ज्ञानेन्द्रको कर कि कमलको रहर ?


Sunday, 17 Jun, 2018 11:05 PM

  • सीताराम भट्टराई

शुक्रबार आफ्नो युवादस्तालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले भने, ‘प्रजातान्त्रिकधारका शक्ति एकअर्कामा मिल्नुको विकल्प छैन ।’ यदि नेपालका प्रजातान्त्रिक शक्ति हौँ भन्नेहरूको पूर्णरूपमा राजनीतिक चेत गुमिसकेको छैन भने उनको त्यो आह्वानले ठूलो महŒव राख्छ र यसमाथि एक चरणको बहस उनीहरूकै कित्ताबाट शुरु हुनु वाञ्छनीय देखिन्छ ।

नेपालका वाम शक्ति एउटा पार्टी बनाएर सरकार एकलौटी रूपमा चलाउने दिशामा स्पष्ट रूपमा लागिसकेको अवस्थामा अर्को धारको प्रतिनिधित्व गर्दै राजनीतिमा बलियो प्रतिपक्षको रूपमा उभिन उनले देखाएको मार्गचित्रमा हिँड्नुको वास्तवमै विकल्प छैन । तर, यसो भनिरहँदा केही गहन प्रश्नको जवाफ पहिले खोज्नु जरुरी छ । के अहिले नै वृहत् प्रजातान्त्रिक एकता सम्भव छ ? यदि छ भने त्यसका आधार के–के हुन् ? के त्यसले पछिल्ले समय फरक राजनीतिक एजेन्डामा अडिग रहेका कमल थापालाई केही राजनीतिक लाभ सम्भव छ ? या, उनी आत्माघाती कदम चाल्दै छन्, देउवा सरकारमा गएर साख गुमाएजस्तै ? कि उनको यो रणनीतिक दाउपेच मात्र हो ? यस अलावा अर्को जिज्ञासा पनि स्वाभाविक देखिन्छ, उनले भनेको प्रजातान्त्रिक शक्तिभित्र कांग्रेस पर्छ कि पर्दैन ? र, सबैभन्दा महŒवपूर्ण प्रश्न– के नेपालको राजनीतिले अहिले बृहत् प्रजातान्त्रिक एकता मागेकै हो वा वामको एकताबाट प्रजातान्त्रिक धार अत्तालिएको मात्र हो ? तर, विषयको उठानचाहिँ राजावादीशक्तिलाई कमजोर पार्न स्वयं ‘राजा’ले खेलेको भूमिका र समय घर्किसकेपछि पछिल्ला दिनमा पूर्वपञ्चको एकताका निम्ति उनले देखाएको सक्रियताबाट गरौँ ।

