पुस्तकको दुर्गतिले विचराको प्राणान्त


Wednesday, 25 Jul, 2018 3:30 PM

  • राजेन्द्र स्थापित

दक्षिण पेरिसस्थित गाउँ– पेता । ढुंगाले बनेका लहरै घरहरु । एक साँझ ढुंगे पुलसँगै दुईतले घरको ढोका कसैले ढक्ढक्यायो । घरमालिकले ढोका खोले । बाहिर घोडाले तान्ने गाडी थियो । ढोकानजिक इन्स्पेक्टर उभिएका थिए, साथमा चार जना प्रहरी जवान ।

‘तिम्रो घरको तलासी लिन आएको, वारेन्ट पुर्जी छ,’ इन्स्पेक्टर लारीले भने, ‘हामीलाई यो आदेश पेरिसस्थित मुख्यालयबाट पठाइएको हो ।’ उनले कागज हावामा हल्लाए । 

घर मालिक डेनिश डिडरोट एक पाइला पछि हटे । प्रहरी जवान फूल र तस्बिरले भरिभराउ उनको घरमा घुस्यो । घरको भित्ता, दराज, पलङमुनि खोज्न थाल्यो । सबै सामान भताभुंग पा¥यो । केही कागज टिप्यो । र, डेनिशलाई पनि लिएर बाहिरियो । डेनिश दार्शनिक ज्याँ ज्याक्स रुसो र भोल्तेयरभन्दा पनि लोकप्रिय थिए । दर्शन , कला, विज्ञान र साहित्यका मर्मज्ञ । इन्साइक्लोपिडियाका प्रधान सम्पादक । अत्यन्त विद्वान र अक्षर–पुरुष । घोडागाडीमा बस्दै पत्नी एन्तोनेट च्याम्पियनलाई मात्र यति भने, ‘राति खाने समयमा मलाई नपर्खनू ।’

सन् १७४७ को समय । फ्रान्समा जताततै अराजकता व्याप्त थियो । धर्मगुरु, सत्तामा बसेका र आफन्त सामन्तहरुको ऐøयासी चरमोत्कर्षमा पुगेको थियो । निरंकुशताको चरम सीमामा जनता नरकवास महसुस गर्दै थिए । पत्रपत्रिका र पुस्तकमा भएका अक्षरलाई समेत प्रकोप मान्न थालिएको अवस्था थियो । त्यसबेलाको फ्रान्समा वाक र लेखन स्वतन्त्रताको अर्थ हुन्थ्यो– सम्पूर्ण सत्यानाश । राज्यको मनोमानी र स्वेच्छाचारिता हावी भएको बेला पक्राउ परेका डेनिशमाथि आरोप लगाइएको थियो– उनले सम्राटकी रखैलप्रति व्यंग्य र विद्रुप भाषा आफ्नो आलेखमा प्रयोग गरेको । 

डेनिश पेशेवर लेखक थिए तर सधैं आर्थिक संकटमा रहन्थे । अतिरिक्त आम्दानी गर्न पेरिसस्थित एउटा प्रकाशन गृहको पुस्तक गाउँ–गाउँ घुमी कराउँदै बेच्थे । प्रकाशन गृहका प्रकाशक दाँ–बालेतले जब डेनिश पक्राउ परेको खबर पाए, अचम्मित बने । भने, ‘डेनिश त एकदम सोझा लेखक हुन् । सम्राटकी रखैलको बेइज्जत गर्न सक्दैनन् ।’

बालेत डेनिशलाई छुटाउने कोशिशमा लागे । बालेतले यसो गर्नुमा उनको एउटा स्वार्थ थियो । उनले डेनिशलाई एउटा ‘शब्दकोष’ तयार गर्न लगाइराखेका थिए र उक्त शब्दकोष डेनिशले आधा मात्र सकाएको अवस्था थियो । लेखक जेल परेपछि प्रकाशक आच्छुआच्छु पर्नु स्वाभाविक थियो । त्यसैले उनले सम्राटसमक्ष अपिल गरे कि ‘डेनिश खतरनाक छैनन् । उनको कलममा यति शक्ति छैन कि त्यसबाट सलाईसम्म बलोस् । विप्लव गर्ने, विद्रोह गर्ने त धेरै परको कुरा !’

