‘महारानी’ का कारण अहिलेसम्म मारामार


Sunday, 17 Jun, 2018 11:21 PM

  • विभिषण

अहिले कैलालीमा कांग्रेसका अन्तर्घातीलाई कारबाही गर्ने लहड चलेको छ । चुनावका बेला पुराना अन्तर्घातीलाई ‘सात खुन माफ’ गरेर चुनावमा लाग्न आह्वान गर्ने देउवासमक्ष उनकी पत्नीको उम्मेदवारीप्रति असन्तुष्ट रहेका पुष्करनाथ ओझालगायत पार्टी कार्यकर्ताको सूची नै तयार पारेर बुझाइएको छ । कैलालीमा आरजु देउवा हार्नुको पछाडि पार्टीकै अन्तर्घात भनेर धेरैले अथ्र्याएका थिए । हुन त यो राजनीतिक दलमा चलिआएको चलन नै हो । जित्नेले जनताले भोट दिए र विश्वास गरे भन्ने अनि हार्नेले अन्तर्घातले हारे भन्ने प्रवृत्ति नयाँ होइन । अन्तर्घातको आरोप लगाउने क्रममा खास गरी डोटी क्षेत्रको भोट आरजुका लागि नआएको र त्यसो हुनुमा निवर्तमान सांसद ओझा कारक रहेको भनेर अनलाइन खबरले समाचारसमेत लेखेको थियो । नभन्दै अहिले आएको सूचीमा ओझाको नाम पहिलो नम्बरमा राखिनुले ती खबरमा केही हदसम्म सत्यता भएकोतर्फ संकेत गर्छ ।

‘महारानी’ भनिने आरजु राणाको उम्मेदवारी नै पहिले त विवादास्पद बनेको थियो । उनी स्थानीय नहुनुलाई सबैले विरोधको प्रमुख एजेण्डा बनाएका थिए । सुदूरपश्चिमको प्रतिनिधित्व पनि सुदूरका स्थानीयले नै पाउन भन्ने तर्क आफैंमा सुदूरबासीका लागि जायज थियो । त्यसमाथि विपक्षी पार्टीले समेत ‘टुरिस्ट उम्मेदवार’ को टाँचा लगाएपछि त्यसले झन् समस्या खडा गरेको थियो । पार्टीभित्रको विरोध त आफ्नै ठाउँमा थियो पार्टी बाहिरकाले पनि आगोमा घिउ थप्ने काम गरेपछि राणाले कैलालीमा घर किनेको समाचार छापामा आएको थियो । ऋण गरेर किनेको र बैना बुझाइसकिएको भनिएको घर पास भए÷नभएको खबर अझै आएको छैन । चुनावमा पराजय भइसकेपछि त्यो न विपक्षी दलले उठाइरहनु जरुरी सम्झे न दलभित्रैकाले यसबारे केही बाहिर ल्याउन जरुरी ठाने । जे होस् आरजु राणाले आफूलाई रैथाने बनाउने भरपुर प्रयास गरिन् । जित्नका लागि गरिएको उनको प्रयास असफल भएपछि दोषी खोज्ने क्रममा अन्तर्घाती भन्ने शब्दावली फेरि दोहोरियो र पुष्करनाथ ओझा त्यो आरोप लाग्नेमध्ये पहिला भए ।

ओझा डोटेली पृष्ठभूमिका कैलालीवासी  हुन् । आरजु उठेको चुनाव क्षेत्रमा उनी पहिले विजयी भइसकेका व्यक्ति हुन् । उनले पहिले शेरबहादुर देउवाका लागी ठाउँ बनाए र पछि आरजुका लागि ठाउँ बनाउन पनि उनैले बलिको बोको बन्नुप¥यो । देउवासम्म ठीकै थियो तर अहिले देउवापत्नी भोलि देउवाको अन्य नातागोताका मान्छेका लागि भनेर स्थानीयको भाग खोसिँदै जाला भन्नेमा ओझासहित त्यहाँका अन्य कांग्रेसी पनि चिन्तित थिए । यतिसम्म कि कोइराला खेमाका मानिने क्षितिज भण्डारीले त बागी उम्मेदवारी नै दर्ता गराएका थिए । पछि लेनदेन भएर उनले उम्मेदवारी फिर्ता लिएको भन्ने हल्ला चले पनि भण्डारी स्वयंले भने पार्टीमाथि आइपरेको वाम गठबन्धनको चुनौतीका लागि उम्मेदवारी फिर्ता लिएको भन्ने आशयको अभिव्यक्ति दिएका थिए । जे होस् राणाको उम्मेदवारीले कांग्रेसभित्रै असन्तुष्टि ल्याएको कुरा छताछुल्लै थियो । आफ्नो भाग खोसिएपछि ओझा असन्तुष्ट भएनन् होला भन्न सकिँदैन ।

