मोसो दलेपछि मात्रै सबै मख्ख


Sunday, 24 Jun, 2018 11:40 PM

  • लक्ष्मी पौडेल

जेठ २८ गते नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलाई माओवादी विप्लव समूहका कार्यकर्ताले मोसो दले । अघिल्लो दिन धनुषा जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट रामपरीक्षण यादवलाई नेविसंघ र तरुण दलका कार्यकर्ताले त्यसै गरे ।

काम नगरेको, घुस खाएको, अनियमितता र मनपरी गरेको जस्ता अनेकन आरोपमा विभिन्न समूहले पटक–पटक कर्मचारी, जनप्रतिनिधि, नेता, शिक्षकजस्ता व्यक्तिलाई मोसो दलेका घटना सार्वजनिक भइरहन्छन् । तर, त्यसो गर्नासाथ सबै समस्या समाधान भए त ? मोसोले समस्या सुल्झाएको छ कि झन् निम्त्याएको छ ? मान्छेले कुन मूल्यांकनका आधारमा कसैलाई समाजको अगाडि नांगेझार पार्छन् ? मोसो दलिएको व्यक्ति अपराधी प्रमाणित हो ? कारबाहीको तरिका यही हो ? मोसो दलिएपछि उसको आत्मसम्मानमा पुगेको असरको क्षतिपूर्ति हुन सक्छ ? कसरी हुन्छ ? कसले गर्छ ? के एक व्यक्तिलाई मोसो दलिदिँदा उसको परिवार, आफन्तलाई असर पर्दैन ? मोसो दलिन्छ, फोटो सार्वजनिक हुन्छ, बदनाम गरिन्छ– समाचार प्रकाशन÷प्रसारण हुन्छ । तर, त्यसले समाजमा पार्ने असरबारे कोही सचेत भएको देखिँदैन । नकारात्मकताले नकारात्मकता नै निम्त्याउँछ । हामी शान्ति, सुशासन, अनुशासन, स्थिरता, समृद्धि, सहिष्णुता भन्ने कुरालाई बोलीमा जति ल्याउँछांै व्यवहारमा त्यसको झिनो अंश पनि लागू गर्दैैनांै ।

के सिकाइरहेका छौँ
अपवादबाहेक कुनै घरमा बाबु वा आमामध्ये एक जना असाध्यै राम्रा काम गर्ने, अर्कोचाहिँ नराम्रो काम गर्ने छन् भने त्यो घरका बालबच्चाले नराम्रो गुणलाई छिटो अनुकरण गरिरहेका हुन्छन् । जँड्याहा बाबुको जँड्याहा छोरा, नक्कले आमाकी नक्कली छोरी भनिने गरेको सुन्दै आएका पनि हौँ । हो, त्यसैगरी यो मोसो दल्ने नेता–कार्यकर्ताबाट नवागन्तुक कार्यकर्ता वा समर्थकले सोही कुरा सिकिरहेका हुन्छन् । टेलिभिजनमा फिल्म हेरेकै भरमा आत्महत्या गर्ने किशोर÷किशोरीबारे पनि सुनेकै छौँ जबकि फिल्ममा आत्महत्या वा जोखिमपूर्ण खेलभन्दा धेरै सकारात्मक रोल हुन्छ । कसैको अपहरण, हत्या, कुटपिटलाई जति जघन्य मान्छौं त्यस्तै अपराध हो कसैको मुहारमा मोसो पोतिनु ।
अरूको व्यक्तिगत जीवनमै असर पर्नेगरी हामीले गरेको काम पछिको पुस्ताले सिक्ने कुरामा द्विविधा छैन । मन नपरे जे गरे पनि हुने रहेछ, अथवा एउटा समूह भएर गरेपछि चर्चामा आइने रहेछ भन्ने सिको युवा समूहले गर्दै छ ।

