​के हो राष्ट्रघात, कसरी भयो लम्पसारवाद


Friday, 18 May, 2018 5:01 PM

  • विमल नेपाल

भारतको पटनाबाट मोदी सीधै जनकपुर आउनुको कारण बाटो छोटो हुनु मात्रै होइन । संघीयतापछि पहिलोचोटि मधेसलाई टार्गेट बनाउनुको पछाडि धेरै सांकेतिक कारण छन् । जसको पुष्टि जनकपुरको सभामा देखिएको स्वतन्त्र मधेसको प्लेकार्ड र दुई नम्बर प्रदेशमा मुख्यमन्त्रीले दिएको अभिव्यक्तिले गर्छ । त्यस्तै, आकार बिगारेर राखिएको नेपालको झण्डाले बिम्बात्मक ढंगमा राष्ट्रमाथि व्यंग्य गरेको छ । तर, अहिले देशप्रेमी भएर विरोध गर्नेहरूले यो कुरालाई गौण बनाएका छन् । बरु, मोदी र ओलीले पहिरिएको मैथिली सभ्यताको पहिरनलाई मूल मुद्दा बनाइरहेका छन् । एक जना पूर्वभाजपा सांसदले मिथिला क्षेत्र भारतको भनेर दिएको प्रतिक्रिया प्रगतिशीलहरूलाई खासै बिझेको छैन, जति मोदी आउँदा काठमाडौं सहर सफा गरेको विषयले मन कुँडिएको छ । दुई नम्बर प्रदेशका मुख्यमन्त्री र भारतीय सांसदले दिएको अभिव्यक्तिप्रति सरकारले आपत्ति जनाइसकेको छ । सरकारको नेतृत्व गरिरहेको दल एमालेले पनि औपचारिक रूपमा आपत्ति जनाएको छ । तर, देशप्रेमी प्रगतिशीलहरूले फेसबुक स्टाटसमा केही लेखे पनि औपचारिक रूपमा विरोध गरेका छैनन् । यसले विषयलाई बुझ्न केही सहज बनाउँछ । प्रधान कुरालाई गौण बनाएर प्रगतिशीलहरूले प्रधान बनाएका केही प्राविधिक विषयमा कुरा गरौं ।

 मोदीको पछिल्लो नेपाल भ्रमणले यसअघिका दुईवटा भ्रमणको जत्तिकै चर्चा र टिप्पणी पायो । मूलतः केपी ओलीको नियतसँग जोडेर मोदीको भ्रमणलाई हेरियो । केही टिप्पणी अतिरञ्जित भएको भ्रमणपछि पुष्टि भएको छ ।

 यथार्थ धरातललाई ख्याल नगरी व्यापक आलोचना गर्ने नेपाली प्रवृत्ति कुनै नयाँ प्रयोग होइन । भारतीय प्रधानमन्त्रीले १७ वर्षदेखि नगरेको नेपाल भ्रमणलाई मोदीले नै ब्रेक लगाए । उनले नेपाल भ्रमणलाई निरन्तरता पनि दिए । यसलाई कूटनीतिक हिसाबमा नराम्रो मान्न सकिँदैन । तर, विश्वको शक्तिशालीमध्येको एउटा छिमेकी देशका कार्यकारी प्रमुखको भ्रमणलाई लिएर हुने गरेको सस्तो टिप्पणी हानिकारक हुन सक्ने खतरा छ । यसको अर्थ भारत वा मोदीप्रति नेपाल नतमस्तक हुनुपर्छ भन्ने होइन ।

 सामरिक महŒवका हिसाबमा नेपालले दुई छिमेकी मुलुक चीन र भारतबाट यथेष्ट सहयोग लिन सक्नुपर्छ । दुई देशबीच समान सम्बन्ध स्थापित गर्नसक्ने कूटनीति हाम्रो नेतृत्वसँग हुनु आवश्यक छ । त्यसैले विषयको गाम्भीर्यतालाई नबुझी सस्तो प्रतिक्रियाले बजार पाउँदा कूटनीतिक सम्बन्धमा असर पार्नसक्नेतर्फ ‘प्रतिक्रियाधारी’हरू सचेत हुन आवश्यक थियो र छ ।

