पार्टीका लागि टाइपराइटर चोरी


Friday, 16 Nov, 2018 2:07 PM

  • राजकुमार दिक्पाल

पुराना कुरा सुन्न खुब मन पर्छ । आफूसँग त्यस्ता कुरा छन् भने सुनाउन र तिनीहरूलाई जोहो गर्न मन पराउने मान्छे परेँ म । यसै मेसोमा मेरो नियमित कुराकानी हुन्छ, अग्रज साहित्यकार तारा गाउँलेसँग मेरो । एउटा सरकारी कर्मचारी भएर पनि निर्भिकतापूर्वक तत्कालीन मालेका भूमिगत नेताहरूलाई सेल्टर दिने र उनीहरूको संगतमा रमाउन चाहने तारा दाइले इलाममा रहँदाका केही अनुभवका पुलिन्दा खोल्नुभयो मसँग ।

पार्टीका तत्कालीन भूमिगत नेताहरूलाई आश्रय दिने एक व्यक्तिले पछि रेख ब्लोनलगायत कार्यकर्तालाई पक्राउ गर्न सहयोगी भूमिका खेले । मोहनशंकर नामका ती व्यक्तिलाई तारा दाइले एक भेटमा सोध्नुभएछ, ‘तपाईंलाई त त्यतिखेर अञ्चलाधीश कार्यालयले किनिहालेछ हगि ?’
‘हो, म त्यतिखेर बिकेकै हो’, उनले स्वीकार गरेछन् ।

तारा दाइका अनुसार रेख ब्लोनहरू पक्राउ परेपछि उनलाई अर्को एक अभियोगमा इलामबाट पक्राउ गरी काठमाडौंको हनुमानढोकासम्म पु¥याइयो । उनलाई टाइपराइटर चोरीको अभियोग लागेको थियो । तर, केही दिनपछि नै उनी थुनामुक्त भइहाले । तारा दाइले भन्नुभयो, ‘हुन त त्यतिखेर पार्टीका लागि विभिन्न ठाउँबाट विभिन्न सामान जोहो गर्ने चलन थियो, इलाममा टाइपराइटर चोरियो पनि होला । तर, मोहनको सन्दर्भमा चाहिँ ती सबै नाटक रहेछ ।’

तारा दाइबाट यी कुरा सुनिरहँदा म ०३८ सालतिर फर्केँ । प्रसंग हो टाइपराइटर चोरीकै ।

 हरायो बहुमूल्य सम्पत्ति 
त्यो समय विद्यालयमा टाइपराइटर मेसिन हुनु ठूलो प्रतिष्ठाको विषय हुन्थ्यो, त्यो पनि गाउँको विद्यालयमा । धनकुटाको सदरमुकामदेखि पारिको गाउँ ताङ्खुवाको चुलाचुली माध्यमिक विद्यालयमा पनि टाइपराइटर थियो, त्यो बेला । एक जना विदेशीले उपहार दिएको यो मेसिन विद्यालयका लागि बहुमूल्य सम्पत्ति थियो ।

तर, त्यो अचानक हरायो । त्यसपछि मच्चियो खैलाबैला । त्यो समयमा निमावि तहमा अध्ययनरत विद्यार्थी (हालःसामाजिक अभियन्ता तथा मानवअधिकारकर्मी) मुकुन्द कट्टेलले यो लेखकलाई भन्नुभएको दृश्य यस्तो छ ः

जब विद्यालय खुल्यो, तब टाइपराइटर गायब भएको थाहा भयो । खैलाबैला मच्चियो । शिक्षकहरू पढाउन छाडेर अनि विद्यार्थी पढ्न छाडेर धुइँपताल टाइपराइटरको खोजीमा लागे । जंगल, पोथ्रा, कुनाकाप्चा, खोलाखाल्सा चारैतिर खोजियो, कहीँ कतै छैन, टाइपराइटर । विद्यालय नजिकै एक पोखरी छ, तर त्यहाँको पानी सुकिसकेको छ अहिले । त्यहाँ पो कसैले फालिदिएका छन् कि भन्ने शंका भयो । त्यो बेला पौडी खेल्न जान्ने विद्यार्थी थिए, राम भट्टराई । शिक्षकले उनलाई पोखरीभित्र पसेर खोज्न भने । उनी पोखरीभित्र पसेर खोजे, अनि बाहिर निस्केर भने, ‘यहाँ पनि छैन, सर ।’

