​कहाँ–कहाँबाट आयो मलाई के थाहा


Friday, 21 Sep, 2018 12:50 PM

  • डा. केबी रोकाया, ईशाई धर्मका अगुवा÷मानवअधिकार आयोगका पूर्वसदस्य

इसाइ समुदायका अगुवा हुन्, केबी रोकाया । वास्तविक नाम कालीबहादुर । केही समय राष्ट्रिय मानवअधिकार आयोगको सदस्य रहे । भनिन्छ, नेपालमा संसारभरका क्रिस्चियनहरुको लबिङका कारण संविधानमा धर्मनिरपेक्षता लेखियो । तर, त्यही धर्मका सबभन्दा अगुवा केबी अहिले धर्मनिरपेक्षताको विरोधमा छन् । उनी पहिला राजाको समर्थक, केही समय माओवादीको सल्लाहकार । हाइड्रो इञ्जिनियरिङमा विद्यावारिधी गरेका उनले पढाईको विषयभन्दा बढी रुचीको क्षेत्रमा आफ्नो संलग्नता जनाए । 

० राष्ट्रिय मानवअधिकार आयोगको कार्यकाल सकिएपछि के गर्दै हुनुहुन्छ ?

– कुनै पदमा छैन, फुर्सदिलोझँै छु । तर, मानसिक रुपमा देशको चिन्ता औधी छ । के बूढेसकाल, के युवा ? जहिल्यै उस्तै हुँ ।

० तपाईं आफैँ क्रिस्चियन पादरी । तर, हिन्दू धर्मको वकालत गर्दै हुनुहुन्छ नि, किन ?

– सत्य नियाल्दा पनि तपाईंले भनेजस्तै देखिन्छ । तर, यो विषयमा बुझ्नका लागि अलिकति गहिराइमा डुब्नै पर्छ । म हिजो जनयुद्धकालमा माओवादीहरुको सारथी भएर उनीहरुसँगै डाँडापाखातिर हिँडे्र । अन्तर्राष्ट्रियस्तरमा माओवादीलाई चिनारी दिलाउने पनि मै हुँ । जनयुद्धपछि सरकारसँगको शान्ति वार्ताका लागि विशेष टेबुल टक गर्ने भूमिका पनि मैले नै निर्वाह गरँे । यी मेरा माओवादीसँग गाँसिएका केही किस्सा भए । कसैलाई अनौठो लाग्छ कि, म आफैँ क्रिस्चियनको एउटा पादरी भएर नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भनी आवाज उठाउँदै आएको छु ।

१२ वैशाख ०७२ को कालो दिन अर्थात् विनाशकारी भूकम्पलाई हामी कसैले भुलेका छैनौँ । त्यही समय नेपाल जनजाति महासंघसँग आवद्ध एक संस्थाले कार्यशाला गोष्ठीको आयोजना गरेको थियो । तर, भूकम्पका कारण त्यो गोष्ठी रद्द भयो, पछि सम्पन्न पनि भयो । पूर्वनिर्धारित कार्यसूचीअनुसार त्यहाँ तीनवटा कार्यपत्र प्रस्तुत गरिँदै थियो । मलाई धर्म निरपेक्षताको विषयमा कार्यपत्र प्रस्तुतिसँगै आफ्नो धारणा राख्न बोलाइएको थियो ।  कार्यपत्र प्रस्तुत गर्नुअघि तयारी गर्नु त छँदै थियो । धर्मनिरपेक्ष (सेकुलारिज्म) को बारेमा हावादारी कुरा गरेर त भएन । पछि तयारीका साथ धर्मनिरपेक्षताको उत्पत्ति, विकासबारे प्रस्तुतिको अन्तिम अवस्थामा पुग्दा मथिंगल अर्कै भइसकेको पत्तो पाइन । धर्मनिरपेक्षताको कट्टर विरोधी भएर निस्किएँ । त्यसपछि जति बुझ्दै गहिराईमा पुगेँ, त्यसपछि त नेपालको सन्दर्भमा धर्मनिरपेक्षताको कामै देखिनँ । म धर्मनिरपेक्षताको कट्टर हुने जस यो कार्यक्रम आयोजना गर्ने संस्थालाई जान्छ । नेपाल धर्मसापेक्ष हो, अर्थात् हिन्दू राष्ट्र नै हो । यो धर्मनिरपेक्ष त पश्चिमी मुलुकहरुको सिको पो रहेछ । मैले कसैलाई ठग्नु हुँदैन, चोर्नु हुँदैैन भन्ने कुरा नै थाहा भएन भने धर्मको अर्थ रहेन । यी सबै कुरालाई नियममा बाँध्ने धर्मले नै हो । मैले यो कुरा पहिला बुझ्न सकिनँ । अहिले बुझेँ । तर, केही पछुतो छैन । ढिलो भए पनि धर्मनिरपेक्षताबारे राम्ररी बुझेँ । अब, मृत्युपर्यान्त यही आन्दोलनमा अडिग भई कदम चाल्नेछु ।

