कीर्तिपुर पुगेपछि मनका कुरा


Tuesday, 21 Aug, 2018 12:22 PM

  •  लक्ष्मी पौडेल

साँघुरा गल्ली, कलात्मक, परम्परागत घर, राता इँटा र ढुंगाले छापिएका बाटो, बीचमा भेटिने चैत्य, मठ–मन्दिर, नेवारी रहनसहन, काठमाडौंबाट करिब ८ किलोमिटर दक्षिण पश्चिममा झुम्म परेको र थुम्कोमा अवस्थित कीर्तिपुर ऐतिहासिक बस्ती हो । कीर्तिपुर छिर्ने १२ ढोका छन्, प्राचीनकालमा बनाइएका । परापूर्वकालमा कीर्तिपुरलाई सुरक्षा दिन निर्मित पर्खाल अहिले भग्नावशेष भएको छ । ‘गढको सुरक्षा तोड्न नसकेर राजा पृथ्वीनारायणले तीन पटक युद्ध गर्नुपरेको थियो’, स्थानीय जानकार वीरेन्द्र शाक्यले भने ।

कीर्तिपुर पुग्दा सबैभन्दा पहिले स्वागत गर्न आइपुग्छ चिसो हावा, काठमाडांैको धुलो र धुवाँबाट आजित भएका बेला हावाको झोंक्काको स्पर्श प्रिय लाग्छ । कीर्तिपुर २ दशमलव ६ किलोमिटरको चक्रपथले घेरिएको छ । यहाँ बसोबास गर्ने प्रायः सबै नेवार समुदायका छन् । 

कीर्तिपुरमा परम्परादेखि चल्दै आएका गथांमुगः, गथुप्याखः, इन्द्रायणीजात्रा, गाईजात्रा र दसैं–तिहारजस्ता चाडपर्वको जीवन्तता भेट्न सकिन्छ । बाघभैरव, उमा महेश्वर, नारायण सरस्वती र इन्द्रायणी मन्दिरमा रहेको उत्कृष्ट वास्तुकला पर्यटकका लागि प्रमुख आकर्षण हो । लोंदेगः, शाक्यमुनि बुद्ध मन्दिर, लोकेश्वर मन्दिर शिखरशैलीका उत्कृष्ट नमुना यहाँ भेट्न सकिन्छ । समुद्री सतहबाट १४ सय १४ मिटर उचाइमा अवस्थित  उमामहेश्वरबाट मनोरम प्राकृतिक दृश्यका साथ काठमाडांै तथा कीर्तिपुरभन्दा अग्लो चोभार डाँडाको प्रत्यक्ष अवलोकन पर्यटकका लागि लोभलाग्दो छ । करिब ६ सय वर्षअघि पाटनका जगतपाल बर्माले कीर्तिपुर बिहे गरेको र ससुरालीमा केही कीर्ति राखौँ भन्ने मनसायले बनाएको चिलन्चो जगतपाल महाविहार यहाँको अर्को आकर्षण हो । 

लेखक डा. चन्द्रमान बज्राचार्यका अनुसार कीर्तिपुरको नामकरण हुनुपूर्व यस पर्यटकीय क्षेत्रको नाम बुँः देः रहेको पाइन्छ । नेवारी प्रचलनमा बुँः भनेको जंगल र देः भनेको देश भन्ने हो । यसको अर्थ जंगलक्षेत्रले घेरिएको यस क्षेत्रको नाम सोहीअनुसार रहेको थियो । पछि त्यहाँ शासन गर्ने कीर्तिलक्ष्मीको नामबाट पनि कीर्तिपुर रहन गएको किंवदन्ती छ । तर, यसलाई इतिहासले पुष्टि गरिएको भने पाइँदैन । लाम्चो आकारमा रहेको कीर्तिपुरको पूर्वी भागमा चिलन्चो बिहार अवस्थित छ, यस्तै मध्यभागमा बाघभैरवको मन्दिर र पश्चिममा उमामहेश्वरको मन्दिर छ । स्थानीयले धार्मिक सहिष्णुताका लागि भन्दै पूर्वी भाग बौद्ध धर्मावलम्बी र पश्चिमी भाग हिन्दू धर्मावलम्बीको आस्था क्षेत्रका रूपमा चिनाउँछन् ।

