सरकार सञ्चालनमा पुरानै संकट


Sunday, 24 Jun, 2018 11:49 PM

  • विदुर खड्का

दशकौंदेखि विभिन्न झुण्डमा विभक्त नेपालका वामपन्थी एउटै साझा छहारीमुनि गोलबन्द हुनुलाई नेपाली जनताले असाध्यै सकारात्मक घटनाक्रमका रूपमा ग्रहण गरेका छन् । र, अपेक्षा पनि असीमित नै छ जसरी ०६३ सालताका युद्धको रापिलो ज्वालाबाट भरखरै माओवादी सत्ताको राजनीतिमा आएका बेला राखेका थिए ।

नेपाली जनताको अपेक्षा राजनीतिज्ञले सोचेजस्तो असीमित हुँदैन । दैनिक जीवनमा आइपर्ने सामान्य समस्याको समाधान, शिक्षामा सहजता, स्वास्थ्योपचारमा सहजता, बाटो, पुल, बिजुली यस्तै–यस्तै । उनीहरूलाई के थाहा हावाका कुरा, उनीहरूलाई के थाहा पानीजहाजका कुरा । उनीहरूलाई के थाहा चुच्चे रेल र पाइपबाटै चुलोमा ग्यास आउने कुरा । अनि जम्बो जेटका कुरा । यी त नेताले भन्ने, जनताले ताली बजाउने कुरा हुन् । भोलिका दिनमा यस्ता सपना साँच्चिकै साकार भएछन् भने बल्ल पत्याउनेछन् ।

अत्यधिक बहुमतको र इतिहासमै सर्वशक्तिमान भनिएको सरकार छ । नीतिगत रूपमा निर्णय गरेर जनता र राष्ट्रिय समृद्धि, आर्थिक र सामाजिक विकासका काम गर्न कसैले अवरोध गर्न नसक्ने परिस्थिति छ । समाजमा, पार्टीमा विषयविज्ञको कमी छैन । चुनावी घोषणापत्र जनताले रुचाइएकै विषयले भरिपूर्ण छ । राजनीतिक र प्राविधिक नेतृत्वबीच सन्तुलन मिलाएर काम गर्न कुनै माइकालालले रोक्न नसक्ने स्थिति छ । तर, अहिलेको सरकार त्यसो गरिरहेको छैन, किन होला ? विषय उदेकलाग्दो छ ।

तीन वर्ष भयो नेपाली जनताले आमविनाशकारी भूकम्पको कहर भोगेको । त्यसले बनाएको घाउ अझै गहिरो र ताजै छ । सरकारसँग यी पीडितको अपेक्षा के होला ? त्यसतर्फ सरकार कहीँ–कतै संवेदनशील भएको पाइँदैन, कार्यक्रममा मन्त्री र नेताको भाषण होइन कि अर्थमन्त्रीको बजेट सुनेर यति कुरा ठोकुवा गर्न सकिन्छ ।

पहिला–पहिला विपक्षी दलले बजेटको घनघोर विरोध गरी संसद् अवरोध गर्थे । अहिले प्रतिपक्ष बजेटप्रति सामान्य औपचारिक टिप्पणी मात्रै गरेर मौन बसेको छ । फेरि पनि हंगामा त सदनमा भएकै छ । त्यो हंगामा सरकारको नेतृत्व गरेका दलकै सांसदले गरेका छन् । यो बिडम्वना हो कि होइन ?

सुरक्षित सरकारका मन्त्री यसरी आत्तिएर हत्त न पत्त पाएजत्ति सबै बजेट आफ्नै क्षेत्रमा मात्रै ओइराउने काममा किन लागेको ? के भोलि बिहानै सरकार ढल्ने सपना राति सुत्दा देखेरै हो त ? नत्र सबैतिर समतामूलक ढंगले विकासका सम्भावनालाई वितरण गर्न भंगेराको जत्रो छाती किन बनाउनुपर्ने ? चुनाव जित्न त्यो क्षेत्रको उम्मेदवार भए पनि मन्त्री र नेता त देशभरिका लागि बनेको हुँ भन्ने हेक्का वामपन्थी मन्त्रीमा किन नआएको ? वामपन्थी सरकारको ताल देखेर प्रतिपक्षीलाई पनि हाइसञ्चो भएको छ । यस्तो कार्यले सरकार आफैं आफू जाकिने खाल्टो खनिरहेको छ ।

