​भुइँ मान्छेहरूसँग मेरो संंघीय यात्रा


Friday, 16 Nov, 2018 2:32 PM

प्रदीप नेपाल

गन्तव्यमा पुगेपछि घचक्क गरेर रेल रोकियो । म ढोकातिर लागें ।
‘आर यु अ मिनिस्टर ?’ (तिमी मन्त्री हौ ?)
‘यस’ (हो) ।
‘रियल्ली (पक्का ) ।
‘हो म नेपालको शिक्षामन्त्री हुँ । युनेस्को महासम्मिलनको बैठकमा भाग लिएर यता लागेको हुँँ ।’ मेरो स्पष्टीकरण सुनेर गिल्डा हाँसी ।
‘गज्जब, त्यसोभए तिमी हिँड्न पनि सक्छौ ?’
‘कति टाढा छ ?’
‘हामी सधँै हिँडेरै आउजाउ गर्छौं ।’
‘त्यसोेभए म पनि हिँडन सक्छु ।’
‘गज्जब, तिमी अरू नेपालीभन्दा फरक रहेछौ । हामीजस्तै आम मान्छे ।’
आफैसँग भैरहेको कुराकानीको अर्थ म बुझ्न सकिरहेको थिइनँ । म कुन कारण अरू नेपालीभन्दा पृथक् भएँ भन्ने ज्ञान मसँग आउन मानिरहेको थिएन ।
‘मिस्टर मिनिस्टर, कृपया तिमी अप्ठ्यारो नमान । नेपालबाट हामी जति पाहुना बोलाउँछौं, सबै हवाइजहाजबाट आउन चाहन्छन् । मन्त्रीको कुरो होइन, सामान्य नागरिक पनि हवाइजहाजकै टिकट माग्छन् । तिमी मन्त्री । तर, तिमी पेरिसबाट रेलमा आयौ । हाम्रो रेलसेवा जहाँसम्म पुगेको छ, त्यहाँबाट हाम्रा पाहुना रेलमा आइदिए हुन्थ्यो हाम्रो चाहना हुन्छ । त्यसो हुँदा खर्च कम हुन्थ्यो भन्ने हाम्रो सोच हो । तर, नेपालबाट आउने साथीहरू भियना, पेरिस, कतैबाट आए पनि कनेक्टिङ फ्लाइट खोज्नुहुन्छ । तिमी मन्त्री मान्छे । कसरी रेलबाट आयौ भनेर मेरो मन भनभनिइरहेको छ । मैले यसरी सोधेकोमा नराम्रो नमान है ! अहिले पनि पत्याउन मलाई गाह्रो परिरहेको छ ।’
‘मेरा लागि यो स्वाभाविक हो, मैले नराम्रो मान्ने कुरै छैन । म संघीयता अध्ययन गर्न आएको हुँ । यहाँको व्यवस्थापन तिमीहरूले गर्छौ भनेर मलाई स्वीस नियोगका साथीले भनेका हुन् ।’ 
झण्डै १० मिनेट हिँडेपछि एउटा ठूलो भवनभित्र पस्यौं । बाहिर घाम सुस्ताउँदै थियो । भित्र बिजुलीको दिन उदाउँदै थियो ।
एउटा फराकिलो कोठामा १०–१२ जना मानिस बसिरहेका थिए । मलाई नै पर्खिएका हुन् तिनीहरूले भन्ने कुरा मैले बुझें । किनभने गिल्डाले ढोकाबाट छिर्नेबित्तिकै मेरो परिचय दिएकी थिइन्, ‘हि इज आवर गेष्ट,प्रदीप नेपाल फ्रम नेपाल ?’ यो आश्चर्यको निश्वासलाई म बुझ्ने भइसकेको थिएँ त्यतिबेलासम्म । स्विट्जरल्याण्डमा पनि मभन्दा अगाडि कोही नेपाली मन्त्री म जसरी पुगेको रैनछ अथवा पुगेको भए पनि यिनीहरूले भेटेका रहेनछन् भन्ने मलाई थाहा भयो ।
‘क्यान आई आस्क अ क्वेश्चन ? आर यु रियल्ली अ मिनिस्टर ?’
