गुट हैन, ‘भेरिगुड’ भएर जाऔँ न


Friday, 16 Nov, 2018 2:34 PM

  • रामवीर मानन्धर, नेकपाका सांसद, काठमाडौं– ७

सांसद बन्नुअघि रामवीर मानन्धर मामुली राजनीतिक कार्यकर्ताका रूपमा काठमाडौं महानगर–१६ बाट दुइचोटि निर्वाचित वडाध्यक्ष, सिनेमा हल व्यवसायी मात्र थिए । तर, जब उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनबाट संसद्मा प्रवेश गरे, चर्चामा आइरहे । यसचोटि नेकपाका सचिवालय नेता वामदेव गौतमलाई संसद् प्रवेश गराउन आफूले जितेको क्षेत्र छाडिदिने तयारीका कारण उनी बढी चर्चामा आए । यस्तो गर्दा उनको आलोचना पनि भयो । पार्टीभित्रै उनी आलोचित भए । उनलाई कुरा राख्ने मौका कम, उनीबारे टिप्पणी बढी गरियो ।

० वामदेवलाई संसद् प्रवेश गराउने कुरा ठूलो ग्रयाण्ड डिजाइनअन्तर्गत थियोे भनेर पार्टीकै केही नेताले भन्ने गरेका छन् । वास्तविकता के हो ?

– यो च्याप्टरै ‘क्लोज’ भइसक्यो । म पार्टीको एउटा सानो कार्यकर्ताले डिजाइन–सिजाइनका कुरा थाहा पाउने कुरै भएन । मेरो विचारमा डिजाइन–सिजाइनका कुरा जोड्नु पनि उचित छैन । यो पार्टीको आवश्यकताअनुरूप नै भएको ठान्दछु । वामदेव गौतमजी मेरो मात्र होइन, सबैको श्रद्धेय नेता हुनुहुन्छ । नेपाली राजनीतिमा उहाँको विशेष योगदान छ । संसद्मा अहिले पनि उहाँको आवश्यकता छ भन्ने कुरा पार्टीका शीर्षस्थ नेताले भन्नुभएको हो । म त पार्टीले गरेको हरेक निर्णय स्वीकार गर्न सक्छु÷सक्नुपर्छ । त्यहीअनुसार राजीनामा दिनुपरे तयार छु भनेको हुँ । इतिहासमै कम्युनिष्ट पार्टीको दुईतिहाइको संसद् छ अहिले । ०७० मा भएको दोेस्रो संविधानसभा निर्वाचनपछि लथालिंग अवस्थामा रहेको धारा व्यवस्थित गर्न सकिएको छैन । त्यसलाई व्यवस्थित गर्ने जिम्मा यो बहुमतको सरकारले पाएको छ । अझै कानुन बनाउन र कार्यान्वयन गर्न बाँकी छ । स्थानीय, प्रदेश र केन्द्रमा संघीयता लागू गर्नु छ । त्यसकारण पार्टीले चालेका कदमबारे उत्रिनु उचितजस्तो लाग्दैन । 

० पार्टीका त्यत्रा नेता हुँदाहुँदै संसद्मा वामदेवको आवश्यकता किन भयो ?

– यो मलाई भन्नुभन्दा पनि शीर्षस्थ नेताहरूज्यूसँग सोधिएको खण्डमा ‘बेटर’ हुन्थ्यो । सत्य कुरा के हो भने, पार्टीमा वामदेव गौतमजीको खाँचो जतिबेला छ भन्ने खड्कियो र त्यसपछि महŒव दिइयो । पार्टी परिवार हो, यो परिवारभित्रको ‘इस्यु’ हो । परिवारको अभिभावकबीच छलफल भएपछि निर्णय गरिएको हो । अझ सीधासँग भन्नुपर्दा कमरेड वामदेव पार्टीको अरूझैँ अभिन्न अंग हुनुहुन्छ । जुनसुकै घर व्यवस्थित ढंगले चलेको अवस्थामा राम्रो सन्देश त जान्छ नै र त्योभन्दा बढी विकासले द्रुत गति लिन्छ । जनतालाई मात्र होइन, देशलाई चाहिएको विकास हो । र, त्यो विकास गर्ने पार्टी कम्युनिष्ट पार्टी नै हो भन्ने पूर्ण विश्वाससाथ हामीलाई बहुमत दिएर संसद्मा पठाइदिनुभयो । यद्यपि, देश विकासको काम गर्ने सिलसिलामा कहिलेकाहीँ केही विषय ‘चेन्जफेन्ज’ पनि गर्न आवश्यकता पर्दाेरहेछ । 

