अटुट प्रेममाथि चलेको अत्याचार


Sunday, 17 Jun, 2018 11:24 PM

‘तँ आजदेखि  मेरा लागि मरिस् । मेरो मन मुटुबाट तँलाई आजदेखि मिल्काइदिएँ । आमा ! भनेर आइन्दा फर्केर नआइज ।’ श्रीमती अस्मितालाई नानाथरी बचन लगाउँदै सासूआमाले मतिर आँखा तर्दै भन्नुभयो, ‘यसलाई ल्याएदेखि एकजोर लुगा लगाइदिएको छस् ! थुइक्क !!’

घटना अस्ति शनिबारको हो । त्यसदिन कोठाका डेरावाला सबै लुगा धुन व्यस्त थिए । शनिबार कार्यालय छुट्टी भएकाले मैले पनि अस्मिता र मेरो लुगा धोइरहेको थिएँ । अस्मिता खाना पकाउँदै गीत सुन्दै थिइन् । एसईईको परीक्षा दिएर केही दिनअघि सोलुखुम्बुबाट आएको (पवन) भाई पनि भाउजूलाई किचनमा सघाइरहेको थियो । भाउजू देवर दुवै मिलेर चाँडो खाना बनाइरहेका थिए । एक्कासि अस्मिताको मोबाइलमा फोन बज्यो । म्याराथनमा भाग लिएको प्रतिस्पर्धी खेलाडीझैँ बाथमरुममा अस्मिताले सास तान्दै ढोका ढक्ढक्याइन्, ‘मलाई लिन आमा आउँदै हुनुहुन्छ रे ।’ आफ्नै सुरमा लुगा धोइरहेको म एकाएक सपनाबाट ब्युझिएझैँ भएँ । ‘के रे । को आमा तिम्रो कि मेरो ।’

‘तिम्रो तामाङ्नी सासूआमा । अब के गर्ने ?’ अस्मिताले अत्तालिँदै भनिन् । ‘कहाँ आइपुग्नुभयो त सासूआमाचाहिँ ?’ ‘गौशला’ । लौ फसाद प¥यो  । हतारहतार धुन बाँकी रहेको एकजोर कपडा छिटछिटो धोइपखाले र कौसीमा लुगा सुकाएर झरिहाले । र, बौद्ध नयाँ बस्तीमा डेरा लिएर बसेका गाउँका शान्तिराम काकालाई फोन घुमाए । फोन लाग्यो । ‘हल्लो के छ, वसन्त भतिज ?’ ‘ठीकै छ । काका । तपाईं अर्जेन्ट यहाँ आइदिनु¥यो । बाँकी कुरा बसेर गरौँला । गाउँबाट सासूआमा अस्मितालाई लिन आउँदै छन् ।’ ‘कहिले आउने ?’ शान्तिराम काकाले अचम्म मान्दै सोधे । ‘अहिले भर्खरै । चाबहिल कटिसके होलान् ।’ ‘ हँ ! ल ल’ म आइहालें । शान्तिमराम काकाले फोन नराख्दै अस्मिताको मोबाइलमा सासूआमाको फोन आयो । डराउँदै अस्मिताले लाउडस्पिकर अन गर्दै फोन उठाइन् । ‘ओइ ! तेरो कोठा कहाँनिर हो । हामी बौद्धको गेटमा छौँ ।’ ‘हजुर ! हजुर...’ अस्मिताले के गर्ने ? भन्ने शैलीमा मलाई चिमोटी । ‘आत्था’ गर्दै मैले कोठातिरै आउन निर्देशन दिएँ । सासूआमालाई समता स्कुल अगाडि आएर बस्न आग्रह गरिन् । र, अस्मिता आमालाई लिन समता स्कुलतिर लागिन् । तर, शान्तिराम काका आइपुगेनन् । मैले अरू दुई÷चार गाउँका आफन्तलाई आफ्नो समस्या दर्शाउँदै फोनबाटै चाँडो आउन बोलाए ।

