प्राणले शरीर छाडिसक्दा पनि पद नछाड्ने !


Friday, 21 Sep, 2018 12:42 PM

  • कृष्णमुरारी भण्डारी

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपी कोइरालाको १०५ औं जन्मदिवस कार्यक्रममा भनेछन्, ‘राजनीतिमा सक्रिय होउञ्जेल नेता बुढो हुँदैन !’ आफैं बुढेसकालको स्वान उमेरमा रहेका रामचन्द्रको पछिल्लो भनाइअनुसार अब उनले लाटो कोसेरोको आयुमा पनि पद छाड्ने देखिएन ! 
 स्वान र लाटोकोसेरोको प्रसंग किन भने भगवान् ब्रह्माबाट ४०/४० वर्षको आयु पाएपछि मानिस एकदमै असन्तुष्ट भयो तर गधा, कुकुर र लाटोकोसेरोले उमेर घटाउन ब्रह्मालाई प्रार्थना गरे । ब्रह्माले तीन जनावरका २०/२० वर्ष आयु झिकिदिएर उमेर बढाउन लालायित मानिसलाई नै खप्टिदिए । यसपछि ४० वर्षको आयु रहेको मानिसको उमेर सय वर्षसम्म पुग्यो । तर थपिएको उमेरमा क्रमशः गधा, कुकुर र लाटोकोसेरोको स्वभाव देखिन थाल्यो किनभने ती उमेर तत्तत् जनावरबाट प्राप्त भएको थियो ।   

ऋषिमुनिका अनुसार यसको अर्थ हो, अहिले पौडेल स्वान स्वभावमा कराउने अन्तिम चरणमा छन् । त्यसैअनुसार उनी आफ्नो मनसुवा प्रकट गरिरहेका छन्, प्राणले शरीर नछाडुन्जेलसम्म पनि पद छाड्दिनँ । यही घोषणा उनले बिपी जन्मजयन्तीका अवसरमा भदौ २४ गते गरेका हुन्, ‘राजनीतिमा सक्रिय होउञ्जेल नेता बूढो हुँदैन !’ अर्थात् म बूढो भएको छैन । तर, उनको भनाइलाई कार्यक्रममा सहभागी कांग्रेसजनले गलललल हाँसेर उडाइदिए । तर, पौडेलको अनुहार भने बडो आत्मविश्वाससाथ आगामी दिनमा पनि कांग्रेस उनको वरद नेतृत्वमा फल्ने त कुन्नि फुलेको अवस्थामा भने रहिरहने पक्काझंै ठानिरहेको देखिन्थ्यो ।

पौडेलको जन्म पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको एसएलसी प्रमाणपत्रको जस्तो बदलिएको छैन भने उनले ७५ वर्ष काटिसकेका छन् र चाँडै लाटोकोसेरो वर्षमा प्रवेश गर्दै छन् । पाठकलाई जानकारी नै छ, लाटोकोसेरो राति सुत्दैन । दिउँसो सुत्छ । रातभरि गनगन गरेर अरूको निद्रा बिथोलिरहन्छ !

रामचन्द्र पौडेल यो लेखमा उल्लेख गरिएका एक प्रतिनिधिपात्र मात्र हुन् । कांग्रेसमा लामो समयदेखि अन्तर पुस्ता न्याय हुने गरेको छैन । राजनीति र प्रजातन्त्रको गफ त कांग्रेसी र कांग्रेस समर्थक खुबै दिन्छन् तर राजनीतिले न्याय दिन्छ, न्यायपालिकाले मात्र होइन भन्ने उनीहरूको भेजामा अझै घुसेको सम्म देखिँदैन । नमरुञ्जेल आफैं कांग्रेसको नेतृत्वमा बस्ने, आफू मरेपछि परिवारलाई नेतृत्वमा पु¥याउने, आफ्नै चाटुकारलाई ल्याउने सोच र व्यवहार गरेपछि पार्टी कसरी अगाडि बढ्न सक्छ ? जनता कसरी सुखी र देश कसरी समृद्ध होओस् ? 
प्रजातन्त्रमा कसैको पनि पदावधी निश्चित समयसम्मका लागि हुन्छ । सांसदहरूको पनि पदावधी तोकिएको हुन्छ । चुनावमा जितिरहे पनि प्रजातन्त्रका अनुयायी सांसदहरू विवेक प्रयोग गरेर सक्षम, सक्रिय युवालाई जिम्मेवारी सुम्पी पद छाड्छन् किनभने प्रजातन्त्रिक दलमा युवा नेतृत्वलाई शरीरमा ब्लड सर्कुलेसन भएजसरी सर्कुलेट हुन नदिने हो भने पार्टी नै समाप्त हुन्छ ।

