनै मान्थेन

अतीत सम्झाएर तिमीलाई आफ्नो भन्न खोजेको होइन

सुखमा रमेकी तिमीलाई दुःख देखाउन खोजेको होइन । 

सानीकै यादमा उसले लेखेको कविता हो यो । वियोगान्त गीतहरू सुन्दा अतीत सम्झिएर जल्दै रुन्छ, आँसु थाम्नै सक्दैन । ‘सधैं सधैं
आइरहन्छ तिम्रो यादहरू.....’ बोलको गीतमा ‘हेर्दाहेर्दै पारि क्षितिजलाई आँसु खस्छ थाहै नपाई, सक्ने भए फर्काई ल्याउँथें म मेरी माया तिम्रो
हात समाई’ हरफ सुन्दा झन् निकै भक्कानिन्छ, आफूलाई सम्हाल्नै सक्दैन । हुन पनि अर्कैकी श्रीमती तथा बच्चाको आमा नभएकी भए
संसारको जुनसुकै कुनामा भए पनि ऊ बुताले भ्याएसम्म सानीलाई खोज्ने थियो, फर्काइल्याउने थियो । सायद आफ्नी बाल्यकालदेखिकी प्रेमिकासितै बिहे भइदिएको भए यस्तो हुन्थेन कि ! 

समाजले सानैदेखि अछुत दमाईं भन्दै अपहेलना गर्ने, साथीभाइको घरमा जाँदा ढोका बाहिर अलग्ग बस्नुपर्ने, खानेकुरा पनि कुकुर–बिरालालाई
जस्तो छुट्टै दिने जस्ता छिःछिः दूरदूरपूर्ण व्यवहार भोगेको ऊ । सानीको परिवार र आफन्तबाट उस्तै तिरस्कृत तथा प्रेममा अड्चन अनि घरको गरिबी । विस्तारै उसको ध्यान पढाइमा भन्दा लागुऔषध सेवन एवं विकृति–विसंगतितिर धकेलिन थाल्यो । सानीले छाडेर गएपछि झनै बढी दुव्र्यसनमा फसेको उसलाई तत्काल बाबुआमाले सुधार केन्द्रमा हालिदिए । तर, त्यहाँबाट घर गएको एक÷दुई महिनामै पुनः लागुऔषधमा फर्कियो ऊ । १२ पास नहुँदै पढाइ छाडिसकेको, बाबुको काममा सघाउँदै थियो । बाबु चितवनमा स्थानीय साप्ताहिक पत्रिका चलाउँछन् । 

सानी गएपछि उसले कतैबाट त्यस्तो प्रेम पाउन सकेन । लागुऔषधमा अझ बढी भुल्न थाल्यो । चुरोट, सुर्ती, गाँजा, रक्सीदेखि ट्याप, चरेस र सिरिञ्जसम्म प्रयोग गर्न लाग्यो । यसपछि परिवारले वैदेशिक रोजगारीमा कतार पठाइदिए, एक वर्षमै फर्केर आयो । विदेशबाट आएपछि अरू लागुऔषध छाडे पनि गाँजा त्याग्न सकेन । एउटी प्रेमिका वा पत्नीको धोको पनि नपालेको थिएन । त्यसैले बहिनीको घरमा टेलरिङ गर्न बसेकी मेघौलीतिरकी चौधरी केटीलाई विदेशबाट आएको केही महिनामै बिहे गरी ल्यायो । त्यसपछि झन् उसको जीवनमा यति ठूलो झट्का लाग्यो कि अब घरमा कुनै बुहारी ल्याउनै नसक्ने हालतमा पुगेको छ ।

