​बीचमा म किन जान्ने हुनु ?


Tuesday, 24 Jul, 2018 12:32 PM

  • हरि वैरागी दाहाल, एमाले नेता

राजनीतिमा एकथरि हुन्छन्, पार्टीले काम, भूमिका र जिम्मेवारी दिइरहने । तर, जति दिएर पनि नपुग्ने । एउटालगत्तै अर्को भूमिका खोज्न बिहान–बिहानदेखि नेताकहाँ धाउने । तर, हरि वैरागी दाहाल त्यस्ता उदाहरण हुन्, पार्टीले दिएको काम सकेर बचेको समय जनतासँगका प्रतिबद्धता आफ्नै पहलमा पूरा गर्न लागिरहने । तत्कालीन एमालेको कुनै पद, भूमिकामा थिएनन् । यसो हुँदैमा उनी निस्क्रिय बस्नुपर्छ भन्ने मान्दैनन् । पार्टीले जिम्मेवारी दिएन भनेर जिम्मेवारी आफैँ सिर्जना त गर्दैनन्, तर कुनै न कुनै कामबाट आफूलाई सामाजिक जीवनमा प्रस्तुत गरिरहन्छन् । संखुवासभाबाट ०५१ को मध्यावधि निर्वाचन राम्रो मतका साथ जितेका थिए । त्यसपछि पार्टीले उठाएन । अरुजस्तो लोकप्रियता दाबी गर्दै न बागी उम्मेवार बन्न तम्सिए, न त्यो नाममा नेताहरूलाई घुर्की नै लगाए । एमाले अल्पमतको सरकार भएको बेला ०५२ मा अरुण तेस्रो परियोजना खारेजीमा परेपछि संखुवासभाकै सांसदका नाताले आलोचित भए । त्यसपछि जनतामाझ गरेको कबुललाई पार्टी, सरकार वा सांसदको हैसियतमा नभएर आफ्नै अलग व्यवसायिक समूह बनाई पूरा गर्नतर्फ क्रियाशील भए । जलविद्युत् परियोजनाको काममा लागे । कृषि क्षेत्र रोजे । आजभोलि फुर्सदी छन् । तर, यो फुर्सद धेरै दिन नरहँने बताउँछन् । 

० हाइड्रोपावर प्रोजेक्टहरु के भइरहेका छन् ?
– ०५३ सालदेखि यतैतिर लागेँ । नेपाली लगानी, नेपाली प्राविधिक र नेपालकै श्रम, सीप खर्चेर बनाइएको निजी क्षेत्रको पहिलो आयोजना अरुण उपत्यका जलविद्युत् हो । हामीले त्यहाँबाट तीन मेगावाट विद्युत उत्पादन ग¥यौँ । अहिले नेशनल ग्रिडमा जोडिएर चालु अवस्थामा छ ।
 
० लगानी कसरी सम्भव भयो ?
– त्यसमा ३२ करोड लाग्यो । हाइड्रोपावर भनेको एक्लै, दुक्लै गर्ने चिज होइन । कम्पनी बनाएर काम गर्ने हो । त्यसभित्र म पनि थिएँ, निश्चित प्रतिशत लगानीकर्ताको रुपमा । मैँमात्र होइन । यो सफल भएपछि संखुवासभा, धादिङ र पाल्पामा गरी अरु चारवटा परियोजना तयार पा¥यौँ । गरेदेखि हुन्छ भन्ने कुरा प्रमाणित भयो । त्यसै बसिराखेर केही हुँदैन । केही गर्दा त्यसबाट परिणाम आउँदो रहेछ भन्ने कुरा हाम्रो कामबाट बुझिन्छ ।

० अब के गर्नुहुन्छ त ? 
– देशको माटो र मौसमअनुसार कृषिलाई ठूलो उद्योगको रुपमा विकास गर्न सकिरहेका छैनौँ । अलिक नयाँखाले कृषि योजना बनाएका छौँ । त्यसअन्तर्गत ड्र्यागन फुड (थाइल्याण्ड, मलेसियामा पाइने) विकास गर्नुपर्छ भन्नेमा लागिरहेको छु । ब्ल्याक राइसको पनि तयारी गरिरहेका छौँ ।