खोज्दा भेटिन्छ कि भन्ने सबै प्रयत्न विफल भए । टाइपराइटर हरायो, अर्थात् चोरी भयो ।

सजाय पाए कांग्रेसीले
कसले चोरी ग¥यो त विद्यालयको त्यो बहुमूल्य सम्पत्ति, त्यो पनि उपहारका रूपमा प्राप्त भएको ।

यसको खोजीमा स्थानीय पञ्च पनि सक्रिय भए । यस्ता पञ्चमध्येका प्रधानपञ्च थिए, माधव भट्टराई । उनको आशंकाको खाँडो स्थानीय केशर सुब्वामाथि सोझियो । केशर त्यो बेलादेखि नै कांग्रेसी भनी चिनिएका व्यक्ति । उनीमाथि लाग्यो, टाइपराइटर चोरीको अभियोग । उनी पञ्चहरूको इसारामा मा पिटिए । थुनामा पनि परे ।

तर टाइपटाइटर भेटिएन, यो मेसिन चोरीको सुइँको कहीँ–कतैबाट पनि मिलेन ।

एक साँझ साहित्यकार भाई विश्वासदीप तिगेलाले बानेश्वरमा उनको नवनिर्मित घरमा बोलाएका थिए, खानलाई । केशर सुब्बालाई त्यहाँ खानपिनकै क्रममा भेटेँ । कुराकानीकै प्रसंगमा मैले पुरानो कुरा कोट्याएँ, ‘दाजु, तपाईं त पुरानो नेता, त्यो चुलाचुली स्कुलमा टाइपराइटर चोरी भएको कुरा तपाईंलाई थाहा छ ?’

‘त्यो चोरेको आरोप त मलाई पो लाग्यो । समातेर सदरमुकाम ल्याइहाल्यो नि ! तर अभियोग प्रमाणित नभएकोले केही दिनपछि छाडिदिए’, उहाँले भन्नुभयो ।

त्यो टाइपराइटर चोरीको घटनाको आफूले थाहा पाएसम्मको नालीबेली मैले केशर सुब्बालाई बताइदिएँ, त्यो भेटमा । त्यसपछि बडो आश्चर्य व्यक्त गर्नुभयो, ‘हौ, चोर्नेचाहिँ वामेहरू, सजाय पाउने चाहिँ म ? खत्तम पो गरेछन् हौ भाइ !’

त्यो बेला ताङ्खुवाका भरत भट्टराई, माधव भट्टराईलगायत पञ्च सूर्यबहादुर थापाले त्यसबेला लगाउने गरेको ‘भूमिगत गिरोह’ समूहका धनकुटामा चिनिएका पात्रहरू थिए ।

कहाँ पुग्यो यो टाइपराइटर ?

त्यो मेसिन चोरी भएको बेला हाम्रो एउटा घर तत्कालीन मालेको एउटा सेल्टर थियो । त्यहाँ तत्कालीन प्रगतिशील लेखक कलाकार संघको नाममा दिनदिनैजस्तो भेला हुन्थ्यो, गाना बजाना चल्थ्यो । कहिलेकाहीँ भूमिगत नेता आउँथे, त्यो घर त्यस समय सुनसानजस्तो हुन्थ्यो ।

म परेँ त्यो बेलाको एउटा बालक । तर, म ती गतिविधि संवेदनशील भएर अवलोकन गर्थेँ ।

प्रगतिशील लेखक कलाकार संघको दोस्रो धनकुटा जिल्ला सम्मेलन (२०३८)ले डम्बर सुब्बालाई अध्यक्ष चयन ग¥यो । पहिलो सम्मेलन(२०३७)द्वारा अध्यक्ष चयन हुनुभएका रेख ब्लोन कोसी अञ्चल कमिटीको सहसचिव हुनुभयो । त्यो बेला कवि वम देवान अञ्चल कमिटीको अध्यक्ष हुनुहुन्थ्यो ।

