​मान्छेले हामीलाई बहुलायौ भने !


Wednesday, 25 Jul, 2018 3:26 PM

  • शंकरनाथ रिमाल, वास्तुविद् (इञ्जिनियर)

०१९ सालअघि नेपालको झण्डामा एकरुपता थिएन । कसैले माथिल्लो भागको त्रिभुज लामो बनाउने त कसैले तल्लो भागको । लम्बाइ, चौडाइ र उचाइमा एकरुपता नहुने, चन्द्रमा एक ढाँचाको, सूर्य अर्कै ढाँचाको । ०१९ सालमा संविधान मस्यौदा समिति बन्यो । अनुसूचीमा उल्लेख गर्नका लागि झण्डाको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितीय सूत्रको प्रयोग गरियो, जसलाई पाइथागोरस त्रिकोण भनिन्छ । यो भनेको ३, ४ र ५ को अनुपात हो । मानिस चाहन्छ कि, आफ्नो राष्ट्र अनन्त कालसम्म दिगो रहोस् । यही अभिप्रायः अन्तरनिहित झण्डाका आधुनिक डिजाइनर हुन्, शंकरनाथ रिमाल ।

भक्तपुरको स्वर्णद्वारको शैलीबाट प्रभावित भई टुँडिखेलको दक्षिण, भद्रकाली र धरहराको बीचमा शहीद गेटको नक्साङ्कन गर्ने उनै हुन् । २०३० सालमा सिंहदरबारमा आगलागी भएपछि त्यहाँभित्र पहिलो भवनको डिजाइन पनि उनैले गरेका थिए । अहिले सामान्य प्रशासन मन्त्रालय रहेको भवन थियो त्यो । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवन उनैले तयार पारे । निजगढ–काठमाडौं द्रुतमार्गको प्रारम्भिक सर्वे उनैबाट भएको हो । 

०५१ मा एमालेको सरकार हुँदा राष्ट्रिय योजना आयोगमा रहे । गर्न सके अहिलेको सरकारसँग प्रशस्तै अवसर भएको उनले बुझेका छन् । उमेर ८४ वर्ष भयो । नक्साल, नारायणचौरस्थित घरमा बस्छन् । अर्को घर बागबजारमा छ, होटल हार्दिकले चलाइरहेको ।


० यो सरकार पुनःनिर्माणलगायतका काममा अगाडि बढ्ने प्रतिबद्धतासहित गठन भएको छ । उसले सक्ला ?
– भारतमा संविधान लेख्ने बेनेगल नरसिंह राव हुन् । अम्बेडकर त अध्यक्षमात्र थिए । त्यो संविधानमा मत निरपेक्ष भनिएको छ, धर्म निरपेक्ष छैन । सनातन धर्म मान्छे जन्मँदैमा आउने कुरा हो । त्यसलाई सापेक्ष, निरपेक्ष भनिरहनु पर्दैन । तर, मतहरु निरपेक्ष हुनसक्छन् । त्यसैले सनातन, अर्थात् परापूर्वकालदेखि चलिआएको कुरालाई केले निर्देशित गर्दछ ? प्रकृतिले । पानी नपिए के हुन्छ ? खराब पानी पिए के हुन्छ ? अरु ग्रहमा जीवन छैन । पृथ्वीमा छ । अनगिन्ती जनावर यहीँ छन् । सबैका आ–आफ्ना गुण छन् । त्यसपछि (प्लान्ट लाइफ) वनस्पतिको कुरा छ । यी चिजलाई विस्थापित गर्ने काम भयो भने हाम्रो जीवन टिक्दैन । बोट विरुवाको जीवन नष्ट गरेर हाम्रो जीवन कहाँ चल्छ ? मरुभूमिमा के छ ? केही छैन । त्यसैले बाहिरबाट खाने कुरा नलगी मान्छे त्यहाँ बाँच्दैन । हामीले बनाउने योजनामा सबभन्दा पहिला पर्यावरणलाई ख्याल गर्नैपर्छ । त्यसपछि सामाजिक मान्यता के हो ? यसमा आधारित हुनुपर्छ । हाम्रो फिजिकल रिक्वायरमेन्ट, इमोशनल रिक्वायरमेन्ट, बायोलोजिकल आवश्यता के हो भन्ने विचार गर्नुपर्छ । आर्किटेक्टिङ, अर्थात ल्याण्डस्केप गर्दा यी सबैमा विचार पु¥याइनुपर्छ । उदाहरणका लागि काठमाडौं उपत्यकाको योजना बनाइरहेका छौँ भने सबभन्दा पहिला यहाँ कति मानिस अटाउन सक्छन्, पानीको पर्याप्तता, हावा बहावको अवस्था र त्यो स्थितिले मानिस कति बाँच्न सक्छन् भन्ने हेर्नुपर्छ । हरित क्षेत्र कति छ ? त्यसबाट कति मानिसलाई बाँच्न पुग्छ ? कुन व्यवसाय गर्न हुने, नहुने ? पर्यटकलाई आउने बाटो (पुरातात्विक, धार्मिक र साँस्कृतिक विषयको संरक्षण) मा ध्यान दिनुपर्छ । यी योजना संकल्पमा परिणत हुन सक्यो भने राम्रो, नत्र त्यो योजना काम लाग्दैन ।

