सँगै हुँदा ओई, नहुनासाथ खोई


Sunday, 24 Jun, 2018 11:47 PM

  •  संकेत कोइराला

एउटा जंगलमा थरीथरीका जनावर बस्थे । एकदिन जंगलका राजाको चुनाव भयो । जनावरहरूले सिंह छोडेर बाँदरलाई राजा बनाए । एकदिन एउटा बाघले बाख्राको पाठो उठाएर आफ्नो गुफामा लगेछ । पाठोलाई मुक्ति दिलाइदिन अनुनयविनय गर्दै बाख्रो बाँदर राजाकोमा धाउन थालेछ । राजा बाँदर बाघको गुफामा जाँदै फर्किंदै गर्दो रहेछ । कत्ति गर्दा पनि उसमा ओडारभित्र पस्ने आँट आएनछ । आपूmभित्रको लाचारी देखाउन नचाहने, काम पनि गर्न नसक्ने भएपछि बाँदर राजाको गुफा नजिकै रूखमा चढेर एउटा हाँगाबाट अर्को हाँगा चाहार्दै चाकाचुली खेल्न थालेछ । रातदिन कचकच गर्दा पनि बाघबाट आफ्नो बच्चा फिर्ता नआएपछि बाख्रीले कडिकडाउसाथ प्रश्न गरी– ‘मेरो बच्चा कहिले फिर्ता ल्याइदिनुहुन्छ सरकार ?’ बाँदर राजाले भनेछ, ‘मैले भोक निद्रा केही नभनी बाघसँग तिम्रो बच्चा छुटाउन प्रयास गरिरहेकै छु । तिमीहरूकै चिन्ताले घर व्यवहार ध्वस्त भएको छ । यति गर्दागर्दै पनि मेरो प्रयासमा कुनै कमी आएको देखेकी छौ भने भन । म आपूmलाई सुधार्र्न तयार छु ।’

चुलोको अर्थशास्त्र कोमामा पुग्न लागेको यो घडीमा सिंहदरबार गाउँ सारेको जस लिने प्रतिस्पर्धामा उत्रिएका सरकारका अभियन्ताहरूको अवस्था त्यही बाँदरको मनोविज्ञानसँग हुबहु मिल्ने छाँटकाँट देखिँदै छ । जसले जतिसुकै लामो दाम्लो बाटेको दम्भ गरे पनि जब गाँठो पार्ने बेलामा सन्तुलन मिल्दैन भने त्यो तोरणमा अनुवाद हुन पुग्छ । हेक्का रहोस्, जतिसुकै पवित्र भए पनि तोरण गाईवस्तु बाँध्ने काममा उपयोग हुँदैन । आर्थिक समृद्धिका स्थायी अन्तरामा ठूलाबडा मुखियाको अखण्ड प्रवचन चलिरहँदा नाना, खाना र छानाको अर्थशास्त्रले गरिबमाथि थाल खाऊँ कि भात खाऊँको अवस्था ल्याउने छाँट देखिँदै छ । सबैको कान पवित्र हुने गरी सिण्डिकेट तोडेको भन्दै उत्सव मनाइयो । दुई चार थान यातायात समितिका नाममा छापिएका टिकट खोटो बनाउनुबाहेक त्यो हल्लाले अरू केही परिवर्तन गरेन । किला–जरा गाडेर स्थायी शोषण गर्नेहरू आवरणमा अर्को देखिए पनि सारमा उही कर्म गरिरहेका छन् । बिरालो जुन रंगको भए पनि त्यसको धर्म मुसा मार्नेमै अडिएको हुन्छ । गाडीमा यात्रु कोचेर गुन्द्रुक बनाउने खेलको तमाशामा अलिकति परिवर्तन आएको छैन । जुन रुटमा जसको बर्चस्व थियो, त्यसमा चरोमुसो छिर्ने हिम्मत गरेको छैन । अस्पताल, शैक्षिक प्रतिष्ठान वैधानिक डकैतीको सुरक्षित स्थल हुनबाट रोक्ने कामको श्रीगणेश भएको पत्तो कसैलाई छैन । बाँच्न पाउने मानिसको मानवअधिकारसँग यस्ता खालका अदृश्य थुप्रै चोटिला आशय लुकेका हुन्छन् । त्यतातर्पm कसैको ध्यान गएको देखिँदैन । गल्तीमाथि गल्तीका थाक लगाउने प्रतिस्पर्धा बढ्यो । उही घिउ नलाग्ने लोकतन्त्रको एकोहोरो धुन सुन्नुलाई समृद्धिको यात्रा मान्ने हो भने यो फगतः विना रक्तपातको हत्या हो । मेलम्चीको पानी, गुणस्तरीय शिक्षा, विकासको मूल फुटाउने संकल्प, गाउँगाउँमा स्वास्थ्यचौकी र डाक्टर पु¥याउने अठोट । यी र यस्ता आश्वासनले कति पुस्ता गालियो ? उच्च स्थानमा पुग्दैमा काग कोइली बन्न सक्दैन । कुखुराचोरलाई जनप्रतिनिधिको बिल्ला भिराउँदैमा ऊ जनताको सेवक ठहरिने होइन । वास्तवमा एउटा परिवारभित्रको सफल अभिभावक नै देश चलाउने योग्य उम्मेदवार हो । सत्ताको गाडीमा नीतिको कम, सफा नियतको इन्धन बढी खपत गराउनुपर्छ । कम्तीमा साथ हुँदा ओई र नहुँदा खोईको सम्बन्ध जनतासँग बनोस् न !

