वेयटिङ फर ब्याड न्युज !


Tuesday, 17 Jul, 2018 12:13 PM

  • वैकुण्ठ ढकाल

पहिलो दिन
तपार्इंको बच्चा एकदमै क्रिटिकल छ, जतिखेर पनि जे पनि हुन सक्छ । हामीले कोसिस गरिरहेका छौं । बच्चा कामिरहेको छ, सिटी स्क्यान गर्न सकिएको छैन । सिटी गर्न पाए के हो भन्ने थाहा हुन सक्थ्यो ।

दोस्रो दिन
हामीले सिटी स्क्यान ग¥यौं । रिपोर्ट आउन समय लाग्छ । साँझ ५ बजेसम्म आउँछ कि । घडी हेरेको बिहानको ११ मात्रै बजेको छ । क्रिटिकल बिरामीको रिपोर्ट आउन, एक दिन ? साँझ पनि रिपोर्ट आएन । भोलिपल्ट रिपोर्ट आयो ।

रिपोर्टसँगै डाक्टरको दोधारे कुरा आयो, टाउकोमा जमेको रगत हो कि पानी क्लियर भएन । तत्काल अप्रेसन गरौं ।

अप्रेसन गर्दा बच्चा बाँच्छ भन्ने कुनै ग्यारेन्टी छैन । जे पनि हुन सक्छ । यस्तै यस्तै कुरा आइरह्यो । डाक्टरको ।

अस्पतालको नाम पढेको थिएँ, पहिले नै । ‘अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल’ शब्द शब्द केलाएँ । ‘अन्तर्राष्ट्रिय मैत्री’ के होला अर्थ ? आफैंले नाम सच्याएँ, ‘बालमैत्री अन्तर्राष्ट्रियअस्पताल’ यो चाहिं सही र सुहाएको जस्तो लाग्यो । अन्तर्राष्ट्रियमैत्री अस्पतालमा हामी गाउँले, हुँदा खानेहरूले कसरी उपचार गराउने ? प्रश्न उठिरहेको थियो । अस्पताल बालमैत्री हुनुपर्ने, अन्तर्राष्ट्रियमैत्री किन भयो, कुनै बेला यसका सञ्चालकसँग कुरा गरौंला ।

पाठकलाई लाग्दो हो, पैसा छैन भने किन गएको त प्राइभेट अस्पताल ? यसको पनि जवाफ छ । सरकारी अस्पताल पुग्नेबित्तिकै हामीकहाँ बेड छैन, तुरुन्त आइसियु, एनआइसियु, पिआइसियु भएको अस्पतालमा लैजानुस् । तपाईंको बिरामी एकदमै क्रिटिकल छ भनेपछि गर्ने के ? असार २ गते दिउँसो ४ बजे कान्ति बाल अस्पताल पुगेपछि त्यही भयो । हामीले गर्नेजति ग¥यौं, पिआइसियु भएको अस्पताल लैजानुहोस्, हामीले पिआइसियु भएको अस्पतालको नम्बरहरू टाँसिदिएका छौं । फोन गर्नुहोला, जुनमा बेड छ, जुन तपार्इंहरूलाई उपयुक्त लाग्छ । त्यहीं लग्नुहोला ।

कान्तिसँगै जोडिएको शिक्षण अस्पतालमा फोन गरें, पहिले । त्यहाँ पनि बेड खाली रहेनछ । सँगै गएका साथी, अन्तर्राष्ट्रियमैत्री बाल अस्पताल पुगेर आए, बेड खाली भएको सूचना लिएर । हामी निरन्तर फोन गरिरहेका थियौं । त्यो बीचमा अर्को डाक्टर आएर बिरामी छिटो पिआइसियु भएको अस्पतालमा लैजान आग्रह गरिरहेको रहेछ ।

शिशुले मुखबाट फिँज नै निकाल्न थालेको थियो । बच्चाको आमा यसै पनि आत्तिरहेको, डाक्टरले दबाब दिइरहेपछि आत्तिने भइनै हालियो ।
ड्युटीमा रहेका डाक्टरले भने यहाँ बेड खाली भएपछि तपाइँहरूलाई खबर गर्छौं, भोलि नै खाली हुन पनि सक्छ ।
भोलिपल्ट कान्ति पुग्दा ड्युटीमा रहेकाहरूको बोली फेरियो । तपाइँहरू बाहिर गइसक्नुभएको छ । तपाँइहरू हाम्रो प्राथमिकतामा पर्नुहुन्न । यहीँ इमर्जेन्सीमा भएका वा भर्ना भएकाहरू प्राथमिकतामा पर्ने हुन् ।