० भदौबाट जारी भएको देवानी तथा अपराध संहिता अध्ययन गर्नुभयो होला । त्यसमा धर्मको विषयमा कुनै अंकुश लगाइएको छ÷छैन ?

– धर्मनिरपेक्ष मुलुक बनाएर धर्मको बारेमा चुइँक्क बोल्न नपाइनेखालको विषय उल्लेख छ । भोलिका दिनमा धर्म मान्नै नपाउने, स्कुल, कलेजमा धर्मबारे कुनै जानकारी दिन नपाइनेखालका सन्दर्भहरु प्रष्टै देखिन्छ । यो पनि पश्चिमी मुलुकको सिको हो । यो स्थिति अहिले नै रोक्न एकजुट हुनु जरुरी छ । शदीयौँदेखि हिन्दू राष्ट्र भएको नेपाल कुनै पनि हालतमा हिन्दू राष्ट्र हुनुपर्छ । मतलब जुन देशमा जुन धर्मको बाहुल्यता छ, त्यस देशलाई धर्मसापेक्ष राष्ट्र घोषणा गरिनुपर्छ । धर्मसापेक्षको मतलब पञ्चायतकालजस्तो व्यवहारले होइन, स्वतन्त्र रुपमा सबैलाई सम्मान गरिनुपर्छ ।  

० संविधानले धर्मनिरपेक्ष लेखिसकेपछि अब त्यसलाई संशोधन गर्दा अर्को द्वन्द्व उत्पन्न होला कि नहोला ? 

– यो संविधान बनाउँदा जनताको राय लिइएकै हो । ९६ प्रतिशत जनताले हिन्दू राष्ट्र घोषणा गर है ! भनेर बकाइदासाथ संविधान निर्माणमा आफ्नो अभिमत दिए । यो कुरा घामजस्तै छर्लंग छ । अहिले पनि त्यो जनमत ज्यूँ का त्यूँ छ । तर, जनताको चाहनालाई लात मारेर धर्मसापेक्ष होइन, धर्मनिरपेक्ष राष्ट्र बनाइन्छ भनेर जनमतलाई काटकुट पारियो । त्यसैले यो कुरा सबै नेपालीले बुझेका छन् । अब यो संविधानको ड्राफ्टलाई फेरि संशोधन गरिनुपर्छ भन्दा द्वन्द्व निम्तिएलाजस्तो लाग्दैन । मेरो मात्र होइन, नेपालीको माग नै हिन्दू राष्ट्र हो । 

० नेपाल धर्मनिरपेक्ष राष्ट्र होस् भन्ने पक्षमा संसारभरका क्रिस्चियन कम्युनिटीको लगानी, हौसला थियो भनिन्छ । सत्य के हो ? र, कहाँ, कहाँबाट कस्तो सहयोग मिलेको थियो ?