देउवा जुन परिवेशबाट माथि उठे र देशको प्रधानमन्त्रीजस्तो पदमा थोरै अवधिका लागि भए पनि ४–४ पटक पुगे, उनको सफलता र योग्यता त्यतिबेला सबैका लागि आदरणीय हुने थियो जतिबेला उनले आफूले हिँडेको बाटो आफ्नै खाले पृष्ठभूमिबाट आउने अरुका लागि सुगम बनाइदिन सक्थे । परिवारवादका कारण सभापतिको पदमा पुग्न कोइराला परिवारका प्रमुख दावेदारहरूको अवसान नै कुर्नुपर्ने नियति भोगेकाले फेरि त्यस्तै चरित्र देखाउनुले आमबुझाइलाई अप्ठ्यारो पार्छ । कोइराला परिवारइतरबाट आएका देउवाले त्यो मेलो मिलाउन सक्नुपथ्र्यो ताकि भोलि उनकै जस्तो पृष्ठभूमिबाट आएको व्यक्तिले पार्टी सभापति पदमा पुग्न पार्टी नै फुटाउनेसम्मको विकल्प रोज्नु नपरोस् । त्यसका लागि उमेरको हदबन्दी तोकेर हुन्छ या एउटा स्थानीय तहबाट जनमत र कार्यक्षमताका आधारमा क्रमिक पदोन्नतिको व्यवस्था गरेर हुन्छ, एउटा व्यवस्थित बाटो हुनुपथ्र्यो । हिजोका दिनमा उनको चुनाव क्षेत्रमा उनलाई पाखा लगाएर केन्द्रबाट अर्को उम्मेदवार खडा गरिएको भए उनले के गर्थे भन्ने पनि सोच्नुपर्छ । पुष्करनाथ ओझाजस्ता कार्यकर्ताले कहिले पालो पाउने ? कहिले उनीजस्ता कार्यकर्ता पार्टी सभापतिसम्म पुग्ने ? भन्नेजस्ता प्रश्नको उत्तर पनि उनले दिन सक्नुपर्छ । उम्मेदवार छनोट प्रक्रियालाई राणाकालको ठाडो आदेशजस्तो नबनाई स्थानीय सक्रिय कार्यकर्ताको मतदानबाट टुंग्याउने र त्यसरी चुनिएकोलाई सबैले साथ दिनुपर्ने परिपाटी बसालेको भए अन्तर्घातका कुरा हुँदैन थिए होलान् ।

