अभिनन्दन कि चुनावीसभा ?


Saturday, 12 May, 2018 9:36 AM

  • कुसुम भट्टराई

प्रदेश नम्बर २ को केन्द्र जनकपुरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको डाइरेक्ट आगमन हुँदै छ । भारतका अन्य शहरको सयर गरेझैं मोदी जनकपुरमा पनि हेलिकोप्टरबाटै आउँदै छन् । नेपाल आउने पाहुना जताबाट आए पनि आउन्, त्यसमा विवाद नगरौं ।

मोदीको आसन्न जनकपुर भ्रमणबाट यो प्राचीन मिथिला नगरीको विश्वव्यापी प्रचार नै भइरहेको छ । मैथिल पहिचानका हिसाबले यो राम्रै कुरा हो । विश्वचर्चित नेताको आगमनले मिथिला सभ्यता र संस्कृतिको निःशुल्क प्रचार नै हुने हो । यही कारण यो प्राचीन विदेह राज्यको केन्द्रमा मोदी आउँदा नेपालमा मात्र हैन, सीमापारि भारतको मैथिल समुदायमा पनि खुशीको लहर पैदा भएको हुनुपर्छ ।

प्राचीनकालमा मिथिला एउटा विकसित, सुसंस्कृत र समृद्ध राज्य थियो । यही भूमिमा राजा जनक र अष्टाबक्रवीच संवाद भएर कठोपनिषद घटित भयो । यही भूमिमा षड् दर्शन अर्थात न्याय, वैशेषिक, सांख्य, योग, मिमांसा र वेदान्तको उद्भव भयो । सलहेसजस्ता वीर पराक्रमी अनि आदिकवि विद्यापतिको पनि यही भूमिमा जन्म भयो । जगत् जननी सीताको उत्पत्ति यही पावन भूमिमा भयो । यही कारण यसलाई तिरहुत भनियो । अर्थात् तीन वेद (ऋग्वेद, सामवेद, यजुवबेद)का ज्ञाताबाट आहुती दिइएको भूमि । विदेह राज्यका जनक, मण्डन, अयाची, याज्ञवलक्यकजस्ता विद्वान् राजाहरूको भूमि ।

कोशी, गण्डकी, बागमती नदिको किनारमा फैलिएको मिथिला राज्यले कुनैबेला पूर्वीनेपाल र भारतको उत्तरी बिहारका धेरै भूभाग ओगटेको थियो । मिथिला सभ्यता आजको आधुनिक युगमा पनि जीवितै छ र त्यो प्राचीन धरोहरलाई मैथिल जगतले बचाएर राखेको छ । जनकपुर, मुजफ्फरपुर, मधुबनी, समस्तीपुर, दरभंगा, सीतामढी, सहरसा, कटिहार, पूर्णिया, बरौनी, भागलपुर र दुमकालगायतका शहरहरू मिथिला सभ्यताका आजका जीवन्त प्रमाण हुन् । र, मिथिलाको प्राचीन, धार्मिक र पौराणिक प्रमाणका आधारमा नेपालको जनकपुर नगरी नै मिथिला सभ्यताको मुख्य केन्द्र हो ।

नेपाल जब संघीयतामा प्रवेश गर्दैथियो, राज्य पुनःसंरचनाको बहस चलिरहँदा जनकपुरका जनताले मिथिला प्रदेशको माग गरेका थिए । किनकि, भाषा, संस्कृति, कला, अध्यात्म, विचार, दर्शन, पौराणिक र ऐतिहासिक रूपमा मिथिला आफैंमा बलियो र उन्नत सभ्यता हो । जनकपुरका बुद्धिजीवी, पत्रकार, राजनीतिक विचारक र जनताले केही समय मिथिला प्रदेशको माग नगरेका हैनन् ।