० तपाईंले त राजीनामा दिएर जनादेशको अपमान गर्दै टुरिस्ट उम्मेदवार ल्याउन खोज्नुभयो भनेर आलोचित हुनुभयो नि †

– देशमा विकासका काम गर्ने क्रममा त्यस्तो राजनीति उथलपुथल पनि हुँदोरहेछ । विकास भनेको सधैँँ आन्दोलन र टायर बालेर मात्र हुँदैन । हो, जसलाई पनि पार्टीले घेरेको हुन्छ र पार्टीको क्षेत्राधिकारभित्र रहेर सबैले काम गर्नुपर्छ । काठमाडौं पर्यटकीय स्थलमध्ये पाँचौँ स्थानमा पर्छ । तर, देश सञ्चालकहरू टुरिष्ट होइनन् । र म आफ्नो यो क्षेत्रलाई टुरिष्ट बन्न दिन्न । म एउटा पार्टीको बफादार सिपाही हुँ । कार्यकर्ताले के सोच्नुपर्छ भने, मुलुक समृद्धिका लागि केही त्याग र बलिदान गर्नुपर्छ । दुईतिहाइ मत प्राप्त भएपछि अहिले पार्टीले आफ्नो घर बनाउँदै छ । केन्द्रीय, स्थायी कमिटीको बैठक सम्पन्न हुन सकेको छैन । देशलाई बदल्ने क्रममा सचिवालयको बैठक पनि कहिले बस्छ भन्ने चिन्ताको विषय छ । यो किन भयो त भन्ने विषयमा पार्टीभित्र केही कमजोरी छन् । त्यसैले जबसम्म पार्टीको संगठन मजबुत हुँदैन तबसम्म विकास सम्भव छैन । यसकारण यहीँ परिवारको समस्या मिलाउन र जतिसक्दो देशको अनुहार बदल्न मैले मेरा श्रद्धेय नेतालाई आफ्नो क्षेत्रबाट जिताएर परिवार मिलाउन चाहेको थिएँँ । र, अहिले पनि परेको अवस्थामा पछि हट्दिनँ । कमरेडलाई जिताउन हरदम तयार छु, देश विकास हुन्छ भने । मैले गरे पनि कमरेड वामदेवजीले समृद्धि गरे पनि हाम्रो देशकै लागि हो र त्यो पार्टीले नै गरेको हुन्छ । पार्टीले (परिवार) वामदेवको आवश्यकता देखेपछि र मुख्यतः मैले पनि त्यो महसुस गरेपछि राजीनाम दिन तयार भएको हुँ । कुनै पद, पैसा र शक्तिका पछि लागेर होइन । त्यसैले मलाई लाग्दैन, मैले राजीनामा दिएर टुरिष्ट उम्मेदवार वामदेवलाई जिताएर मतको दुरुपयोग हुन्छ ।

० तर, बाहिर तपाईंलाई राजीनामा दिन लगाएर राष्ट्रिय सभामा लैजाने र मन्त्री पद दिने भनेर हल्ला फिँजाइयो । के यो सत्यता थिएन ?

