थाहाका उपहार र मन थक्थकी


Friday, 28 Dec, 2018 1:33 PM

  • नरेन्द्रजंग पिटर  

रूपचन्द्र विष्टले दुईअक्षरे थाहा आन्दोलन चलाए र सकार–नकार जो, जस्तो छ, त्यस्तै थाहा पाए । उनका शिष्य अजय सुमार्गी र माननीय रामनारायण बिडारीले पनि आफूमा अन्तरनिहित योग्यता, क्षमता र प्रतिवद्दता राम्रैसँग थाहा पाए । जानकारहरू भन्छन्– जनयुद्दको फलिफाप सुमार्गी र बिडारीलाई जति अरु कसैलाई भएन । 

 राजनीतिमा अहिले थाहा पाइएको विषय के हो भने केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा आ–आफ्ना पार्टी र गुटका लागि त राम्रा नेता हुन् तर टिमका लागि होइन रहेछन् । उनीहरूले स्थायी समिति र महासमिति बैठक झेले । नेकपा, कांग्रेस, मधेसवादी र राजतन्त्रवादीलाई डर एकअर्कोसँग नभै जनतामा आएको जागरूकता र इतिहासचेतसँग हो । जनता जव सचेत हुँदैन, थाहा पिँजरामा कैद हुन्छ तव शासक मस्त हुन्छन्, पार्टी भीडमा फेरिन्छ भने कार्यकर्ता थप्पडवाजमा । थप्पडबाजहरूले न समाजको नाडी छाम्न सक्छन् न भीडको मनोविज्ञान बुझ्छन् । भीडसँग जोश हुन्छ, होस् हुँदैन । थाहा त रत्तिभर पाउँदैन । जब शासकहरू जनता र भीड छुट्याउने चेत राख्दैनन्, तब क्रमशः गति उल्टो भइरहेको हुन्छ । कार्यकर्तालाई कार्जेकर्तामा फेरेर थप्पडवाज बनाइदिन्छन् । 

नेकपा र कांग्रेसका मिटिङमा चर्काचर्की भए । तर विचार, सिद्धान्त, विकासका मार्गचित्रमा भने हैन । भ्रष्टाचार, बेथितिबारे हैन । हिजोका निर्मम समीक्षा र आउँदा नीति कार्यक्रम एजेण्डा बनेनन् । गुटका अहंकार लाभका पद बाँडफाँडमै निमित्त कारण सिरानीमा राखेर जुहारी चले । बबुरा भने चुप । नेतृत्वले बहाना निकाल्यो । समय घर्कायो । वास्तविक समस्या पर सा¥यो । पानी चिस्याउँदै गएपछि रिस र आवेग मत्थर हुँदै जान्छन् । अँध्यारा कोठामा सहमति वा सम्झौता हुन्छन् । अनि फकाउने, लोभ्याउने, तर्साउने, झुक्याउने दाउ चल्छ । जब समयको अनुकूलता परिपक्व हुन्छ, तब मात्र भानुमतिको पेटारो खुल्छ । नामधारीहरू नत्र भने भन्दै चिसै पानीले नुहाउन विवश हुन्छन् ।

थाहा पाउनै परेन, छर्लंगै भयो–प्रधानमन्त्रीको हैसियत प्रयोग गरेर प्रमुख सल्लाहकारले सत्ता चलाउँछन् । मन्त्रीहरू र मन्त्रिपरिषद्को हैसियत न्यूनीकरण हुँदै छ, सत्ताको केन्द्रीकरण अर्थात् सिंहदरबार बालुवाटारमा केन्द्रित हुनु भनेको शुभलक्षण हैन । थाहा पाउँदा पाउँदै पनि निमका रूखमा सुन्तला फल्ने मिथ्या विश्वास गर्नेहरू कण्ठी बाँधेको तिलकधारी भए पनि ब्वाँसो शाकाहारी बन्नै सक्दैन ।