स्थानीयमा चिन्ता

ऐतिहासिक कीर्तिपुर पर्यटकीय क्षेत्र हो तर समयक्रमअनुसर यस क्षेत्रको परम्परा पुराना शैली, कला र संस्कृतिको जगेर्ना हुन नसकेको चिन्ता यहाँका स्थानीयमा छ । कीर्तिपुरमा प्रख्यात कपडा, गलैँचा र काष्ठकला निर्माण अहिले लोप भएको छ । केही सीप भएका पुर्खा पनि यसतर्फ रुचि राख्दैनन् । डा. चन्द्रमान बज्राचार्यले आफ्नो पुस्तक ‘र्कीतिपुर नगरपालिकाका पर्यटकीय क्षेत्र एक झलक’ मा कीर्तिपुरको तान बुन्ने मुख्य पेशा उल्लेख गरेका छन् । भन्छन्, ‘कीर्तिपुर परिचय बोकेको तान बुन्ने पेशा हरायो ।’

कीर्तिपुरमा आएका पर्यटकले यहाँका संस्कृति र चालचलनबारे पर्यटन सूचना केन्द्रबाट जानकारी लिने गरेका छन् । केन्द्रका अध्यक्ष रूपक महर्जनका अनुसार कीर्तिपुरमा अध्ययन केन्द्र आवश्यक छ । यहाँ आउने पर्यटकका लागि उचित बासको व्यवस्था हुन नसक्नु प्रमुख समस्या हो । हालै यसरी पर्यटकका लागि तीनवटा होमस्टे सञ्चालनमा ल्याइएको छ । तर, यो पर्याप्त छैन । 

कीर्तिपुरमा परम्परागत रूपमा प्रयोग हुँदै आएका भाँडाकुँडा, हातहतियार, पोसाक लोप भएकोमा यहाँका अगुवा चिन्ता व्यक्त गर्छन् । ‘कीर्तिपुरको प्रसिद्ध बाघभैरव मन्दिरमा पृथ्वीनारायण शाहले युद्ध गर्दा प्रयोग गरेका हतियार छन्’, स्थानीय जानकार वीरेन्द्र शाक्यले भने, ‘तिनलाई संग्रहालयमा राखेर आउने पर्यटकलाई जानकारी दिन सके राम्रो हुन्थ्यो ।’

कीर्तिपुरका बासिन्दाले भान्सामा प्रयोग गर्ने सरसामान, चुलोचौका अझै केही परम्परागत नै छन् । नगरपालिकाका प्रमुख रमेश महर्जन  दीर्घकालीन योजना बनाएर अघि बढेको बताउँछन् । नेपाल सरकारको प्राथमिकतामा रहेको कीर्तिपुर क्षेत्रमा पर्यटकका लागि उचित वासको व्यवस्था, फोहोर व्यवस्थापन, शौचालयको सुविधा प्रमुख आवश्यकता हो । यस क्षेत्रमा खुलेका केही होटल तथा लजले बस्ने व्यवस्था गरेको भए पनि परम्परा र संस्कृति झल्कने र जानकारी दिने खालको काम गर्न सकेका छैनन् । 

दैनिक सय हाराहारीमा पर्यटक कीर्तिपुर पुग्छन् । तर, उनीहरूलाई त्यस क्षेत्रबारे जानकारी दिने र उनीहरूको बसाइ लम्ब्याउन सांस्कृतिक झाँकी वा नियमित कार्यक्रम हुन नसक्दा पर्यटकबाट लाभ लिन नसकिएको पर्यटन सूचना केन्द्र कीर्तिपुरले जनाएको छ ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top