एउटी जनप्रतिनिधिको आर्तनाद


Saturday, 12 May, 2018 9:33 AM

२६ वर्षसम्म धर्ती बनेर सहें उनका अत्याचार र व्यभिचार । अब सक्दिनँ सहन योभन्दा धेरै यातना । वारपारको अन्तिम लडाइँमा छु । श्रीमान्को चरम यातना र पिटाइपछाडि माइतीको आडमा बसिरहेकी छु । ‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता खुशी हुन्छन् वा रमाउँछन् भन्नु पनि बेकारझैं लाग्दो रहेछ । छलकपटी र जालसाजहरूका अगाडि कसैको केही जोर चल्दो रहेनछ । म हँु मुना अधिकारी । गोदावरी नगरपालिकाको उपमेयर । विवाहपूर्व चितवन नेविसंघको जिल्ला सदस्य, स्नातक तह अध्ययनरत । जुन परिवारमा जन्मिएँ÷हुर्किएँ नारीप्रति गरिने व्यवहार कहिल्यै तल्लोस्तरको होला भन्ने परिकल्पनासम्म पनि गर्न सक्दैनथें । विवाहअघिसम्म अभाव र तनाव कहिल्यै झेल्नु परेन । १९ वर्षको उमेर । समय सदुपयोग गर्ने र केही सिक्ने रहरमा घरनजिकै चाइनिज इँँटा टायल कम्पनीमा लेखापालको जागिर सुरु गरेँ । त्यहीँ भेटिए ध्रुव कुँवर । कम्पनी मेनेजर । दिनहुँको भेटघाट र संगतले प्रेम बस्यो । उनी क्षत्री, म बाहुन । जात मिल्दैनथ्यो । तर, मनको नेटवर्क मिलेपछि जातभात फिक्का लाग्ने रहेछ ।

विवाहपछि खुसीको जिन्दगी बिताउने सपना देखाए । अल्लारे उमेर । उनीप्रति यति अगाध श्रद्धा, विश्वास र प्रेम थियो कि त्यही सपनाको पछाडि लागेर भागियो । भन्छन्, प्रेम अन्धो हुन्छ । भोलि यस्तो दुर्दशा आउला कि भन्ने कहिल्यै आभाष भएन । स्त्रीले आँखा चिम्लेर प्रेम गर्छे तर पुरुषले चारतिर हेरेर मात्र मनपेट दिन्छ । आँखा चिम्लेर उनलाई विश्वास गरेँ । जसको परिणाम आज व्यहोर्दै छु । ती दिन सम्झेर पछुताउँदै छु । २६ वर्षसम्म पछुताएरै बिताएँ । उनको पारिवारिक, आर्थिक, शैक्षिक अवस्थाबारे केही जानकारी थिएन । परिवार त्यागेर एउटा पुरुषको विश्वासमा इण्डिया पुगें । करिब आठ महिना त्यहाँ बिताएर स्वदेश फर्किएपछि घर लगेनन्, चापागाउँमा लगी राखे । जहाँ उनका दिदीको घर रहेछ । दिदीलाई भेटेपछि छाँगाबाट खसेझैं भए । कान्छीको रूपमा मलाई भिœयाएका रहेछन् । जेठी श्रीमतीबाट पहिल्यै दुई छोरी र एक छोरा । आँशुको आहालमा बित्न थाले दिन । कसलाई दोष लगाउनु ? बुबा–आमाले खोजेको केटो थिएन, आफैंले रोजेको मान्छे । माइतीलाई भन्ने आँट गरिनँ । तर, आमाको माया न हो । मेरो अवस्था मैले लुकाएर, छेकेर टालेर किन टालिन्थ्यो ? काठमाडौं फर्किएपछि दिनचर्या सकसपूर्ण बन्न थाल्यो । आफैंबाट कमजोरी भएको थियो । खै म टाढिएँ कि मेरा आफन्तहरू पर भए ? आमाले मेरो अवस्था देखेर रुँदै भन्नुभएको थियो, हिँड माइतै गएर बसांै । तर, कोखमा हुर्किसकेको बच्चालाई सम्झें । पीडा सहेरै बसेँ ।

