​सिंहदरबारमा तपाईं भन्दैनन् !


Tuesday, 21 Aug, 2018 12:11 PM

  • दुर्गा सुवेदी, राजनीतिक विश्लेषक-लेखक

अख्तियार प्रमुख रहेको बेला लोकमानसिंह कार्कीले मुद्दा आफ्नो पक्षमा फैसला होस् भन्नका लागि १० करोड ‘गोडधुवा’ पठाएको कुराले बजार गर्माएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीका पति तथा पूर्वकांग्रेस नेता दुर्गा सुवेदीमार्फत आएको उक्त प्रस्ताव उनले अस्वीकार मात्रै गरेनन्, हालै प्रकाशित ‘विमान विद्रोहः एउटा राजनीतिक अपहरणको बयान’ नामक पुस्तकमा त्यसको खुलासा पनि गरेका छन् । ०३० सालको चर्चित विमान अपहरण काण्डका एक मुख्य पात्र सुवेदी लामो समय नेपाली कांग्रेसमा आबद्ध थिए । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की उनकी पत्नी हुन् । अहिले स्वतन्त्र रुपमा राजनीतिक विश्लेषण र पुस्तक लेखनमा अग्रसर भएका छन् । सरकारद्वारा सशस्त्र द्वन्द्वरत नेकपा (माओवादी) सँग सम्पर्क राख्नका लागि पहिलोपटक मध्यस्थकर्ता बनाइएका सुवेदी हालै एकीकृत कम्युनिष्ट पार्टीको भविष्य र यो सरकारको कार्यशैलीबारे बोल्ने बेला नभएको धारणा राख्छन् । 

० लोकमानले ‘गोडधुवा’ भन्दै १० करोड पठाएको कुरा किताबमा लेख्नुभयो । कतिपयले ‘लेख्दैमा हुन्छ ?’ भनेर प्रश्न उठाएका छन् नि !
– भ्रष्टाचारको कुनै प्रमाण हुँदैन ! भ्रष्टाचार ठहर गर्ने काम अदालतको हो । अर्को प्रमाण समाज हो । पहिला यो मान्छे कस्तो थियो, पछि कस्तो भयो ? समाजले देखिराखेको हुन्छ ! कसैले कसैलाई घूस दिनु छ भने तमसुक गरेर दिन्छ र ?

० विमान अपहरण गर्दाको भन्दा ठूलो तनाव सुशीला कार्की प्रधानन्यायाधीश हुँदा भयो भन्नुभएको छ । के–के तनाव आए ? 
– सत्ता वा शक्तिमा बसेको मान्छेबाट काम लिन जो पनि तयार हुन्छन् । जायज वा नाजायज, जे पनि भन्छन् । मैले त्यसैको चर्चा गरेको हुँ । मेरालागि कसैलाई बनाइदिनु र बिगारिदिनु पर्ने कुनै दायित्व, बाध्यता वा परिबन्द छैन । लोकमान भन्नुस् या अरु कुनै पात्रको कुरा गर्नुस्, उनीहरुसँग कुनै लेनादेना भए वा उनीहरुलाई राम्रो र नराम्रो भन्ने आग्रह पालेको भए यो किताब लेख्नै सक्दिनँ थिएँ । आफ्नो उमेरमा प्रजातान्त्रिक आन्दोलनको कार्यकर्ता भएँ । देशको इमान्दार नागरिक हुनुको दायित्वलाई आफ्नो जवानी प्रजातान्त्रिक आन्दोलनमा सुम्पिएर निर्वाह गरेँ । त्यो आन्दोलनमा लागेर केही कमाएको छैन । मन्त्री भइनँ, सांसद भइनँ । चाहियो भन्दै कतै हिँडिनँ पनि । जिन्दगीको यत्रो यात्रा लोभलालच नगरी बिताइसकेँ भने अब केही कुराको लोभ राखेर पाउनु नै के छ र ? त्यसैले लेख्न मिल्ने जति कुरा लेखिदिएँ । कतिपय कुरा बाँकी होलान्, लेखिनँ होला । तर, ती के–के कुरा हुन् भनेर खोतल्दै पनि किन हिँड्नु ? 