बिहानको खाना खाएर पत्रिकाहरूको शनिवारीय परिशिष्टांक पढेर बसिरहेका बेला मोबाइलको घण्टी बज्यो । पविको छोरो निकै बिरामी भयो । हामी भरतपुरबाट प्लेनमा आउँदै छौं । एयरपोर्टमा लिन जानुहोला । झण्डै एक महिनादेखि सम्पर्कविहीन सालोले सुखद खबरका लागि फोन गरेको होला भनेर सोचेको त कुराले निकै चिसो बनायो ।

के बिरामी हो, के समस्या हो भन्ने पनि बुझ्ने समय रहेन । ४२ दिनको शिशु गम्भीर बिरामी । अक्सिजन पनि चाहिने भएकाले एयरपोर्टबाट अस्पताल लैजानका लागि एम्बुलेन्सको विकल्प भएन ।

बालबालिका बिरामी भनेपछि झट्ट दिमागमा आइहाल्ने नाम कान्ति बाल अस्पताल हो । अन्य दायाँबायाँ केही नसोची अस्पतालमा फोन लगाएँ । कुरा बुझो, एम्बुलेन्सको खोजी गरँे । अस्पतालको रहेनछ । रिसेप्सनमा बस्नेले मेरो मोबाइल नम्बर लिएर कुनै एम्बुलेन्स चालकलाई दिएको रहेछ । एम्बुलेन्स चालकले केहीबेरमा फोन गरे । बिरामी ३ बजेको उडानबाट काठमाडौं आउने तय भएको थियो । भरतपुर काठमाडौं उडान १५ मिनेट न हो । तीन बजे नै एयरपोर्ट पुग्ने सल्लाह भएको थियो । त्यत्ति नै बेला एम्बुलेन्सले काँडाघारी गएको रहेछ । किन भनेर सोध्दा, साथी भेट्न रे ? एउटा निश्चित भएपछि अर्को खोज्ने कुरा पनि भएन । बिरामी बोक्ने आकस्मिक सवारी चालकको यो गैरजिम्मेवार सैह्य थिएन । १० मिनेटमा आउने वाचा गरेको चालक झण्डै आधा घण्टापछि आइपुग्यो । बिरामीलाई एम्बुलेन्समा चढाइयो, र कान्तितिर कुदाइयो ।

पहिलो पटक देख्दै थिएँ, सालीको छोरी जून ४२ दिनको थियो । सँगै बसे, बालकको कुनै चालचुल छैन । आँखा बन्द थियो, एकछिन अघिसम्म तातो बच्चा चिसो भएको थियो । हातको औंला खोलें, उसले च्याप्प समायो । नाडीको चाल पनि भेटियो । चिसो छ तर जीवित छ भन्नेचाहिँ पक्का भयो ।

कान्ति पुगियो, अब उपचार शुरु हुन्छ । नतिजा जे आउला अस्पताल नै पु¥याउन सकिन्न कि भन्ने त भएन नि । अस्पताल पुग्दैमा उपचार पाइन्छ भन्ने ग्यारेन्टी पनि नहुने । बेड छैन भनेर अर्काेमा रिफर गर्न हतार । सिमराको बिरामी रिफर हुँदा–हुँदा काठमाडौं आइपुग्छ । काठमाडौं आइपुग्दा पनि फेरि अर्को अस्पताल रिफर । सिमराबाट हेटौंडा, हेटौंडाबाट भरतपुर चितवन अनि त्यहाँबाट काठमाडौं ।

अन्तर्राष्ट्रियमैत्री बाल अस्पतालमा भर्ना गरियो, असार २ गते ६ बजेतिर । एक रात मात्रै राख्ने र भोलिपल्ट कान्ति वा शिक्षण अस्पताल सार्ने भन्ने नै सोचियो । शनिबार परेकाले सबैतिर सम्पर्क हुने अवस्था पनि थिएन । आइतबार केही होला भन्ने भयो ।

पंक्तिकार पत्रकार भएकाले केही चिनजानका काम होला भन्ने आशा थियो । सबैले सकारात्मक आश्वासन दिए, काम भएन । बिरामी बच्चाको साइँलो हजुरबा, काठमाडौं जिल्लाको जिल्लास्तरीय नेता । काठमाडौंको जिल्लाको जिल्ला सचिव भएका सबैभन्दा ठूलो दलका । राष्ट्रपतिदेखि प्रधानमन्त्री कार्यालयसम्मबाट भनसुन गर्ने काम भए । वडाध्यक्षदेखि अस्पतालका डाक्टरहरू भेटियो । जवाफ पुरानै थियो । खाली हुनेबित्तिकै तपाइँको बच्चालाई प्राथमिकता ।

