​छिट्टै हुनेछ यो कुरा पनि छर्लंग


Thursday, 5 Jul, 2018 12:00 AM

  • बाबुलाल भण्डारी

दुई वर्षअघि मित्रराष्ट्र भारतले तमाम अन्तर्राष्ट्रिय अभिसन्धि, दुईपक्षीय सम्झौता र भाइचारालाई लत्याउँदै हामीमाथि नाकाबन्दी ग¥यो । असमझदारी हटाउनु र नेपालको पक्षमा माहोल बनाउनु त कता हो कता उल्टै दिल्लीस्थित हाम्रा दूतले शंकास्पद प्रयोजनका दौडाहा लगाएको जानकारी आएपछि सरकारले फिर्ता बोलायो । परराष्ट्र नीतिमा लहड र अति उत्साह बर्जित हुन्छ भनिन्छ । तर अचम्म यो भयो कि पछि गठन भएको सरकारले हप्तादिन नपुग्दै उनैलाई पुनः भारत पठायो । यस्तो छ हाम्रो संयमपूर्ण, परिपक्व र सुविचारित कूटनीति ! यसबाट व्यक्ति र दल विशेषको प्रतिशोधको चाहना त पूरा भयो होला तर विश्वजगतमा मुलुकको नाक काटिएको कुराको एकरत्ती ख्याल गरिएन । लगत्तै तत्कालीन सरकारका उपप्रम कृष्णबहादुर महराको अमेरिकी राष्ट्रपतिसँगको प्रस्तावित भेटघाट न्यूयोर्कस्थित नेपाली कूटनीतिक अधिकारीहरूको प्रक्रियागत कमजोरीले हुन सकेन । त्यति मात्र होइन संरासंको महासभामा भाग लिन पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई रिसिभ गर्न हाम्रा राजदूतले विमानस्थल पुग्ने कष्ट गरेनन् । यो राजदूतको स्तरबाट भएको गम्भीर लापरबाही थियो । दुबईका लागि नेपाली राजदूतले नेपाली कामदारको मृत्यु भएबापत रोजगारदाता कम्पनीबाट परिवारलाई निकासा भएको क्षतिपूर्ति रकम आफ्नो खातामा जम्मा गरे र व्यापक होहल्लापछि मात्र बडो मुस्किलले फिर्ता गरे । यहाँ कार्यबाहीको सिफारिस भएका म्यानपावर व्यवसायी र चेलीबेटी बेचबिखनका आरोपीसम्म पनि राजदूत नियुक्तिको सिफारिसमा परेका छन् भने पछि धेरै कुरा भन्नै पर्दैन । धेरैअघि अमेरिकाका लागि नेपाली राजदूतले पुस्तक चोरेको आरोप लाग्यो । फेला परेपछि शिष्ट र मर्यादित भाषामा प्रस्तुत हुनुको साटो कूटनीतिक शान देखाउने मूर्खताले गर्दा यो कुरा प्रचारमा आयो र मुलुककै काफी बदनामी भयो । धेरै भएको छैन, हाम्रो दार्चुला जिल्लाभित्र पर्ने नेपालको लिपुलेकलाई आधार बनाएर छिमेकी चीन र भारतबीच व्यापार सन्धि भयो । हाम्रो जानकारीबेगर हाम्रै भूमि प्रयोगसम्बन्धमा छिमेकीबीच सहमति–सम्झौता हुनु अत्यन्त लज्जास्पद विषय हो । तर, हाम्रा चीन र भारतस्थित राजदूतावास मात्र होइन, यसमा परराष्ट्र मन्त्रालयसमेत सक्रिय हुन सकेनन् । यस्ता सयौं प्रकरण छन् जसका कारण देशको शिर धेरैपटक निहुरिएको छ र हामीले लज्जित हुनुपरेको छ । 

हामी सन्तुलित सम्बन्धका ठूला गफ त गर्छौँ तर वैदेशिक सम्बन्ध सञ्चालनमा आफूबीच न्यूनतम पनि सहमति बनेको छैन र हाम्रा कूटनीतिक गतिविधिमा अपनाइने नीतिगत आधार वा मापदण्डबीच संगति भेटिन्न । यो थिति नबसेको वा प्रणाली नभएको गति, मति र दिशाहीनताको द्योतक हो । सन् ६० वा ७० को दशकमा हामीले देखाएको कूटनीतिक चातुर्यसमेत अहिले गुमाएका छौं । एक अर्थमा हाम्रो कुनै सुपरिभाषित र स्पष्ट विदेश नीति नै छैन वा भए पनि अन्तर्राष्ट्रिय गौरव, प्रतिष्ठाको अभिवृद्धि, मुलुकको आर्थिक हित र समृद्धिको दिशामा यसको उपयोग गरिन्न । अन्यत्र यस्तो बिरलै भेटिन्छ तर हामीकहाँ हरेक सरकार परिवर्तनसँगै वैदेशिक सम्बन्ध र नीतिका प्राथमिकता फेरिन्छन् । 