चुलाचुली माविको टाइपराइटर चोरीको कार्यान्वयन यिनै रेख ब्लोन र डम्बर सुब्बालगायतले गरे । तीमध्ये डम्बर सुब्बा मेरा सहोदर दाजु हुन् । टाइपराइटर चोरी भएको घटनाबारे कुनै समय उनले मसँग बताएको कुरा यस्तो छ ः

पार्टीको दस्ताबेज बनाउनुपर्ने हुन्थ्यो । सकेसम्म टाइपराइटरबाट लेख्दा छिटो पनि हुने, अनि कसले लेख्यो, अक्षर पनि नचिनिने ।

टाइपराइटर कहाँ छ त ? किन्न सकिने कुरा भएन । चुलाचुली माविमा छ भन्ने त थाहा थियो नै । त्यहीँबाट उठाउने योजना बन्यो ।

त्यहीँ योजनाअनुसार निश्चित पार्टी कार्यकर्तालाई सूचना दिइयो, गोप्य रूपमा । ठाउँठाउँमा कार्यकर्ता समूह समूहमा बसेका थिए, त्यो मेसिन बोक्न । त्यसपछि त्यो मेसिन चुलाचुलीबाट भीरगाउँको बाटो हुँदै निबुवा खोला त¥यो र घाँटीचौर (चुरेघाँटी) हुँदै सल्लाघारी जंगलको उकालो हुँदै स्याउले निस्कियो र हाम्रो टोल तत्कालीन भोटेचौतारा (हालः स्कुलडाँडा)मा आइपुग्यो र त्यो वारि पात्लेस्थित एउटा सेल्टर अर्थात् कुलकेशर वाग्लेको घरमा सुरक्षित राखियो । निबुवाखोलामा त्यो टाइपराइटर भीरगाउँका डेगमान राईहरूले धनकुटा नगरका डम्बर सुब्बाहरूलाई हस्तान्तरण गरेका थिए ।

कडा सुरक्षा जाँच छल्दै

पार्टीको निर्देशन थियो, त्यो टाइपराइटरलाई जसरी भए पनि धरान पु¥याउनुपर्ने । त्यो बेला गौँडागौँडामा सुरक्षाकर्मी बस्थे र सोधपुछ अनि खानतलासी गर्थे । त्यो टाइपराइटर कसरी पठाउने होला त धरान ?

एक जना उपयुक्त कार्यकर्ताको खोजी गरियो । एक जना उत्साहित हुँदै भने, ‘म त्यो काम गर्छु ।’

त्यो कामको चुनौती मोल्ने आँट धनकुटा नगरको सिक्तिमका पुष्प राईले गर्नुभयो । उहाँ बेलाबेलामा सामान लिन धरान झर्ने गर्नुहुन्थ्यो । उहाँ त्यो बेला एक कार्यकर्ता हुनुहुन्थ्यो । एक हिउँदको रातको बैठकमा हाम्रो घरमा आउँदा उहाँ सिरक ओढेर आएको अहिले पनि म सम्झिरहन्छु । उहाँ सिरकै ओढेर आएको देखेर अन्य साथी गलल हाँसेका थिए । उहाँ बितिसक्नुभयो, सम्झने कोही छैन ।

त्यो बेला अहिलेको भेडेटार चर्चित थिएन, धरान–धनकुटा सडक (हालः मदन भण्डारी राजमार्ग) निर्माणाधीन थियो । साँगुरी भञ्ज्याङमा कडा सुरक्षा जाँच हुन्थ्यो । त्यो पनि छलेर त्यो टाइपराइटरलाई धरान पु¥याउनुपर्ने भयो । त्यसको जिम्मा पुष्प राईले लिनुभयो । उहाँ एक ढाक्रेको भेषमा ढाकर बोकेर साँगुरी भञ्ज्याङ सकुशल कट्नुभयो । उहाँले बोकेको ढाकरभित्र त उही चोरी गरिएको टाइपराइटर थियो ।