पटक–पटक गरी नेपाली जनताले प्रजातन्त्रको लडाइँ लडेको आठ दशक पुगेको छ । जनताको अधिकार स्थापित गर्ने नाममा भएका ती आन्दोलनपछिको राजनीतिक उपलब्धि संस्थागत गर्न नसक्ने दलहरूको अकर्मण्यताको पीडा अन्ततः हजुरबादेखि नातिपुस्तासम्मले भोग्नुपरेको छ । राणा शासनविरुद्ध विक्रम संवत् १९९७ देखि शुरु भएको आन्दोलन २००७, ०१७, ०४६ हुँदै ०६३ को आन्दोलनपछि मुलुक गणतन्त्रमा प्रवेश गर्दासम्म पनि जनताका अधिकार स्थापित हुन सकेका छैनन् । ०१५ सालमा नेपाली कांग्रेसले प्रस्तुत गरेको घोषणापत्रमा भनिएको छ, ‘प्रशासनयन्त्रको भ्रष्टाचार एवं अदालतमा व्यापक रूपमा फैलिएको घुसखोरीबाट जनता पीडित छन् । प्रशासनयन्त्र जनताको भलाई निमित्त हो । तर, जनताको शोषण गर्नमा यसको उपयोग भइरहेको छ । शासन भार लिनेबित्तिकै घुसखोरी एवं भ्रष्टाचारलाई कांग्रेसले निर्मूल पार्नेछ । भ्रष्ट कर्मचारीलाई कडा सजायँ र इमानदार एवं कर्तव्यपारायणलाई कदर गर्ने कांग्रेस सरकारले प्रतिज्ञा गर्दै छ ।’ ६ दशकपछि पनि दलले सार्वजनिक गरेको घोषणापत्रको सारांश यही व्यहोरासँग मेल खान्छ । प्रजातन्त्रको प्रतिफल केही टाठाबाठाले लिने गरेपनि सर्वसाधारणका लागि विधिको शासन आकाशको फलजस्तै बनेको छ । जनताले पाएका थोरै अधिकार पनि निगाहको रूपमा परिभाषित हुने गरेका छन् । जनता यस्ता स्थायी सिँढी हुन्, उनीहरूको काममा सीमित दल र अनुहारलाई म्युजिकल चियर बनाएर छानिरहनु मात्र हो ।

नेपालमा दल र तिनका नेता यस्ता सिण्डिकेट हुन्, अन्य मुलुकमा यिनीहरूले न्वारान, पास्नीको भोज खाएकाहरू सरकार प्रमुख भइसक्दा नेपालको प्रतिनिधित्व भोज खाएका बूढा नेताले गरे भने आश्चर्य नमाने हुन्छ । कम्युनिष्टहरूको शक्तिशाली सरकार बनेपछि के हुन्छ ? कांग्रेस शासनकालमा नपाएको के त्यस्तो स्वाद जनताले पाउने छन् र कम्युनिष्ट उनीहरूको भाग्यनिर्माता ठहरियोस् ! यो प्रश्नको उत्तर कसैसँग छैन । यसको सरल उत्तर के हो भने यो देशका विशुद्ध कांग्रेस र कम्युनिष्ट थिए भन्ने इतिहास भइसक्यो । यो देशमा प्रतिपक्ष सकिएको दशकौं भइसक्यो । शक्ति र सत्ताका दलालहरू यति ‘विवेकी’ भइसके कि सत्ता, प्रतिपक्ष मात्र हैन, भावी सत्तासिनहरूलाई पनि यथोचित पाती चढाइसकेपछि कोही किन उफ्रिन प¥यो र ? रोष्ट्रम घेर्ने दुःख कसले गरिरहोस् ? दुई दशकअघि अहिलेको चलन चलेको हुँदो हो त माधव नेपालले ज्यान गएपनि पत्र लेखेर अरूण तेस्रोको आयोजनामा भाँजो हाल्ने थिएनन् । आफूअनुकूल राज्य व्यवस्था चलाउन नपाएपछि प्रजातन्त्रका विधि विधानलाई सिध्याउने र जनतालाई बलिको बोको बनाउने अभ्यास बारम्बार चल्ने गरेको छ । २५ वर्ष यताको प्रजातान्त्रिक अभ्यासमा आफूले कुर्सी त्याग गर्नुपर्ने भएपछि अधिकांश प्रधानमन्त्रीले संसद भंग गराउनुको भित्री रहस्य पनि यही हो ।

