नियतिद्वारा ठगिएकी ती नारी


Saturday, 12 May, 2018 9:30 AM

राजेन्द्र स्थापित

भंबोर वर्तमान पाकिस्तानको सिन्ध राज्यमा पर्छ । इशापूर्व ६ सयदेखि ८ सयमा यो नगर निर्माण गरिएको मानिन्छ । कराँची शहरको ६५ किमीपूर्वमा छ । भंबोर बन्दरगाह युनेस्कोको विश्वसम्पदा सूचीमा छ । सन् ७११ मा अरबी जर्नेल मोहम्मद बिन कासिमले जित्नु अघिसम्म यहाँ हिन्दु राजाले राज्य गर्थे । अन्तिम हिन्दु राजा दहिर थिए, जो युद्धमा कासिमबाट पराजित भए ।

भंबोरका एक राजा लामो समयसम्म निसन्तान रहे । सन्तानप्राप्ति हेतु धेरै पूजापाठ गरे र बल्ल रानी गर्भवती भइन् । परम्पराअनुरुप राजाले रानीको गर्भमा हुर्केको बच्चाको भविष्य जान्न बोलाउँदा ज्योतिषीले भने, ‘रानीको कोखबाट कन्याको जन्म हुनेछ, उसले मुसलमानसँग बिहे गर्नेछ ।’

अब छट्पटी शुरु भयो । कुनै हालतमा छोरीको बिहे मुसलमानसँग गर्न तयार भएनन् । ज्योतिषीको भविष्यवाणी सत्य निस्कियो । रानीले एक सुन्दर पुत्रीलाई जन्म दिइन् । राजाले पुत्रीलाई मार्न चाहे तर पछि मन बदले । बालिकाको गर्धनमा एउटा जन्तर पहिराइदिए । अनि एउटा सन्दुकभित्र राखेर सन्दुक हिरा–जवाहरातले भर्न लगाए । त्यसपछि सन्दुक बन्द गर्न लगाए र नदीमा बगाइदिए । संयोगले शाही धोबीले पानीमा सन्दुक बग्दै गरेको देखे । पानीमा हाम्फालेर सन्दुक निकाले । भित्र एक सुन्दर कन्या र असंख्य हिरा–जवाहरात देखे । उनी निसन्तान थिए । सन्दुक काँधमा बोकेर घरतर्फ लागे । धोबिनी पनि बालिका देखेर दंग परिन् । धेरै अन्तरालपछि धोबिनीले छोरी जन्माएको समाचार फैलियो । हिरा–जवाहरात त पाएकै थियो । धोबीले कन्याको नाउँ राखे सस्सी (आशाकी राजकुमारी) ।

सस्सीले यौवनावस्थामा पाइला टेक्नेबित्तिकै उनको सुन्दरताको चर्चा चारै दिशामा फैलियो । राजा निसन्तान थिए त्यसैले सन्तानप्राप्तिका निम्ति सस्सीलाई दरबार ल्याउने मन बनाए । धोबी, धोबिनी र सस्सीलाई बोलाए । एकान्तको फाइदा उठाउँदै भने, ‘म तिमीलाई रानी बनाउन चाहन्छु ।’ सस्सीले आफू धोबिनी भएकाले रानी बन्ने सपना नदेखेको जवाफ दिइन् र फनक्क फर्केर राजालाई नियालिन् । राजाले सस्सीको गर्धनमा झुण्डिएको जन्तर देखे र १८ वर्षपहिलाको घटना सम्झे । रानीलाई सबै कुरा बताए । रानीको मनमा मातृत्वको भावना पैदा भयो । उनले धोबीलाई सबै घटना सुनाएर सस्सीलाई दरबारमै राखी राजकुमारीसरह पालनपोषण गर्न चाहेको बताइन् तर सस्सी दरबारमा बस्न मानिनन् । धोबीकै घर फर्किइन् ।

