​यस्तो छोरा र उपहारमा पाइने यातना


Friday, 18 May, 2018 4:54 PM

अजीवको छोरो छ मसँग । उमेरले २५ वसन्त पार गरिसक्यो । मध्यराति रल्लिएर घर आउँछ, भोलिपल्ट १२ बजे उठेर हिँड्छ । कहिले साथीसँग त कहिले एक्लै । महिना दिनमा एकचोटि नुहाउँछ । ऊ आएपछि कोठामा बसिसक्नु हुँदैन । डुङडुङती गन्हाउँछ । मास्क लगाएर सुत्दा पनि समस्याको हल हुँदैन । उसकै कारण एउटा कोठालाई बीचमा तन्नाले बारेर दुइटा बनाउनुपरेको छ । तैपनि सास्ती हटेको छैन । पसिनाले भिजेको जीउ र जाँड, रक्सी, चुरोट खाएपछि नमोलेको मुखबाट निस्केको गन्धले वातावरण सिनुझैं गन्हाउँछ । सिरकले अनुहार छोपेर सुत्नुपर्ने स्थिति छ । त्यसो गर्दा गर्मी मौसममा खपिसक्नु हुँदैन । के गर्नु ? त्यसो गर्दा छोरासँग जुधेर नहुने । सम्झाउँदा फिस्स हाँसेर टारिदिन्छ । सोच्छु रिसको औषधि हाँसो नै रहेछ । आमा र बहिनीले केही भन्न खोजे उल्टै हप्की दप्की गर्छ । तर, मसँगचाहिँ किन हो डराउँछ । केही भन्न खोज्यो कि हाँसेर टारिदिन्छ । छोराको अवस्था देखेर आमा नरोएको दिन छैन । बहिनी पनि तरुनी भइसकी । आफू सबेरै (४ बजे) उठेर साबिककै कुल्ली कामतिर हिँडिन्छ तर ऊ डुङडुङती गन्हाउँदै मस्तसँग सुतिरहेको हुन्छ । मेरा साथीहरूका छोरा कोरिया, जापान पुगेर पैसा कमाई घर ठडाइसके तर बूढो भइसकेको आफ्नो छोराको दैनिकी यस्तो छ । 

१० वर्ष मलेसियाको तातो घाममा घन पिटेर फर्किएको केही साता बित्दै छ । त्यतिञ्जेल परिवारलाई मासिक ३० हजारका दरले लाखौँ रकम पठाएछु । तर, एक रुपैयाँ बचत छैन । मासिक कोठाभाडा, खाइखर्च र लुगाफाटोमै सकिएछ । श्रीमतीसँग मासिक हिसाब–किताब गर्दा २८ हजार निस्कियो । बचेको दुई हजार यदाकदा जाँदा वा अपर्झट बिरामी भएको खण्डमा पनि अपुग देखियो । छोरी स्नातक प्रथम वर्षमा अध्ययनरत । पढाइ सामान्य । एउटा पसल चलाएर बसेकी छ । साधारण व्यापार । आफ्नालागि खर्च र कोठाभाडा तिर्न पुग्छ । विदेशबाट फर्किएपछि ०५० सालदेखि रोजीरोटीका लागि गर्दै आएको कुल्ली कामतिर धाइरहेछु । श्रीमती तान बुन्न जान्छे । 

छोरा १२ बजे उठेर कता जान्छ, के गर्छ अत्तोपत्तो हुँदैन । बेलुकी मातेर फर्कंदा दिनभरको थकाइले झोक चल्छ, रिस उठ्छ तर चकमन्न रातमा झगडा गरेर के फाइदा ! त्यसमाथि म ६० वर्षको भइसकँे । एउटै छोरा, पूरै संसार हो ऊ मेरो । ऊ पाँच वर्षको छँदा सोलुबाट परिवारका साथ राजधानी झरियो । छोरी नीरा एक वर्षकी थिई । ज्यालादारीमा घर बनाउने, खन्ने काम गरियो । जसोतसो चार जनाको परिवार पाल्न मुस्किल हुन्नथ्यो । श्रीमतीले पनि यता आएदेखि नै आफूसँग भएको सीप खेर जान दिइन । तान बुनेर धेरथोर पैसा कमाउँँछे । छोरो चाबहिलको पशुपति स्कुल पढ्थ्यो । छोरी सानै छे । पछि उसलाई पनि त्यहीँ भर्ना गरियो । दाइभन्दा झण्डै दोब्बर अंक ल्याएर एसएलसी (हाल एसईई) परीक्षामा उत्तीर्ण भइ । दाजुले जम्मा ३८ प्रतिशत मात्र अंक ल्याएको छ, एसएलसीमा । लंगडोझैँ लड्दै र पछारिँदै बल्लतल्ल ०६७ सालमा छोराले तेस्रो श्रेणीमा परीक्षा उत्तीर्ण ग¥यो । नेपाली परम्पराअनुसार परिवार पाल्ने यति एउटा भएकाले उसले जे भन्यो त्यही मान्यौं हामीले । स्वतन्त्र रूपमा हिँड्न दियौँ । एसएलसी परीक्षा उत्तीर्ण गरेपछि उसले नै रोजेको स्कुलमा पढायौँ । व्यवस्थापन विषय पढ्न उसले नै रोजेको गौशालाको क्लासिक कलेजमा भर्ना गरिदियौँ । पटक–पटक शुल्क बुझाउन आउनुभन्दा बरु एकैचोटि तिर्दा आनन्द हुन्छ भनेर आमाले एक वर्षका लागि ७० हजार रकम लेखा शाखामा बुझाइन् । म परदेशमै थिएँ । दुई महिनासम्म निरन्तर स्कुल गएजस्तो ग¥यो रे !