पंक्तिकारले पनि शिक्षण अस्पतालका डिन, बालरोग विभागका प्रमुखसम्म कुरा पु¥यो । कान्तिका कर्मचारी संगठनका नेता, अस्पताल व्यवस्थापन समितिका अध्यक्षसम्मलाई भन्यो । जवाफ उही थियो । खाली भएपछि खबर गर्ने । तर, आजका दिनसम्म खबर आएन । यत्ति हो कान्ति अस्पतालका धेरैजसो स्टाफलाई थाहा भयो ४२ दिने बालक आरम्भ रिजालको नाम । चर्चा भयो । चारैतिरबाट फोनहरू आए । हामी भेट्न जाँदा पनि फोन आइरहेको थियो । तपाइँहरूले फलाना फलानालाई पनि भन्नुभएको रहेछ ।

हो, अभिभावकलाई सन्तान नै सबथोक हो भन्ने लाग्छ । आफन्तलाई पनि त्यस्तै, त्यस्तै लाग्छ । भर्खरको चिचिलो नबढोस् भन्ने त कसलाई लाग्छ र ।

फेरि असार २ गते नै फर्कौं । चलचित्र भनेको चलचित्र नै हो, व्यक्तिगत जीवनमा मेल खाए संयोग मात्रै हुनेछ । तर, जुन बेला अन्तर्राष्ट्रियमैत्री अस्पताल पुगें, हिन्दी चलचित्र गब्बर इज ब्याकको याद आयो । अनि पाटिल अस्पतालको फिल्मी दृश्य आँखैअगाडि घुम्न थाले ।
शिशुलाई आकस्मिक कक्षमा छाडेर, क्यास काउन्टरअगाडि उभिएँ । काउन्टरवाला भन्न थाले बिरामी रजिस्टर गरेको पाँच सय, ३० हजार धरौटी । बेड चार्ज परनाइड ३५ सय, बच्चालाई मेसिन चलाएको छुट्टै चार्ज । कम्तीमा तीन पटक डाक्टर राउन्डिङमा आउँछन् त्यसको छुट्टै फि, ............. । यस्तै यस्तै अरू पनि के के भन्दै थिए । सबै कुरा बुझ्न सकिएको थिएन । मनमनमा हिसाब गरिसकेको थिएँ, तैपनि सोधें त्यसो हो भने दिनको कत्ति जत्ति खर्च आउँछ त ? यसै भन्न सकिन्न, ७ देखि १० हजार आउला ।

चार दिन अस्पताल बस्दा दिनको १५ हजार जत्ति खर्च भयो । न क्यास काउन्टर भनेको कुरा मिल्यो, न आफूले अड्कल गरेको कुरा ।
अस्पतालले गर्ने ब्ल्याकमेलिङको फेरि कुरा गरी साध्य छैन । सिटी स्क्यान गरेर त पानी हो कि रगत छुट्याउन नसकिरहेका बेला अप्रेसन गरेर बिरामी निको हुन्छ कि हुँदैन के भन्न सक्थ्यो र ? सकेन तर निजी अस्पतालका डाक्टरले अप्रेशन गर्नुपर्छ । छिटो निर्णय दिनुहोस् भन्न पनि छाडेनन् । कम्तीमा पंक्तिकारचाहिं त्यो अस्पतालमा अप्रेसन नगराउनेमा अडिग थियो । त्यो कुरा बच्चाको बुबालाई पनि भनिरहेकै थियो । 
निजी अस्पताल बसाइको चौथो दिन दिउँसो, बल्लबल्ल बच्चालाई शिक्षण अस्पताल महाराजगन्ज सारियो । बच्चा के हुन्छ, त्यो त भगवान् भरोसा नै थियो, अब कम्तीमा अभिभावक मर्दैनन् भन्नेचाहिं ढुक्क हुँदा पनि ठूलै युद्ध जितेबराबर भयो । किन यसको पनि लामै कथा छ ।
शिक्षण अस्पताल किन र कसरी बिरामी सारियो भन्नेको पनि लामो कथा छ, त्यता नजाऔं । अस्पताल पुगेदेखि दौडधूप निकै भयो, इमेर्जेन्सी कक्ष चलायमान भयो । भुक्तानी गर्न, रिपोर्टका लागि दौडिन, औषधि किन्न आदिआदि काम हुने नै भए । बढीमा दुई घण्टामा सबै किसिमको रिपोर्ट तयार भयो । निजी अस्पतालले दुई दिन लगाएको सिटी स्क्यानको रिपोर्ट पनि तत्काल आयो ।