तीन चोइटामा विभक्त राप्रपाका शीर्ष नेता कमल थापा, पशुपतिसमशेर जबरा, प्रकाशचन्द्र लोहनी र वयोवृद्ध पञ्च लोकेन्द्रबहादुर चन्दलाई अलग–अलग भेटेर पूर्वराजा ज्ञानेन्द्रले राप्रपा एकताको आवश्यकता र अपरिहार्यताबारे प्रशिक्षण दिँदै आएका थिए । त्यसले राजावादीको पहिचानमा खेतीपाती गरिरहेको कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीलाई दबाब सिर्जना ग¥यो । जबकि कुनै पनि राप्रपा नेताले ज्ञानेन्द्रलाई विगतमा कमल थापाले चामत्कारिक रूपमा बलियो बनाएको पार्टीलाई टुक्र्याउन उनी किन लागिपरेका थिए भन्ने प्रश्न सोध्ने हिम्मत गरेनन् । वास्तवमा राप्रपा एकीकरण सम्भव छ वा छैन ? कांग्रेससहितको बृहत् प्रजातान्त्रिक वा लोकतान्त्रिक शक्ति निर्माण गर्ने ? भन्ने प्रश्नको जवाफ पनि तब मात्र आउँछ जब पूर्वराजा आफ्ना कृत्य र इच्छाबारे स्पष्ट हुन्छन् । ‘मेरै नाम बेचेर कमल थापाले गरिखाने भो, ठूलो दलको नेता बनेर मलाई नै नगन्ने भो’ जस्ता अत्यन्तै अराजनीतिक र जड–सामन्ती सोचका कारण चुनावको मुखमा राप्रपा फुट्न लाग्दा ज्ञानेन्द्र रमिते बने । उनको इसारामा नाच्ने केही पात्र फुटको पक्षमा देखिनुले के प्रमाणित गर्छ भने उनी ‘गौथलीको गँुड जलाउन घरको छानोमा भुत्भुते हाल्न’ हिच्किचाएनन् ।
अब केही सुरुवाती प्रश्नतर्फ लागौं । आवश्यकताका हिसाबले भन्ने हो भने नेकपा गठन र वर्तमान सरकारमा पूर्ववामकै वर्चस्व रहेको उपेन्द्र यादवको दलको सहभागिताले एउटा स्पष्ट वैचारिक धार भएको बलियो प्रतिपक्षीको माग राज्यले गरेको देखिन्छ । तर, राप्रपाको एकीकरणले मात्र त्यो खाँचो पूरा हुँदैन किनकि संसदीय राजनीतिमा कम्तीमा पनि संसद् अवरुद्ध गर्न सक्ने संसदीय तागत चाहिन्छ । शक्ति जत्रो बने पनि तीन राप्रपा एक हुन अहिले नै सम्भव छ वा छैन त ? कोही पनि द्विविधामा नरहे हुन्छ, त्यो तत्कालै सम्भव छैन ।

किनकि पूर्वपञ्चबीच यति बढी असहिष्णुता बढेको छ कि त्यो मेट्ने सूत्रधारका रूपमा काम गर्न सक्ने पत्र नै अहिले देखिएका छैनन् । राप्रपा र राप्रपा प्रजातान्त्रिकले पार्टी एकीकरणको छलफलका लागि बनाएको वार्ता समिति केवल यो गर्मीमा ज्ञानेन्द्रलाई केही शीतलता मिलोस् भन्नेबाहेक अन्य उद्देश्यका लागि बनेको होइन । त्यसमाथि राप्रपाको बलियो लिगेसी बोकेका सूर्यबहादुर थापाका सन्तति अब राजतन्त्रको सिनो बोकेर राजनीतिक यात्रा तय गर्न नसकिने निष्कर्षमा पुगिसकेका छन् । त्यसो हुँदा उनीहरू प्रजातान्त्रिक नभएर लोकतान्त्रिक मोर्चाबन्दी र एकताको पक्षमा देखिन्छन् । उता, ‘राजाबादी र हिन्दूवादी’ पहिचानले मात्र राप्रपालाई पुनर्जीवनदिन सक्छ भन्ने विश्वास बोकेका कमल थापाले कांग्रेसलाई समेत गणतन्त्र छाडेर ‘संरक्षणात्मक राजतन्त्र’को लाइनमा उभिन आग्रह गरिसकेका छन् । उनले बोकेको ‘गाई’को लाइनले विगतमा दिएको प्रतिफललाई उनले बिर्सन सकेका छैनन् । यदि, राप्रपा एकतालाई सम्भव बनाउने हो भने उनले धेरै कुरामा सम्झौता गर्नुपर्ने हुन सक्छ । राजतन्त्र र हिन्दुत्व छाडेको राप्रपाको अबको नेपालमा कुनै अस्तित्व नरहने पक्का छ । त्यसैले कमल थापालाई ‘बौलाएर हिँड्नु’भन्दा बरू ‘मर्न’ तयार हुनु नै सहज र हितकारी हुने देखिन्छ ।

