सुरुमा प्यारा, विस्तारै अप्ठ्यारा


Thursday, 7 Jun, 2018 12:00 AM

  • राजेन्द्र स्थापित

जोहानेस इर्विन युजिन रोमेल शिक्षक इर्विन रोमेल र उनकी पत्नी हेलेन भोन लुत्जका छोरा हुन् । रोमेल १८ वर्षमै सेनामा भर्ती भए । प्रथम विश्वयुद्धमा इटालीविरुद्ध सफलता प्राप्त गरेपछि जर्मन सरकारले उच्च ओहोदा प्रदान ग¥यो । र, पछि फिल्ड मार्शलसम्म बनायो । एडोल्फ हिटलरले सत्ता कब्जा गर्दा उनलाई साथ दिए । दोस्रो विश्वयुद्धताका १८ वटा युद्धमोर्चाको नेतृत्व प्रदान गरी ‘हिरो’ बने । महायुद्धताका ‘मरुभूमिको फ्याउरो’ उपनामले विख्यात उनको युद्धनीतिको शत्रुराष्ट्र बेलायतले पनि प्रशंसा गथ्र्यो । अंग्रेज सैन्य अधिकृतहरुले राम्रो काम गर्ने सिपाहीहरुलाई भन्ने गर्थे, ‘तिमीले रोमेलले जत्तिकै रणचातुर्य प्रदर्शन ग¥यौ ।’ ३३ वर्ष सैनिक सेवामा बिताएका उनी नाजी सरकारको सैन्य नीतिकार नै थिए ।

रोमेल र लुसिया मारिया मोलिनको भेट सन् १९११ मा भयो । त्यसबेला रोमेल १९ र लुसिया १७ की थिइन् । दुवैले एकार्कालाई मन पराए । तर, यसको बाबजुद रोमेल बालबर्गा स्टेमर नाउँकी जेठी युवतीको प्रेममा परे । बालबर्गा एउटी छोरीको आमासमेत बनिन् । तर, बालबर्गासँग बिहे नगर्न परिवारले दबाब दियो । यसपछि रोमेल पुनः लुसियाको नजिक पुगे । सन् १९१६ मा बिहे गरे । लुसिया एक छोरा र एक छोरीको आमा बनिन् । बालबर्गाको निधन सन् १९२८ मा भयो । त्यसबखत लुसिया गर्भवती थिइन् । पछिल्लो समय रोमेल र लुसियाको सम्बन्ध निकै प्रगाढ बन्यो । रोमेल युद्धमैदानमा हुँदा हरेक दिनजसो पत्नीको नाउँमा पत्र लेख्थे ।

सन् १९४० को मे मा रोमेलले फ्रान्समाथि विजय प्राप्त गरे । र, हिटलरको प्रिय सैनिक जर्नेल बने । रोमेललगायत केही सेनाध्यक्षकै आडमा हिटलर विश्वविजेता बन्ने सपना देख्न थाले । उनले रोमेललाई अफ्रिका पठाए । रोमेलले प्रत्येक लडाइँमा अंग्रेजलाई परास्त गरे । शत्रुलाई छक्याउँदै विजयी बन्ने रणकौशलबाट प्रभावित बनेका हिटलरले उनलाई ‘फिल्ड मार्शल’ पदबाट विभुषित गरिदिए । शत्रु राष्ट्रले भने ‘मरुभूमिको फ्याउरो’ भन्न थाले । अफ्रिकी युद्धकै दौरान अन्तिम समयतिर उनले हिटलरको विश्वास गुमाए । मित्रराष्ट्रको सेना र अत्याधुनिक हतियारको सामु जर्मन सेना पराजित बन्न थालेपछि, रोमेलले थप सेना र हतियार पठाउन माग गर्दा पनि हिटलरले उपेक्षा गरे । ठाडो जवाफ फर्काए, ‘शत्रुलाई मार, नसके आफैं मर ।’

यसैबीच अफ्रिकी मुलुक ट्युनिसियामाथिको नियन्त्रण जर्मनीले गुमायो । रिसाहा हिटलरले रोमेललाई तत्काल स्वदेश बोलाए । युरोपमा रोमेलले हिटलरको सेनाले यहुदी मात्र होइन, हिटलरविरोधी सर्वसाधारणको हत्या पनि निर्मम तरिकाले गरिरहेको देखेपछि असन्तुष्टि पोखे । केही समयपछि युद्ध जर्मनीको निम्ति प्रतिकूल बन्दै गयो । हिटलरको हठ र अदूरदर्शिताले जर्मनी धराशायी बन्ने खतरा बढेपछि रोमेलले युद्धरत पक्षसँग अस्थायी सन्धि गरेर विश्राम लिनुपर्ने सुझाव दिए । तर, हिटलर प्रस्ताव सुन्नसमेत तयार भएनन् । यसपछि केही राष्ट्रवादी शक्तिको सहयोगमा अमेरिका र बेलायतसँग वार्ता अघि बढाउन प्रयास गरे । उनको ध्येय थियो, जर्मनी, अमेरिका र बेलायत एकजुट होऔं र मिलेर साम्यवादी रुससँग लडौं । उता, हिटलरले गुप्तचरहरुमार्फत रोमेलको गतिविधि नियालिरहेका थिए । र, अन्तिममा रोमेललाई विश्वविजयी बन्ने आफ्नो मार्गको खतरनाक अवरोध ठान्न पुगे ।