० काठमाडौंको योजना निर्माणमा यहाँ सरिक हुनुभयो कि ?
– मसँग पनि दुईचारवटा कपी (नक्साङ्कन) छन् । राजा महेन्द्रले सन् १९६५ मा फिनल्याण्डबाट प्रोफेसर लेफर्डलाई बोलाए, काठमाडौंको गुरुयोजना बनाउन । लेफर्डले दिएको गुरुयोजना लागु भयो भने उनकै नाममा सबै कुरा हुने भयो भनेर अरु योजनाविद्हरु आए । हरेकचोटि योजनाविद् आउने, योजना फेरिने, कन्सलट्यान्ट आउने, जाने चलिरह्यो । योजनाहरु बनाएपछि सरकार वा संसदबाट अनुमोदन हुनुपर्छ । योजना कार्यान्वयन गर्न कसैको जग्गा अधिग्रहण गर्नुपर्छ, कसैको सम्पत्ति यताउता पार्नुपर्ने हुनसक्छ । यदि संसदको छाप लागेको छ भने त्यो कार्यान्वयन गर्न सजिलो हुन्छ, किनभने त्यो देशको सर्वोच्च निकाय हो । तर यहाँ त्यस्तो भएन । मान्छेपिच्छे योजना बन्दै गए । यदि त्यहीबेलादेखि संसदबाट अनुमोदन गरेर भौतिक निर्माणका काम अघि बढाइएको भए आज हामीलाई चाहिएजस्तो बाटो हुन्थ्यो, हरितक्षेत्र हुन्थे । स्याटेलाइट सिटी बन्थ्यो, रिङरोड, लिंक रोडहरु पनि व्यवस्थित हुन्थे । अब त कस्तो भयो भने जग्गा किन्यो, होरिजेन्टल लाइन काट्यो, त्यसमा बाटो निकालेर प्लटिङ गरिदिने ! अनि, त्यो भौतिक योजना भयो रे ! धान, साग, सब्जी रोप्ने ठाउँमा घर बन्न थाले, घर बन्नुपर्ने ठाउँमा अर्थोकै बने । भद्रगोल भइसक्यो ! बाटोहरु कस्तो उट्पट्याङखालका छन्, देख्नुभएकै छ । प्लटिङ र हाउजिङको जुन चलन आयो, यसले सबथोक बिगारिदियो । गतिलो प्लानरले गरेको काम गतिलै होला, तर पैसा कमाउन गरिएका त्यस्ता कामले धेरै क्षति पु¥याएको छ । सर्वसाधारणले उपभोग गर्ने पानी चोरी भएको छ । भित्री सडक राम्रो बनाए पनि एप्रोच रोड (मूलबाटो) खत्तम छन् । यो त स्पेकुलेशन (हावादारी) हो । संस्कृति, वातावरण सब ध्वस्त पारिएको छ । आफूखुशी जग्गा किन्यो, प्लटिङ ग¥यो, घर र बाटो बनायो ! पानीको स्रोत, हरित क्षेत्र, वातावरण, संस्कृति र सम्पदाको संरक्षणजस्ता कुरामा ध्यान नदिइँदा सभ्यता नै लोप हुने स्थिति सिर्जना भइरहेको छ ।