आन्दोलनले पुरानो व्यवस्थालाई मिल्काएपछि त्यो व्यवस्थाका सारथीहरू दण्डित हुनुपर्छ । उनीहरू सत्ता सञ्चालनका लागि किन नालायक भए ? त्यो प्रश्नको उत्तर नयाँ आउनेका गतिविधिले दिनुपर्छ । तर परिवर्तन आएको खुशीमा सिन्दुरे जात्रा मनाएर निधारबाट सिन्दुर मेटिएको हुँदैन, अघिल्ला शासकहरूसँगै सहभोज गरिँदा हालसम्म पाएको भनिएका सवै उपलब्धि गिजोलिएका छन् । यसैको परिणाम एउटा आन्दोलनमा जुर्मुराएकाहरू अर्को आन्दोलनका लागि ओइलिने गरेका छन् । अब संघीयता नामको शासन व्यवस्थामा पनि त्यही ऐंजेरु लाग्ने क्रम शुरु भइसकेको छ ।

शासनमा व्यक्ति फेरिएपनि प्रवृत्ति नफेरिने रोग उस्तै छ । जनताको हितमा हैन खल्तीपिच्छेका प्रजातन्त्रको मोडल बोकेर त्यसको व्यापार गर्ने दलहरूको शैलीका कारण प्रजातान्त्रिक व्यवस्था नै अस्थिर बन्दै आएको छ । बरु अझै पनि राजनीतिक दलहरू जनतालाई आन्दोलनका लागि उक्साइरहेका छन् । ६० वर्षअघि एशियाका नेपाल, भारत, चीन, दक्षिण कोरिया, भियतनामलगायतका जनताको प्रतिव्यक्ति आय हाराहारीजस्तै थियो । तर तिनै छिमेकी मुलुकका जनताको प्रतिव्यक्ति आय हजारौं डलर भइसक्दा नेपाली जनता भने निर्धो अंकमा खुम्चिन बाध्य छन् । प्रजातन्त्रको प्रतिफल जनताको हातमा नपुगेको एउटा कटु सत्यसँगै नयाँपुस्तामा राजनीतिप्रतिको विकर्षण भविष्यका लागि थप घातक सूचक हो । जसका कारण जनताको भाग्य निर्माणको तहमा असक्षम व्यक्तिहरूको पहुँच सुरक्षित बन्ने खतरा देखिन्छ । यसैले युवापुस्तालाई मूलधारको राजनीतिक गतिविधिमा सक्रिय गराउनु वाञ्छनीय छ । एकातिर प्रजातन्त्रको आन्दोलनमा तीनपुस्ताको समय गुज्रिसकेको छ भने अर्कातिर हजुरबा पुस्ताको समकालिन राजनीतिमा बर्चस्व छ । जुन समयको माग होइन । अघिल्लो पुस्तालाई सम्मान, नयाँपुस्तालाई अवसर अहिलेको आवश्यकता हो ।

पाण्डुहरू बनबास गएपछि केही समयका लागि हस्तिनापुरको राज्य चलाउने अवसर धृतराष्ट्रले पाएका थिए । हजार हात्ती बराबरको शक्ति पाए पनि अन्धा थिए । राजा हुनु अघिसम्म यो पदलाई उनले पाण्डुहरूको नासोका रूपमा लिएका थिए । तर जब राजाको श्रीपेच पहिरिए उनीभित्र अर्कै अनौठो र दम्भी भावना जागृत भयो । श्रीपेच लगाएका महाराज गान्धारीतिर फर्केर बारम्बार सुहाएको बेलिविस्तार लगाउँथे रे ! अन्धा धृतराष्ट्रले श्रीपेच सुहाएको गर्व गर्नुको पछाडिको रहस्य एउटै हो– सत्ताको सुख ।

दृष्टिविहीन धृतराष्ट्रमा त शक्तिमोह थियो भने त्यो बाटोमा लागेकाहरूले आफूलाई योग्य प्रमाणित गर्न खोज्नु अनुचित हुँदै होइन । राजनीतिको गन्तव्य भनेकै सत्ता हो । राजनीतिले दृष्टिकोण र योजना बनाउँछ तर त्यो इच्छालाई परिपूर्ति गर्ने काम शासनप्रणालीले गर्छ । पदले मान्छेलाई महान बनाउँछ र नजान्दा कहिल्यै निस्कन नसक्ने खाल्डोमा जाक्छ पनि । नढाँटीभन्दा हाम्रो सन्दर्भमा सत्ता बनारसको लड्डुजस्तै खाए पछुताउने, नखाए पनि पछुताउने साधन भएको छ ।