सन् १९४४ को जुलाई १५ मा मित्रराष्ट्रको सेना फ्रान्सिसी तटबाट अघि बढेर सीधा जर्मनीमाथि आक्रमण गर्न अघि बढ्यो । लज्जास्पद पराजयबाट जर्मनीलाई बचाउने नियतले रोमेलले चार दिनभित्र शत्रुराष्ट्रसँग अस्थायी सन्धि गर्न हिटलरलाई चेतावनी दिए । जवाफमा हिटलरले रोमेललाई साथ दिँदै आइरहेका जर्नेलहरुको हत्या गर्न लगाए । हत्याबाट जोगिएका रोमेल र अन्य सैन्य अधिकृतहरुले हिटलरकै हत्या गर्ने योजना बनाए । योजनामुताविक बम फ्याँके तर हिटलर बसिराखेको स्थानभन्दा दुई–तीन गज पर विष्फोट भयो । कार्यालय करिब–करिब ध्वस्त भयो । चार जना मारिए, १३ जना घाइते भए तर हिटलर बचे । सामान्य चोट मात्र लाग्यो । बम विष्फोटन भएको पाँच घण्टाभित्र षड्यन्त्रमा संलग्न सबै सैनिक अधिकृत पक्राउ परे । सबैलाई गोली हानेर मार्न लगाइयो । रोमेललाई भने केही गरेनन् । षड्यन्त्रमा प्रत्यक्ष–अप्रत्यक्ष संलग्न चार हजार सात जनाले जेलको यातना भोगे ।

रोमेल उक्त घटना हुँदा अस्पतालमा थिए । १७ जुलाईमा उनी चढेको गाडीमा हवाई आक्रमण भएपछि घाइते भई अस्पताल भर्ना भएका । आक्रमणको दोष बेलायतमाथि लगाइयो किनभने विमानमा ब्रिटेनको चिह्न थियो । यद्यपि विमान जर्मनीकै थियो । हिटलरले त्यसमा ब्रिटेनको झण्डा बनाउन लगाएका थिए । आक्रमणबाट रोमेलको कपाल र आँखामुनिको हड्डी क्षतिग्रस्त बन्यो तर जीवित रहे । अस्पतालबाट बाहिर आउने सूचना पाएपछि हिटलरले विश्वासपात्र जर्नेल विल्हेम इमानुयल बर्गडोर्फलाई भेट्न पठाए । साथै फोन गरी सूचना दिए कि हिटलर उनलाई नयाँ पद दिन चाहन्छन् । बर्गडोर्फ रोमेलको घर अक्टोबर १४ मा पुग्नुपर्ने थियो, त्यसदिन रोमेलका छोरा मानफ्रेडको जन्म दिन थियो । उनी पनि सेनामा थिए र बिदा लिएर घर पुग्दै थिए । उनी १४ अक्टोबरमै घर पुगे । रोमेल र पत्नी लुसिया अति प्रशन्न भए किनभने लामो समयपछि छोरा घर पुगेका थिए ।

लुसिया भान्छाघरमा जन्मदिन मनाउन मीठो–मीठो परिकार पकाउन व्यस्त थिइन् । रोमेल र मानफ्रेड बाहिर बसेर चिया पिउँदै थिए । मानफ्रेडले बाबु रोमेललाई निकै चिन्तित पाए । कारण सोधे । रोमेलले भान्छाघरतर्फ हेर्दै मसिनो स्वरमा भने, ‘म जे भन्दैछु, ध्यान दिएर सुन । भुलेर पनि यो कुरा तिम्रो आमालाई नभन्नू ।’