० नेपाली कांग्रेसको सरकारले सुशीला कार्कीका विरुद्ध महाभियोग प्रस्ताव दर्ता ग¥यो । त्यसको फलस्वरुप कांग्रेस यो हालतमा पुग्यो भन्ने मान्नुहुन्छ ? 
– समाजले त मान्छे चिन्छ नि ! को इमान्दार, को बेइमान भन्ने कुराको हिसाब राखेको हुन्छ । त्यसैले आमजनताको भोट नपाएर कांग्रेसले हारेको हो । कांग्रेस सरकारले सुशीला कार्कीलाई लगाएको महाभियोगको प्रस्तावलाई इमान्दारका विरुद्ध बेइमानहरुको भूमिका भनेर जनसमाजले बुझ्यो । समाजले परिणाम हैन, परिस्थितिलाई हेरेर निर्णय गर्छ ।

० त्यस्तो काम गर्ने नेपाली कांग्रेसलाई के भन्नुहुन्छ ? 
– संसारले चिन्दा नेपाली कांग्रेस भनेको प्रजातान्त्रिक पार्टी नै हो । म पनि त्यही भन्छु । व्यक्ति खराब होलान्, तर नेपाली समाजमा स्थापित भएको प्रजातान्त्रिक पार्टी हो । उसले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई राम्रोसँग बुझेको छ भन्ने विश्वास मान्छेहरुमा छ । प्रजातन्त्रको कुरा त पहिला कांग्रेसले नै गरेको हो । कम्युनिष्टहरु पछि आए । त्यस्तो पार्टीले न्यायालयमाथि हस्तक्षेप गर्छ, प्रभाव कायम राख्न खोज्छ भनेर कसैले अनुमान गरेका थिएनन् । मलाई पनि त्यस्तो अनुमान थिएन । तर, अकस्मात् त्यस्तो भइदियो । संसदमा आफ्नो बहुमत छ भन्दैमा न्यायालयलाई त्यसरी चलाउनु हुँदैन भन्ने कुराको जवाफ जनताले दिएका हुन् भन्ने कुरा मान्न तयार छु । 

० अब कांग्रेस पहिलाको जस्तो लोकप्रिय अवस्थामा फर्केला त ? 
– अब समय फेरियो । पहिलाजस्तो नेपाली कांग्रेसको ‘रुख छाप’ भन्दैमा, एमालेको ‘सूर्य छाप’ भन्दैमा जनताले भोट हाल्ने दिन गयो । पार्टी हैन, व्यक्ति हेर्ने चलन आयो । जुन पार्टीले राम्रो काम गरेको छ, अप्ठेरोमा जनतालाई जसले साथ दिएको छ, यसपालिको चुनाव त्यसैको प्रतिबिम्ब हो । कम्युनिष्टहरु त अहिले न ठूलो पार्टी बनेर आए ! कांग्रेस त धेरैपटक ठूलो पार्टी बन्यो । तर, धेरैपटक बहुमत ल्याएर के ग¥यो त ? त्यसैले जसले केही गर्छ अर्थात्, जसले जनताले चाहेका विकास र प्रगतिका कामहरु दिन सक्छ, चुनाव उसलाई जिताउनुपर्छ भनेर आज कम्युनिष्टहरु ठूलो पार्टी बनेका छन् । यसको मतलब यो होइन कि, नेपालबाट कांग्रेस सकियो । कांग्रेस जीवित छ । सीटहरु बढी कम्युनिष्टले जिते पनि भोट त कांग्रेसकै बढी आएको छ । यो कुरा कम्युनिष्टहरुले बिर्सिनुहुँदैन कि, ‘हामीलाई जनताले कामका लागि जिताएका हुन्, नाम हेरेर होइन ।’ त्यसैले म कांग्रेसले हारेको भन्दिनँ । नेतृत्व असफल हो । त्यो असफल नेतृत्वलाई जनताले अनुमोदन गरेनन् ।

० यो सरकारले पनि कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाईबाट अस्वीकार गरेको छ । यसलाई नेपाली कांग्रेसले न्यायालयमाथिको हस्तक्षेप भनेको छ । तपाईं के भन्नुहुन्छ ? 
– प्रजातान्त्रिक व्यवस्थामा संसदीय सर्वोच्चतामाथि प्रश्न उठाउने कुरा भएन । किनभने, शासन व्यवस्थाका स्रोत जनता हुन् र संसद उनीहरुको प्रतिनिधिमूलक संस्था हो, व्यवस्थापिका हो । न्यायसम्पादनको क्षेत्रमा रहेका मानिस कत्तिको नैतिक धरातलमा छ ? कत्तिको निष्पक्ष र तटस्थ छ भन्ने कुरा व्यवस्थापिका संसदले उठाउन सक्छ । तर, जोशीजीको शैक्षिक प्रमाणपत्र सक्कली, नक्कली के हो भन्ने कुरा व्यवस्थापिकाले भन्ने होइन । उसले ‘सन्देहात्मक’ भनेको छ । अब उहाँको ती शैक्षिक प्रमाणपत्रहरु सन्देहात्मक हुन् कि होइन, नक्कली हुन् कि सक्कली भन्ने कुरा त छानवीन गर्नुपर्छ । सुनुवाइ समितिले उठाएका कुरा छानबिनपछि गलत सावित हुन्छ र जोशीजीका सबै प्रमाणपत्रहरु सही छन् भन्ने निश्कर्ष निस्कन्छ भने उहाँलाई संसदले त्यहीअनुसारको जवाफ र भूमिका दिनुपर्छ । समितिले प्रश्न उठाएजस्तो ‘सन्देहात्मक’ छन् भने त्यस्तो प्रमाणपत्रका आधारमा उहाँले किन जागिर खानुभयो ? 

