राजधानीको मुटुमै बूढाबूढीको रोदन


Saturday, 12 May, 2018 9:32 AM

२०४० सालमा अंशबण्डा भई भान्सा अलग भए तापनि छोरा–बुहारीले आफ्नो आम्दानीबाट परिवार धान्न नसक्ने अवस्था पर्दा घरवार चलाएँ । परिवार संख्या बढ्दै गयो । हामीलाई हेर्नेभन्दा पैसा उठाउने काम बेसी हुन थाल्यो । तैपनि छोरा, बुहारी, नाति, नातिनीको संस्कार, खर्च (पढाइ, स्वास्थ्य, घर) सबै गरी नै राख्यौं । हामीलाई पैसा मात्र उठाउने (एटिएम मेसिन) बनाउने तर अभिभावकप्रतिको कर्तव्य ननिभाउने प्रवृत्ति मौलाउँदै गयो ।

चार छोराबुहारी मिलेर हामीलाई अनेक शारीरिक, मानसिक, व्यावहारिक यातना दिई शेषपछिको बकसपत्र भनेर २०५५ सालमा ‘हालदेखिको बकसपत्र’ गरी लिए । मैले व्यापार गरें र आर्जित सम्पत्तिबाट न्युरोडमा दुई रोपनी जग्गा जोडें । त्यो पनि आफूले कमाएको सम्पत्ति छोराछोरीकै त हो नि भन्दै चार छोरा–छोरी र आफ्नो नाममा संयुक्त राखें ।

२०६४ सालमा छोरीको विवाह भयो । त्यसपछि त झन् छोरा–बुहारीले बाँकी जिउनी लेखिदेऊ नत्र मार्छौं भन्दै अनेक तरहले यातना दिने क्रम जारी रह्यो । त्यही भएर मलाई टाउकाको अपरेशनसम्म गर्नुप¥यो । २०६८ सालमा विवाहिता छोरीलाई हाम्रो सुरक्षाका निम्ति माइतीमा राख्न बाध्य हुनुप¥यो । छोरीको आफ्नै घर छ (बानेश्वर, न्यूरोड, ओमबहालमा), परिवार छ, पेशा (डाक्टरी) छ, आफ्नै काम गर्छे, आफैं खान्छे, बुबाआमालाई पाल्छे तर किन समाजले मेरो दिनचर्यामाथि हस्तक्षेप गर्छ ? २०७२ सालको महाभूकम्पमा त झन् छोरा, बुहारी, नाति, नातिनीहरु हामी बाजेबज्यैलाई ‘तिमीहरु मरे मर, हामीलाई आफ्नो ज्यान प्यारो छ’ भन्दै भागे । त्यतिबेलादेखि अहिलेसम्म हामीलाई छोरीले पूर्ण समय दिएर हेरिरहेकी छ ।

यसरी बस्दा समाजले, छोरीका दाजु–भाउजू, भदाभदैले सम्पत्ति खान अनि घर बिगार्न बसी, यो आएर हाम्रो घर बिग्रियो, यसले आमा–बुबालाई टुनामुना लगाई, यो कलंकिनी हो, कूल नाश गर्न जन्मेको कलंकको टिका हो, अछुत हो, शूद्र हो, काम नलाग्ने मान्छे हो, राक्षस्नी हो भनेर अनेक आरोप लगाइरहेका छन् । आरोप मात्र नभएर हातपात नै गरेकाले २०७२ असार १८, २०७२ कात्तिक ६, २०७३ भदौ २५ गते जनसेवा चौकीमा न्याय माग्न गयौं । तर, घर–व्यवहारमा सकभर मिलेर बसेको राम्रो भन्दै प्रहरीले मिलापत्र गरायो । प्रहरीमा मेलमिलाप गर्ने, प्रहरीअगाडि पर्नेबित्तिकै रुने, विवाह गरेर गएकी छोरीलाई बूढाबूढीले घरमा राखे, हामीलाई केही दिएनन्, घर बनाइदिएनन्, ज्वाईं अंगालेर चार छोराहरुलाई निकाले भन्छन् । बाहिरबाट हेर्दा उनीहरुको भनाइ सही होला तर भित्रको कथा कसलाई के थाहा ?