 युवालाई ब्लक गरिरह्यो भने गैरसरोकारवालाले पार्टी कब्जा गर्छन् र आफ्नो स्वार्थ पूरा गर्न थाल्छन्, दलको होइन । गैरसरोकारवाला स्वार्थी समूहले पार्टी नेतृत्व कब्जा गरेपछि प्रजातान्त्रिक मूल्य–मान्यतामा ह्रास आउन थाल्छ । कांग्रेसमा लामो समयदेखि भएको यही हो । तर, यो रोग कांग्रेसमा मात्र छैन । रामचन्द्र पौडेल त्यस्ता उदाहरण हुन् जसले हारे पनि पदलोलुपता छाडेनन् । यसैले गर्दा उनमा घोर प्रजातन्त्रविरोधी सोचले घर बनाएको हो । १७ पल्ट प्रधानमन्त्रीका लागि भएको चुनावमा हारे तैपनि पदमा पुग्ने लालसा घटेको छैन, बरु बढेकै देखिन्छ । संसद्को चुनावमा हारे, पार्टीभित्रको चुनाव हारे । तर, यसबारे अरूले भन्दा पनि उनैले सोच्नु र मनन गर्नुपर्ने हो– राजनीति पेशा होइन, यो त सेवा हो ! तर, उनी अझै पनि राजनीतिलाई पेशा बनाउन दत्तचित्त छन् । 

कहिलेकाहीँ हनुमान भन्छन्–महाथिर मोहम्मद ९४ वर्षको उमेरमा राजनीतिमा सक्रिय हुन हुने तर हाम्रा रामचन्द्र दाइ किन नहुने ? उनका कार्यकर्ता बडा जबर्जस्त छन् तर उनीहरूलाई के थाहा छैन भने महाथिरले गरिब मलेसियालाई धनी देश बनाए । तर, रामचन्द्र दाइले देशको त कुरै छाडौं आफ्नो निर्वाचन क्षेत्रलाई पनि सम्पन्न बनाउन सकेनन् । त्यही कारण रामचन्द्रका कार्यकर्ता मलेसिया पठाइदिने पावर लगाउन ‘ढुकुरको गँुड’ अगाडि हरेक दिन लाम लाग्छन् । 

 त्यसैले बिपी जन्मजयन्तीका दिन ठाँटबाँठले माइकमा बोले पनि रामचन्द्र पुस्ताले बिपीविरुद्ध बोले । बिपीका तीन आदर्श प्रजातन्त्र, राष्ट्रियता र समाजवादमध्ये तीनवटैलाई तिलाञ्जली दिइरहे, पश्चात्ताप गरेनन् । 

 कांग्रेसका नेताले पहिले प्रजातन्त्रलाई छाडे किनभने सिद्धान्त र आदर्शलाई छाडेर सत्तामा जान कांग्रेसले कुन पार्टीसँग साझेदारी गरेन ? अहिले रुन पनि नदिने भनेर सत्तोसराप गर्ने वामपन्थीदेखि मधेसी, जातिवादी र एक समानुपातिक सिट भएको चुरेभावरसम्म कसैलाई छाडेन कांग्रेसले । तर, संसारभरका प्रजातन्त्रवादी विचार नमिल्नेसँग सत्ताका लागि एकता गर्दैनन् । गरेका छैनन् । प्रजातन्त्रपछि कांग्रेसले राष्ट्रियतालाई छाड्यो । कांग्रेसले कतिसम्म दयनीयता प्रदर्शन ग¥यो र टाट पल्टिएको व्यापारीजस्तो बन्यो भने नेपालमाथि भारतले गरेको नाकाबन्दीविरुद्धसम्म एकशब्द बोल्न सकेन जबकि त्यो नाकाबन्दी खासमा कांग्रेस सभापति सुशील कोइरालाको प्रधानमन्त्रित्वमा शुरु भएको थियो । कांग्रेस नेतृत्व यति गैरजिम्मेवार बनेको छ कि भारतले पूर्वपश्चिम बाँध बाँधेर वा सडक बनाएर तराईका गाउँ डुबाउँदा पनि एक शब्द बोल्न सकेको छैन ।

 जहाँसम्म समाजवादको कुरा छ, कांग्रेसले पोखरामा भएको अधिवेशनमा समाजवाद छाड्यो । जबकि यतिबेला वामपन्थीले जुन चुनाव जितेका छन्, त्यो समाजवादी कार्यक्रम ल्याउँछौं भनेर गरिब र तल्लो तहको भोट पाएर । जनतालाई फाइदा पु¥याउने कार्यक्रम कार्यान्वयन गर्छौं भनेर ! कसको फाइदाको काम गर्छन् हेर्न अब धेरै कुर्नुपर्ने देखिँदैन ।


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.62,000/-

चांदी

प्रति तोला

NRs.775/-

तेजाबी

प्रति तोला

NRs.61,700/-

Top