० काठमाडौंको भविष्य कस्तो देख्नुहुन्छ ?
– काठमाडौंको बाटोहरु ००७ सालतिर जस्तो थियो, अहिले पनि त्यस्तै छ । नयाँ बाटोहरु खासै बनेनन्, केही बाटो विस्तार (चौडा) भएका छन् । पाटनबाट महारागजञ्ज जाँदा त्यही पुरानो बाटो हिँड्नुपर्छ । पुल त्यही नै छ । अर्को पुल पनि बनेको छ, युएन पार्कमा । तर, त्यसलाई एप्रोच दिइएको छैन । बांगोटिंगो छ । पुलमात्रै बनाएर हुँदैन, त्यहाँबाट निस्कने र पुग्ने ठाउँ पनि त्यहीअनुसारको बनाउनुपर्छ ।

पुतलीसडकबाट महाराजगञ्ज जानुप¥यो भने कि बालुवाटार हुँदै, कि राजदरबारको पश्चिम हुँदै जानुपर्छ । नयाँ बाटो छैन । त्यसअनुपातमा जनसंख्या कहाँबाट कहाँ पुगिसकेको छ । 

जस्तो कि टोखाको बाटो भनौँ, बाटोहरु शहरको भित्री भागबाटै बस्ती ओगटेर लैजानुपर्छ भन्ने छैन । व्यक्तिहरुको अनुकूलतामा बाटो बनाउने, घर बनाउने काम भइरहेको छ । मान्छेको बस्तीलाई छलेर पनि बाटो लैजान सकिन्थ्यो । किन त्यस्तो भयो भने, त्यहाँ कसैको जग्गा छ, उसको इच्छाअनुसार जग्गाको भाउ बढाउने गरी बाटो लैजानुप¥यो । बाजुरा–मार्तडी सडक अहिलेसम्म पूरा भएको छैन । ५० वर्षअघि योजना बनाएको मलाई याद छ । कारण यही हो, एउटा शक्तिशाली मान्छेले यताबाट लैजाऔँ भन्ने, अर्कोले अर्कोतिरबाट । यदि संसदबाट त्यो सडक यसरी बनाउने भनेर पास गरेको भए एउटा सांसदले रोकेर रोकिँदैनथ्यो । 

० काठमाडौंमा मोनोरेल चलाउने कुरा आइरहेको छ । के सम्भव छ त्यो ?
– हल्लाको भरमा आलोचना नगरौँ । तर, काठमाडौंको ट्रान्सपोर्टेशनका हिसाबले यो राम्रो हो भन्ने मलाई लाग्दैन । किनभने, मोनोरेलको स्पिड त्यति बढी हुँदैन, त्यसले धेरै मान्छे पनि बोक्ने होइन । हो, बरु मेट्रो ट्रेन चलाउने हो भने त्यो व्यवहारिक हुन्छ । किनभने, काठमाडौंको आवश्यकता ट्राफिक जाम कम गर्ने हो । मोनोरेलबाट त्यो सम्भव छैन । यहाँ मोनोरेल त रमिता देखाउन मात्रै हो ।

० फास्ट ट्रयाकको अध्ययन पनि गर्नुभयो नि !
– गिरिजाबाबु प्रधानमन्त्री भएको बेला म त्यसमा थिएँ । त्यसका लागि चारचोटि निजगढबाट हिँडेर काठमाडौं आएको छु । एकचोटि हेटौंडा हुँदै, अर्कोचोटि बागमती हुँदै, एकचोटि बीचबीचबाट । बनाउँदा त त्यहाँ फास्टट्रयाक राम्रैसँग बन्छ । तर, बढीभन्दा बढी यात्रु ओसारपसार गर्न राम्रोचाहिँ के हुन्छ भने, पथलैयादेखि निजगढको बीचबाट एउटा रेल्वे बनाउनुपर्छ । धुनधान दौडिने रेल पनि चाहिँदैन । प्रतिघण्टा ५० देखि ६० को गतिमा दौडिने भए पुग्छ, त्यसले एकदेखि डेढ घण्टामा काठमाडौं पु¥याउँछ । यो काममा २० वर्षदेखि लाग्यौँ । मान्छेहरुले हामीलाई ‘यिनीहरु बहुलाए’ पनि भने । त्यसमा म, बद्रीप्रसाद खतिवडा र वीरेन्द्रकेशरी पोखरेल थियौँ । नख्खु–बुङमतीबाट बाग्मतीको किनारैकिनार अघि बढ्दै मकवानपुरको ठिंगनबाट महाभारत छेडेर छतिवनमा पूर्वपश्चिम राजमार्ग नाघी वीरगञ्ज पुग्ने इलेक्ट्रिक रेलका लागि प्रारम्भिक अध्ययन प्रतिवेदन बुझायौँ । त्यो योजनामा अलिकति गाह्रो थियो, चुरेको पहाड छिचोल्न । 