प्रश्नको भाषा मीठो थियो । तर, मलाई उत्तर दिन मन लागेन । मैले गिल्डातिर हेरें ।
‘मैले तीन पटक सोधें र पक्का गरें, मिस्टर नेपाल, नेपालको शिक्षामन्त्री हुन् । उनी पेरिसबाट यहाँसम्म रेल चढेर आएका हुन् ।’
‘गिल्डा, नेपालमा त मन्त्रीलाई अनरेवल भन्नुपर्छ’ कसैले सिकायो ।
‘तर मलाई अनरेवल भन्दा मिस्टर भनेकै मन पर्छ । मेरो सोचाइमा अनरेवल भनेका विद्वान् हुन्छन् । म त मन्त्री हुँ । न कुनै विषयको विद्वान् हुँ न कुनै प्राध्यापक । अहिले मन्त्री छु, भोलि नागरिक हुन्छु । त्यसैले नागरिक नै मेरो वास्तविक परिचय हो ।’
‘यो मिस्टर नेपालको परिचय हो । रेलबाट उत्रिएर उनले ट्याक्सी खोजेनन् । हामी हिँड्दै आयौं ।’
‘प्रदीपजी’ मेरो नाम जेन हो । जेन कार्टर । अब हामी तपाईंको कार्यक्रम बनाउँछौं’ मेरो दाहिनेतिर बसेकी महिलाले बोलेको सुनेर म छक्क परें । अलि अलि अप्ठ्यारो भाका भए पनि उनले नेपालीमै बोलेकी थिइन् ।
‘तपाईं, राष्ट्रपतिसँग भेट्ने हो ?’
‘आवश्यक छ र ?’
‘नेपालबाट आएका सबै पाहुनाको इच्छा यस्तै हुन्छ । राष्ट्रपतिलाई कफी पसलमा भेट्ने अनि सँगै कफ िखाने रहर मैले देखेकी छु । यो राम्रो कुरा पनि हो । स्विट्जरल्याण्डको राष्ट्रपतिको सरलताबाट नेपाली नेताहरूले सिक्नु पनि हुन्छ ।’
‘जेन, मसित धेरै समय छैन । म तपाईंहरूको देशमा संघीयताले कसरी काम गरिरहेको छ भनेर सिक्न आएको हुँ । राष्ट्रपति, सभामुख, मन्त्रीसँग भेटेर मेरो जिज्ञासा शान्त हुँदैन । म तपार्इंहरूको सबैभन्दा तल्लो कार्यकारी निकायसँग प्रत्यक्ष भेट गर्न चाहन्छु । उनीहरूबाटै संघीयताको मर्म बुझ्न चाहन्छु ।’
हामी नेपालीमा कुरा गरिरहेका थियौं ।
‘प्रदीपजी, एकछिन है’ मलाई हेर्न छाडेर उनले आफ्नो वरिपरिका साथीलाई आफ्नै भाषामा सम्बोधन गरिन् । उनले बोलिसकेपछि ३÷४ जनाले एकैचोटि ‘वाहु’ भनेर आश्चर्य प्रकट गरे ।
जेन मतिर फर्किइन् र भनिन्, ‘साथीहरू छक्क परेका छन् तपाईंको कुरा सुनेर । मैले तपाईंलाई चिनेकी छु, त्यसैले म छक्क परेकी छैन । मलाई नेपालबाट साथीहरूले खबर पठाउनु भएको थियो – तपाईंको यात्राको उद्देश्य अलिक फरक छ है भनेर । मैले साथीहरूलाई यो जानकारी गराएको थिइन । त्यसैले साथीहरूले आश्चर्य प्रकट गर्नुभएको हो ।’
‘मेरो कुरा साथीहरूलाई बुझाइदिनोस । नेपालमा लामो सामन्तवादी शासन रह्यो । हाम्रो देशमा पुँजीवाद कमजोर छ अझै पनि । सामन्ती चेतना बलियो छ । त्यसैले अहिले पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद मिस्टर होइन, माननीयको सम्बोधन सुन्न निको मान्छन् । नेपालबाट आउने पाहुनाहरूले जहाजबाट उत्रिनेबित्तिकै राष्ट्रपति, प्रधानमन्त्री, संघीय मामिलासम्बन्धी मन्त्री, सभामुखजस्ता ठूला मान्छेसँग चाहेको कारण पनि यही हो । संघीयता भनेको समुदायको शासन हो बुझाइ अहिले पनि उहाँहरूले स्विकार्न सकिरहनुभएको छैन । मेरो बुझाइमा संघीयता सिक्ने भनेको सबैभन्दा तल्लो निकायको कार्यकारी शक्तिबाट हो । तपाईंहरूले स्थानीय तहलाई कति अधिकार दिनुभएको छ भन्ने कुरो मैले तलैबाट जान्न चाहेको हो ।’
‘प्रदीपजी, मैले तपाईंको कुरो बुझें तर मेरा साथीहरूलाई यो कुरो जस्ताको तस्तै बुझाउन अलिक समय लाग्छ । नेपालको वर्तमान प्रणालीको नबुझाई यिनीहरूले तपाईंले भनेको कुरो बुझ्न सक्दैनन् ।’
जेन, फेरि साथीहरूतिर फर्किइन् । उनले बोलेका केही शब्दको अनुमान गरेर बुझ्थें म । अनि ती साथीहरू अउ, वाह, जस्ता शब्दले मलाई नेपालतिर फर्काउँथे । 
मैले एक मिनेट पनि नबोलेको अनुवादले पाँच मिनेट खायो । 
सबै छक्क परेर मलाई हेरिरहेका थिए ।
पररर ताली बज्यो । मैले पनि साथ दिएँ ।
‘तपाईं साँच्चै पृथक हुनुहुन्छ’ जेनले मुस्कुराउँदै भनिन् । 
‘तपाईं सिधै तल जाने हो भने भोलि एक्लै यात्रा गर्नु पर्छ । हराउनु त हुन्न नि !’