उनले भने, ‘मित्रराष्ट्रहरुसित सन्धि गर्नुपर्छ भन्ने प्रस्तावको कारण हिटलर मदेखि रिसाएका छन् । मार्न उद्यत छन् । आज उनैको योजनामुताविक जर्नेल बर्गडोर्फ मसँग भेट्न आउँदै छन् । सायद मेरो मृत्युको उपहार लिएर । तर, तिमी चिन्ता नगर...।’
मध्याह्नमा बर्गडोर्फ रोमेलको घर पुगे । रोमेलको परिवारले जर्नेलको स्वागत गरे । त्यसपछि रमाइलो कुराकानीमा व्यस्त भए । बर्गडोर्फले रोमेलको स्वास्थ्य स्थिति, मौसमबारे छलफल गरे । त्यसपछि दुवै बाहिर निस्के । बर्गडोर्फको गाडी भएको स्थानसम्म । त्यहाँ पुगेपछि बर्गडोर्फले हिटलरलाई मार्ने षड्यन्त्रमा संलग्न सबै जर्नेलको हत्या भइसकेको र सो षड्यन्त्रको योजनाकार रोमेल हुन् भन्ने जानकारी पाइसकेको जानकारी दिए । साथै दुईवटा विकल्प रोज्न भनिएको बताए । उनले भने, ‘पहिलो विकल्प यो शिशीमा भएको विष खाएर मर्ने । यसो नभए पत्नी र छोराविरुद्ध पनि राज्यद्रोहको मुद्दा चलाइने र अपराध सिद्ध हुनासाथ तीनै जनालाई मृत्युदण्ड दिइने । तपाईंले यो विष सेवन गर्नुभयो भने भाउजू र छोराले पूर्ण सम्मानका साथ राज्यबाट सम्पूर्ण सुविधा पाउने छन्, जुन राज्यले कानुनअनुसार भूतपूर्व फिल्ड मार्शलको परिवारलाई दिँदै आएको छ ।’

बर्गडोर्फको कुरो सुनेर रोमेल केही नबोली बसे । बर्गडोर्फको हातमा भएको शिशी लिए र त्यसभित्र भएको साइनाइडको गोली खाइदिए । केही सेकेण्डमै रोमेलको मृत्यु भयो । बर्गडोर्फले रोमेलको शव गाडीमा राखेर अस्पताल पु¥याए । अस्पतालले एक घण्टापछि विज्ञप्ति निकाल्यो । विज्ञप्तिमा भनिएको थियो, ‘दुई महिनाअघिको आक्रमणमा घाइते हुँदाको घाउ पुनः बल्झिएर जर्नेल रोमेलको अस्पतालमा दुःखद् निधन भयो ।’

नाटकको अन्त्य यतिमै भएन । चार दिनसम्म रोमेलको शव सैन्य मुख्यालयको परिसरभित्र राख्न लगाइयो । अनि अक्टोबर १८ को दिन पूर्ण सैन्य सम्मानका साथ अन्तिम संस्कार गरियो । उक्त कार्यक्रममा हिटलरबाहेक सबै वरिष्ठ सैन्य अधिकृतले श्रद्धाञ्जली दिए ।

उभिएरै उपन्यास

‘दि वल्डम्यान एण्ड दि सी’, ‘दि सन अल्सो राइजेज’ जस्ता उपन्यासका रचनाकार हुन् अर्नेष्ट हेमिंग्वे । सन् १९५३ मा पुलित्जर र १९५४ मा नोबेल साहित्य पुरस्कार जितेका अमेरिकी साहित्यकार । लघुकथाकार र पत्रकार । उनका सातवटा उपन्यास, ६ वटा लघुकथा संग्रह र दुईवटा गैरसाहित्यिक पुस्तक प्रकाशित छन् । उनी उभिएर लेख्थे । यो उनको बाध्यता थियो । प्रथम विश्वयुद्धमा होमिन युरोप पुगेका थिए । अष्ट्रिया–हंगेरीविरुद्ध इटलीको मोर्चामा सक्रिय भए । एम्बुलेन्स चालक बने । यसै क्रममा सन् १९१८ मा नराम्रोसित घाइते भए । पछिसम्म पनि मेरुदण्ड दुख्ने समस्याले पीडित बने । उनले उभिएर लेख्नलाई अग्लो कुर्सी बनाउन दिएका थिए । प्रायः पेन्सिलले लेख्थे । लामो संवाद लेख्नुपरेको अवस्थामा मात्र टाइप राइटर प्रयोग गर्थे ।

फ्रान्सिसी कवि, उपन्यासकार, नाटककार भिक्टर ह्युगो पनि उभिएरै लेख्थे । लेख्दा कागज अक्षरले भरिएपछि तल फाल्थे । लेखाइसकेपछि एउटा–एउटा पाना टिप्थे र क्रमशः मिलाएर पट्याउँथे । ८३ वर्षको उमेरमा निधन भएका उनको चर्चित पुस्तक ‘दि हन्चब्याक अफ नोट्रेड्याम’ हो ।


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top