 मोदीको नेपाल भ्रमण सन्दर्भमा नेपालका प्रधानमन्त्रीको ‘राष्ट्रवाद’सँग जोडेर ज्यादा टिप्पणी भयो । त्यस्तै, सहर सफा गरेको विषय होस् या जनकपुरमा मोदी–ओलीले पहिरिएको पहिरन, काठमाडौं महानगर र जनकपुरको साँचो हस्तान्तरणसँगै अरुण तेस्रोको शिलान्यासबारे कुरा उठे । धेरै मानिस अतिरञ्जित आलोचनाको पछि दौडिए पनि । तर, अतिरञ्जना र यथार्थबारे बुझ्ने प्रयास कम भयो ।

 नेपालमा संविधान जारी भएपछि भारतले अघोषित नाकाबन्दी गरिदियो । त्यतिबेला पनि ओली नै प्रधानमन्त्री थिए । ओलीले खुलेरै विरोध गरे । यसै कारण कतिपयले ओलीलाई ‘राष्ट्रवादी’ नेताको उपमा दिए । एमालेजनले खुलेर प्रशंसा गरे । विरोध गर्नेहरूले ‘खोक्रो राष्ट्रवाद’ भने । विरोध र प्रशंसा गर्ने दुवैले ओलीलाई ‘राष्ट्रवादी’ भन्ने गरेका छन् । नाकाबन्दीको विरोध गर्नु राष्ट्रवाद थियो कि थिएन ? थाहा छैन । तर, ओलीले नाकाबन्दीको विरोध गरेर गल्ती गरेका होइनन् । भारतले नाकाबन्दी गरेपछिको झोकमा चीनसँग व्यापार तथा पारवहन सन्धि भयो । जुन देशको हितमा थियो, छ ।

नाकाबन्दीपछि मोदीले नेपाल भ्रमण गर्दा पनि ओली प्रधानमन्त्री हुनु संयोग मात्रै हुन सक्छ । नहुन पनि सक्छ । नेपालको संविधानलाई स्वागत गर्नसमेत हिचकिचाएको भारतले अहिले प्रशंसा गरेको छ । कूटनीतिक हिसाबमा आफ्नो गल्तीलाई स्विकारेर अघि बढ्न खोजेको प्रस्ट देखिन्छ । ओलीलाई भारतमा गरिएको स्वागत र मोदीको नेपाल भ्रमण त्यसैको जल्दोबल्दो उदाहरण हो ।

 हिजो नाकाबन्दीताका भारतको विरोध गरेका ओलीले अहिले मोदीलाई स्मरणीय हुने गरी सम्मान दिए । नेपालले मोदीको उच्च सम्मान गर्नुलाई धेरैले ‘लम्पसारवाद’को संज्ञा दिए । तर, छिमेकी देशको कार्यकारी प्रमुखले राजकीय भ्रमण गर्दा उच्चसम्मान गर्ने संस्कार नयाँ होइन । हिजो गल्ती गरेको बेला विरोध गर्नु र बदलिएको परिस्थितिअनुसार सम्मान गर्नु कूटनीतिक मर्यादा नै हो । हिजो भारतले नाकाबन्दी ग¥यो भनेर अहिले पनि सम्बन्ध बिगारिराख्नु कदापि देश हितमा हुँदैन । त्यसैले मोदीका लागि नेपालले उच्चसम्मान दिनु लम्पसारवाद हुँदै होइन । अनि, सम्मानसँग जोडेर राष्ट्रवाद फितलो भयो भन्नु लज्जाजनक टिप्पणी हो ।

 भारतीय प्रधानमन्त्री आउने निश्चित भएपछि भ्रमणस्थलको व्यापक सरसफाइ भयो । विदेशी पाहुनाले प्रस्ट देख्ने ठाउँको सरसफाइ बढी गर्नुलाई नराम्रो मान्न सकिँँदैन । ‘पाहुना आउँदा मात्रै होइन, अघिपछि पनि सरसफाइ गर्नुपर्छ’ भन्ने तर्कमा दम छ । तर, त्यसो हुन नसकेपछि देखाउनकै लागि मात्रै भए पनि सरसफाइ गर्ने कुरालाई गलत भन्न सकिँदैन । 

 जनकपुरमा मोदी र ओलीले एकै प्रकृतिको कपडा पहिरिएको विषयलाई पनि कोहीकोहीले आलोचनाको विषय बनाए । कतिपयले पाइजामा र कुर्तालाई भारतीय पोसाक पनि भने । तर, त्यो सस्तो टिप्पणी थियो । किनकि, नेपालका प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई उपहारस्वरूप दिएको मैथिली पहिरन थियो, त्यो । 
 