अहिले पनि त्यहाँको एयरपोर्ट र मोटरबाटो व्यवहारिक छैन । प्लेन ल्याण्ड हुन्छ, सिमरामा । बाटो छ, पथलैयादेखि । बीचको समस्या कसरी समाधान गर्ने भन्ने कुनै योजना भएन । यदि रेलमार्ग चल्यो भने दुई घण्टामा काठमाडौं पुगिन्छ । अहिले त झन् निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि शुरु भएको छ । त्यहाँ जहाजबाट ओर्लिने यात्रुको लागि पनि सुविधा हुन्छ । त्यहाँबाट हरेक १० देखि १५ मीनेटमा एउटा रेल काठमाडौंका लागि छुट्छ । एउटा रेलमा एक हजार यात्रु अटाउँछन् । दिनमा ४८ चोटि रेल आवत–जावत हुन्छ । त्यसो गर्दा ४८ हजार मानिसको सहज आवत–जावत हुने भयो । अहिले दैनिक सरदर ५० हजार मानिस त्यो बाटो हुँदै काठमाडौं छिरिरहेका छन् । रेल चलेपछि न बस चाहियो, न सुमो चाहियो । समान पनि त्यही रेलले ओसार्छ । एकदिनमा १५ सय टन सामान भित्रिन्छ । 

० फास्टट्रयाकले पनि यो समस्या समाधान गर्छ नि, हैन ?
– फास्टट्रयाकमा चल्ने ट्रक, बस, जिप, कार– यिनै न हुन् ! डिजेल, पेट्रोल चाहियो । धुँवा उड्ने नै भयो । रेल चल्यो भने त्यो इलेक्ट्रिक हुन्छ । गाडीको चाप घट्छ । वातावरण बिग्रँदैन । रेल भयो भने इञ्जिन मात्रै हो बाहिरबाट ल्याउनुपर्ने । अरु सबै कुरा यहीँ पाइन्छ । 

० फास्टट्रयाकलाई रेलवेमा परिणत गर्न सकिँदैन ?
– त्यही बाटोमा रेल चलाउन मिल्दैन । तर, त्यसमा केही छेउछाउ मिलाउन सक्यो भने त हुन्छ । रेल भएपछि सुरुङबाट छिराउन मुस्किल हुन्छ । हेर्नुस् त, काठमाडौंको पानी तराई गएको छ । त्यही स्लोपमा रेल चलाउन सकिन्छ नि † खर्च बढ्ता पर्ला । तर, पानीको बहावसँगै किनारामा रेल चलाउन किन नसकिने ? मुग्लिन–नारायणगढको बाटोमा बेहाल किन भयो ? जहाँ प्रकृति अस्थिर छ, हामीले त्यहीँ चलाइदियौँ । प्रकृतिको जबरजस्ती दोहन गर्दा यस्तो दुर्गति भोग्नुपर्छ ।

० धरहरा ९० सालमा बनेको । त्यही बेला बनेका अरु संरचना भूकम्पले केही गरेन । किन ?
– ०९० सालको भूकम्पमा धरहरा पूरै ढलेको थिएन, आधामात्रै हो । भत्किएर बाँकी रहेकै भागबाट उठाएर धरहरा बन्यो । श्री ३ महाराज जुद्धसमशेर थिए । उनले इञ्जिनियर किशोर नरसिंह र कुमार नरसिंहहरुलाई बनाउन लगाए । कुमार नरसिंहले तलबाटै भत्काएर बनाउँछु भने । किनभने, त्यो बांगो थियो । त्यसबेला जुद्धसमशेरसँग पैसाको कमी थियो । भर्खर श्री ३ भएका । त्यसपछि जितजंग थापा भन्ने अर्का इञ्जिनियरलाई ‘बीचमा जोडेर बनाउन सक्छस् ?’ भनेर सोधे । उनले त्यसैलाई अलिकति सीधा बनाएर जोडे । पुनःनिर्माण गरिएको धरहरा उद्घाटन हुने दिन म टुँडिखेलमा थिएँ । कुमार नरसिंह भन्दै थिए, ‘ए दाइ, देखिबक्स्यो, जितजंगले बांगो धरहरा बनाएर नेपालकै बेइज्जत ग¥यो ।’ उनी लठ्ठी लिएर धरहरा बांगो भयो भन्दै नाप्न थाले । जितजंग रिसायो । उनीहरुको झण्डै हानाहान नै पर्ने अवस्था भइसकेको थियो । पछि कसैले मिलायो । 