‘हराए यही स्विट्जरल्याण्डमै हराउने त हो’ मेरो उत्तर सुनेर उनी मुस्कुराइन् र आफ्ना साथीहरूलाई उनले मेरो उत्तर सुनाइन् ।
सबैको अनुहारमा मुस्कान छरियो । 
मलाई रमाइलो लाग्यो ।
उनले आफ्नो भाषामा केही भनिन् । कुर्सीमा बसेका सबै उठे । म पनि उठें । 
केहीले आएर मसँग हात मिलाए । केही त्यत्तिकै हाई गर्दै ढोकाबाट निस्किए ।
जेन, म र गिल्डा मात्र बाँकी रह्यौं ।
‘अब हामी तपाईंको कार्यक्रम बनाउँछौं’ जेनले नै थालिन् । आज तपाईं आराम गर्नु हुन्छ । होटल नजिकै छ । गिल्डाले तपाईंलाई त्यहाँ लैजान्छिन् । उनीहरूले तपाईं एउटा फ्रि कुपन दिन्छन् । त्यो तपाईंलाई मन पर्ने खाना होइन । त्यो कुनै प्रकारको चिज हुन्छ । मीठो मानेर खाइदिनुहोला । म होटल जान्नँ । मैले तपाईंको भोलिको कार्यक्रम मिलाउनु छ । पहिले हामीले तपाईं भोलि यतै बस्नुहुन्छ कि भनेर गाउँको कार्यक्रम पर्सिका लागि मिलाएका थियौं । मैले आज राति नै फोन गरेर पर्सिको कार्यक्रमलाई भोलि हुने भो भनेर खबर गर्नुपर्छ । म भोलि बिहान तपाईंलाई लिन र बिदा गर्न होटलमा आउँछु । किनभने म भोलि बेलुका मुलुकबाहिर जाँदै छु । यहाँ बसुन्जेल गिल्डा तपाईंको साथी हुनेछिन् ।
हामीले हात मिलायौं र बिदा भयौं । म बस्ने होटल नजिकै रहेछ । गिल्डा र म पैदलै त्यता लाग्यौं ।
गिल्डा रिसेप्सनतिर लागिन् मलाई सोफामा बस्न लगाएर ।
मसँग एउटा झोला मात्र थियो । गिल्डासँगै आएको भाइ मेरो छेउमा उभियो ।
‘मैले सबै कुरा भनेको छु । तपाईंको गिफ्ट कुपन तपाईंको कोठामा आउँछ । एक घण्टा आराम गर्नुस् । फ्रेस हुनुस् अनि खान दाहिनेपट्टिको रेष्टुँरामा जानुस । भोलि बिहान जेन आउँछिन् । उनले नै स्टेसनबाट तपाईंलाई बिदा गर्छिन् । म तपार्इंलाई बेलुका लिन आउँछु । भोलि दिनभरि हाम्रो स्विट्जरल्याण्डको गाउँमा हराउनुस् ।’
बोल्दाबोल्दै गिल्डा हाँसिन् । म हराए स्विट्जरल्याण्डमै हराउँला भन्ने वाक्यले सबैलाई हँसाएको थियो ।
उनले भनेजस्तै भयो । चिज मीठो मानेर खाएँ मैले । पेट भर्नका लागि कोठामा केरा, मौसमजस्ता फलपूmल देखिसकेको थिएँ ।
राम्ररी निदाएँ   राति मैले हाम्रो जिरीजस्तै स्विट्जरल्याण्डको गाउँ देखें ।
बिहान जेनले मलाई राजधानीको रेल्वे प्लेटफर्मबाट बिदा गरिन् र संघीय सरकारको आधारबारे राम्ररी जानकारी लिनुहोस् भन्दै बिदा मागिन् ।
तेस्रो स्टेसनमा मैले रोकिनुपथ्र्यो । रेलको कण्डक्टरले मेरो छेउमा आएर भन्यो, ‘तिमी ओर्लने यहीँ हो । तिमीलाई लिन आउने मान्छे प्लेटफर्ममा आइसकेको छ ।’