सकेजति सहेर बसें । कुनै दिन प्रेमको अंकुरा पलाउला कि भनेर । कुनै दिन मन बदलिएला कि भनेर तर ढुंगाको मन किन पग्लन्थ्यो र ? यी दिन श्रीमान्को प्रश्न, आरोप, कुटपिट, गाली बेइज्जती र अपमानको हलाहल विष पिएर बिताएँ । जीवनमा पखेटा चुँडिएको चराझैं स्वतन्त्रता गुमाएर बाँच्न विवश भएँ । जानेर कान्छी बन्न भित्रिएको थिइनँ । घर छाडेर थानकोटमा सानो झुपडी बनाएँ । छोराहरू त्यहीँ जन्माएँ । त्यही घर पनि भत्कायो बाढीले । ०५२ फागुन २ गतेबाट भाउजूको विशेष सहयोगमा गोल्छा अर्गनाइजेसनमा जागिर खाएँ ०७३ सालसम्म । उपमेयर पदमा उम्मेदवारी दिएसँगै जागिर छाडें । कांग्रेसका पुरुषोत्तम सिलवाल, विजय सिलवाल, रमेश सिलवालको सुझावसँगै पार्टीमा क्रियाशील हुँदै गएँ । ललितपुरको पार्टी इकाइ कमिटी सदस्य, कांग्रेस गोदावरीको कोषाध्यक्ष भएर काम गरिरहँदा पार्टीले उपमेयरको टिकट दियो । र, विजयी बनँे पनि । पिटाइ आज मात्र खाएको होइन । मानसिक प्रताडना आज मात्र ब्यहोरेको होइन । जतिखेर गोल्छा अर्गनाइजेसनमा काम गर्थें, दाजुहरू मसँग बोल्नुहुन्नथ्यो । विवाहकै कारणले । त्यही कारण गोल्छा अर्गनाइजेसनमा काम गर्दा एक जनालाई दाजु बनाएको थिएँ । उनकै छोराको पास्नीमा जाँड खाएर बबाल गरे । पार्टी सकिएपछि श्रीमान्सँगै घर फर्किएँ । घर फर्केपछि त्यहाँ कार्यरत सबै लोग्नेका साझा गर्लफ्रेन्ड भन्ने आरोप लगाए । तेरो अनुहारको फोटो कुनै नांगो फोटोमा जोडेर पोस्टर बनाउँछु । तेरो अफिसको भित्ता भित्तामा टाँस्छु भन्दै धम्क्याए । यस्ता तनाव नभएको दिन हँुदैनथ्यो । उपमेयरको हैसियतले याक एन्ड यती होटलमा कांग्रेसका एक जना नेताको पार्टीमा सहभागी भएको थिएँ । पार्टी ६ बजेबाट शुरु भयो ।

श्रीमान्ले घर पुगिसक्नुपर्ने अन्तिम समय तोकिदिए,  सात बजे । तर, म पुग्दा ठीक ९ बजेर १७ मिनेट गएको थियो । त्यतिञ्जेल घरमा भएका मेरा लत्ताकपडा, सरसामान सबै घरबाहिर थिए । जलाउनका लागि सबैमा पेट्रोल खन्याइएको थियो । घर पुग्नेबित्तिकै टाउकोबाटै पेट्रोल खन्याए । छिमेकीको सहाराले नयाँ जीवन पाएँ । यस्ता घटना दोहोरिरहे । सहिरहें । वैशाख १७ गते बुद्धजयन्तीका दिन, चार वटा कार्यक्रममा सहभागी भएँ । बीचमा श्रीमान्ले सयौं पटक फोन गरे । प्रश्न एउटै हुन्थ्यो, कहाँ छेस् ? कोसँग छेस् ? तेरो वरिपरि को–को छन् ? त्यहाँ के गर्न गइस् ? कति मिनेटमा घर पुग्छेस् ? तँ मेरो घर नआइज । आज तेरो अन्तिम दिन हो । घर मात्रै आइस् भने खुकुरीमा धार लगाएको छु, थाहा पाउँछेस् । बेलुका घर पुगें । जग्गा विवादबारे कुरा गर्न दुई जना देवर आउनुभएको थियो । कुरा राखेर जानुभयो । उहाँहरूको अगाडि श्रीमान्ले एक शब्द बोलेनन् । कोठामा प्रवेश गरेर चुकुल लगाई अपमानजनक शब्द बोल्दै हिर्काउन थाले । कहाँ–कहाँ, कसरी हिर्काए । थाहा पाइनँ, आँखामा हिर्काउँदा गम्भीर चोट लागेको छ । म ढलें । हारगुहार गर्न थालेँ । मेरो चिच्याहट सुनेर भाडामा बस्ने भाइहरू आई बचाए । बालकोटमा रहेका भाइलाई फोन गरेँ । ऊ आइपुग्यो । प्रहरीलाई खबर गरियो । मलाई अस्पताल लिएर गयो । उपचार भयो ।