आत्मसम्मानको क्षतिपूर्ति के !
०७२ साल साउन १० गते चितवनको तत्कालीन भरतपुर उपमहानगरका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटालाई गाडी खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै विप्लव समूहले मोसो दल्यो । सापकोटा कालै लत्पतिएको अनुहारसहित घर पुगे र सञ्चारकर्मीको सम्पर्कमा आएनन् । मन्त्रालयले अनुसन्धानको दायरामा ल्यायो । आरोप प्रमाणित नहुँदा उनी सेवामा फर्किए । अनुहारमा दलिएको मोसो पखालेर कार्यक्षेत्र फर्किएका उनको मनमा लागेको इज्जतको दाग, आत्मसम्मानमा पुगेको ठेस, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका कुरुप तस्बिर कहिल्यै भुल्ने छैनन् । यस्ता घटना अनगिन्ती छन् । अपराधी नै किन नहोस् उसलाई सजाय दिने बहानामा हामी अन्य घटनाका असम्बन्धित व्यक्तिलाई यातना दिइरहेका छौं । कुनै चोरी मुद्दामा पक्राउ परेको व्यक्तिलाई फलानाको छोराछोरी भनेर ट्याग लगाइदिन्छौं । दोष एउटाको, अपराध एउटा तर हामी उसको बाबुआमा र घर–परिवारलाई नाम, थर किटेर तनाव दिइदिन्छौं ।

विकल्प छैन ?
कसैलाई कामप्रति सचेत बनाउने वा अनियमिताबाट विमुख बनाउने धेरै विकल्प छन् । देशको कानुन सर्वोच्च हुन्छ । कानुनमाथि कोही हुन्न । यदि, कुनै कार्यालयको कर्मचारी वा जनप्रतिनिधिले गलत काम गरेको छ भने उसलाई सर्वप्रथम सचेत गराउन सकिन्छ । अटेर गरेको खण्डमा सूचना माग गर्न सकिन्छ । सूचना नपाएको खण्डमा माथिल्लो निकायलाई जानकारी गराउन सकिन्छ । नागरिकको सूचनाको हकको प्रयोगबाट धेरै अनियमितता नियन्त्रण हुन्छ, सेवाप्रदायकप्रति अनुशासित बनिन्छ । नियमसंगत कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्न सकिन्छ । सम्बन्धित निकायमा उजुर हाल्न सकिन्छ । कारबाही नभएको खण्डमा शान्तिपूर्ण विरोध गर्न सकिन्छ । हामीकहाँ यसरी विरोध गर्दा गलत काम गर्ने सच्चिँदैन भन्ने मानसिकता छ तर स्मरण रहोस्, निरन्तरको प्रयासबाट कुनै पनि कुरा असम्भव हुँदैन । पटक–पटक ताकेता गर्न सकिन्छ । जनमत तयार गरेर गलत काम गर्नेहरूलाई सरकारले कारबाही नगरेको भन्दै अख्तियार गुहार्न मिल्छ, सर्वोच्चमा मुद्दा दायर गर्न सकिन्छ, जनमतको विपक्षमा सरकार रहनै सक्दैन किनकि विश्वमा जनमतको कदर नगर्ने सरकार ढलेका थुप्रै उदाहरण छन् । हामी आफू गलत गरेर अरूलाई जनकारबाही गरेको कसरी भन्न सक्छौँ ? सकारात्मक विचार र व्यवहारले मात्र सकारात्मक परिवर्तन गर्न मिल्छ । जब हामी नै गलत काम गछौँ भने सुधारको आशा गर्नु मूर्खताबाहेक अरू केही हुन सक्दैन । कसैलाई मोसो दल्नु महामूर्खता हो ।

नउक्साऊँ
हामीकहाँ एउटा परिपाटी छ, कोही कसैलाई परेको पीडामा रमाउने, भलै मोसो दलिने व्यक्ति गलत थियो होला तर मोसो दल्ने व्यक्ति पनि सही होइन भन्ने सोच्दैनौं । कसैले त्यस्तो गरेको कुरालाई निरुत्साहित गर्नुको साटो ठिकै ग¥यो भन्ने तरिकाले बढाइचढाइ गर्छाैं, समर्थन गर्छौं जसले गर्दा मोसो दल्नेको मनोबल झन् बढ्छ । गलत काम गर्ने मात्र दोषी होइन, गलत काम गर्न उक्साउने तपार्इं–हामी सबै दोषी हौं यो मामलामा । मोसो दलिएको विषयलाई सञ्चारमाध्यमले बडो प्राथमिकता दिएर प्रशारण÷प्रकाशन गर्ने, गाउँघरमा चर्चा बढी हुने, फोटो खिचेर सामाजिक सञ्जालमा भाइरल बनाउने यी सबै गलत कामलाई प्रश्रय दिने अभ्यास झन् गलत छ । सञ्चारमाध्यमले मोसो दलिएका विषयसँगै मोसो दल्नेलाई सरकारले कुन हदसम्मको कारबाही गर्छ भन्ने विषयमा पनि सूचना सम्प्रेषण गर्न सक्नुपर्छ ।


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top