एक युगमा यस्तो अद्वितीय अवसर एकाध मात्रै आउने गर्छ । नेपालमा यो अवसर वामपन्थीलाई पहिलो पटक आएको छ । तर, इच्छाशक्ति, आत्मविश्वास र योजना अभावमा कुहिरोमा हराएको कागजस्तो, गरुडको छायामा परेको सर्पजस्तो, नुन खाएको कुखुराजस्तो भएको छ । यही हो मौका, अहिले नै आफ्ना लागि सबैथोक गरिहालौं, क्षेत्र सुरक्षित पारिहालौं, भोटर खुशी पारिहालौं, कमाइहालौं भन्ने असाध्यै खतरनाक रोगले ग्रस्त पारेको देखिन्छ । अर्कोतिर केही मन्त्री सेलिब्रिटी बन्ने ध्याउन्नमा आफूले गर्नुपर्ने काम र जिम्मेवारी के हो भन्नेसमेत बिर्सिएर कहाँनेर स्टन्ट हान्दा निखिल उप्रेती बन्न सकिन्छ भनेर स्पट मात्रै खोजिरहेका छन् । एकीकरण प्रक्रियाबाट गुज्रिरहेको र नेता, सरकार तथा पार्टी दुवै काममा व्यस्त रहनुपर्दा कतिपय विषयमा पर्याप्त ध्यान पु¥याउन नसकेको कुरालाई नजरअन्दाज गर्न सकिन्छ । तर, यसैलाई बहाना बनाएर भयंकर गल्तीलाई टालटुल पार्दै जाने हो भने क्यान्सर मेरुदण्डसम्म पुगेर पूरै शरीर निकम्मा हुन सक्छ । यसको उपचार सुरुवाती चरणमै गर्न हिच्किचाउनु हुँदैन ।

राजनीतिक नेतृत्वले गर्न सक्ने र गर्नुपर्ने काम र विषयविज्ञ तथा प्राविधिक नेतृत्वले गर्न सक्ने वा गर्नुपर्ने कामको बीचमा भेद छुट्याउन सक्नुपर्छ । जसको दक्षता जे मा छ, उसले त्योभन्दा फरक जिम्मेवारी पायो भने उपलब्धि अपेक्षाकृत नहुन सक्छ । यसकारण यस्ता गल्तीहरूलाई आग्रह–पूर्वाग्रहको चस्मा उतारेर करेक्सन गरिहाल्नुपर्ने देखिन्छ ।

संघीयता कार्यान्वयन गर्ने नीति, योजना तथा बजेट भएका कारण पनि सरकारका काम तथा बजेट बेढंगे देखिएको हुन सक्छ । स्थानीय तह तथा प्रदेशहरू राम्रोसँग काम गर्न जनशक्ति तथा साधनस्रोत सम्पन्न नभइसकेका कारण सरकारले लिएका कतिपय निर्णय कार्यान्वयनमा समस्या आउने देखिन्छ । तर, त्यसलाई जसरी पनि कार्यान्वयनमा लैजानुपर्ने बाध्यता नभएको होइन । यति गरिरहँदा योजनाको सन्तुलन मिलाउन नभ्याएको स्पष्टै देखिन्छ । यसका लागि पर्याप्त गृहकार्य नपुगेकै हो । यसरी समय अभावका कारण वा अन्य प्राविधिक कारणले नियत राम्रो हुँदाहुँदै गर्न नसकिएका काम वा अपुगहरूलाई सबैले भोलिका दिनमा करेक्सन गर्नेगरी सदाशयता देखाउनुपर्छ । तर, यसैलाई बहाना बनाएर जिम्मेवार स्थानमा बसी गैरजिम्मेवार काम गर्नेप्रति नेतृत्व उदार बनिरहने हो भने सरकारका महत्वाकांक्षी योजना तथा राष्ट्रिय समृद्धिको सपना सपनामै सीमित नरहला भन्न सकिन्न ।

आशा गरौं, वामपन्थी सरकार तथा भर्खरै बनेको सबैभन्दा ठूलो राष्ट्रिय दल, यसका नेता र मन्त्रीहरूले विषय, परिस्थिति र जनचाहनालाई फेरि एकपटक राम्रोसँग नियालेर आत्मसमीक्षा गर्नेछन् । यो सरकारबाट नेपाली जनताले धेरै ठूलो अपेक्षा गरेका छन् । सरकारको कार्यदक्षता र जनचाहनाबीच तुच्छ स्वार्थ तगारो नबनोस् भन्ने शुभकामना छ ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top