– मैले अघि पनि भनिसकेपछि देश विकासका लागि कमरेड वामदेवको पार्टीले आवश्यकता परेपछि नै मैले राजीनामा दिन तयार भएको हुँ । जेसुकै काम गर्न पार्टीको निर्णय आवश्यक पर्छ । देश विकासका लागि हो भने पार्टीले गरेका हर कुरामा म त्याग र बलिदान गर्न तयार छु । तर, पद र शक्तिका लागि भनेर यसरी हल्ला फिँजाउनेहरूलाई मेरो भन्नु केही छैन । मैले देश विकासका लागि एउटा पद त्याग गर्दा के घाटा हुन्छ ? हुँदैन । नेतृत्व पदमा बसेर मात्र गरिँदैन । म मात्र होइन, जोसुकैले पार्टीको आवश्यकता परेको खण्डमा एक पद दिन तयार हुनुपर्छ । यतिउति भनेर बार्गेनिङ गर्नु हुँदैन । मलाई पद, शक्तिका लागि रामवीरले यति बार्गेनिङ गरेछ भन्ने त्यस्तो मान्छे उभ्याइदिनुस् म देशै छाडेर हिँडिदिन्छु । यो समयसीमा अझै चार वर्ष छ । त्यो अवधिभित्र यो प्रमाण जसले ल्याउँछ म मेरो वचन बदल्दिनँ । पार्टीमा बसेर घामपानी नभएको म एक सच्चा सिपाही हुँ । दुईचोटि वडाध्यक्ष र दुईचोटि सांसद जितेको मलाई देश विकासका लागि एउटा पद त्याग्न तयार छु । अहिले दुईतिहाइ बहुमतको सरकारका बेला देश बनाइएन भने कहिले बनाउने ? पार्टी हाँक्ने क्षमतावान् नेताको उमेर ६० कटिसकेको छ । बाहिर जे देखिन्छ भित्र त्यो हुँदैन । त्यसकारण यही चिन्ताका कारण पनि म एक पद त्याग्न तयार भएको हुँ । एक पद त्यागेर देश समृद्ध भयो भने त्योभन्दा सुनौलो अवसर मेरा लागि कहिल्यै हुँदैन । 

० हल्ला कस्तो छ भने केपी ओलीको चाहनाबेगर प्रचण्डको इन्ट्रेस्टमा तपाईंले राजीनामाको अनुमति माग्नुभयो । यसो गर्दा पूर्वएमालेमै समस्या पैदा गरेर पार्टी पूर्वमाओवादीको कब्जामा लाने प्रचण्डको चालबाजी थियो रे । के यो सत्य हो ?

– अहिले पार्टीमा दुईजना अध्यक्ष हुनुहुन्छ । त्यसकारण पनि यस्ता खालका अनर्गल प्रश्न उब्जिनु स्वाभाभिक हो । अहिलेसम्म पार्टीको पहिलो र दोस्रो मान्छे को हुन् ? सार्वजनिक भएको छैन । मैले त भन्दै आएको छु– अहिलेको सन्दर्भमा पार्टीको अध्यक्ष प्रचण्ड होइनन् भने अर्काे अध्यक्षले भन्नुप¥यो म स्वीकार गर्न तयार छु । किनकि दुवै जना अध्यक्ष भएको पार्टीमा सुहाउँदैन । अहिले पार्टीलाई पद, शक्ति सम्मान होइन एकले अर्काेलाई काँध हालेर विकासमा अघि लम्कनुपर्ने समय हो । अघि मैले माथि नै भनिसकँे– कसैको इन्ट्रेस्टमा राजीनामा त्याग गरेको हो भने अझै सांसद पदको समयसीमा चार वर्ष छ । त्यो अवधिमा जसले प्रमाण ल्याएर आउँछ म मेरो वचन पूर्णरूपमा स्वीकार गर्नेछु । 

० यदि, तपाईंको राजीनामा स्वीकृत भएर वामदेव चुनावमा उठेको भए र चुनाव हारेको भए के हुन्थ्यो ?