० जोशीमाथि छानवीन गरेर यदि आरोप पुष्टि भएन भने फेरि उहाँलाई नै प्रधानन्यााधीश बनाउनुपर्छ ? 
– पर्छ नि † प्रश्न मात्रै उठाएर त्यसै छोडी हिँड्ने ? यसरी हुँदैन । त्यसको निचोडमा पुग्नु पर्दैन ? 

० केपी ओली सरकारको कार्यशैलीलाई के भन्नुहुन्छ ? 
– कम्युनिष्टहरुको भाषा र काम गर्ने शैली फरक हुन्छ । कतिपय कुरा नबुझिने किसिमका हुन्छन् । संसदीय व्यवस्थामा आइसकेपछि संसदीय सर्वोच्चता स्वीकार्नुपर्छ, संसदीय अभ्यासका न्युनतम मान्यताहरुलाई आत्मसात् गर्नुपर्छ । उनीहरु पहिलोचोटि संसदभित्र एकल बहुमत लिएर बसेका छन् । त्यसैले यो परिस्थितिलाई कम्युनिष्टहरुले कसरी सदुपयोग गर्लान् वा दुरुपयोग गर्लान् भन्ने कुरा अहिल्यै भन्न सकिँदैन । हेरौँ न !

० उनीहरुले विगतमा पनि पटक पटक सरकार चलाएका हुन् नि !
– राम्रो कुरा के हो भने, कम्युनिष्ट पार्टी भएर पनि उनीहरु संसदीय प्रतिस्पर्धामा छन् । प्रजातन्त्रका विधि र मान्यताहरुलाई आत्मसात गरेका छन् । कहिले हारेका छन्, कहिले जितेका छन् । त्यो हार र जीतलाई स्वीकार्दै अघि बढ्नु राम्रो कुरा हो । बरु लामो समय सत्तापक्षीय भूमिकामा रहेको नेपाली कांग्रेसले प्रतिपक्षी भूमिका निभाउन सकेको छैन । इस्युका आधारमा विरोध गर्नुपर्छ, विरोधका लागि विरोध गरेर प्रजातन्त्र फस्टाउँदैन ।

० यो सरकारले राम्रो गर्ला भन्ने संकेत देख्नुहुन्छ ?
– एक वर्ष नहेरी त के भन्न सकिन्छ र ? त्यसमाथि लामो समय प्रतिपक्षी भूमिकामा बसेको पार्टी सत्तारुढ भएपछि शुरुमा अलमल हुनसक्छ । जनताले पनि हिजोका प्रतिपक्षीले कस्तो काम गर्लान् भनेर अलिक बढी नियालेका हुन्छन् । कांग्रेस आफैँले हारेको होइन, उसको नेतृत्वले मात्रै हारेको स्थिति हो । जनताबाट कांग्रेस विस्थापित भयो भनेर बुझिन्छ भने त्यो पनि गलत हुन्छ ।

० सरकारले सबै क्षेत्रमा कर बढाउने, नयाँ विषयमा कर लगाउने काम गरेर आलोचना भइरहेको छ । यसमा के भन्नुहुन्छ ?
– मेरो घरमा धारा छ । पानी कहिल्यै आउँदैन, बिल महिनैपिच्छे आउँछ । म पैसा तिर्छु । त्यसरी पैसा तिर्नुपर्दा कति दुःख लागेको होला ? राज्यले जनतालाई करको दायरामा ल्याउँछ, विभिन्न पेशा, क्षेत्र र व्यवसाय करको दायरामा आउनु स्वाभाविक हो । तर, करबापत जनताले के सुविधा पाउने ? कर तिरेका जनताले धुलो खाएर हिँड्नुपर्ने, हिलोमा चिप्लिँदै हिँड्नुपर्ने अवस्था शहरतिरै देखिन्छ । दोहोरो, तेहेरो कर लगाइएको छ । म करविरोधी होइन । तर, जनताले कर तिरेअनुसार सुविधा पाएनन् भने भोलि सरकारविरुद्ध सडकमा उत्रिन्छन् ।