डाक्टरको निष्कर्ष आयो, अप्रेसन गरेर बच्चालाई दुःख दिनुभन्दा केही नगर्नु राम्रो । त्यसो भनेर अभिभावकको मन के मान्थ्यो । मनाउन कठिन भयो । बल्लबल्ल शिक्षण अस्पतालको पिआईसियु मिलाइएको थियो । त्यहाँ नराखी नर्मल वार्डमा राखेर उपचार थालियो । अक्सिजनको पाइप छँदै थियो । नशाबाट आवश्यक पोषण तत्व दिइयो । भोलिपल्ट मुखमा पाइप छिराएर आमाको दूध खुवाउन थालियो । ‘माया’ मारेको बच्चाले चमत्कार देखाउन थाल्यो, सात दिनदेखि बन्द आँखा खुल्न थाले, सुनिएका हात विस्तारै चल्न थाल्यो, रुन सक्ने भयो, अक्सिजनबिना पनि सास फेर्न थाल्यो, पाइपबिना दूध खान सक्ने भयो अर्थात् आमाको दूध चुस्न सक्ने भयो । दिसापिसाब पनि राम्रो भयो । यसरी सामान्य मानिसले हेर्दा बच्चो ठीकठाक भयो । टाउकोमा पानी जमेको भनेको पनि ठीकठाक नै देखियो । मेनेन्जाइटिस भनेको बालकलाई भएको चाहिँ के हो त ? पेट सुन्निएको थियो । डाक्टरहरूले बाहिरैबाट छामेर भनिरहेका थिए । बच्चाको कलेजो सुनिएको छ । पाचन प्रणालीमा कहीँ न कहीँ समस्या छ । हिडा स्क्यान गरेर हेरौं, यो स्क्यान जहाँ पायो, त्यहीँ नहुने रहेछ । गामा सेन्टरमा धेरैपछि पालो आयो । कलेजो र पित्त थैली जोड्ने नशा सुकेको पत्ता लाग्यो । यसले कलेजोमा असर परेको निक्र्याेल निक्लियो । उपचारको कुरा गर्दा नेपालमा सम्भब नरहेको निष्कर्ष आयो । कलेजो प्रत्यारोपणको बाटोमा जानुको विकल्प भएन । त्यहाँसम्म पुग्ने बाटा पनि भेटिएन । अब गर्ने के त ?
अभिभावकले मन दरो बनाउने कठोर निर्णय लिने !

जन्मँदा ठीकठाक जन्मिएको बच्चा यत्ति छिट्टै किन मृत्यु पर्खन बाध्य भयो, पंक्तिकारको मनमा प्रश्न खेलिरहेकै छ ।
डाक्टर भन्छन्, बच्चाको स्वास्थ्यबारे केही भन्नै सकिन्न । छिनछिनमै चमत्कार हुन्छ । आशा गरौं केही चमत्कार भइ पो हाल्छ कि ?
चमत्कारकै आशमा, बच्चो १९ दिनको अस्पताल बसाई पछि घर फर्किएको छ ।

अस्पतालमा गएभन्दा स्थिति खराब भएको छैन, सुध्रिएको पनि छैन ।

खै पंक्तिकारलाई मात्रै हो कि अरू मानिसलाई पनि त्यस्तै हुने हो । अस्पताल जाने भनेको दुःख पाउनकै लागि हो भन्ने नै छ । यसलाई चिर्ने गरी नीति र थिति बसिसकेको छैन । कार्यप्रणालीदेखि लिएर सेवा प्रदायकको व्यवहार फेरिनुपर्छ । त्यसका लागि समय लाग्ने नै देखिन्छ । अनि अभिभावक पनि बालबालिकाको स्वास्थ्यका लागि सचेत हुनै पर्छ । सरकारी अस्पताल सक्षम भएर बिरामीलाई निजी अस्पतालको पासोमा नहाल्दिएहुन्थ्यो । निजी अस्पताल जानेहरू रहर र सम्पन्नताले मात्रै जाँदैनन्, बाध्यता र विवशताले पनि गएका हुन्छन् । निजी अस्पतालले पनि व्यापार कम सेवा भाव बढी राखिदिए गज्जब हुन्थ्यो । यसर्थ पनि सरकारी स्वास्थ्यसंस्थालाई निकै बलियो बनाउनु जरुरी छ ।
 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top