बिहे गरी ल्याएको दुई÷तीन दिनमै युवती काम गर्न बसेको घरका बूढाबूढी उसको घरमै आए र बूढाले ३०–३५ वर्षीया ती युवती आफ्नी कान्छी
श्रीमती भएको बताए । उनकी बूढीले पनि आफ्नो पतिसित स्वास्नीसरह बसेको जनाउँदै कान्छो छोरासित पनि सुतेको सुनाइन् । अनि
बाबुछोरासितै सुतेकी केटी आफ्नो बाबुसित पनि लाग्ली भन्ने सोच पैदा भयो उसको दिलदिमागमा । बाबुको राति घुर्ने बानी । अब सुत्ने बेलामा बाबुले घुरेको पनि सुन्नै नसक्ने भयो उसलाई । त्यसैले राति मोबाइल बजाएर सुत्थ्यो ऊ बाबु घुरेको आवाज आफू र आफ्नी स्वास्नीको कानमा नपरोस् भनी । यही कारण घर र बाबुको कामसमेत छोडेर कोठा भाडामा बस्न थालेको थियो ।

स्थानीय पत्रिकामा समाचार लेख्दालेख्दै राष्ट्रिय पत्रिकामा पनि पठाउन थालेको थियो । नाम चलेको राष्ट्रिय मिडियाले रामै्र स्थान र पारिश्रमिक दिएपछि एक्लै बसेर पनि जीविका चलाउन सक्ने हिम्मत बढ्दै थियो उसमा । आफ्नै घरमा श्रीमती राख्न नसक्नेले अन्त के सक्नु ? यस्तै तनावका बीच सल्लाहमै ती युवतीसित छुट्टियो, कोठामा एक्लै बस्दा गाँजाको झनै अम्मली बन्न पुग्यो । बाबुले फेरि उही मान्छे लगाई समातेर सात महिनाजति कोचिदिए सुधार केन्द्रमा । काठमाडौंको त्यो बन्दीगृहमा चर्काे शारीरिक मानसिक यातना भोगेर घर आएकै दिन तान्यो उसले । फेरि गाँजा खान शुरु गरे पनि घरमा बसेर बाबुको व्यवसाय हेर्दै थियो । लगभग सबै काम आफैं धान्न सक्ने भइरहेको थियो । राष्ट्रिय पत्रिकामा पनि समाचार, लेख पठाउन छोडेन । पहिलेभन्दा अलि कमाउन सक्ने बन्यो । 

आमाबाबु सुगर र प्रेसरको रोगी । आमाको हातमा दुखाइ पनि छ । त्यसैले घरमा बुहारीको खाँचो भयो भन्दै परिवारले फेरि विवाहका लागि जोड
दिन थाले । एउटी केटी खोजिदिएर बिहे गरोस् भनी घरमै बोलाइदिएका थिए दुई महिनाअघि । फेरि पनि बिहे गरी घरमा राख्न सकेन उसले ।
अघिको जस्तो केटीको चारित्रिक कुराले नभए पनि अब कसैसित बिहे गर्नै सक्दिनँ भन्छ ऊ । घर ठूलो छैन । यता घुरेको उता सुनिन्छ, उता खोकेको यता । बाबुको घुराई सुन्न÷सुनाउन फेरि पनि मनैले मानेन । यस्तै कुराले फेरि घरझगडा भएको छ, बाबुको काम छोडेर बाहिरबाहिरै बस्न थालेको छ । हिजोसम्म काममा सघाउँदा ‘छोराले राम्रै गरेको छ, अहिले ठीक छु’ भनेर अरूलाई प्रतिक्रिया दिने उसको बाबु फेरि ‘यसको दिमाग ठिक छैन’ भन्दै उसलाई कि त मानसिक अस्पताल वा सुधार केन्द्रमा लाने सुरमा छन् । दुई हप्ता अघि बिहान सुतेका बेला घरमै भ्यानसहित मान्छे आएर ढोका ढकढकाउँदा झ्यालबाट भागेर बालबाल बच्यो । त्यसको दुई दिनपछि बहिनीको घरमा जाँदा त्यहीँ ढोका थुनेर राखिएको थियो, सुधार केन्द्रमा पठाउन । त्यहाँबाट पनि एउटी महिलाले ढोका खोलिदिएर अलिकतिले फुत्कियो । 
राष्ट्रिय मिडियामा राम्रै समाचार–विचार लेख्ने ऊ कसरी पागल हुन सक्छ ? उसकी आमा पनि छोरालाई त्यस्तो सुधार केन्द्र नै पठाउनुपर्ने वा पागलखाना पु¥याउनुपर्ने केही देख्दिनन् । जे होस्, बाबुको डरले अब त घर गएर बस्नै नसक्ने भएको छ ऊ । पछाडिबाट गाडी, मोटरसाइकल आएको आवाज सुन्दा पनि डराउँछ आफैंलाई उठाउन आएका हुन् कि भनेर । घरबाट भागेर कति दिन त चौर, पाटीमा सुत्यो । अघिल्लो शनिबारबाट खोलापारि दाह्री माइलाको पुरानो घरमा बस्ने, पकाएर खाने ठाउँ पाएको छ । मायामा यति साह्रो बगेको छ कि हिजोआज कुनै प्राणीमाथिको हत्याहिंसा सह्य हुँदैन उसलाई । माछा, मासु, अण्डालगायत दूध, दही पनि खाँदैन, शाकाहारी भएको छ । 