बालेतको पहुँच माथिसम्म थियो, त्यसैले उनैले दिएको अपिलको आधारमा डेनिश जेलमुक्त भए । तर, बालेतले कल्पनासम्म गर्न सकेका थिएनन् कि डेनिशले त्यसो पनि गर्न सक्छन् । डेनिशले चौकीदारको आँखा छलेर अंग्रेज कवि जोन मिल्टनद्वारा लिखित महाकाव्य ‘प्याराडाइज लस्ट’ जेल लगेका थिए । जेलमा रहँदा सो पुस्तकका हरेक पानाको खाली ठाउँमा विद्रोह र विप्लवका शब्दहरु लेख्न थाले । यसका निम्ति दाँत कोट्याउने टुथ पिकलाई कलमको रुपमा प्रयोग गरे भने भित्ताको लिउन उप्काउने र त्यसमा रक्सी मिसाएर मसी बनाउने गरेका थिए । 

रिहा भएपछि डेनिश पुनः शब्दकोष पूरा गर्नतिर लागे । जब पुस्तक तयार भयो, प्रकाशक त्यो पढेर तीनछक परे किनभने पूरै किताब खतरनाक र विप्लवी भनाइहरुले भरिपूर्ण थियो । बालेत पुस्तक छाप्ने कि नछाप्ने दोधारमा परे । डेनिशद्वारा लिखित उक्त शब्दकोष जस्ताको तस्तै छापिएको खण्डमा डेनिश त फाँसीमा झुण्डिन्थे नै, बालेतले पनि त्योभन्दा तलको सजाय पाउँदैनथे । यो कुरा बालेतलाई थाहा थियो किनभने उक्त विश्वकोष राज्यतन्त्र, राजा, धर्म, धर्माचार्यहरु र तिनीहरुका कुकृत्य र षड्यन्त्रको एउटा खुला दस्ताबेज नै थियो । पुस्तक छापेर बजारसम्म पुग्यो भने त्यसले फ्रान्समा उथलपुथल ल्याउने पक्का थियो, त्यसैले बालेतले पुस्तक प्रकाशन गरेनन् । 

शब्दकोष प्रकाशनमा नगएपछि डेनिशको घरमा चुलो  जल्नै छोड्यो । बालेतले उनको जागिरै खाइदिए । अभागी डेनिश गुजारा चलाउन सडक, गल्ली, चोक घुमेर सलाई र चुरोट बेच्न थाले । यसबीच छोरी विवाहयोग्य भइन् । बिहे खर्च जुटाउन दुर्लभ पुस्तकालय बेचे । उक्त पुस्तकालय रुसी राजकुमारी क्याथरिनले किनेकी थिइन् । पुस्तकालय बिक्रीबाट प्राप्त धनले छोरीको विवाह गरिदिए । आफ्नो इज्जत जोगाए । बालेतले शब्दकोष संशोधन गर्न लगाइसकेका थिए । जब पस्तक बजारमा निस्क्यो, त्यो हेरेर डेनिशलाई ठूलो आघात पुग्यो । अधिकांश स्थानमा काँटछाँट, संशोधन गरिएको थियो । यसका लागि बालेतले एक शब्दसम्म सोधेका थिएनन् । डेनिशले उक्त शब्दकोष तयार पार्न २२ वर्ष मिहिनेत गर्नुपरेको थियो । पुस्तकलाई बालेतले झूर बनाइसकेका थिए । आफूले दिन–रात नभनी तयार पारेको पुस्तकको दुर्गति देखेर बिरामी परे । र, विस्तराबाट उठ्नै सकेनन् । एक साँझ (सन् १७८४ जुलाई ३१) हृदयाघात भई निधन हुँदा उनी ७० वर्षका थिए । 