त्यो बेलाका साक्षी पार्टीका नेता तथा प्रगतिशील लेखक कलाकार संघका धनकुटा जिल्ला सचिव जीवप्रसाद पोखरेलले बताउनुभएअनुसार त्यो टाइपराइटर धरान पुतलीलाइनका गिरिजा आचार्यको घरमा पु¥याइयो । पार्टीको निर्देशन यतिनै थियो, धनकुटाका कमरेडहरूका लागि, जो सफलतासाथ सम्पन्न भयो । 

 चोरीको प्रयोजन

माथि डम्बर सुब्बाले बताएअनुसार पार्टीको दस्ताबेज लेख्न अवश्यै टाइपराइटर प्रयोग भयो होला । तर, टाइपराइटर मेसिन संकलन गरेर पार्टीको आयस्रोत बढाउने पनि अर्को उद्देश्य थियो ।

एकदिन यस लेखकले पुराना माले कार्यकर्ता ईश्वरी अधिकारीसँग यसबारे जिज्ञासा राखेको थियो । मेरा छिमेकी युवराज दहाल (हालःनेपाल
सरकारका उपसचिव)को घरमा उहाँ आउनुभएको थियो । मैले त्यहाँ भेट्दा उहाँ वामपन्थी नै हुनुहुन्थ्यो र शिक्षण पेशा गर्नुहुन्थ्यो । उसै पनि उसबेलाका माले कार्यकर्ता, त्यसमा पनि ताङ्खुवाका स्थानीय भएकाले उहाँसँग चुलाचुली माविको टाइपराइटर चोरीको विषयमा जिज्ञासा राखेँ । उहाँले बताउनुभएअनुसार त्यो बेला पार्टीको आयस्रोत बढाउन टाइपिङ इन्स्टिच्युट खोल्ने योजना पनि रहेछ । त्यही कारण चोरेरै भए पनि यस्तो मेसिन संकलन गर्ने योजनाअन्तर्गत चुलाचुली माविको टाइपराइटर पार्टीकै निर्देशनमा चोरी गरिएको रहेछ ।

ईश्वरी अधिकारी त्यो समयका त्यस्ता अखिल कार्यकर्ता हुनुहुन्थ्यो । त्यो बेला महेन्द्र मोरङ क्याम्पसमा चलेको गोली प्रहारमा फणिन्द्रराज
तिमिल्सिनाले सहादत प्राप्त गरे । तर, गोलीको निशानाचाहिँ फणिन्द्र नभएर ईश्वरी हुनुहुन्थ्यो ।

त्यो हत्याकाण्डको अभियोग विजय गच्छदारमाथि लाग्यो । त्यो समयका महेन्द्रमोरङ क्याम्पसका अखिल कार्यकर्ता हरि राईले धरानमा एक भेटमा यस लेखकलाई यस्तो भन्नुभएको थियो ः

फणिन्द्रको हत्यापछि अखिल कार्यकर्ताले पनि प्रतिशोधको भावना लिएर विजय गच्छदारमाथि आक्रमण गरे । उनको एक आँखा फुटाइदिए । अब म¥यो भनी नालीमा फ्याकिदिए । उनको जिउ सुन्निएर यस्तो भयो कि शरीरका लुगाका टाँक चुँडिए च्वाट्ट–च्वाट्ट !

टाइपराइटर चोरीका विषयमा तत्कालीन माले, धनकुटाका सचिव चित्र निरौलाले ‘त्यो टाइपराइटरले के ग¥यो, त्यो कहाँ पुग्यो भन्नेबारे सुनसरीका तत्कालीन पार्टी सचिव राजेश बान्तवालाई थाहा छ’ भन्ने संकेत गर्नुभएकाले टाइपराइटर चोरीको योजना माथिल्लै कमिटीबाट बनाइएको रहेछ भन्ने खुल्छ ।


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top