बिहान पाँच बजे उठेर साथीसँग जाने, दिउँसो ३ बजे रल्लिएर कोठा आइपुग्ने । आमाले किन ढिला आएको छोरा भन्दा खाउँँँलाझैँ गरेर आँखा तर्ने ! यसलाई पढाउने रकमले अर्थाेकमै लगानी गरेको भए बेस हुने रहेछ भनेर श्रीमती मसँग बिलौना गर्छे । तर, बगेको खोला के फर्कन्थ्यो ? परिवारसँग काठमाडौं आएपछि निकै समय कुल्ली काममा बिताएँँ । त्यसपछि कुल्ली कामलाई पार्टटाइमजस्तो बनाएर ट्याक्सी सिक्न लागँँे । र, अनुमतिपत्र (लाइसेन्स) पनि झिकेँ । पढ्न, लेख्न राम्ररी नजाने पनि हातमा अंग्रेजीमा उल्था भएको स्पष्ट परिचयसहितको अनुमतिपत्र पाएँ । तर, ट्याक्सी किन्न पैसा थिएन । त्यसपछि के गर्ने ? सोच्न थालँे । कहीँ–कतै माग्ने ठाउँ थिएन । भए पनि लाखौँ रकम कसले दिन सक्थ्यो र ? अन्त्यमा एउटा उपाय फु¥यो । गाउँमा अधियाँ कमाउन दिएको केही बिघा जग्गा–जमिन बेच्ने । र, त्यसै गरँे । गाउँ गएर जग्गा–जमिन बेची पैसाको बन्दोबस्त मिलाएर झोलामा १२ लाख रकम लिई फर्किएँ । साढे आठ लाखमा ट्याक्सी निकालिछाडें । तर, ६ महिनाभन्दा चलाउन सकिनँ । सोचेको थिएँ, ट्याक्सी निकालेपछि रामै्र आम्दानी गर्छु । परिवारलाई पहिलेभन्दा सुख दिन्छु । जब ट्याक्सी निकालें, तब घाटै घाटाको दिन शुरु हुन थाल्यो । कहिले ग्राहक नै नपाइने । पाए पनि भनेजस्तो कमाइ नै नहुने । बूढो उमेर, अर्कातिर यो व्यवसायमा नयाँ । व्यापार घाटामा गएपछि त परिवार पाल्न धौधौ नै होलाजस्तो भयो । त्यसपछि आफूले किनेको मूल्यभन्दा झण्डै दोब्बर कममा ट्याक्सी बेचिदिएँ र त्यही पैसाले मलेसियाका लागि भिसा आवेदन भरेँ, ०६४ सालमा । 

औंला भाँचेर ल्याउँदा १० वर्ष विदेशमा बसेंछु । कति कमाएँ ? कति खर्च भयो कुनै हिसाब किताब छैन । पैसाको त के कुरा छोराले उँभो गति लिएन । अरूझैँ मेरो छोराले पनि बुबाआमाको दुःख बुझेको भए, सायद आज मैले यो अवस्था भोग्नु पर्दैनथ्यो । अथवा, जागिर नभए पनि राम्ररी पढिदिएको भए यो बूढो बुबाको मन कुँढिने थिएन । यसबीचमा पढाइ छाडेर उसले साथीको लहैलहैमा कोरियन भाषा सिकी इपिएस परीक्षा दिनचाहिँ भ्याएछ । तर, दुईचोटि दिएको परीक्षामा दुवैपटक फेल । उससँगै पहिले खेली हिँड्ने साथी पवनले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया पुगेर मासिक दुई लाखका दरले पठाई कपनमा घर ठड्याउन लागेको छ । के गर्नु आफ्नो त पुर्पुरोमै नलेखिएको भन्नुपर्ला । १० वर्ष मलेसियामा बसेर परिवार पाले । अहिले फेरि कुल्ली काम गरेर परिवार पाल्दैछु । सुन्दै छु, मध्याह्न १२ बजे ओछ्यानबाट उठेर हिँड्ने मेरो एक्लो छोरो मिलनचोकका आवारा केटाहरूसँग लाप्पा खेलिहिँड्छ रे ! अस्ति एक दिन उसको कपडामा रगत लत्पतिएको देखेको थिएँ । भोलिपल्ट सोधपुछ गर्दा भन्यो– झगडा गरेका साथीहरूलाई छुट्याउन जाँदा लत्पतिएको हो । विदेशबाट फर्किएपछि एक्लो छोरोको चर्तिकला देखेर अवाक भएको म के नै बोल्न सक्थँे र ! बिहान सबेरै उठ्छु अनि मध्याह्न १२ बजे आएर सुत्ने जँड्याहा छोराको अनुहार हेर्छु र मन रुवाउँदै कामतिर लाग्छु । अब भन्नै पर्छ छोरा होस् त यस्तो । बाउ होस् त यस्तो ।

– कमल राई, ओखलढुंगा, हाल कपन


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top