– त्यो सन्दर्भ सत्य हो । तर, कहाँ, कहाँबाट कस्तो सहयोग मिलेको थियो ? यसबारे म कहाँ भन्न सक्छु र † मलाई नै थाहा छैन । धर्म निरपेक्षता भनेको पश्चिमी राष्ट्रहरुको एजेन्डा हो भन्नेमा पनि शंका गर्ने हो र ? शंकै छैन । विशेषगरी अमेरिका र युरोपले चालेको रणनीति हो यो । यी दुई देशमध्ये ‘सेकुलारिज्म्’ को प्रचारमा अझैँ बढी त युरोपको देन छ । उसले नै सबैलाई उफारेको हो । र, हामी अर्काले उफार्दा उफारिने भकुण्डो हौँ । हामी आफैँ जानेर उफ्रेका हौइनौँ, उफारिएका हौँ । 

० कसैले कृष्णबहादुर महरालाई, कसैले सुवास नेम्वाङलाई क्रिस्चियन हो भने । तपाईंलाई थाहा छ, नेपालको मूलधारको राजनीतिमा क्रिस्चियन धर्म अंगाल्ने को–को हुन् ?

– कोही पनि छैनन्, म देख्दिनँ । कृष्णबहादुर महरा, सुवास नेम्वाङ र नेकपा सहअध्यक्ष प्रचण्ड स्वयंलाई जनताले क्रिस्चियन भनेर आरोप लगाएको सुन्नमा पाइन्छ । तर, मैले उहाँहरुलाई नजिकबाट चिनेको छु । उनीहरु क्रिस्चियन होइन । कृष्णबहादुरसँग त दश वर्ष सँगै काम गरेको छु । खास कृष्णबहादुरजीलाई क्रिस्चियन भन्नुको कारण यस्तो छ– शान्ति प्रक्रियापछि पार्टी चुनावमा थियो । महराजी उम्मेदवार हुनुभयो । भोट माग्दै जाँदा क्रिस्चियन चर्चमा पादरीले प्रार्थना गरे । उहाँले हुँदैन भन्ने अवस्था थिएन । पादरीसँगै घुँडा  टेकेर  ‘यशू ! मलाई जिताइदिनुस्’ भनेर बाचा गर्नुभएको हो । पछि यो फोटो र भिडियो सामाजिक सञ्जालमा आएपछि कृष्णबहादुर महरा त क्रिस्चियन रहेछन् नि ! भन्दै प्रचार गरियो । 

० भनेपछि नेपाली राजनीतिमा कुनै नेता क्रिस्चियन छैनन् ?

– छैनन्, छैनन् । पहिला केही साना पार्टीका नेताचाहिँ क्रिस्चियन हुनुहुन्थ्यो । जस्तै पूर्वसांसद लोकमणि भण्डारी हुनुहुन्छ । सबैले क्रिस्चियन नेता भनेर भनिएका पूर्वसांसद एकनाथ ढकालजी ठ्याक्कै क्रिस्चियन होइनन् । योभन्दा अलि फरक हुन् । 

० एकनाथ खास क्रिस्चियन कुन अर्थमा होइनन् ?

– मूलधारको वास्तविक क्रिस्चियनले उहाँको संस्थालाई सक्कली क्रिस्चियनका रुपमा लिँदैन । 

० तपाईं लामो समय जनयुद्धमा होमिनुभयो । त्यतिबेला नेपालबाट कुनै पनि हालतमा राजसंस्था फाल्नुपर्छ भन्दै हिँड्नुभयो । तर, अहिले राजसंस्था चाहिने वकालत गर्दै हुनुहुन्छ । के नेपालमा राजसंस्था फर्किन सम्भव छ ?