अहिले वैश्विक र क्षेत्रीय सन्दर्भहरू फेरिएका छन् र हाम्रो अर्थराजनीति पनि भिन्न भै सकेको छ । अझ शक्ति सन्तुलन, राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय मामिला, अर्थ, आतंकवादको स्वरूप, वाणिज्य र प्रविधिमा आएका परिवर्तित परिदृष्यले कूटनीति सञ्चालन बढी चुनौतीपूर्ण हुँदै गएको छ । 

कैयौँ विदेशी विद्वानले नेपाललाई सुनको चिडिया भन्ने गरेका छन् जो अक्षरशः सत्य हो । कूटनीतिलाई अर्थ कूटनीति भनेर बुझ्न थालिएको अहिलेको समयमा यसको विशेष महत्व छ । हामीसँग अद्वितीय प्राकृतिक, ऐतिहासिक र साँस्कृतिक सम्पदा छन् र तिनीहरूलाई विश्व समुदायमा यथोचित प्रचार प्रसार गर्न सकियो भने एकातिर पर्यटनलाई नेपाली अर्थतन्त्रको प्रमुख आधार बनाउन सम्भव छ त अर्कोतर्फ मुलुकका जल, खनिज सम्पदा र पूर्वाधार विकासमा प्रत्यक्ष लगानी आकर्षित गरेर समृद्धिको यात्रा तय गर्न समय लाग्दैन । यसरी नेपाललाई विश्व समुदायमा चिनाउने कामका अतिरिक्त राजदूत, महावाणिज्यदूत र अन्य नियोगका कूटनीतिज्ञहरूले दुई देशबीचको व्यापार र नेपाली उत्पादनको बजार विस्तारका साथ साथै तत्तत् मुलुकहरूमा रहेका नेपाली आप्रवासी र कामदारहरूको उचित ढङ्गले हित रक्षा र परस्पर लाभका आधारमा द्विपक्षीय समस्या समाधान गर्नुपर्ने हुन्छ । हाम्रो विदेशनीति दुई विशाल छिमेकीहरू बीच सन्तुलन खोज्नुमा सीमित हुनुहुन्न र ती दुवैलगायत संसारको हरेक कुनाबाट सहयोग र सद्भाव जुटाउनुपर्ने हुन्छ । पार्टी कार्यकर्ता वा निकट सम्बन्धको आधारमा नियुक्त हुने लकिरका फकिरहरूबाट यी कुनै काम सम्पादन हुन सक्दैनन् । त्यस हिसाबले पनि देश र समाजको विशिष्टतालाई मिहिन तरिकाले बुझ्ने अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा उच्च प्रोफेसनालिजम भएका योग्य र कुशल व्यक्तिको नियुक्ति झनै अनिवार्य भएको छ । हामीसँग त्यस्तो जनशक्तिको अभाव बिल्कुल छैन पनि । देशप्रतिको निष्ठा भक्ति हुने योग्य र विज्ञलाई विपक्षी दलहरूबाट लिनमा पनि कुनै कञ्जुस्याँइ हुनुहुन्न । राजदूत नियुक्तिमा अब वास्तवमै प्यारडाइम सिफ्ट वा डिपार्चर आवश्यक भएकै हो । 

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राजदूत र कूटनीतिक नियोगहरूमा हुने नियुक्तिलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाइने प्रतिबद्धता जनाएका छन् । अहिले प्रमं र परराष्ट्रमन्त्रीका टेबुलमा आकांक्षीहरूका बायोडेटा र निवेदनको चाङ् लागेको बताइन्छ । योग्यता र क्षमतालाई आधार बनाइने कुरा आफैमा प्रशंशनीय हो तर योग्यता र क्षमता मापनका स्पष्ट आधार र सूचकहरू तयार नगरी छनोट गर्ने र छनौटअघि प्रष्ट कार्ययोजना नमाग्ने हो भने फेरि पनि अकर्मण्य मान्छेले बाजी मार्नेछन् अनि हात लाग्यो शून्य नै हुनेछ र हामी फेरि जहाँको त्यहीँ हुनेछौँ । यसअघि राजदूत सिफारिसको विषय समानुपातिक सहभागिता नभएको भन्ने कोणबाट पनि पटक पटक विवादित हुने गरेको छ र राजनीतिक फाँटबाट आउनेलाई दिल्ली, बेइजिङ र वासिङटनजस्ता रणनीतिक महत्वका ठाउँमा पठाउने, तालिम अनि अनुभवले खारिएका करियर डिप्लोम्याटहरूलाई कम महत्वका ठाउँमा खटाइने गरेको पनि गुनासो छ, यद्यपि हालसम्मको अनुभवमा कार्यसम्पादनमा करियर डिप्लोम्याटहरू नै अगाडि देखिएको कुरा पनि त्यत्तिकै सत्य हो । मुख्यकुरा सही व्यक्तिलाई सही ठाउँका लागि चयन गर्नु हो । यसमा बहुमतको बलियो बामपन्थी सरकारले राष्ट्रिय दृष्टिकोणका साथ साँच्चिकै मुलुकको स्वाधिनता, स्वाभिमान, प्रतिष्ठा र समृद्धिका लागि काम गर्छ कि तेरो मेरो, नजिक–टाढा र मोलाहिजामा बगेर वस्तुनिष्ठ र निष्पक्ष छनौट गर्न चुक्छ ! छिट्टै यो पनि स्पष्ट हुने नै छ ।


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top