अचेल कोही केटाकेटी कतै डेटिङमा देख्दा सानीसितको विगत सम्झिन्छ, विवाहित जोडी र बच्चाबच्ची देख्दा आफ्नो हुन नसकेकोमा खिन्न हुन्छ अनि अरूका बाबुछोरा मिलेर हिँडेको देख्दा रहर गर्ने भएको छ । बाबुले चाहेजस्तो ‘ठीक छोरा’ एवं कसैको पति र पिता बन्न नसके पनि राम्रो रिपोर्टर÷लेखक बन्ने धोको पालेको छ । त्यसका लागि कोसिस पनि गर्दैछ । अलिअलि नाम, दाम र साम कमाउन थालेको अवस्थामा सानी आफ्नी भइदिएकी भए अझ बेग्लै आनन्द मिल्ने थियो प्राप्तिको, ऊ पनि खुशी हुने थिई सायद ...! त्यसैले पनि भक्कानिन्छ ऊ ‘कास आप हमारे होते ...’ सोच्दै ।

सानोमा कल्पना गरेजस्तो प्रेम, यौन र बिहे एकै धागोका माला नभएको यथार्थ उसले बुझिसक्यो । आफैंले भोगेरै अनुभव गरेको छ । प्रेमीप्रेमिका वा पतिपत्नीको छुट्टै संसार नहुने वास्तविकताले नराम्ररी झस्किएको छ । आफ्नी मायालु त मनको घरमा मात्रै सुरक्षित देख्ने भएको छ । मिडियाकर्मी भएको हुँदा ससुरा जेठाजु लगायतबाट घरमा बुहारीमाथि यौनशोषण, हिंसा, बलात्कारका घटना हुने गरेका पटकपटक सुनिरहेको हुन्छ । समाजमा श्रीमान्÷श्रीमतीबीचका बगे्रल्ती बेमेल, सम्बन्धविच्छेद, परपुरुष, परस्त्री सम्बन्ध पनि थुप्रै देखेको छ, ऊ आफैंले लेखेको छ । टोलछिमेकमा बुहारीकै सामु ससुराबाले छाडा बोल्ने, बुहारीलाई तँ भन्दै गालीगलौज गर्ने, बुहारी चेलीका अगाडि तौलिया मात्र बेरेर बस्ने पनि प्रायः देखिइरहन्छ । यी र यस्तै कुराले पनि उसको सोचमा अनौठो हलचल ल्याएको छ । ऊ भन्छ, ‘प्रेम र यौनमा कसैको भरोसा हुँदैन । आफ्नो त भर छैन भने अरूको के विश्वास ? लोभी आँखा पापी मन लिएर कसरी गाँस्नु बिहेको साइनो ?’ 

– अजय गोर्खाली
 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

Prabhu Bank Ltd.
Top