– यस्ता फेसबुके तर्क नगरौँ । फेसबुक र अनलाइनको भर पर्नेहरूले भन्ने कुरा हुन् यी । केही पाउन केही गुमाउनै पर्छ । पार्टीमा कमरेड वामदेवको आवश्यकता देखिएपछि उहाँलाई उठाउन पार्टी तयार भएको हो । र, यदि कमरेड चुनावमा उठ्नुभएको भए शतप्रतिशत चुनाव जित्नुहुन्थ्यो । त्यसको ग्यारेन्टी म जतिबेला पनि लिन तयार छु । जबकि मैले मेरा मतदातामाझ सबै कुरा स्पष्ट रूपमा राख्न सक्छु, देश विकासका लागि । अर्काे कुरा, देश विकासका लागि कमरेड वामदेव मात्र होइन पार्टीका अन्य जुनसुकै नेता आए पनि म मेरो क्षेत्रबाट चुनाव जिताएर पठाइदिन्छु । तर, देश विकासचाहिँ हुनुप¥यो । इतिहास हेर्ने हो भने यो काठमाडौं क्षेत्र नम्बर ७ त्यस्तो क्षेत्र हो जहाँबाट जितेका मबाहेक सबै मन्त्री बन्नुभएको छ । ०१५ सालयताको निर्वाचनमा जितेर जानुभएका सबै मन्त्री बन्नुभएको छ । श्रद्धेय नेता गणेशमान सिंह, विमलमान, जोकमान, सहाना प्रधान, राजेन्द्र श्रेष्ठ, मंगलसिद्धि मानन्धर, हिसिला यमीलगायत १० जनाले यो क्षेत्रबाट चुनाव जित्नुभयो र मन्त्री बन्नुभयो । तर, यहाँबाट जितेर मन्त्री बन्नुभएको उहाँहरू सबै यहाँका स्थानीय हुनुहुन्थेन । यो क्षेत्रको विकासका लागि यहाँकै व्यक्तिको आवश्यकता रहेछ भनेर म निर्वाचन होमिएँ । जित्दै पनि आएको छु । र, अहिले परिस्थिति कस्तो आइदियो भने पार्टीमा कमरेड वामदेवको आवश्यकता देखिएसँगै र पार्टीले भनेको कुरा मैले सहर्ष स्विकारेको हुँ । देशको विकास हुन्छ भने पद त्याग्न किन कञ्जुस गर्ने ? होला, रामवीरले पदका लागि जे पनि ग¥यो । आफ्नो जनताका मत दुरुपयोग ग¥यो ? तर, कुरा त्यसो होइन । पार्टीको सच्चा सिपाही भएको नाताले दायाँबायाँ पनि हेर्नुपर्दाेरहेछ । मैले पनि त्यो आवश्यकता देखेँ र कमरेड वामदेवलाई यो क्षेत्रबाट निर्वाचनमार्फत जिताएर देश विकासले गति लिन्छ भने किन पछि हट्ने । समय सदैव एकनासको हुँदैन । एकछिनको ढिलाइले धेरै नोक्सानी हुन्छ । देशका लागि त्यो नोक्सानी हेर्न म सक्दिनथेँ र दह्रो निर्णय लिएँ । 

० जनताले यो सरकारलाई के भनिरहेका छन् ?

– मैले जतिखेर पार्टीको लक्ष्यअनुरूप नै राजीनामा दिँदै थिएँ, त्यतिबेला मैले पार्टीका शीर्ष नेतालाई भनेको थिएँ, ३८ किलो सुन, बालिका निर्मला पन्तको हत्या प्रकरण, चिनीदेखि जहाज प्रकरण र कर्मचारी समायोजनका विषयमा जतिसक्दो चाँडो जनतासामु छर्लंग पार्नुपर्छ । जनता किताब, घोषणापत्र, मुखको विकास होइन काम भएको हेर्न चाहेका छन् । मलाई पद, पैसा र शक्तिको कुनै लालच छैन तर यदि अहिले म त्यो जिम्मेवारीमा भएको भए एउटा मन्त्री भएर बस्दिनथें । एउटा न एउटा पर्फमेन्स देखाएरै छाड्थें । मैले कुनै ठूलो भाषण छाँटेको छैन । छातीमा हात राखेर मन्त्रीज्यूहरूले भनिदिनुस्– मन्त्री भएको यतिन्जेलसम्म कतिचोटि ससुराल जानुभयो ? सरकार गठन भएको यति महिना बिते पनि प्रगति शून्य छ । मन्त्री प्रधानमन्त्रीको स्पिरिटमा हिँड्न सकेनभन्दा पनि दुवैले एकले अर्कालाई राम्ररी हिँडाउन सकेनन् । तर, मन्त्रालयको पनि अभिभावक प्रधानमन्त्री हुन् र मन्त्रालयका मन्त्री । यसकारण मन्त्री र प्रधानमन्त्रीले ट्र्््याक समाउन जरुरी छ । मैले देखेको यहीँ हो र बाहिर जनताले पनि देखेको यही हो । त्यसैले मन्त्रीका सल्लाहकारको विशेष भूमिका रहने भएकाले त्यसतर्फ पनि विशेष ध्यान दिन जरुरी छ । रेल लिकमा दौडिन्छ न कि लिकबाहिर । 