सस्सीको सुन्दरताको चर्चा छिमेकी राज्य बलुचिस्तानसम्म फैलियो । त्यहाँका राजकुमार मिर पुन्नु खाँ सस्सीलाई हेर्न लालायित बने । पन्नु राजा मिर जलाल खाँका छोरा थिए । जलाल राजा हारुन खाँका पुत्र र राजा सुलेमन खाँका नाती थिए । पन्नु सस्सीलाई हेर्न भेष बदलेर भंबोर पुगे । उनी व्यापारीको भेषमा थिए । संयोगले सस्सी पुन्नुसँग सामान किन्न पुगिन् । पहिलो हेराइमै सस्सीलाई मन पराए । सस्सी पनि उनको आकर्षक व्यक्तित्वबाट मोहित बनिन् । पुन्नुले सस्सीका आमा–बुवा (धोबी–धोबिनी) सित भेटे । धोबीसमक्ष सिधै ‘म तिम्री छोरीसँग बिहे गर्न चाहन्छु’ भनी प्रस्ताव राखे । तर, धोबीले आफ्नी छोरीको बिहे धोबी समुदायभित्रै गर्न चाहेको बताए । सस्सीलाई जसरी पनि पत्नी बनाउन उद्यत पुन्नुले ‘आफू पनि धोबी’ नै भएको झूठो कुरा सुनाए । धोबीले परीक्षा लिने शर्त तेस्र्याए र भोलिपल्ट नदी किनारमा लगे । लुगा धुन लगाए तर कहिल्यै लुगा नधोएका राजकुमार परीक्षामा असफल भए । त्यसपछि धोबीले सस्सी दिन अस्वीकार गरे । निराश पन्नुले आफूले धुँदा च्यातिएको सबै लुगाको खल्तीमा एउटा–एउटा सुनको मुद्रा हालिदिए ताकि कोही पनि दुःखी नहुन् । धोबीले पुन्नुको यो तिकडम साह्रै मन पराए र छोरीको बिहे गराइदिन तयार भए । बिहेपछि सस्सी र पुन्नुको प्रेम झाँगियो । दुवैले एक–अर्कालाई गरेको प्रेम त्यस नगरका लागि उदाहरणीय नै बन्यो ।

उता पुन्नु एकाएक हराएपछि राजमाताको मन विचलित बन्यो । छोरालाई सम्झेर रुन, बेहोस हुन थालिन् । पुन्नुका दाजुभाइ पनि एउटी धोबिनीसित गरेको बिहेबाट रुष्ट थिए । उनीहरु पुन्नुलाई जसरी पनि बलुचिस्तान फर्काउने भनी आमालाई आश्वासन दिएर भंबोरतर्फ रवाना भए । खोजखबर लिँदै धोबीको घर पुगे । पुन्नुको विरोधका बाबजुद सस्सीले लोग्नेका दाजुभाइको भव्य स्वागत गरिन् । भोज ख्वाइन् । भोजमा रक्सीको छेलोखेलो भयो । दाजुभाइले पुन्नुलाई अत्यधिक रक्सी सेवन गर्न दिए । रक्सीमा बेहोस हुने औषधि मिसाएर पिलाए । सबै बेहोस भएको मौका छोपेर पुन्नुलाई उँटमा बसाले र कच्छ (बलुचिस्तान) तर्फ भागे ।