० प्रदेश सरकार, स्थानीय सरकार बनेका छन् । कस्तो देखिरहनुभएको छ ?
– गाउँ–गाउँमा सिंहदरबार लैजाने भनियो । सरकार भनेको संस्कारले चलेको हुन्छ । सिंहदरबारको संस्कार भनेको असफल संस्कार हो । सिंहदरबारमा बसेका मान्छे कसैले पनि हामीलाई ‘तपाईं’ भन्दैनन् । हामी जनतालाई उनीहरुले नोकर ठानेका छन् । सरकारी अंगको प्रमुख पात्र कर्मचारीतन्त्र हो । सिंहदरबारको त्यही कर्मचारीतन्त्र प्रदेश र स्थानीय सरकार चलाउन गएर कस्तो सरकार बन्छ ? कर्मचारीले भन्नुपर्छ, हामी जनताका नोकर हौँ । तर, उनीहरु आफूलाई जनताको मालिक हो भन्ठानेका छन् । जनताको दैलोमा नजाने कर्मचारीतन्त्रबाट कस्तो सरकारको अपेक्षा गर्ने ? हामी जनतामा पनि हुकुमको पालना गर्ने संस्कार बस्यो । पानीकै पैसा तिरेको कुरा गरौँ न, पानी नआए पनि सरकारले पैसा तिर्न हुकुम दिएको छ । हामी पैसा तिरिरहेका छौँ । राजनीतिक नेतृत्व पनि जनताप्रति जति उत्तरदायी हुनुपर्ने हो, भएन ।

० कम्युनिष्टहरुको एकतालाई के भन्नुहुन्छ ?
– मिल्ने र टुक्रिने यिनीहरुको नियमित शृंखला हो । अहिले कुन उद्देश्यका लागि मिलेका छन् भन्ने कुरा जनताले बुझ्न सकेका छैनन् । यदि देशका लागि केही गर्न मिलेका हुन् भने त्यसलाई राम्रो मान्नुपर्छ । तर, अहिलेसम्म उनीहरुको एकता पनि अपुरो छ ।

० सशस्त्र द्वन्द्वकालमा माओवादी नेतासँग सम्पर्कमा रहनुहुन्थ्यो । अहिले कत्तिको सम्पर्क छ ?
– त्यसबेला सरकारले अनुरोध गरेर नजिक भएको हुँ । मेरो बेग्लै केही उद्देश्य थिएन । 

० प्रचण्ड र बाबुराम मिल्ने साथी पनि हुन् नि !
– प्रचण्डजीलाई त पछि चिनेको । बाबुरामजी चाहिँ खास साथी हो । उहाँ अहिले पनि उत्तिकै घनिष्ठ हुनुहुन्छ । समय–समयमा भेट हुन्छ । राजनीतिक कुरा त्यति हुँदैन, किनभने सम्बन्ध व्यक्तिगत हो । 

० अहिले पनि तपाईं कांग्रेस हो ? 
– अहिले म प्रजातान्त्रिक आन्दोलनको कार्यकर्ता हुँ । इतिहासको कुनै कालखण्डमा नेपाली कांग्रेसमा थिएँ । आज कुनै सम्बन्ध छैन ।

० समय कसरी काट्नुहुन्छ ?
– उमेरले ७५ वर्षको भएँ । भविष्य धेरै कम छ । त्यही थोरै भविष्य पर्खिएर बसेको छु । 

० बसोबास कहाँ ?
– काठमाडौं हुँदा धापासीमा बस्छौँ । विराटनगरमा पुरानै घर छँदै छ ।

० सुशीला कार्की प्रधानन्यायाधीश भएर फर्किएपछि पनि धापासीको घर साँघुरो भएन ? 
– हामीले त्यस्तो कुनै फराकिलो ठाउँ खोजेनौँ । यही साँघुरो घर नै फराकिलो लाग्छ । गरेको भए, सबैथोक बिर्सिएर चलेको भए होला, केही हुन्थ्यो । तर, त्यस्तो दुष्कर्म स्वीकारेनौँ ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top