इँटालाई जोडेर मात्रै बनाइएको थियो । त्यसले डाइरेक्ट लोड त धान्छ, तर भाइब्रेट (हल्लिने) लोड धान्दैन । त्यसमा रड, फलामले बार्नुपथ्र्यो । त्यो प्रविधि सन् १९७० तिर आयो ।

० रानीपोखरी पुनःनिर्माणमा कंक्रिटको विवाद छ । उचित हो ?
– जब पोखरीमा कंक्रिट हालिन्छ, त्यसपछि त्यहाँ जमिनबाट आउने प्राकृतिक पानीको स्रोत बन्द हुन्छ । कस्तो सुनिएको छ भने, त्यहाँ महानगरपालिकाले स्विमिङ पुल बनाउने रे । संस्कृतिसँग जोडिएको कुरा, सभ्यतासँग जोडिएका कुरामा खेलाँची गर्नुहुँदैन । हामीसँग प्रताप मल्लको पालामा बनेको मन्दिरको फोटो सुरक्षित छ । अहिले त्यसको पर्खालहरु रिपेयर गरे हुने अवस्था छ । तर, स्विमिङ पुल बनाउने कुरा व्यवहारिक भएन । स्विमिङ पुललाई मेन्टेन गर्न, त्यसमा ब्याक्टेरिया फ्रि गर्न कति खर्च हुन्छ, कति समय लाग्छ ? यो हिसाब गरिएको छैन । रानीपोखरीको मौलिकता भनेको जमिनको पानी आएर भरिनु हो । तर, त्यहाँको अहिलेको अवस्था के छ ? वरिपरि कंक्रिटका घरहरु बनेका छन् । पानी आउने प्राकृतिक अवस्थालाई कंक्रिटले थिचेको छ । बोट–विरुवाहरु नष्ट भएका छन् । हरित क्षेत्रको विकास गर्नुपर्छ, अनि न जमिनबाट पानी आउँछ ! सञ्चयकोषमा काठमाडौं मल बनाएर पानी बन्द गरिएको छ । बसपार्कमा टावर बन्दैछ । सुन्धारामा धारा नै छैन । धारा देखाउनलाई होला, पानी आउँदैन । जमिनको अनुचित र अवैज्ञानिक दोहन गरेर सभ्यता र संस्कृतिमाथि नै धावा बोलिएको छ । यसले मानिसको स्वास्थ्यमा पनि असर गर्छ । 

० महानगरपालिकाले बागदरबार भत्काएर आफ्नो भवन बनाउने भनियो । के बागदरबार त्यही हो ? 
– पुरानो बागदरबार त भत्किसकेको छ । तर, महानगरपालिकाले जस्तो भवनको डिजाइन गरेको छ, त्यो ठीक छैन । ल्याएर देखाएका थिए, मलाई चित्त बुझेन । 

भूकम्पपछि महाराजगञ्जस्थित मोहन समशेर बस्ने लक्ष्मी निवास खत्तम भयो । अगाडिपट्टि कृष्णसमशेरको निवास हो, शीतल निवास । थापाथलीको सिंहमहल पनि भत्कियो, जहाँ नेपाल राष्ट्रबैंक थियो । बालुवाटारको राष्ट्रबैंक रहेको ललिता निवास पनि भत्काए । सिंहमहल चन्द्रसमशेर श्री ३ महाराज हुनुअघि बस्ने दरबार थियो । श्री ३ महाराज भएपछि छोरा सिंहसमशेरलाई दिए । पछि सिंहदरबार बनाए, छोराकै नाममा । हाँडिगाउँको कैलाशकुटको मन्दिर नै अहिले छैन । त्यहाँ सात तलामाथिबाट फोहोरा खस्थ्यो । 

यसरी पुरातात्विक महŒवका संरचनाहरु नष्ट गर्दै जाने हो भने कहाँ हुन्छ हाम्रो सभ्यता, संस्कृति ? सर्वोच्च अदालत रेट्रोफिडिङ गरेर बनाइयो नि, त्यसरी नै सबै पुरातात्विक भवन बनाउनुपर्छ । 