अन्तर्घातीको सूचीमा रहेकाहरूसँग बुझ्ने क्रममा उनीहरूले बेग्लै सूचना देखाए । सूची तयार पार्नेहरूमध्येकै एकले स्थानीय चुनावका बेला कांगे्रसका तत्कालीन उम्मेदवार नृप ओडलाई भोट नहाल्न भन्दै हिँडिरहेका थिए । त्यस्तै अर्का स्थानीय तहमा निर्वाचित कार्यकर्ताले केन्द्रका लागि गरिएको चुनावका क्रममा वाम गठबन्धनका उम्मेदवारका लागि भोट माग्दै हिँडिरहेका थिए । नारदमुनि रानालाई आफ्नो जातको भएकाले भोट हाल्नुपर्ने भन्दै प्रचारमा लागेकाहरू पनि थिए । क्षेत्रीय स्तरका उच्च तहका कार्यकर्ताले चुनावलगत्तै कार किन्नुलगायत कुराले चुनाव प्रचार क्रममा आर्थिक हिनामिना गरेकोतर्फ संकेत गर्छ । चुनावमा जित सुनिश्चित भएको भनेर चुनाव प्रचार पनि नगरी चुनाव प्रचारको पैसा पचाउनेको नाम सूची तयार पार्नेमध्ये पर्नु विडम्बनाको कुरा भनेर अर्का सूचीमा परेकाले व्यक्त गरे । यी र यस्ता खेल तबसम्म चलिरहन्छन् जबसम्म सर्वमान्य सिद्धान्तका आधारमा उम्मेदवार छनोटलाई व्यवस्थित गरिँदैन । देउवा आफैं एक जमानाका बागी भएकाले पनि यस किसिमको असन्तुष्टिलाई राम्ररी बुझेको र आत्मसात् गरेको हुनुपर्ने हो । आखिर कांग्रेसको इतिहासमा सबैभन्दा ठूला ‘अन्तर्घाती’ (कम से कम कोइराला परिवारका लागि, संस्थापन पक्ष भन्नु कांग्रेस संस्थापनाको सिद्धान्त परिवारवादमा आधारित थियो र कांग्रेस भनेकै कोइराला हुन् भनेर मान्नु हुन्छ) त देउवा नै हुन् जसले कांग्रेसको दुई फ्याक लगाए ।

यो सब लेखिरहँदै गर्दा आरजु राणा कमजोर उम्मेदवार थिइन् या उनी अयोग्य थिइन् भन्न खोजेको चाहिँ पक्कै होइन । प्राज्ञिक हिसाबले होस तथा विभिन्न गैससका नाममा उनले सुदूरपश्चिमका लागि (विशेष गरी डडेल्धुराका लागि) गरेको कामका हिसाबमा उनी आफ्ना प्रतिस्पर्धीभन्दा निकै अघि थिइन् । देउवापत्नी भएका कारण देउवासँगका गुनासोको भार पनि उनले भोग्नुपरेको हुन सक्छ । सरकार प्रमुख रहेका बेला गरेका अलोकप्रिय कदमको अपजसको भाग उनले पनि लिनुपरेको हुन सक्छ । नत्र उनी अयोग्य थिइनन् । समस्या भनेको कांग्रेसभित्रको फुट र विपक्षीको जुट थियो । त्यसलाई मलजल गर्ने काम उनको उम्मेदवारी छनोट प्रक्रियाले ग¥यो । यदि, देउवाले उनलाई राजनीतिमा ल्याउनै चाहेको हो भने उनलाई डडेल्धुराको आफ्नो चुनाव क्षेत्र दिए हुन्छ र आफूले विश्राम लिए हुन्छ । महŒवाकांक्षी कार्यकर्ताले उनको अवसानको कामना गरिरहने परिस्थिति बनाउनुको सट्टा हालसम्मको प्रधानमन्त्रीत्वमा गरेका कामलाई आफ्नो उपलब्धि मान्दै आफ्नातिर सोझिएका औँलाको जवाफ भावी पुस्ताका लागि छाडेर जानेतर्फ लागे हुन्छ ।

आफ्ना कमीकमजोरी आत्मसात् गर्न नसक्ने र आफूबाट भएका भूललाई साहसपूर्वक स्विकार्न नसक्नेले पानीमाथि ओभानो हुन तयार पारेको सूचीका लागि तयार पर्नेहरूलाई बरु उनीहरूको भूमिकाबारे प्रश्न गर्न जरुरी छ । सूचीका आधार के थिए र ती आधार देख्दादेख्दै चुनावअघि नै किन सजगता अपनाइएन भन्ने जानकारी दिन लगाउनुपर्छ । नत्र सूचीलाई आफ्ना पुराना हिसाब मिलान गर्ने उपायका रूपमा लिन थालियो भने भविष्यका लागि यसले नराम्रो संस्कार थालनी गर्छ जो सम्पूर्ण पार्टीकै लागि हानिकारक हुन जानेछ ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top