राजनीतिमा नैतिक धरातलको सिंढीबाट झरेपछि त्यो व्यक्ति जनताको आँखाबाट कहिल्यै माथि उठ्न सक्दैन । हो, अपवादका रूपमा नियम–कानुनको सहारामा कतिपय राजनीतिक व्यक्ति निष्कलंक बनेर देखा परेका छन् । यद्यपि, कागजमा सफाइ पाए पनि जनताको मन मस्तिष्कमा उनीहरूको छवि कालाको कालै छ । त्यो छवि मेटाउने इरेजर सानो साधनाबाट पाउने इच्छा कसैले नगरे हुन्छ ।
सबैले सधैं राम्रो काम गर्न सम्भव छैन । समयको कुनै कुइनेटोमा इतिहासले तारिफ गर्ने एउटा काम गर्नु नै महानता हो । कसैलाई कदर गर्न जानियो भने आफू पनि त्यसको लायक होइने हो । भएको संस्कार मेटाउने, नयाँ पनि थप्न नसक्ने विचित्रको मनोविज्ञानमा राजनीति कुदिरहेको छ । नेपालमा क्षमतावान नेता प्रशस्तै जन्मिए । कतिले सपना देखे, समय पाएनन् । अहिलेकाले समय पाए, सपनै देखेनन् । धोती लगाउँदैमा महात्मा गान्धी बनिँदैन । त्यसको लागि जप, तप र त्याग चाहिन्छ । पद भनेको त सिंहमाथिको सवारी हो । हामीले ज्ञान हैन, सूचनालाई जीवनपथ बनायौं । गुरु हैन, शिक्षकलाई सर्वैसर्वा ठान्यौं । ज्ञान गुरुले बाँड्ने हो । शिक्षकले दिने त सूचना मात्र हो । नयाँ पुस्ता कम्प्युटरको पेन्टियम सेभेन संस्करण हो । तर पेन्टियम वानमा समेत आफूलाई अपडेट नगरेका नेता र शिक्षक देशको भाग्यनिर्माता भएका छन् । अत्यन्त वृद्ध भइसक्दा पनि महाराज यायातिले कान्छो छोरा पुरुको जवानी पैंचो लिएर कामवासनामा लिप्त रहेको तर तृप्त नभएको कथा महाभारतमा उल्लेख छ । हाम्रो नेतापुस्ता पनि तिनै पात्रजस्ता लोभी भएका छन् ।

विना पूर्वाग्रह भन्ने हो भने देशका अधिकांश नेताहरू अदालतका पुराना डिठ्ठा, विचारीजस्ता छन् । काइते बोल्नु राजनीतिक जागिर बन्दै आएको छ । सर्जक उनीहरूलाई मन पर्दैन । सबैलाई थाहा भएकै सत्य हो– जँड्याहालाई मही मन पर्दैन । दासताबाट नउठेको मानसिकताका नेता र ईन्द्रेणी रंगका बुद्धिजीवी भएको देशमा इतिहास कुन बाटोमा हिंड्छ ? भविष्यवाणी गर्न मुस्किल छ । कार्यकर्ता त नेताको इशारामा चल्दैन भने इतिहास कसरी हिँड्छ, कसलाई के थाहा ?

रामायणकालीन इतिहास हेर्ने हो भने पन्छी राज जटायुले मृत्युको अन्तिम स्थितिमा रहँदारहँदै पनि रावणले भिक्षुको भेषमा पुष्पक विमानमा राखेर सीतालाई हरी लंका लगेको गुप्त खबर रामलाई दिँदा त्यो सूचना नै रामकथाको मूल सूत्र बन्यो । त्यति मात्र होइन रावणलाई नाभी वाण लागेपछि मात्र उसको अन्त्य हुन्छ भन्ने गुह्य रहस्य विभीषणले नखोलिदिएको भए शायद रामको बाण त्यसै निष्फल हुन बेर लाग्ने थिएन । नेतृत्वमा रहेकाहरूले बुझ्नु पर्छ– राज्य सञ्चालनमा सूचना सबैभन्दा बढी शक्तिशाली हुन्छ । आज कुनै देश समृद्ध छ भने त्यसको पहिलो कारण हो– सूचनामा पहुँच ।

सत्तामा बस्नेहरूले अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले भनेको एउटा सानो कुरा मनन् गर्नु उचित छ–‘सत्ताको यात्रा भनेको शेरको सवारीजस्तै हो बसिरहँदा पनि गलेर हैरानी, झर्दा आपैंm शेरको शिकार हुने भय ।’


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top