​मानिस कतिसम्म स्वतन्त्र हुन सक्छ ?


Friday, 28 Dec, 2018 1:53 PM

  • अधिवक्ता प्रेमराज सिलवाल

स्वतन्त्र व्यक्ति, स्वतन्त्र छानबिन, स्वतन्त्र आयोग, स्वतन्त्र पत्रकार, स्वतन्त्र लेखक, स्वतन्त्र बुद्धिजीवी, स्वतन्त्र विचार, स्वतन्त्र विश्लेषक, स्वतन्त्र मत, स्वतन्त्र विश्लेषण आदिका नाममा यसको अनेकौं सन्दर्भ र अर्थमा प्रयोग भएको देख्छौं, सुन्छौं । दलीय प्रजातन्त्रमा भएको मानिसलाई कस्तो भूमिका स्वतन्त्र मान्न सकिन्छ ? कुनै दलको विचार नजिक भएकै आधारमा ऊ स्वतन्त्र हुन्छ कि हुन्न ? कुनै पार्टीलाई मत नहालेको आधारमा मानिस स्वतन्त्र हुन्छ कि हुन्न ? आफूलाई लागेको विचार दिएको मानिस स्वतन्त्र हुने हो वा आफ्नोविरुद्ध विचार र धारणा राखेको कारण कुनै व्यक्ति गैरस्वतन्त्र हुने हो ? दलीय प्रजातन्त्र र आवधिक निर्वाचन भएको मुलुकमा कुनै न कुनै दललाई भोट हाल्नै पर्ने हुन्छ । मत नहाल्दा कुनै दल बहिष्कारमा छ भने उसको समर्थन वा जुनसुकै अर्थ लगाउन सकिन्छ ।

तीन करोडभन्दा कम जनता भएको यो देशमा वामपन्थी धारको प्रतिनिधित्व गर्र्ने नेकपा, परम्परावादी धारको प्रतिनिधित्व गर्ने कांग्रेस, क्षेत्रिय प्रतिनिधित्वको वकालत गर्ने मधेसवादीलगायत संसद्मा प्रतिनिधित्व भएका र नभएका राजनीतिक दल छन् भने निर्वाचनमा भाग लिएका वा नलिएका गरी सय हाराहारीमा क्रियाशील छन् । यस्तो अवस्थामा मानिस सम्पूर्णतः रूपमा स्वतन्त्र छ भन्नु राजनीतिक दर्शनको दृष्टिले वाहियात तर्क हो । मानिस पूर्ण स्वतन्त्र त्यस्तो अवस्थामा हुन्छ, जहाँ मृत्यु अचेत वा अर्धचेत हुन्छ । कुनै पनि राजनीतिक, सामाजिक वा सार्वजनिक सरोकारसँग सम्बन्धित विषयमा कसैले उसको विचार, धारणा, तर्क, विश्लेषण, मत राख्छ भने त्यहाँ निश्चित रूपमा कुनै विचार, वाद, धारणा, निकटता, सम्बन्ध, सरोकार, हित, स्वार्थ वा दलीय निकटता जोडिएकै हुन्छ । मात्रात्मक भिन्नता, रूपगत भिन्नता, प्रस्तुतीकरणको भिन्नता, शैलीगत भिन्नता, बुझाइको भिन्नता, दृष्टि भिन्नता आदि भए पनि कुनै विचार, दर्शन, धारणा आदिबाट प्रभावित नभएको विचारै आउन्न । आफैँले उत्खनन गरेको, आफ्नै मौलिक अनुसन्धानमा आधारित र पूर्णत ः नवीन धारणा विश्वमा कसैको पनि आउन सक्दैन, आएकै छैन । दार्शनिक प्लेटो पनि सुकरातबाट प्रभावित थिए । कार्ल माक्र्सको विचार पनि हेगेलको आदर्शवादी दर्शनको विपरीत वस्तुवादी दर्शन थियो । रुसी नेता लेनिनले ‘माक्र्सले हेगेल पचाएर भौतिकवादी दर्शनलाई जन्म दिएका थिए’ भनेका थिए । त्यसैले जसरी हामी स्वतन्त्रको सम्बन्धमा हल्का तरिकाले बोलिरहेका हुन्छौं र फलानो व्यक्ति वा समूहको धारणा स्वतन्त्र हो भन्ने तहमा पुग्छांै भने त्यो दार्शनिक दृष्टिले सत्यभन्दा टाढाको कुरा हुन पुग्छ । पहिलो र दोस्रो संविधान सभामा निर्वाचित पाँच सय ७५ बाहेक २६ जना मानिस ‘स्वतन्त्र बुद्धिजीवी’ मध्येबाट ल्याउने भनियो र त्यसैअनुसार गरियो । त्यहाँ को–को, कस्ता मानिसको मनोनयन भयो ? हामीले निर्वाचन आयोग, लोकसेवा, अख्तियारजस्ता निकायमा संविधानबमोजिम नियुक्त गरेका व्यक्ति पनि कुन हदका स्वतन्त्र थिए र छन् ? वास्तवमा भन्ने हो भने दल, विचार, आस्था, समूहगत निकटता, दलगत धारणाको पक्षपाती भएकैले ती व्यक्ति संवैधानिक निकायमा नियुक्त गरिएका हुन् र गरिँदै छन् । हामीले टेलिभिजन वा सञ्चारमाध्यममा विचार, लेख वा धारणा दिने स्वतन्त्र व्यक्ति वा बुद्धिजीवीलाई चिनेका छैनौं ? सत्ताको विरोधमा बोल्नासाथ प्रतिपक्षी कित्ताका लागि कोही स्वतन्त्र बुद्धिजीवी र विद्वान् ठहरिने । सत्ताको समर्थनमा सीधा वा घुमाउरो तरिकाले बोले ठूलो विद्वान्, स्वतन्त्र विश्लेषक दरिने कस्तो सोच हो ? बुद्धिजीवीका नाममा हालै पनि प्रधानमन्त्री केपी ओलीको उछित्तो काढिँदै छ । उहाँले बुद्धिजीवीको खोल उतारिदिन सक्ने धम्कीसमेत दिनुपरेको अवस्था छ । मानिस पूर्ण स्वतन्त्र रहनै सक्दैन । त्यसो भएर व्यक्तिलाई आफूलाई लागेको विचार, धारणा, दलीय वा दार्शनिक विचार, कुनै नीति वा कार्यक्रमको निकट वा विपक्षमा बोल्ने, धारणा राख्ने वा मत दिने पूर्णत छुट र अधिकार छ । यो भनेको प्राकृतिक कानुनको विषय पनि हो । मानिसको क्षमता, दक्षता, ज्ञान, सीप, विश्लेषण, धारणा, स्वभाव, अनुभव, बुझाई र पेश गर्ने तरिका अलग हुन्छ । यस दृष्टिकोणले व्यक्तिको धारणा वा कार्यशैली कसैलाई स्वाद लाग्ने वा नलाग्ने हुन्छ । विचार, धारणा, बुझाइ स्वतन्त्र नभएर पनि केही हानि गर्ने होइन । कुनै विचार, दर्शन, धारणा, दलीय निकटता, दलीय दृष्टिकोणको आधारमा पदमा बसेको व्यक्तिले सोही चस्माको आधारमा  कर्तव्य, कानुनी संवैधानिक दायित्व र जिम्मेवारी पूरा नगर्ने वा विचारको आधारमा भेदभाव गर्ने अवस्था आयो भनेचाहिँ पक्कै हानि हुन्छ । सार्वजनिक कर्तव्य भएको व्यक्तिइतर विचारका मानिस वा समूहप्रति नकारात्मक रहे भने त्यहाँ गम्भीर सवाल जन्मन्छ । त्यसैैले मानिस वा व्यक्ति विचारमा स्वतन्त्र नभए पनि व्यवहारमा संवैधानिक, कानुनी वा प्राकृतिक दायित्व पूरा गरी राखेको अवस्थामा कसैलाई केही फरक पर्दैन । 