बिहान सबैले पुन्नुलाई दाजुभाइले भगाएर लगेको थाहा पाए । सस्सी रुन, कराउन थालिन् र विक्षिप्त हुँदै उँटको पदचाप पछ्याएर दौडन थालिन् । सिन्धको भूमि कटेपछि मरुभूमिमा पुगिन् । मरुभूमिमा उँटको पदचाप पछ्याउँदै दौडिँदै गर्दा आँधी आयो र सबै पदचाप मेटाइदियो । तैपनि दौडिने क्रम रोकिनन् । अन्दाजको भरमा यता र उता दौडन थालिन् । प्यास लाग्यो तर कतै पानीको नामोनिशान थिएन । यसबीच मेहदी (ससाना लाम्चा पात, साना फूल र साना राता गेडा फल्ने बोट) को झाडी देखिन् । नजिक पुग्नेबित्तिकै खाल्डोमा खसिन् । पानी बगिरहेको देखेर प्यास बुझाइन् । सस्सी पुनः हिँडिन् । एकजना गोठालोसँग भेटेर सबै वृत्तान्त सुनाइन् । गोठालोले पुन्नुकोमा पु¥याइदिन्छु भनेर धोबीको घरमा पु¥याइदिए । सस्सी त्यहाँ बस्न मानिनन् र फेरि मरुभूमितर्फ जाने जिद्दी कस्न थालिन् । धोबिनीले मरुभूमिको जीवन अत्यन्त कष्टकर हुने भएकाले नजान सल्लाह दिइन् । बदलामा सस्सीले गीत गाएर यसो भनिन्,
माए ! सब्र मुसिबतें न बता मुझे,
माए ! रेगिस्तानमें वो आग कहाँ
जो आग दिन–रात जलाये मुझे ।

पन्नु पनि सस्सीको बिछोडमा पागलजस्तो भइसकेका थिए । घरबार त्यागेर भंबोरतर्फ दौडे । मरुभूमिमा उनको भेट तिनै गोठालोसित भयो । गोठालोले सस्सीको लाश गाडिएको स्थानतर्फ पुन्नुलाई लगे । हावाले लाश गाडिएको स्थान पनि पुरिसकेको थियो । पुन्नु सस्सी–सस्सी भन्दै विलाप गर्न थाले । सस्सीलाई गाडिएको स्थानमा आफ्नो टाउको बजार्न थाले । उनी त्यहाँबाट हट्न नै मानेनन् । खाद्यान्न र पानीको अभावमा उनले पनि त्यहीँ दम तोडे ।

दान र दण्ड दिनहुँ
भारतमा तुगलक वंशको स्थापना गयासुद्दीनले गरेका हुन् । सन् १३२५ मा उनको निधनपछि जेठा छोरा मोहम्मद बिन तुगलक गद्दीमा बसे । दुई वर्षपछि सन् १३२७ मा राजधानीलाई दिल्लीबाट दौलतावाद (यो स्थान महाराष्ट्रमा पर्छ) सार्ने निर्णय लिए । तुगलक वंशको शासनकालभरि मंगोलहरुको भय रहिरह्यो । मोहम्मदले मात्र २२ पटक विद्रोहको सामना गरे । मंगोलहरुको आक्रमणको सामना गरे । दिल्ली मंगोलहरुको आक्रमणलाई लागि सहज भएको दलिलसहित उनले राजधानी सार्ने निर्णय गरेका थिए । दौलतावाद दिल्लीभन्दा ६ सय माइल टाढाको शहर हो । सन्काहा स्वभावका उनले आफ्नो निर्णयमा साथ दिन दिल्लीवासीलाई बाध्य पारे । यहाँसम्म कि अन्धा र अपांग भनेनन् । बिराला र कुकुर पनि भनेनन् । ६० हजार  जनतालाई ओछ्यान र अत्यावश्यक सामान बोकाएर दौलतावादसम्म पैदल हिँड्न विवश पारे । गल्तीले पनि दिल्लीमा कोही बाँकी नहोउन् भन्ने खातिर शहर छाड्नुपूर्व सम्पूर्ण घरमा आगो लगाए । ४० दिन लामो यात्राको क्रममा हजारौंको ज्यान, भोकप्यास र थकाइबाट गयो । अचम्मको कुरा के भने ठीक १५ वर्षपछि उनले फेरि राजधानी दौलतावादबाट दिल्ली नै सारे । पहिला जसरी नै सबै प्रजालाई दिल्लीतर्फ हिँड्न लगाए ।