उनको निधनको पाँच वर्षपछि सन् १७८९ मा फ्रान्समा क्रान्ति भयो । डेनिशद्वारा लिखित शब्दकोष जतिसुकै काँटछाँट गरी प्रकाशन गरिएको भए पनि जनताले उनको विप्लवी भावना बुझिसकेका थिए । त्यसैले विप्लवका शुरुका दिनमा शोषित, दमित र अधिकारबाट वञ्चित हजारौंहजार जनताले नारा लगाए, ‘डेनिश डिडरोट अमर रहुन्’, ‘स्वतन्त्रता, समानता र भाइचारा जिन्दावाद !’ क्रान्तिको आगो दन्किँदै गएपछि सन् १७९१ मा सम्राट लुई (सोह्रौं) लाई जनताले सिंहासनबाट उतारे । सन् १७९३ मा सम्राट लुइ र रानी मेरी एन्तोनेटलाई गिलोटिन मेशिनले शीरछेदन गरी मारे । फ्रान्स पहिलोपटक गणतन्त्र बन्यो । स्मरणीय छ, डेनिशले ‘स्वतन्त्रता, समानता र भाइचारा’ यसै वाक्यबाट विश्वकोषको लेखन शुरु गरेका थिए । 
यो पनि...

किराविरुद्ध कोलाहल

सन् १४४२ । स्विट्जरल्याण्डको ज्युरिचस्थित सभागृहलाई न्यायालयको रुपमा प्रयोग गरिएको थियो । सभागृह खचाखच भरिएको थियो, सबै सदस्य गणको उपस्थिति भइसकेको थियो । एकछिनपछि लामो कोट लगाएका न्यायाधीशको प्रवेश भयो । मुद्दा पेश भयो । दुई जना सिपाहीबाट घेरिएका अभियुक्त पनि कठघरामा उभिएका थिए । ती अभियुक्तमाथि स–साना दुई बालिकालाई निर्दयतापूर्वक मारेको आरोप थियो । सम्पूर्ण अदालती कारवाही सधैंजसरी नै चल्यो । दुवैतर्फको तर्क–वितर्क सुन्ने काम पनि भयो । अन्त्यमा आरोपसिद्ध भएपछि निर्णय सुनाइयो । अभियुक्तलाई सार्वजनिक स्थानमा झुण्ड्याएर मार्ने सजाय सुनाइयो । अदालती कारवाही, सुनुवाई र फैसलामा कुनै नौलोपन थिएन । नौलो कुरा यति मात्र थियो कि अभियुक्त कुनै मानव थिएन, एउटा ब्वाँसो थियो ।

फ्रान्समा पनि सन् ११२० र १७४० बीच यस्ता ९२ मुद्दाको किनारा गरियो । पूरा अदालती कारवाही कडा ढंगले चलाइयो । दुवैतर्फको कुरा सुनियो । वकिल, साक्षी र सफाइ पेश गर्ने अवसर पनि दिइयो । फ्रान्समा पेश भएको यस खालको अन्तिम मुद्दा एउटा गाईको थियो । एकजनाको हत्या गरेको आरोपमा उसलाई फाँसी दिने सजाय सुनाइएको थियो । 

सेन्ट जुलियन युरोपेली मुलुक माल्टाको मध्यक्षेत्रस्थित नगर हो । सन् १४४५ मा एउटा मुद्दा चल्यो । बासिन्दाले एक खाले किराको विरुद्ध दायर गरेको मुद्दा । मुद्दा चल्दै गएपछि स्थानीय जनताले एउटा सहमति गरे, विपक्षी किरा त्यो स्थान छाडेर कतै गैदेओस् । तर, किरा पक्षका वकिलले स्थानीय जनताद्वारा प्रस्तावित हर्जाना अपर्याप्त भएको जिकिर गरे । अन्त्यमा विवाद टुंग्याउन अदालतले एउटा सर्वेक्षक टोली गठन ग¥यो । जसले प्रस्तावित नयाँ स्थानको अवलोकन गरी सो स्थान जल र खाद्य सामग्रीले भरिपूर्ण भएको रिपोर्ट पेश ग¥यो । रिपोर्टलाई अदालतले सकारात्मक रुपमा लियो पनि तर ती किरालाई त्यहाँ पठाएपछि त्यहाँका भूमिपतिले आपत्ति जनाए । जसको कारण त्यो मुद्दा सन् १४८७ सम्म अथवा ४२ वर्ष लम्बियो । यसका बाबजुद अदालतबाट ठोस निर्णय भएन । मुद्दा डिसमिस भयो । 


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top