सायद छिमेकी भारतले यसलाई रुचाएन, जुन स्वाभाविक थियो । किनकि जब मैैथिल पहिचानको कुरा आउँछ, यसले नेपाललाई मात्र हैन, उत्तरी बिहारका धेरै भूभाग छुन्छ । मैथिलभाषी पहिचानको संघर्षको लप्को भारतसम्म फैलियो भने त्यो उसका लागि अर्को टाउको दुःखाइ हुन सक्छ । नेपाल र भारत दुवै मुलुकका शासकको लागि मैथिलभाषी पहिचानको आवाज दबाउनु नै श्रेयस्कर लाग्यो । मधेसवादी प्रमुख दलका नेताहरूको मुखबाट पनि अचेल मिथिला प्रदेशको कुरा सुन्न छाडिएको छ । अचेल नेपालको मिथिला क्षेत्र ‘प्रदेश नम्बर २’ भएको छ ।
यही ऐतिहासिक नगरी जनकपुरमा वैशाख २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन गरिँँदै छ । १२ बिघा मैदानमा करिब डेढ करोड रूपैयाँ खर्चेर भब्य मञ्च बनाइएको छ । तर, मोदीको अभिनन्दन मैथिली भाषामा मात्र हुने छैन, बरु चार भाषामा गरिनेछ । मिथिला नगरीमा मोदीको अभिनन्दन मैथिली भाषामा मात्रै गरेको भए पनि कसको आपत्ति हुन्थ्यो र ? तर, दुवै देशका शासक मैथिली भाषाको त्यो हदसम्मको उत्थान पनि चाहँदैनन् । यसका पछाडि अर्थपूर्ण कारण माथि भनिसकिएको छ ।

मोदीको चुनावी दाउ
भारतमा एक वर्षपछि आमनिर्वाचन हुँदै छ । मोदी शासनका पाँच वर्ष खासै उपलब्धिमूलक रहेनन् भन्ने भारतीय जनतामा परेको छ । आजतकदेखि एबीपी न्युजसम्मका सर्वेक्षणले मोदीको लोकप्रियता घटेको देखाएका छन् । त्यसमाथि मोदीको विदेश नीतिसमेत कमजोर रहेको आरोप लागिरहेको छ । नेपालसँगको सम्बन्धमा मोदी सरकारको विदेश नीति फितलो रहेको र नेपालमा चीनको प्रभाव बढ्दै गएको आरोप उनले खेप्दै आएका छन् ।

जनकपुरमा नागरिक अभिनन्दन थापेर मोदी एक तीर दुई निशाना साँध्दै छन् । एक त मिथिला सभ्यताको केन्द्र जनकपुरमा अभिनन्दित भएर उनी समग्र मैथिल समुदायको सेन्टिमेन्ट आफूतिर खिच्न चाहन्छन् । जनकपुरबाटै भारतका मैथिलभाषी जनतासँग आउँदो चुनावका लागि भोट माग्ने दाउ हो ।

अर्कोतिर नेपाली शासकबाट अभिनन्दन थापेर नेपालमा आपूm प्रिय रहेको सन्देश दिन चाहन्छन् । यसको अर्थ हो, उनी नेपालमा आएर आफ्नो चुनावी प्रचार गर्न चाहन्छन् । यस हिसाबले मोदीको अभिनन्दनको तामझाम खासमा उनको चुनावी प्रचारसभासरह हुनेछ । यसबाट उनलाई त फाइदा छ, तर नाकाबन्दीले आजीत नेपालीलाई के फाइदा ?

राजपाका नेता राजेन्द्र महतो चुनावताका भन्नुहुन्थ्यो, ‘अब जनकपुरमा निधिको हैन, विधिको शासन हुनेछ ।’ चुनावपछि निधिको शासन त रहेन । तर, जनकपुरबासी भन्दै छन्, ‘निधिको शासन त गयो, अब विधिको शासनको ठाउँमा मोदीको शासन नआओस् ।’ मोदीको आगमनको खुसियालीमा नगर सफाइका लागि झाडू लिएर सडकमा निस्कनुभएका महतोजी यसमा कत्तिको सजग हुनुहुन्छ ?


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top