‘हाई प्रदीप, मेरो नाम एरिक हो । आज मैले तिमीलाई गाउँ घुमाएर एउटा कम्युनको बैठकमा लैजानुपर्छ ।’ 
पाँच मिनेट प्लेटफर्म उभियौं । सुस्त–सुस्त अर्को रेल आएर हाम्रो अगाडि उभियो । एरिकले मलाई रेलमा चढौं भन्यो । हामी दुवै एकअर्काको अनुहार देख्ने गरी आमने–सामने बस्यौं ।
‘एउटा कुरा सोधौंं ? नराम्रो मान्दैनांै नि !’ एरिकको प्रश्नले मलाई छक्क पा¥यो ।
‘किन नराम्रो मान्नु ? सोध न ।’
‘तिमीहरूले सोचीविचारी नै संघीयतामा जाने निर्णय गरेको हौ ?’
एरिकको प्रश्नले मलाई एकछिन अलमल्यायो । तर, मैले नअलमलिई भनें, ‘त्यसैले त संघीयताको अध्ययन गर्न म स्विट्जरल्याण्ड आएको हुँ ।’
‘म नेपालमा पाँच वर्ष बसेको छु लामोसाँघु जिरीको सडक खन्दा । मैले तिमीहरूका मन्त्री, मन्त्रालयका पदाधिकारी, जनतासँग कुराकानी गरेको छु । नेपाल अहिले संघीयतामा जान सक्छ भन्ने मलाई लागेको छैन ।’
‘किन ?’ म यही प्रश्नको उत्तर खोज्न स्विट्जरल्याण्ड आएको थिएँ ।
‘किनभने तिमीहरूको आर्थिक तयारी र सामाजिक चेतना संघीयतामा जाने खालको छैन । म कृषि इन्जिनियर हुँ । तिम्रो देशमा कृषि इन्जिनियरलाई सबैले मान गर्नुपर्छ । संघीयतामा त्यस्तो हुँदैन । पहिले हामी मेरो गाउँमा जाऊँ । यसो केही खाऊँ अनि कम्युनको बैठकमा जाऊँ । हाम्रो गाउँ पुगेर कम्युनको बैठकमा पुग्दा तिम्रो दिमागले धेरै नौला कुरा सिकिसकेको हुन्छ ।’
मैले एरिकको कुरा मानेँ । उसले दुइटा गाई पालेको रहेछ । पाउरोटीमा चिज दल्ने, कफी बनाउने काम ऊ आफैंले ग¥यो ।’
मैले एरिक र उसको साथीको गोठ पनि हेरेँ । 
‘म तिमीहरूको भाकाको गरिब किसान हुँ । किनभने मसँग दुइटा गाई मात्र छन् । मेरो यो साथी धनी किसान हो । यससँग ५ वटा गाई छन् ।’
‘उनी पनि तिमीजस्तै कृषि इन्जिनियर हो ?’
‘होइन, उसले पशुविज्ञान विशेषज्ञता हासिल गरेको छ । तिमीहरूको भाकामा पिएचडी ।’
‘तिम्रो कुरा सुनेर म छक्क पर्दै छु एरिक !’
‘कम्युनको बैठकमा पुगेपछि तिमी झन् छक्क पर्छौ । किनभने संघीयता भनेको तलको शासन हो । हामी कम्युनवासीसँग जोडिएको नागरिकको समस्याको अन्तिम निर्णय कम्युनले नै गर्ने हो । तिमीहरूले संघीयताको वास्तविक प्रणालीमा जान कम्तीमा पनि दुई दशक हामीले जसरी नै मिहिनेत गर्नुपर्छ भुइँमान्छे भएर ।’
– ओमकार टोल, काँडाघारी


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top