सासूआमा, तीन जना भुसतिग्रे केटा र अस्मिता टुप्लुक्कै कोठाको गेटमा देखा परे । के गरुँ गरुँ भयो । उनीहरू घरको सिँढी चढ्दै गरेको आवाज सुनियो । त्यसपछि मैले आफ्नो खातापाता पल्टाएजस्तो गरेँ । सबैलाई अस्मिताले घरभित्र हुलिन् । ‘आमा’ अस्मिताले मलाई ढोग गर्न निर्देश दिइन् । ‘नमस्कार ! ममी’ भन्दै सासूआमाको  गोडा ढोग्न एक पाइला अघि बढेको थिएँ । बिजुलीको तारमा करेन्ट बहेर बल्नै लाग्दा झ्याप्पै बत्ती गएसरी सासूआमाले करेन्टको भट्का आफूतिर तान्दै भनिन्, ‘यो चोरचाहिँ को हो ?’ मुखबाट यस्तो रुखो शब्द निकाल्दै सासूआमाले खुट्टा ढोग्न दिइनन् । त्यसपछि मैले पनि खुट्टा ढोग्ने प्रयास गरिनँँ । अस्मिताले सासूआमालाई खाटमा बस्न अनुरोध गरिन् । तर, सासूआमा बम्किन थालिन् । ‘म बस्न आएको होइन । तेरो लुगाफाटो कहाँ–कहाँ राखेकी छेस् । छिटोभन्दा छिटो रेडी गर् ।’ ‘तर, आमा...’ भन्दै अस्मिताले सासूआमालाई सम्झाउन खोज्दै थिइन् । ‘तर..सर..का कुरा छाड खुरुक्क पोकोपुन्तोरो भारी हालेर हिँड ।’ भन्दै सासूआमा लुगा राखिएको दराजतिर अघि बढिन् । भाइ त्यहाँ ठिङ्ग उभिएको थियो । ‘तँचाहिँ को होस् ?’ मेरो बाटो छोड् । भाइ केही बोलेन । अस्मिता रोक्न खोज्दै थिइन् । आमा आफ्नै सुरमा अघि बढ्न लाग्दा शान्तिराम काकासहित तीन जना गाउँकै दाइहरू आउनुभयो । तैपनि, आमा जबर्जस्ती दराज खोल्न तम्सिइन् । ‘नमस्कार है सबैलाई’ शान्तिराम काकाले सासूआमातिर विशेष फोकस गर्दै दुई हात जोडे । त्यसपछि आमा केही मत्थरझैँ भइन् । सासूआमापट्टिका तीन जना केटासित परिचय गर्दै शान्तिराम काकाले कुराकानीलाई अघि बढाउन के खोजेका थिए, सासूआमाले मतिर हेर्दै त्यहीँ रुखो शब्द उच्चाहरण गरिन्, ‘तिमीचाहिँ यो नामर्दाको को ?’ काकालाई रिस उठेको थियो होला तर शालिन हुँदै जवाफ दिए, ‘म उसको गाउँले काका ।’ ‘ए !’ भन्दै सासूआमाले मलाई निशाना  बनाइन् ।