० प्रज्ञा भवन बनाउने काम कसरी थाल्नुभयो ?
– राजा महेन्द्रको हुकुमले प्रज्ञा भवन बनाउन जम्मा २५ लाख रुपैयाँ निकासा दिइएको थियो । मैले एक करोड खर्च गराइदिएँ । एक करोड पाँच लाख रुपैयाँ निकासा मागेको थिएँ । एक करोडमै काम सकिएपछि पाँच लाख फिर्ता गरिदिएँ । पहिला राजा महेन्द्रको ५० औँ जन्मोत्सवमा उद्घाटन गर्ने भनिएको थियो । तर, जन्मोत्सवको अघिल्लो दिन राजाले आएर ७ दिनपछि गर्नु भने । पछि कुरा बुझेँ, त्यसबेला पञ्चायत व्यवस्था आइसकेको थियो । राजाको विरोध हुन थालेको थियो । त्यो भवन पनि आफ्नै जन्मदिनमा उद्घाटन ग¥यो भनी विरोध आउला भनेर मितिको जन्मदिनमा हैन, ७ दिनपछि तिथिको जन्मदिनमा उद्घाटन गराउन रहेछ † महेन्द्र त एकदम बाठो नि !

० उनले छेउछाउमा छोरीका घर पनि बनाए नि !
– त्यो पनि मैले डिजाइन गरेको । तीनवटी छोरीको तीन घर, मधुसूदन र ईश्वरीमानको दुईटा घर मैले नै डिजाइन गरेको । त्यहीँ एकजना मास्केको घर पनि त्यहीबेला डिजाइन गरेको । 

० मनमोहन अधिकारीले राष्ट्रिय योजना आयोगमा रहँदा के कुरामा चासो राख्नुहुन्थ्यो ? 
– मनमोहनमा छलकपट भन्ने नै थिएन । भारत भ्रमणमा जानुअघि के माग गर्ने भन्नेबारे विज्ञहरुसँग सोध्नुभएको थियो । अरुले पुल, बाटो, कल्भर्टजस्ता चिज मागौँ भने । मैले मागिसकेपछि त्यस्तो कुरा मागौँ कि, जो अरुबाट पाइन्नँ भने । त्यो भनेको नेपाल–भारतको सोझो यातायातमार्ग । एउटा दिल्लीबाट नेपालगञ्ज पुग्ने, अर्को झापा निस्कने । पुल, बाटो भनेको त जापान, चीन, रुस– जसले पनि बनाइदिन सक्छ । भारतसँगको सडकमार्ग जापानले, चीन र रुसले दिन सक्दैनन् नि † एकजना एमालेकै मान्छेले ‘यस्तो पनि हुन्छ’ भनेर मेरो कुरालाई टार्न खोजेका थिए । तर, मनमोहनले ती कार्यकर्तालाई भन्नुभयो, ‘कुरा तपाईंहरुले नबुझ्नुभएको रहेछ, शंकरजीको कुरा ठीक छ ।’

मलाई एउटा कुरा अझै पनि खड्किरहन्छ, सिभिल एभिएसनको बारेमा । मैले मनमोहनजीको पालामा पनि यो कुरा भनेँ कि, सिभिल एभिएसन ‘ट्रान्सपोर्टेशन’ (यातायातको साधन) हो नि । तर, हामीकहाँ यसलाई संस्कृति, पर्यटन मन्त्रालयभित्र ‘नागरिक उड्ययन’ जोडेर राखिएको छ । जबकि, हामीसँग यातायात मन्त्रालय भन्ने अलग्गै निकाय छ । हामीले त्यसबेला राष्ट्रिय योजना आयोगमा निर्णय नै गरेर सिभिल एभिएसनलाई यातायात मन्त्रालयको क्षेत्राधिकारभित्र राख्यौँ । मनमोहनजी यस्तो कुरामा सजिलै कन्भिन्स हुने नेता । किनभने, उहाँका व्यक्तिगत स्वार्थ केही पनि थिएनन् । ९ महिनासम्म त्यो यातायात मन्त्रालयमै रह्यो । तर, मनमोहनजीको सरकार ढलेपछि हामीले पनि राष्ट्रिय योजना आयोग छाड्यौँ । त्यसपछि बनेको सरकारले अरु केही कुरा फेरेन, मात्रै सिभिल एभिएसनलाई फेरि ‘यातायात’ बाट पर्यटनमा लैजानेबाहेक । अहिलेसम्म त्यो पर्यटनमै छ । 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top