लोकसेवा पास गरी सिंहदरबारभित्र जागिर खाएका कर्मचारी दलीय विचारका आधारमा सिंहदरवारमा जुलुस निकाल्छन् । विद्यार्थीलाई शिक्षा दिन कसम खाएको शिक्षक पार्टीको प्रचारमा खटिन्छन् । अस्पतालका डाक्टर दलको हितमा आफ्नो सेवा बन्द गरी जुलुसमा निस्कन्छन् । प्रहरी प्रशासनको उच्च ओहोदामा पुग्ने प्रमुख आधार दलीय सम्बन्ध बन्छ । अब यस्तो देशमा स्वतन्त्र व्यक्ति, स्वतन्त्र धारणा, स्वतन्त्र विश्लेषणको कल्पना गर्नु बेतुकको गफ हो । व्यक्ति कति स्वतन्त्र हो भन्नुभन्दा पनि उसले गरेको कार्य वा उसको दायित्वमा रहेको काम, कार्यशैली, व्यवहार कति स्वतन्त्र रह्यो हेर्नु उत्तम विधि हो । कुनै दल वा समूहको रातो वा हरियो कार्ड लिएको वा नलिएको आधारमा मात्र कोही स्वतन्त्र हुने वा स्वतन्त्र नहुने हुन्न । चुरो कुरा जिम्मेवारी र व्यवहारको सन्तुलन नै हो । स्वतन्त्र हुनु भनेको शरीरका लागि चिनीजस्तै हो । शरीरमा चिनी अनिवार्य मानिए पनि बढी भए ‘सुगर’ हुन्छ भने कम भए ‘सुगर लो’ हुन्छ । यस्तो दुवै अवस्थाको स्वास्थ्य शरीरका लागि हानिकारक हुन्छ । 



 


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

छापावाल

प्रति तोला

NRs.62,000/-

Top