चाबहिलको एउटा कम्पनीमा मार्केटिङबाट सिफ्ट हुँदै म्यानेजरको रूपमा काम गर्र्दै थिएँ । जागिरले आफ्नो एक्लो ज्यान पाल्न उति धौधौ थिएन । त्यहीबेला चिनजान भयो, अस्मिता तामाङसँग । उनी मार्केटरका रूपमा काम गरिरहेकी थिइन् । उनको काम बजार गएर सामान बिक्री गर्नुपथ्र्याे । म्यानेजर भएको नाताले रुटिङअनुसार हप्तामा सबै कर्मचारीको बजार अनुगमन गर्न बाहिर निस्कन्थे । बोलीचाली, हिँडाइ सबै राम्रै थियो अस्मिताको । यही क्रममा अस्मितासँग मन साटिन पुग्यो । तर, तुरुन्तै मैले प्रस्ताव भने राख्न सकिनँ । किनकि अफिसको नियम कडा थियो । ‘कार्यालयभित्र कर्मचारीसँग कुनै अनैतिक काम गर्न मनाही छ’ यही भनेर माथिल्ला तहका सरहरूले दैनिक मिटिङमा भट्ट्याइरहन्थे । तर, मायाप्रेम न हो । यसलाई कुनै तत्वले छेकबार गर्न सक्दोरहेछ ! हामी दुवैले नियम तोड्यौँ र एक भयौँ । अस्मिताले कार्यालय छाडेको केही दिनमै कार्यालयबाट म बाहिरिएँ । र, अर्काे कार्यालयमा गएर जागिर खान थाले । जागिर छाड्नुभन्दा पहिल्यै यी सबै रणनीति हामी दुवैले बनाएका थियौँ । र, यहीबीचमा अस्मिताले अमेरिकाको डिभी भरेकी थिइन् । नभन्दै उनलाई डिभी परेछ । खुसी नहुने कुरै भएन । हामी दुवै विवाह दर्ता पत्र बनाउन गाउँ गयौँ । यसअघि मैले अस्मिता र आफ्नाबारे सबै कुरा परिवारलाई जानकारी गराएको हुनाले कुनै बाधा अवरोध भएन । र, परिवारले पनि समाजको बारभन्दा अघि  नै रहेर हाम्रो टिकोटालो गरिदिएँ । त्यसपछि विवाह दर्ताको पत्र लिएर उही सपनानगरी काठमाडौं फि¥यौं ।

अजातसँग विवाह बन्धनमा बाँधिएको भन्दै घर बिर्सन धम्की दिने सासूआमा ठीक तीन महिनापछि उनै अस्मितालाई खोज्दै आइपुगिन् । पछि बुझेँ । पर्दापछाडि अस्मितालाई लिन आउनुका थुप्रै कारण रहेछन् । यसअघि नै एउटा कारण त अस्मिताले भनेकीसमेत थिइन् । मैले उनको कुरालाई सामान्य रूपमा लिए । कारण थियो– काठमाडौंमा पढ्दै गर्दा अस्मिताले आमाको दाइको छोरासँग २० हजार सापटी लिएको थियो । ठूलोबुबाको छोरा (प्रताप) ट्याक्सी चालक थियो । तामाङ परम्पराअनुसार दाइ–बहिनीको छोराछोरीबीच बिहे गर्न पाइन्छ । अस्मिताले पछि २० हजार फिर्ता दिन खोज्दा पर्दैन भन्दै प्रतापले अस्मितासँग बिहेको प्रस्ताव राखे । तर, अस्मिताले मानिन् । जतिखेर भर्खर हाम्रो चिनजान हुँदै थियो । त्यसपछि अस्मितालाई प्रतापले बारम्बार फोन गरेर सताउन थाले ।  अस्मिताले मोबाइल स्विच अफ पार्थे तर धर पाउँदैनथे । ‘म तिमीबिना बाँच्न सक्दिनँ’, भन्दै प्रतापले मोबाइलमा पेजका पेज म्यासेज पठाउँथे । त्यति मात्र होइन, आमालाई समेत फोन गरेर प्रतापले अस्मिताको हात मागेका थिए । काठमाडौंमा जग्गा, चार वटा ट्याक्सीका मालिक आफ्नो दाइको छोराले हात पसारेपछि आमाले एकै वचनमा सहमति जनाए । तर, यसबीचमा उनको र मेरो सम्बन्धले शिखरमा पाइला टेक्न लागेको थियो । र, बिहे ग¥यौं । यो सबै कुरा परिवारले थाहा पाएको थियो । यतिन्जेल अस्मिताले आफ्नो घरपरिवारलाई दिनदिनै फोन सम्पर्क गर्दा फोन उठाउन नभ्याउने मेरी सासूआमा आज आफैँ यो अवस्थामा छोरी लिन आइपुगेकी छन् । शान्तिराम काका, हेम र रमेश दाइले सासूआमालाई विगतमा जे जे भए पनि त्यो बिर्सेर नयाँ सम्बन्ध सुधार गर्न जोड दिए पनि सासूआमाको एउटै जिद्धी थियो–छोरी नलगी नछाड्ने । सासूआमासँग घण्टौंसम्म गफिएका शान्तिराम काका अवाक्क भए । त्यसपछि मैले केही बोल्न अघि तम्सिएको थिएँ काकाले ‘तँ नबोल ।