० अरुण तेस्रो खारेज भएपछि हाइड्रोतर्फ प्रेरित हुनुभएको हो ? 
– म संखुवासभाको निर्वाचित जनप्रतिनिधि । जनताले ‘हामीलाई बाटो चाहियो’ भनेका थिए । मैले बसन्तपुरबाट बाटो लैजान खोजेँ । ‘हामीलाई उज्यालो पनि चाहियो’ भने । बिजुली उत्पादन गरेर जिल्लालाई आत्मनिर्भर बनाएँ । त्यसपछि जनताले अन्तर्राष्ट्रिय बजारसँग जोडिने ठूलो बाटो चाहियो भने । मैले किमाथांका सडक निर्माणको काम थालनी गरें । अब अहिले त्यो देशकै ठूलो व्यापारिक कोरिडोरका रुपमा विकास हुने काम तीव्र गतिमा अघि बढेको छ । 

० यसबीच पार्टी काममा लाग्नुभएन ?
– विभिन्न विभागहरुमा बसेर काम गरेँ । लगाएको काम मात्रै गरेँ । काम खोजी–खोजी, मागी–मागी हिँडिन । मेरो त्यस्तो नेचर पनि भएन ।

० अहिले कहीँ पनि हुनुहुन्न त ?
– ०७१ सालको नवौँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यतर्फ स्वतन्त्र उम्मेदवार थिएँ, हारेँ । त्यसपछि न पार्टीले जिम्मेवारी दियो, न मैले मागेँ । 

० अहिलेको पार्टीमा नमागी, नलडी केही पाइन्छ त ? 
– मेरो भूमिका मैले खोज्ने होइन, पार्टीले दिने हो । हिजो मेरो आवश्यकता थियो । किनभने, पञ्चायत जिउँदो थियो । त्योसँग लड्नुपर्ने थियो । लडाइँ लडेर बहुदल ल्याइयो । त्यसपछि खुला अवस्थामा जनताबीच पार्टीको प्रचार गर्नु थियो । पार्टीलाई स्थापित गर्नु थियो । ती काम गरेँ । संखुवासभा जिल्लामा कम्युनिष्ट पार्टीलाई यति बलियो बनाइयो कि, अहिले पनि अरुले हत्तपत्त आँट गर्दैनन् । ०५१ मा पार्टीले टिकट दियो, चुनाव लडेँ, जितेँ । त्यसपछि पनि चुनावहरु भए । तर, पार्टीले उठाएन । नउठाउँदा पनि पार्टीलाई जिताउन लागेँ । काम दिँदा नगरेको भन्ने छैन । दिएर गरेकोमध्ये उत्कृष्ट नै काम गरेँ भन्ने लाग्छ । आर्थिक समृद्धिका लागि के गर्नुपर्छ भन्ने पनि मलाई थाहा छ । तर, पार्टीले नलगाई म किन जान्ने हुनु ?

० अहिलेको जमानामा पार्टीभित्र गुटमा नलागी, स्वतन्त्र भएर पनि चुनाव जित्छु भन्ने विश्वासले उठ्नुभएको कि, नामचाहिँ कार्यकर्ताबीच याद भइराखोस् भनेर उठ्नुभएको ? 
– जित्छु भनेरै उठेको । मैले गरेका कामहरुलाई पार्टीसम्म पु¥याउन सकेको रहेनछु । यदिे गरेका कामहरु सबै कार्यकर्ताबीच पु¥याउन सकेको भए जित्ने रहेछु । भोट पनि कम्ती ल्याएँ र ! साढे पाँच सय । जित्ने साथीहरुले सात, साढे सात सयले जितेका छन् । म त गुटमा नलागी, कसैको लिष्टमा नपरी साढे पाँच सय भोट ल्याउने मान्छे । साढे पाँच सय भनेको मेरो व्यक्तिगत भोट, कसैले मागिदिएको होइन । दुईमध्ये कुनै टिममा राखिदिएका भए कति ल्याउने रै’छु, कति !

० नेताहरुलाई यसो ‘ढोगभेट’ गरेको भए त टिममा पर्नुहुने रहेछ नि !
– मलाई त्यस्तो गर्नुपरेको छैन । न मैले कोही नेतालाई नमस्कार भन्दै हिँडें, न नेताहरुले मलाई खोजे । आफैँ उठेँ । जति भोट ल्याएँ, ल्याएँ । हारेँ । तर, गुनासो छैन । 

० तपाईंहरुले संखुवासभामा बलियो बनाएको भनिएको पार्टीले ०७० को दोस्रो संविधानसभामा त हा¥यो नि ! 
– उम्मेवार नै गतिलो भएन । नयाँखालको उम्मेवारी भयो । ऊ जनस्तरमा भिजेकै थिएन । विपक्षीले त्यहीअनुसार रणनीति बनाए । त्यसमाथि जो उठे पनि जितिहालिन्छ नि भन्ने महत्वाकांक्षाले पनि डुबायो । पोहोरको चुनावमा पनि जति भोटले, जसरी जितियो, वास्तवमा हामीले त्यहाँ त्यसरी जित्ने होइन । संखुवासभा देशभरिमा सबभन्दा धेरै मतान्तरका साथ जित्नुपर्ने जिल्ला हो । ‘राइट म्यान इन राइट प्लेस’ भएन भने भएकै चिज पनि गुम्ने अवस्था हुन्छ । जो भइरहेको छ । 