आज पनि कुटाइबाट सुन्निएको आँखा निको भएको छैन । भोलिपल्टै महानगरीय प्रहरी परिसर जाउलाखेलको महिला सेलमा निवेदन दिएँ । त्यही दिन मंगलबार राति साढे १० बजे प्रहरी वृत्त सातदोबाटोले श्रीमान्लाई पक्राउ ग¥यो । बुधबार १० बजेभित्रै जाउलाखेल पुगिसकेकी थिएँ । तर, उनलाई सातदोबाटोबाट १२ बजेपछि मात्रै जाउलाखेल पु¥याइयो । त्यसपछि फेरि शुरु भयो अभिनय ! ‘मैले गल्ती गरेकै हो । तिमीलाई अन्याय भएकै हो । तिमीलाई थाहा छ एक हप्तादेखि प्रेसरको औषधि खान छुटेको थियो । त्यो दिन के भयो–भयो, आफूलाई सम्हाल्न सकिनँ । तिमीमाथि अपराध गरेँ । अबदेखि यस्तो हुने कुराको कल्पना नगर । माफ देऊ । खुट्टा ढोग्न तयार छुु ।’ जाउलाखेल प्रहरीमा मेरो कुरा सुन्ने पक्षमा कोही थिएनन् । एसएसपी गणेश ऐरले लोग्ने–स्वास्नीबीच झगडा कसको हुन्न र ? मिलाउनुपर्छ भन्नुभयो ।

त्यही समयमा प्रहरीले नै श्रीमान्ले केही दिनअघि मानसिक रोगको औषधि खाएको प्रमाण पेस ग¥यो । र, मानसिक रोगीलाई प्रहरी हिरासतमा राख्नै नसकिने भन्दै घटना फिर्ता लिन दबाब दियो । अनि देवरलाई साक्षी राखेर डाक्टरको सल्लाहमा औषधोपचार गर्ने र म सँगै नबस्ने सहमतिमा कागज बनाइयो । म माइतीमा फर्केर आएकी छु । यतै बस्न थालेकी छु । श्रीमान्को बानी थाहा थियो । अर्काे केटी पाएपछि उनलाई श्रीमतीको वास्ता हुँदैनथ्यो । म जसरी नै दिदीले पीडा भोगेर बाँचिरहनुभएको थियो । यही कारण हो दुई छोरीको विवाह आफैंले गरिदिएँ । छोरालाई पनि आफंैले जागिर लगाइदिएकी छु । श्रीमान् कहिल्यै सुध्रिएनन् । केटीप्रतिको आशक्ति उस्तै । एकपटक पोखरामा काण्ड मच्चियो । आफैं पुगेर मिलापत्र गराई छुटाएको छु । यस्ता पीडा धेरै भोगियो– भनेर साध्य छैन । अहिले २५ वर्षको जेठो छोरा आर्मीको कमाण्डो तालिम लिँदै छ । कान्छो इञ्जिनियिरिङ पढ्दै छ बैंग्लोरमा । एक डेढ महिनाभित्रै दुवै छोरा आउँछन् । अनि उनीहरू र श्रीमान्लाई राखेर अब मेरो निर्णय सुनाउँछु, ‘अब धु्रव कुँवर मेरा छोराहरूको बाउ हुन्, मेरो लोग्ने थिए । अब रहँदैनन् । हामी अलग हुन्छौं ।’

– मुना अधिकारी, उपमेयर, गोदावरी नगरपालिका


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउपालिका ,मैनापोखरीमा नयां शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैकको कार्यालय  संख्या ५३…

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक

Public Notice
Top