अर्काको चोरेपछि सहनुपर्छ’ भन्ने संकेत दिए ।  र, त्यसैगरी चुप लागेर बस्न थाले । गर्मीले होला काका असिनपसिन हुनुभएको थियो । तर, सासूआमा ‘ट्याउँ ट्याउँ’ बोलिरहेकी थिइन् । त्यसपछि काकाले भाइलाई चिसो लिन पठाए । एकछिन चुपचापझैँ सबै देखिए । केहीछिनमै भाइले जम्बो डिउ लिएर आयो । सबैलाई चिसो बाँड्यो । फेरि सासूआमाले व्यहोरा देखाइहालिन्, ‘तेरो चिसो तैँ खा !’ भन्दै गिलासको चिसो बाहिर फ्यालिन् । मेरो कन्सिरी तात्नसम्म तात्यो । एक भोल्ट थाम्न सक्ने चिमलाई सय भोल्टको झड्का लागेझैँ मैले कोठा अँध्यारो देखेँ । ‘यस्तो...’ के मात्र भन्न खोजेको थिएँ । फेरि काकाले सय भोल्टको तार अफ गरिदिए । उसै त निहँु नचाहिने सासूआमा मलाई कुटौंलाझैँ शैलीमा झम्टिइन्, ‘के धाक देखाउँछस् । यसलाई ल्याएदेखि एकजोर लुगा लगाइदिएको छस् । थुक्क । कसरी पाल्छस् ।’ त्यसमाथि फेरि थपिन्, ‘अब, मेरी छोरी अमेरिका जान लागेकी छ । उसले पठाएको पैसाले अरूसँग मोजमस्ती गर्छु भन्ने तैंले सोचेको होलास् तर दिन्नँ ।’ ‘हिँड्, अस्मिता जाऊँ’ भन्दै सासूआमाले अस्मिताको पाखुरा समाइन् । तर, अस्मिताले मानिनन् । र, कसरी मान्थिन् । हामीले सयौँ जुनिसम्म सँगै जिउने र मर्ने कसम खाएका थियौँ । कुनै स्वार्थपूर्तिका लागि हामीले विवाह गरेका थिएनौँ । एउटा अमर जोडीका रूपमा हामीले आफूलाई चिनाउँदै थियौँ । तर, यतिबेला फेरि अर्काे आँधीहुरी चल्यो र अस्मितालाई उडाएर लैजान खोज्दै थियो ।

कुस्ती खेल्न तम्सिएझैँ देखिएका आमाछोरी एकअर्काबीच बाझ्न थाले । यतिन्जेल मैले तपाईंहरूलाई फोन गर्दा उठाउन नभ्याउने मेरी आमासँग आज यसरी यहाँ आउने फुर्सद कसरी मिल्यो हँ ? मेरो श्रीमान्ले एकजोर कपडा नलगाउँदैमा म नांगिएको छैन ।’ लैजानुस् तपाईंको सम्पत्ति भन्दै अस्मिताले कपडा च्यातचुत गर्न थालिन् । अस्मिता मैले भन्नै नपाई उनले टेबुलमा राखिएको चक्कुले हात काटिन् । रगत बग्यो । सबै छक्क भए । तर, सासूआमा उस्तै गरी पड्किइन्, ‘तँ आजदेखि मेरा लागि मरिस् । मेरो मन मुटुबाट तँलाई आजदेखि मिल्काइदिएँ । आमा ! भनेर आइन्दा फर्केर नआइजा ।’ भन्दै कोठाबाट निस्किइन् । तीन जना भुसतिग्रे पनि निस्किए । बाहिर दर्शकको घुइँचो देखियो । मैले अस्मिताको हातको रगत थुनिरहेको थिएँ । लगत्तै भाइले ब्यान्डिज र औषधि लिएर आइपुग्यो । र, बेजोडले हावाहुरीसँगै पानी पर्न थाल्यो । उसैगरी अस्मिता रुन थालिन् ।

वसन्त राई, हाल बौद्ध


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top