० पार्टी एकताले कार्यकर्तामा उत्साह पैदा गर्नुपर्नेमा झन् निराशा छायो भनिन्छ । हो ?

– मैले यही कारण सुरुमै भनेको छु । प्रदेशस्तरसम्म संगठन बनेको छ । तर, अझै पनि शीर्ष नेताले पूर्णरूपमा त्यो पनि सल्टाउन सक्नुभएको छैन । जिल्लास्तरीय काम त फत्ते गर्नैै बाँकी छ । फेरि पनि म दोहो¥याएर भन्छु–पार्टीका शीर्ष नेता एक भएको खण्डमा अन्य काम त सजिलै सम्पन्न गर्न सकिन्छ । शीर्ष नेताहरूको मिलान भएको अवस्थामा देश समृद्धि हुँदैन भन्ने लाग्दैन । र, म त्यो शीर्ष नेताहरूको मिलानतर्फ उन्मुख छु । पहिले घर मजबुत भएन भने बाहिर निस्कन सकिँदैन । अहिले प्रधानमन्त्रीज्यूले मन्त्री र कर्मचारीले साथ दिएनन् भन्नुभएको सुनिन्छ । यसले पनि के देखाउँछ भने आफ्नै घरपरिवार मिलाउन जरुरी रहेछ । नौ जना शीर्ष नेतालाई छाडेर चार सय ४१ जना केन्द्रीय नेताको कुरा सुनियो भने कसैले पार्टी व्यवस्थित भएन, कमिटी दह्रो भएन भन्ने थुप्रै कुरा सुन्न पाइन्छ । यद्यपि, जे–जस्ता कुरा आए पनि मुख्यतः परिवार नै मजबुत हुनुपर्छ ।

० पार्टी एकतापछि पनि पुराना गुट, उपगुटका हिसाबले नेतृत्व चल्न खोजेको आरोप छ । के भन्नुहुन्छ ?

एउटै घरपरिवारको सन्तानलाई चित्त नबुझेमा अंश माग्छ । त्यस्तै, नेकपामा पनि एउटै आमाबुवाका छोराछोरीहरूले नेतृत्व गरिरहनुभएको छ । एउटै धर्म, भाषा र संस्कृतिको पनि हुनुहुन्छ । कोही फरक जाति, धर्म र संस्कृतिको हुनुहुन्छ । तर, विचारको पार्टी भएको हुनाले यस्ता अनावश्यक कुरा नै उठ्दैनन् । त्यसकारण पनि कम्युनिष्ट पार्टी हो । हो, विचारका हिसाबले पार्टीमा मात्र होइन, जहाँ पनि जोसुकैमाथि समर्थन हुन्छ । यसकारण गुट उपगुट हुँदैनन् र गुटको अर्थ सिकाउन चाहन्नँ । वैचारिक हिसाबले पार्टीमा जे–जस्ता गुट–उपगुट भए पनि त्यसलाई सहर्ष स्वीकार गरेर व्यवस्थापनतर्फ जानुपर्छ । यसो भएको खण्डमा ‘गुट’ होइन ‘भेरी गुड’ भइदिन्छ । र, देश विकास हुन्छ । अहिले वैचारिक हिसाबले गुट–उपगुटतिर लाग्ने बेला होइन, एकजुट भएर देश विकासमा होमिने समय हो । यो ७० वर्षको कालखण्डलाई गुट बनेर सिध्याउने होइन, पद नै त्यागेर भए पनि देश विकासमा होमिऔँ ।
 


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top