० तपाईं किन लाग्नुभएन त ?
– अब पहिलाजस्तो होइन । संसदीय राजनीतिमा, संसदीय भूमिकामा दिएको जिम्मेवारी निभाउने हो । अब कसैले आफैँले भूमिका बनाउन सक्दैन । त्यसो ग¥यो भने अनधिकृत प्रवेश गरेजस्तो, हस्तक्षेप गरेजस्तो हुन्छ ।

० अहिले पार्टीको सरकार छ, बहुमतको । कामले अलिक गति नलिएको कि गर्न नसकेको ? 
– नयाँ बनेको सरकारले तुरुन्तै चमत्कारिक काम गर्न सक्दैन । त्यसमाथि तीनखाले शक्तिहरु जानेर वा नजानेर यो सरकारको विपक्षमा छन् । पार्टीभित्रै पनि ‘लामो समय त्यसै बसियो । अहिले मौका पाएको बेला केही न केही जोडिहालौँ’ भन्ने एउटा झुण्ड छ । पार्टीभित्रै होस् या विपक्षीमा नै किन नहोस्, सबैतिर अलग–अलग सिण्डिकेट छन् । पार्टीभित्रका सिण्डिकेटहरु कोही पनि हारेको अवस्था हेर्न चाहँदैनन् । हरेक चिया पसलेले आफ्नै पसलमात्रै चलेको हेर्न चाहन्छ नि, त्यस्तै छन् हाम्रो पार्टीभित्रका सिण्डिकेट । यस्तो भएपछि विपक्षीहरु कसरी सरकार कमजोर पार्न सकिन्छ, कसरी पार्टी कमजोर पार्न सकिन्छ भनेर लाग्ने भइहाले । 

० यो सरकारबाट धेरै आश गर्न सकिन्नँ त ?
– गर्छ, यही सरकारले केही न केही गर्छ । किनभने, जनताका माग र अपेक्षा धेरै ठूला छैनन् । तर, हरेक पार्टीका नेताले जनताको बीचमा धेरै कुरा उठाए । ती सबै कुरा एकैचोटि, सहजढंगले, अहिल्यै पूरा हुनुपर्छ भन्नेमा जनता छैनन् । अल्पकालीन कार्यक्रमहरु यही वर्षको बजेट र नीति तथा कार्यक्रममा आउनुपथ्र्यो । त्यो गल्ती भयो । दीर्घकालीन, मध्यकालीन र तत्कालिन कार्यक्रमहरु छन् । रेल, पानी जहाजजस्ता दीर्घकालीन विषयहरु उठाइएका छन्, ती आउने कुरामा म आशावादी छु । 

० संसदमा पार्टीको उपस्थिति प्रभावकारी भएन भनिन्छ नि !
– संसदभित्र जो पुराना छन्, उनीहरुको उपस्थिति त्यति देखिँदैन । जो नयाँ छन्, उनीहरुले बल्ल अलिअलि सिक्दैछन् । अभ्यास हुनेको उपस्थिति कम, अभ्यास नभएको उपस्थिति बढी भएपछि आउने समस्या यही हो । फेरि सत्तासीन सांसदको उपस्थिति ठूलो भएको हुँदा विपक्षीहरु चर्कोसँग विरोधमा जान पनि नसक्ने अवस्था भयो । 

० डा.गोविन्द केसीको अनसनलाई के भन्नुहुन्छ ? 
– उहाँले उठाएका विषय धेरैचोटि उठेका र कतिपय माग पूरा भएका, कतिपय पूरा हुने क्रमका नै हुन् । तर, डा.गोविन्द केसीको पछाडि लागेर राज्य हिँड्न सक्दैन, हिँड्नुहुँदैन । शुरुमा उनले माग उठाउँदा जुन समर्थन थियो, आज त्यस्तो छैन । मान्छेहरुलाई चाहिएको कुरा उठाउँदै, अनसन बस्दै जाने र सरकार लत्रिँदै जानुपर्ने– यस्तो कुरा हुँदैन । यो अनसन भनेको त डा.गोविन्द केसी र उनका समर्थकहरुको आफैँमा अपमान हो ।  


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top