– आजभन्दा चार वर्षअघिदेखि राजसंस्थाको मुद्दा उठाउँदै आएको छु । अहिलेसम्म यो मुद्दा बोकेर आउँदै गर्दा जातीय द्वन्द्व, क्षेत्रीय द्वन्द्व, सांस्कृतिक द्वन्द्वले देशै नरहने त होइन भन्ने अवस्थासम्म पुग्यो । मुख्यतः विदेशी चलखेलले नेपाल भासिएको छ । मेरो पहिचान नेपाली हो र म नेपाली भएको नाताले नेपाल जोगाउनुपर्छ । कुनै पनि राष्ट्र जोगाउनका लागि उसको पहिचान के हो त ? भन्ने विषय मूल हो । पहिला कम्युनिष्ट भएर धर्मनिरपेक्षको वकालत गर्दै हिँडें । कालान्तरमा मैले अंगालेको त्यो दिशा सही रहेनछ भन्ने बुझेँ । नेपालको पहिचान तीन कुराले दिएको छ । 

० के–के हुन् ती तीन कुरा ?

– पहिलो हो, शाहवंशीय राजसंस्था । नेपालको पहिचान देश एकीकरण गर्ने पृथ्वीनारायण शाहसँग जोडिएको छ । दोस्रो हो, नेपाली सेना । जसको नेपालको एकीकरण गर्न महŒवपूर्ण भूमिका रह्यो । तेस्रो हो, हिन्दू धर्मसहितको राष्ट्र । 

० राजसंस्था चाहिनेचाहिँ किन ?

– अहिले यो देश अभिभावकविहीन भएको छ । अहिलेका राष्ट्रपति, प्रधानमन्त्री राजनीतिक दलबाट त्यहाँ पुगेका हुनाले नेपाली जनतासमक्ष ‘हाम्रो’ भन्ने एकस्वर नै सुनिँदैन । कानुनी हिसाबले भयो होला । तर, सबै जनताले स्वीकार गर्न सक्दैनन् । 

अहिले प्रचण्डजी चीन भ्रमणमा दलबलसहित जानुभएको छ । मिडियामा चर्चामा आउनुबाहेक उहाँको अरु केही भूमिका देख्दिनँ । भूकम्प गएको पाँच वर्ष बित्यो, बाढीले देश तहसनहस भएको छ । तर, सत्तासीन नेताहरु ट्याक्स बढाएर घुमफिरमै रमाएका छन् । यति समयमा राजसंस्था फर्किन्छ भनेर किटान गर्नु नपर्ला । दलहरुको नैतिकता गिरेपछि यो स्वतः फर्किन्छ । 

० तपाईं माओवादी पार्टीसँग कसरी जोडिनुभयो र फेरि अलग्गिनुभयो ?

– सर्वत्र निराशा छाएको बेला माओवादी नयाँ रुपमा देखाप¥यो । गणतन्त्र, धर्मनिरपेक्षसहितको जातीय नारा लिएर माओवादी सशस्त्र जनयुद्धमा होमियो र मलाई पनि त्यो मुद्दा जायज लाग्यो  । वर्तमान नयाँ शक्तिकी नेत्री हिसिला यमी र म पुल्चोक इञ्जिनियरिङ कलेजका साथी । उनीसँग १६ वर्ष सँगै काम गरियो । बाबुराम भट्टराई र मैले एकैसाल एसएलसी दिएका हौँ । उनी बोर्ड फस्र्ट भए, म दशौँ । त्यो कालखण्डमा जोडिनुलाई गलत र पछुतो मान्दिनँ । त्यतिखेर जे गरियो, राष्ट्रका लागि गरियो । माओवादीको मूल एजेन्डा सामाजिक रुपान्तरणसहित धार्मिक प्रथाको अन्त्य थियो । त्यसमाथि सबैभन्दा बढी त क्रिस्चियनको विरोध गरिन्थ्यो । त्यतिबेला माओवादी ठाउँ–ठाउँका क्रिस्चियनका समुदायप्रति आक्रामक रुपमा प्रस्तुत पनि भयो । धेरै स्थानका चर्च बन्द गरियो । पछि म माओवादीसँग नजिक भएपछि चर्चहरु खोलिए । र, धार्मिक समुदायप्रति लचकता देखाइयो । धार्मिक समुदाय पनि हामीलाई काम लाग्दोरहेछ भन्ने कुरामा मैले विश्वस्त बनाएँ । पछि माओवादी शान्ति प्रक्रियामा आयो । बहुमत प्राप्त गरेर संसदमा पनि उपस्थित भयो । म यही सिफारिसमा राष्ट्रिय मानवअधिकार आयोगको सदस्य भएँ । छ वर्ष बिताएँ । तर, सोचेजस्तो काम भएन । माओवादीले पनि आयोगलाई खासै चासो दिएन र मलाई पनि कुनै सहयोग भएन । त्यसपछि माओवादी पार्टी पनि अन्य दलझैँ माफियाको चक्रव्युह र चरम पुँजीवादमा होमियो ।