इतिहासमा पागल बादशाह कहलिएका मोहम्मद दुईवटा कुराले मसहुर थिए । त्यस्तो कुनै दिन हुन्नथ्यो गरिबलाई दान दिएर धनी नबनाइदिएको । दोस्रो कसै न कसैलाई सजायस्वरुप मार्न नलगाएको दिन पनि हुन्नथ्यो । एकदिन इतिहासकार इब्ने बत्तुता घोडा चढेर दरबारतर्फ गइरहेका थिए । अचानक घोडा तर्सेर उफ्रिन थाल्यो । दरबारको ढोकैमा एकजनाको शव तीन टुक्रावरपर छरिएको अवस्थामा थियो । मोहम्मद दिनहुँ एक न एकजनालाई दण्ड दिन्थे । यस्तो यातना दिइन्थ्यो कि आरोपी निर्दोष भए पनि अमानवीय यातनाबाट बच्न अपराध सकार्थे । आखिर स्वीकार नगरे पनि यातना दिएर भए पनि अपराध त स्वीकार्न लगाउँथे नै ।

एकपटक उनलाई सौतेनी भाइ मसउद खाँ उनीविरुद्ध विद्रोह गर्दैछन् भन्ने लाग्यो । यथार्थमा मसउदको त्यस्तो केही योजना थिएन । उनले मसउदलाई बोलाएर सोधपुछ गरे । मसउदलाई मोहम्मदले दिने यातनाबारे पूर्ण जानकारी थियो, त्यसैले यातना भोग्नुपर्ने डरमा आरोप स्वीकारे । मोहम्मदले सडकको चौबाटोमा मसउदको टाउको काटी नियमानुसार लाशलाई तीन दिनसम्म त्यहाँ राखिराख्न लगाए । यसरी नै दुई वर्षपहिला पनि मसउदकी आमा फिरोजालाई सोही स्थानमा ढुंगाले हानेर मार्न लगाएका थिए । फिरोजा सन् १२९६ देखि १३१६ सम्म दिल्लीमा शासन गरेका अलाउद्दीन खिलजीकी छोरी हुन् । अलाउद्दीन अलेक्ज्याण्डर महान्जस्तै विश्वविजेता बन्न चाहन्थे ।

दण्ड दिने मामिलामा मोहम्मद ठूलो–सानो केही भन्दैनथे । सरकारी अधिकृत हुन् वा धार्मिक मुल्ला, मौलबी वा हिन्दु सन्त, फकिर, हिन्दु होउन् वा मुसलमान । शेख सिहाबुद्दीन प्रतिष्ठित सन्त थिए । पूर्व सुल्तानद्वय कुतुबुद्दीन र गयासुद्दीन उनीकहाँ आशीर्वाद लिन जान्थे । मोहम्मद चाहन्थे शेख उनको दरबारिया अधिकृत बनुन् तर फकिर शेखले प्रस्ताव मानेनन् । मोहम्मदलाई रिस उठ्यो, उनले शेखको दाह्री तानेर झार्ने आदेश अर्का सन्त शेख जियाउद्दीन सिमनानीलाई दिए । जियाउद्दीन त्यसो गर्न तयार भएनन् । मोहम्मदले दुवै सन्तको दाह्री खुइल्याउन आदेश दिए । दरबारियाहरुले राजाको आदेश पालना गरी आ–आफ्नो ज्यान जोगाए । त्यसैगरी एकैपटक मलिक युसुफ बगरालाई सेनाको एउटा ठूलो फौज दिल्लीबाहिर लान आदेश दिए । युसुफ सेना लिएर हिँडे तर ३ सय ५० जना सैनिक तत्काल युसुफसँग हिँड्न सकेनन् । मोहम्मदले ती सबैलाई दरबारमा उभ्याएर एकैपटक मार्न लगाए । २६ वर्ष शासन गरेका उनको निधन सन् १३५१ मा सिन्ध प्रान्तमा भयो ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top