भारत र चीन देखाउँदै जापान भरङ्ग !


Monday, 8 Oct, 2018 12:54 PM

  • हरि गजुरेल

सरकार नेकपाको । यसकै काँधमा भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माणको चटारो पनि छ । तर, यही पार्टीका नेतृहरुले अवरोध पु¥याएको भन्दै एउटा ठूलो दाता राष्ट्र रिसले धुँवा–धुँवा भएको छ । 

‘त्यही छिमेकी राष्ट्र भारत र चीनले जहाँ, जसरी छिरेर बनाउँदा पनि हुने, अमेरिकाले त्यसो गर्दा फरक नपर्ने । हामीमाथि मात्र नाकाबन्दी लगाउने ?’ भनेर सितिमिति नरिसाउने जापान अहिले त्यो अवस्थामा पुगेको बताइन्छ । सन् १९४५ को दोस्रो विश्वयुद्धपछि एकदम झुक्ने, खुम्चिने अवस्थामा पुगेको जापान अहिले एक सय ८० डिग्रीको हिसाबले फरक शैलीमा प्रस्तुत भएको छ, नेपालीको रवैयाका कारण । 

भूकम्पताका उसले चामल दिएको थियो । नेपाल सरकारले चामल सर्वसाधारणलाई वितरण नगरेर बेच्यो, पैसा आयो ३३ करोड । त्यो रकम लैजाऊ भनियो । तर जापानले भन्यो, ‘हामीले राहतका लागि दिएको चामल हो । तिमीहरुले बेच्यौ । तर, हामी त्यो पैसा लाँदैनौँ, किनभने हामीले व्यापार हैन, उद्धार गरेको हो । बरु, भूकम्पले क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि उपत्यका संरक्षण कोष, अर्थात् काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्ट (केभिपिटी) मा राखिदिन इच्छुक छौँ, त्यसबाट खर्च हुने गरी काम गर्न देऊ ।’ यसप्रकार जापान सरकारले नेपाल सरकारको ढुकुटीमा रकम दाखिला ग¥यो । त्यो पैसा निकालेर खर्च गर्न खोज्दा एक त अर्थले निकासा दिन मिल्दैन भनेको छ । अर्कातिर, नेकपाकै समानुपातिक सांसद सुजिता शाक्य, बीना श्रेष्ठहरुले हनुमानढोकास्थित हाम्रो आँगनछेँ, अर्थात् नेवारी परम्पराको मर्ममा टेकेर छानामा कुद्ने र गर्भगृहभित्र क्यामेरा तेस्र्याउने गरी जहाँ पायो त्यहीँ छिर्न पाइँदैन भनेका छन् । प्रदेश सांसद राजेश शाक्यले त त्यस्ता संरचना हामी आफैँ बनाउँछौँ, विदेशीको पैसा चाहिएन भनेर ज्ञापनपत्रसमेत बुझाइसकेका छन् ।

प्राचिन विश्व सम्पदाको अनुगमन गर्ने युनेस्कोलगायत जापान पनि बिच्कियो भने उनीहरुले दिने अरु सहयोगमा पनि असर पर्छ भन्ने कुरा यसबीच जोडतोडसँग उठ्न थालेको छ । 