० मानवअधिकार आयोगको सदस्य हुँदाको अनुभव के छ ?

– यो मानवअधिकार त नेपालीलाई थाहै छैन । यो विदेशी कानुन हो । मुख्यतः युरोपियन खेल हो । त्यसकारण राष्ट्रिय मानवअधिकार आयोगको सबै कुरा एक÷एक गरी सुनाउने कुरा आएन । भन्न पनि मिल्दैन । सबै थाहा छँदैछ, अध्यक्षसहित पाँच सदस्यीय आयोग रहन्छ । हामी आयोगमा छिरेपछि एक वर्ष राम्रैै तरिकाले काम गरियो । एक वर्षपछि दुई जना अलग भयौँ (म र डा. लीला पाठक) । चार वर्षसम्म बैंठक बहिस्कार ग¥यौँ । डा. पाठक व्युरोक्रेसी र म शिक्षा क्षेत्रबाट आयोगमा गएका थियौँ । त्यस्तै, दुई जना कानून र एक जना नागरिक समाजबाट जानुभएको थियो । एकवर्षको अवधिमा हामी दुई जनाले आयोगमा देखिएको विकृति हटाउन लागि प¥यौँ । तर, यस विषयमा कुनै सांसदले चासो दिएनन् । छोड्छु भनेर तयार भइसकेपछि म फिर्ता हुनुप¥यो, तर लीलाजी फर्केर जानुभएन । 

० अहिले एमालेसँग एकता भएपछि तत्कालिन माओवादी सबभन्दा ठूलो पार्टी भएको छ । केही अवसर दियो भने जोडिने चाहना छ कि ?

– त्यस्ता प्रस्ताव त कति आए, आए । अहिले पनि आइरहेका छन् । प्रचण्ड, मोहन वैद्य, विप्लब, डा. बाबुराम भट्टराई र गोपाल किराँती सबै मेरा मित्रहरु हुनुहुन्छ । व्यक्तिगत रुपमा हाम्रो सम्बन्ध बिग्रिएको छैन । तर, राजनीतिक रुपमा उहाँहरुसँग जोडिने मनसाय छैन÷जोडिन्नँ । जब म उहाँहरुसँग जोडिन्छु, उहाँहरुले अहिले मैले बोलेजसरी खुल्ला रुपमा बोल्न दिनुहुन्न । अर्काे कुरा, नेकपाबाहेक अरु कुनै दलबाट जतिसुकै अफर आए पनि जोडिने पक्षमा छैन ।

० पछिल्लो समय नेपालमा केही समुदायले गाई काटेर खान पाउनुपर्ने माग गरेका छन् । यसमा के भन्नुहुन्छ ?

– योचाहिँ अति संवेदनशील विषय हो । मैले भन्दै आएको कुरा के हो भने नेपाल पूर्णरुपमा हिन्दू राष्ट्र हुनुपर्छ । तर, पूर्णरुपमा धार्मिक स्वतन्त्रतासहितको । मतलब सबै धर्महरु हिन्दू धर्ममा अटाउनेखालको । र, ‘सर्व धर्म सम्भाव’ तिर जानुपर्छ । 

० जनयुद्धलाई क्रिस्चियन समुदायको सहयोग कस्तो थियो ? 

– यहाँका चर्चमा माओवादीको मिटिङ बस्थ्यो र क्रिस्चियनबाट विभिन्न शीर्षकमा सहयोग पनि भयो ।


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top