काठमाडौं महानगरपालिका र जनकपुर उपहानगरपालिकाको चाबी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाएको भनेर पनि धेरै टिप्पणी भएको सुनियो । तर, त्यो महानगरको चाबी दिइएको थिएन । ‘तपाईंका लागि नेपाल भ्रमण खुला छ’ भनेर संकेतस्वरूप चाबीको नक्सा प्रदान गरिएको हो । मान्छेले ‘नगरपालिकाको ढुकुटीको चाबी नै जिम्मा लगाएको’ जसरी प्रतिक्रिया जनाए ।

 संखुवासभामा बन्ने ९ सय मेगावाट विद्युत् क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने प्रयास यसअघि धेरै प्रधानमन्त्रीले गरे । भारतीय कम्पनीको लगानीमा बन्ने उक्त आयोजनाबाट नेपालले धेरै लाभ लिने जलविद्युत् क्षेत्रका जानकारहरूले नै वताउँदै आएका छन् । भारतलाई बिजुली बेच्ने गरी निर्माण गर्न लागिएको उक्त आयोजनालाई प्रदेश १ को समृद्धिको आधार भनिएको छ । 

 उक्त आयोजनाबाट निस्कने बिजुलीको २२ प्रतिशत नेपालले निःशुल्क पाउनेछ । २५ वर्षे सम्झौताअनुसार नेपालले एक खर्ब ५५ अर्ब मूल्य बराबरको बिजुली निशुल्क पाउँछ । त्यस्तै १ खर्ब ७ अर्ब रुपैयाँ बराबर राजस्व पाउनेछ । यससँगै आयोजनाबाट नेपालले मनग्ये लाभ लिनसक्ने कुरा यसअघिका सरकारले पनि गर्दै आएका थिए । जुन काम मोदीको नेपाल भ्रमणका क्रममा भएको छ । 

हुन तः यस्ता गौरवको आयोजना नेपाल सरकारले आफ्नै लगानीमा गर्न सकेको भए धेरै राम्रो हुने थियो । तर, सहयोगमा नै निर्माण गर्नुपर्ने अवस्थामा जुन सम्झौताका साथ अरुण तेस्रोको शिलान्यास भएको छ, त्यो खुशीको कुरा हो । बरु, आयोजना निर्माणको काम चाँडो सक्न दबाब दिनुपर्छ । अरुण तेस्रोको मामलामा भारतसँग भएको सम्झौता असअघिका सम्झौता जस्तो नहोस् !

 जनकपुरमा दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबहादुर राउतले नेपालको संविधानले आफूहरूलाई विभेद गरेको भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष गुनासो पोखे । जनकपुरको सभामा स्वतन्त्र मधेसको व्यानर देखियो । साझा विवेकशील पार्टी कार्यालयबाट ‘मोदीलाई स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौं’ भन्ने तुल प्रहरी लगाएर हटाइयो । भारतीय सेनालाई नेपालमा खुलेआम प्रवेश दिइयो । अघिअघिजस्तै नेपाली सञ्चारमाध्यमलाई विभिन्न ठाउँमा प्रवेश निषेध गरियो । यी कुरा गलत थिए । जुन नभएको भए धेरै राम्रो हुन्थ्यो । तर, कुनै राष्ट्रघाती सम्झौताबिना सौहार्दपूर्ण ढंगमा मोदीको नेपाल भ्रमण सफल हुनु राम्रो कुरा हो ।

प्राविधिक कुरामा अल्झेर मूल मुद्दालाई ओझेल पार्ने फेसबुके विश्लेषकको बहकाबमा पछि लाग्नु बुद्धिमानीपूर्ण कुरा होइन । त्यसैले, यो सरकारले चीन र भारतसँग सन्तुलित कूटनीतिक सम्बन्ध स्थापित गर्न सक्यो भने त्यसैलाई गुणस्तरीय मान्नुपर्छ । राष्ट्रघाती सम्झौताको चाङले थिचिएका हामीले अहिले कुनै राष्ट्रहितविपरीत सम्झौता नहुनु र सम्बन्ध सुध्रनुलाई उपलब्धि मान्न सक्नुपर्छ ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top