जापानले तिलौराकोटमा बुद्धकालीन दरबारसहितका भग्नावशेष उत्खनन्को लागि तीन वर्षमा काम सक्ने र पैसा पनि थपिने गरी अहिलेलाई ५० लाख दिएको छ । उसले स्वास्थ्य, सडक, भौतिक पूर्वाधार, (सिन्धुलीको) मरिनखोला–तराई खानेपानी आयोजना, अपांग तथा अशक्त पुनस्र्थापना, सशक्तिकरणसहित दर्जनौँ क्षेत्रमा लगानी गरिरहेको छ । मरिनखोला आयोजनाअन्तर्गत सिन्धुलीबाट पहाडको पानी सुरुङ खनेर बाराको निजगढमा निकाल्ने, त्यो पानीले सप्तरीदेखि पर्सासम्मका प्रदेश नं. २ को सिञ्चाई र खानेपानीको आवश्यकता पूरा गर्ने योजनाअन्तर्गत काम शुरु गरिसकेको छ । त्यसमा अर्बौं लगानी गर्ने योजनाअनुसार डिपिआर तयार भइसकेको छ । सुरुङ खन्ने अत्याधुनिक उपकरण सिन्धुली पुगिसकेको छ । मान्छे नचाहिने, मेसिनले नै पहरा खोप्ने, त्यसमा एक नम्बरी रोडा, छड र सिमेन्ट हालिदिएपछि त्यसैले ढलान गर्दै जाने । यसअनुसार पहाड खोप्ने काम पनि थालिएको छ । तर, एक महिना भयो, जापानीहरु आलटाल गर्दैछन् । यसका नेपाली एजेन्ट हुन्, भूपू डिएसपी गोविन्द थपलिया । म्यानपावर डुबेपछि सागसब्जी उत्पादन गरेर गुजारा चलाइरहेका उनी जापानिजहरु किन रिसाए भन्ने विषयलाई लिएर दिनदिनै बालुवाटार धाइरहेका छन् । 

अमेरिकाले मियामोतो नामक जापानिज कम्पनीलाई गद्दी बैठक बनाउने काम दिएको थियो । काम सिध्याएर उनीहरु फर्किसके । चीनले बसन्तपुरमा नौतले र नुवाकोट दरबार बनाउने भएको छ । श्रीलंकाले स्वयम्भूको आनन्दकुटी बिहार बनाउने काम धमाधम सकाउँदै छ । बुङमतिस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पनि पुनःनिर्माण हुँदैछ । स्वीस सरकारले दोलखामा तलेजु भवानीको मन्दिर बनाउने काम अन्तिम चरणमा पु¥याइसकेको छ । हनुमानढोकाको आँगनछेँ र पाटनढोकाको देगु तलेजु बनाउन २० र १३ करोड गरी ३३ करोड खर्च गर्न खोज्दा अवरोध आएपछि जापानिज बमबम भएका हुन् । नेवार समुदायको तर्क छ– यो यस्तो गुह्य ठाउँ हो जहाँ दीक्षा लिएका स्थानीयबाहेक अरु छिर्न पाउँदैनन् । पृथ्वीनारायण शाहले काठमाडौं जितेर पनि त्यहाँ छिरेनन् । त्यसयता शाह र राणाले त्यत्रो वर्ष शासन गरे, नेवारी संस्कृतिको भावनामाथि ठेस पुग्ला भनी उनीहरु पसेनन् । अब अहिले पुनःनिर्माणका नाममा विदेशीलाई छिर्न दिने कुरा सह्य हुनसक्दैन भनिँदैछ । पैसा दियो भन्दैमा जे पायो त्यही गर्न पाइन्छ ? चाँगुनारायण र शान्तिपुरमा पनि दीक्षित पूजारी आफैँ भित्र छिरेर बनाए । कांग्रेस नेता प्रकाशमान सिंह र त्यही क्षेत्रबाट नेकपाका सांसद जीवनराम श्रेष्ठले पनि नेवारी समुदायको भावनामाथि ठेस नपुग्ने गरी बनाए हुन्छ भनेका छन् । जापानिजहरु दुई वर्षे टेण्डर सकिन लाग्यो, काम सकिँदैन भन्दै छन् । उनीहरुले आफूभित्र नछिरिकन काम गर्छौं पनि भनेका छन् । तर, गर्न दिइएको छैन । 

एकथरिको आशंका छ– कि जापानलाई बिच्काउँदा फाइदा हुने अर्को कुनै दातृ निकायले नेकपाका मान्यहरुलाई उचालेको हुनुपर्छ, कि समुदाय देखाएर विकासको काम रोक्दा स्थानीयवासीबीच लोकप्रिय हुइन्छ भन्ने भ्रमले काम गरेको छ । 
 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top