विज्ञानपुत्र डाक्टर शेखर कोइरालाले कांग्रेसको हिन्दू छविलाई वैतरणी तार्ने जोगाड बनाएछन् । गाईले गोब्य्राउँछ तर सत्ता भने दिँदैन । के  ६५ वर्षदेखिको धर्मनिरपेक्षता उल्टाएर सत्तामा पुगिएला ? ‘धर्म’ र ‘राष्ट्रियता’ मूर्खहरूको अन्तिम शरणस्थली हो । राष्ट्रियता र देशभक्ति फरक कुरा हुन् । एउटै देशभित्र अनेकांै राष्ट्रियता हुन्छन् । सिद्धान्त, विचारहीन पार्टीका लागि कार्जेकर्ता अल्मल्याउने र आवेग भर्नेहरू राजनीतिक बजारमा बिकाउ माल र सत्ताका सरल सिँढी बन्ने गर्छन् । १० सालमै  कांग्रेसको वीरगञ्ज सम्मेलनले धर्र्मनिरपेक्षता घोषणा गरेको हो । अझ ४ साउन ०३६ को मिरर पत्रिकालाई दिएको लिखित अन्तर्वार्तामा सभापति बीपी कोइरालाले स्पष्ट गरेका छन्– नेपाल हिन्दूराज्य हुँदै होइन । कसैले हिन्दूराज्य भन्छ भने त्यो झेली मात्र हो । नेपाल निश्चय पनि धर्मनिरपेक्ष राज्य हो । धर्मनिरपेक्ष राज्यमा धार्मिक आस्था राख्ने स्वतन्त्रता हुन्छ । तसर्थ, मन्दिर वा प्रार्थनास्थल कुन हो भनेर छुट्याउनुपर्ने प्रश्नै उठ्दैन ।’

जब मान्छे बोल्न सक्दैनन् तब भित्ता बोल्छन् । ती पोस्टर बनेर बोल्छन्, नारा लेखिएर बोल्छन् । कविता कुर्लन्छन् । जब भित्ता बोल्न र सडक कुर्लिन थाल्छ तब सत्ता र शक्ति आतंकित हुन्छ । अझै पनि थाहा, जोश, होस शब्द भित्तामा देखिन्छन् । ती शब्दमा दर्शन थियो, चिन्तन थियो, विवेकपूर्ण अभियानको लल्कार थियो । शक्ति र सत्तासँग खेलिएका पौंठेजोरी थिए । अहिले भने फेसबुक, ट्विटर र सामाजिक सञ्जालहरू त्यस्तै चिच्याइरहने भित्ता हुन् । सत्ता र शक्तिका उचाइ र गहिराइ नाप्ने इन्ची, फित्ता पनि कविका गुञ्जन र भित्ताका आवाज नै हुन् । सत्य र सुन्दरताको परिभाषा हरेकका दृष्टिकोणअनुसार फरक–फरक हुन्छ । सबैका संसार कति विशाल वा साँघुरा छन् भन्ने कुरा उसको सोचको घेरा कति फराकिलो छ, व्यापकता छ भन्नेमा भर पर्छ । भीडबाट लतारिने र थप्पडवाजका तालीले मस्त हुनेहरू भित्ताका आवाज  कहिल्यै सुन्दैनन् ।

जान्नु र थाहा पाउनु सबैलाई सधँै राम्रो हँुदैन । थाहा पाएपछि पर्दा उघ्रिन्छ । नायक खलनायकमा फेरिन सक्छन् । आदर्श नाटकमा फेरिन सक्छ । देउता राक्षस बन्न सक्छ । विद्रोही बनाएर दुखित पनि बनाइदिन सक्छ । सांसारिक जीवनसँग मोहभंग भएर योगी, सन्न्यासी बनाइदिन सक्छ, विरक्तिको ओखती खोज्दा गँजडी बनाइदिन पनि सक्छ । थाहा पाउनु दुःख बेसाउनु पनि हो । जान्न चाहनेले त्यसलाई व्यवस्थित, अग्रगमन र मानवीय जति बनाउन सक्छ त्यत्तिकै थाहा उपहार बन्न सक्छ ।  

थाहा नपाउनु हुस्सु हुनु हो । नसोच्नु भीडको पछाडि लाग्नु हो । आफ्नै विश्वासले आफूलाई चिमोट्दा मान्छे मुच्र्छा हुन्छ तर मानवता नै घाइते भइरहेको बेला निजी बिलौनाको के नै अर्थ हुन्छ र ? आत्माको आक्रोश ओकल्न नसक्ने र समाधान पहिल्याउन नसक्ने युग र मिथ्या विश्वासमै डोरिइरहेको टुलुटुलु हेर्नु भीड सामनेका विवशता हुन् । आक्रोश किन छताछुल्ल हुँदैनन् हँ....!


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

Prabhu Bank Ltd.
Top