थापा चाँडै थाक्ने खेलाडी होइनन् । फरक बाटो एकोहोरो हिँडिरहन सक्ने अर्का एक ‘मोहनविक्रम’हुन्, उनी । पछिल्ला चुनावमा जुन झड्काउनलाई लाग्यो त्यसलाई स्वाभाविक रूपमा लिँदै जसरी नयाँ हिम्मतसाथ थापा अघि बढिरहेका छन् त्यसले उनको सम्भावना अझै केही समयसम्म छ भन्ने पुष्टि गरिरहेको छ । तर, कांग्रेसमा शेरबहादुरलाई बाटो छाड्न दोस्रो तहका नेताले दबाब दिएझैँ राप्रपाभित्र पनि अब हाम्रो पालो भन्ने केही ठेट्नाहरू देखिन थालेका छन् । यदि, वर्तमानमा देखा पर्दै गरेको सर्वसत्तावादलाई सडकबाट चुनौती दिन सक्ने कुनै विपक्षी नेता छ भने त्यो कमल थापा मात्र हो भन्ने सबै पूर्वपञ्चले मात्र होइन, अलमलमा परेका कांग्रेसी गणले समेत बुझ्न जरुरी छ । किनकि उनलाई धेरै फण्डा गर्न आउँछ । यो आलेखमा उल्लिखित कतिपय शब्द र वाक्यांशले थापाको महिमा गान गएझैँ प्रतीत हुन सक्छ तर त्यो मनसाय विल्कुलै होइन । संक्षेपमा भन्न खोजिएको यति मात्र हो कि सम्भावित सर्वसत्तावादविरुद्ध उभिन सक्ने एउटा खम्बा उनी हुन् । त्यसैले चुनावताका वाम गठबन्धनले बाँडेका केही सपनामाथि छोटो समयमै देखिएको तुषारापातले उब्जाएको आवेगलाई कसरी सरकारविरुद्ध प्रयोग गर्न सकिन्छ भन्ने योजना निर्माणमा राप्रपा लागेको देखिन्छ ।

कांग्रेस र राजपालाई समेत प्रजातान्त्रिक एकताका लागि थापाले गरेको आह्वान वास्तवमै नेपालको लोकतान्त्रिक आन्दोलनमाथि एक चुनैती हो । चुनावपछि आत्तिएको कांग्रेस र उपेन्द्र यादवको सत्तारोहणसँगै अल्मलिएको राजपालाई अब यता हिँडौ भन्ने प्रस्ताव त्यो कित्ताबाट हेर्दा अत्यन्तै सही समयमा खोलिएको ढोका हो । मनग्गे भोट पाउँदापाउँदै पनि गणितीय हिसाबले विचरा बन्न पुगेको कांग्रेसले पाँच वर्षपछिको लालसा राख्दै कमल थापासँग राजतन्त्र पुनःस्थापनाको मोडालिटीबारे छलफल शुरु ग¥यो भने त्यो कुनै अचम्म  हुने छैन । उग्रवामपन्थी पछि हट्दै नवसंशोधनवादमार्फत दक्षिणपन्थी कित्तामा उभिएपछि विस्थापित हुने शक्तिले पुरातन सामन्तवादको वकालत गर्नु स्वाभाविक ठहर्छ । त्यसो त, हालको सरकारलाई चुनौती दिने र अर्को एउटा राजनीतिक धार पनि बाँकी नै छ है भन्ने देखाउन विप्लव पनि छन् तर उनी राजनीति गर्दै छन् या चन्दा असुलीको धन्दा चलाउँदै छन् भन्ने स्पष्ट छैन । प्रतिपक्षीविहीन सरकार चलाउने प्रयत्नले उग्रवादलाई मलजल गर्छ र यो वा त्यो कित्ताका अतिलाई फस्टाउने मौका दिन्छ भन्ने सत्यलाई सरकारले मनन गर्नु जरुरी छ ।


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top