प्रहरीलाई उजुर गर्दागर्दै पनि केही निकास नपाएपछि अदालतमा ‘घरेलु हिंसा’ को मुद्दा दर्ता गरें । त्यसमा पनि छोराहरुले जिते । किन त भन्दा हामीले उजुर गरेको अलि ढिला भयो रे, घरेलु हिंसा अंशबण्डा भइसकेका छोराहरुले गर्दैनन् रे ! छोरीलाई साहै्र आरोप लगाएकाले ‘अंश मुद्दा’ दर्ता गर्न लगाएँ । उसलाई केही दिएको छैन र उसले केही लिएको छैन भनेर देखाउनका लागि तर पितृसत्तात्मक सोच भएको समाजमा उसले मुद्दा जित्ने कुरै आएन । यी दुई मुद्दा पुनरावेदन जाने तरखरमा छन् ।

यसैबीच अर्को एउटा कुरा निस्कियो सहकारीको । मेरो खाता मुद्दती, रसिद मेरै । सही भएको मुद्दती फारमको फोटोकपी पनि छ तर म्याद सकिएपछि निकाल्न जाँदा रोक्छ सहकारीले । ‘तपाईंको छोराले रोकेको छ, मुद्दती फारमको फोटोकपीमा उनको हस्ताक्षर छ । तपाईंलाई त्यो पैसा दिन मिल्दैन भनेर अध्यक्षज्यू ‘जनम लामा’ भन्नुहुन्छ । मैले फर्म भर्दा लिएको फोटोकपिमा मेरै हस्ताक्षर छ भनेर देखाएँ तर अध्यक्षज्यू भन्नुहुन्छ, ‘हाम्रो अफिसमा तपाईंको छोराको हस्ताक्षर भएको फर्म छ, उसले रोकेको छ, दिन मिल्दैन, अदालत जानुस् । टिपेक्स लगाएर नक्कली हस्ताक्षर गर्ने ?’ मैले भनें, ‘मेरो खातामा मबाहेक अर्काको सही हुनु सक्कली, मेरो खातामा आफ्नो सही हुनु नक्कली ?’ त्यसपछि अध्यक्षज्यू बोल्न सक्नुभएन । यसरी म सहकारी डिभिजन कार्यालय, सहकारी विभाग र टेकु परिसर पुगें । आफ्नै पैसा निकाल्न मलाई गाह्रो भयो ।

मैले २०४६ सालमा महादेव स्थापना गरेदेखि नै भण्डारा गरिरहेको छु । सो पूजामा हरेक वर्ष ब्राह्मण भोजन, रुद्री, ध्यान, धर्म, भजनकिर्तन गरिरहेको छु । पूजाका लागि पैसाको आवश्यकता थियो । ‘ब्रिटिश गोरखाली सहकारी’ मा १० लाख राखेको, मलाई दिएनन् । त्यही भएर श्रीमतीले जम्मा गरिराखेको २७ लाख म्याद नपुग्दै मुद्दती खाताबाट निकाल्ने अवस्था आइप¥यो । एकातिर पूजा, अर्कोतिर कागज बदलिएको प्रमाण भएपछि सो सहकारीमा पैसा राख्ने कुरै आएन । त्यही भएर श्रीमतीको खाता बन्द गरेर पैसा निकाल्नुपर्ने अवस्था आयो । बूढी मान्छे, जो ज्येष्ठ नागरिक हुनुहुन्छ, उहाँको ६ लाख पैसा काटेर २१ लाख मात्रै दियो सहकारीले । बूढाबूढी मान्छेले ब्याज अलिकति पाउने आशामा आफ्नै घरमा बसेको सहकारीले ठग्दैन कि भन्ने हिसाबले पैसा जम्मा गरेको तर ‘ब्रिटिश गोर्खाली सेभिङ्स एण्ड कोअपरेटिभले ब्याज त के मेरो १० लाख रकम र श्रीमती बिजेश्वरी तण्डुकारको ६ लाख साँवा रकम नै फिर्ता गरेको छैन ।

मेरो १० लाख बचत छोराले रोक्यो । उल्टो छोरीले रु. २७,००,००० लाख जम्मा गरिदिई । एकातिर छोरा र छोरीमा भेदभाव छैन भन्ने तर किन भयो यस्तो भेदभाव ? बुहारीले सासू–ससुरालाई कुटे पनि समाजमा मान्य हुन्छ तर त्यही समाजमा छोराको बहिनी, जसको विवाह भइसकेको छ, जसलाई छोरी कहलाइन्छ, उसले आफ्नै बुबा–आमालाई बुहारीको कुटाइबाट बचाउँदा समाजले औंला उठाउने ? न्युरोड जस्तो ठाउँमा डाक्टरजस्तो मान्छेलाई यस्तो गर्छन् भने विपन्न गाउँमा के हुन्छ होला छोरीचेलीमाथि !

– कृष्णभाइ तण्डुकार, हार्मोनियम माइलाको परिवार, न्युरोड


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top