​जो एक्लै छ, त्यो सिद्धिन्छ


Friday, 20 Apr, 2018 12:20 PM

  • आनन्दराम पौडेल

संगठित दादागिरी फेरि शुरु भएको छ । यातायात व्यवसायी संघले देशै ठप्प पारिदिन्छु भनेर घोषणा गरेको छ । यो भनेको सिस्टमविरुद्ध मात्र होइन, जनता र सिंगै राष्ट्रविरुद्ध धावा बोलेको हो भनेर बुझ्नुपर्छ । उनीहरूले ऐन, कानुनको धज्जी उडाएर सिन्डिकेटको एकछत्र राज चलाउन पाउनुपर्ने, राज्य निरीह बनिदिनुपर्ने र जनताले चुपचाप सहिदिनुपर्ने, यो मध्ययुगीन बर्बरताको स्थितिमा ल्याउन खोजिँदै छ । 

संगठित दादागिरीको अर्को पाटो पनि छ । संगठित दादागिरी चल्नुमा उनीहरू मात्र दोषी छैनन् । राज्यको शीर्षस्थ, निर्णायक स्थानमा रहेका उच्च पदाधिकारी र नेताको सपोर्ट पनि त्यत्तिकै छ । यातायात व्यवसायीको यो दादागिरीलाई अघिल्लो सरकारले पनि तोडिसकेको थियो । त्यहीबेलामा शक्ति बस्नेत गृहमन्त्री भएर आए । यातायात व्यवसायीको सिन्डिकेटलाई पुनर्जीवन दिन र पुनःस्थापित गर्न उनी आफैं अग्रसर भए । र, आर्यघाटमा पुगिसकेको सिन्डिकेटलाई पुनःस्थापित मात्र गरेनन्, झन् जब्बर बनाइदिए । 

नेपालमा संगठित दादागिरीलाई प्राणप्रतिष्ठा हाल्ने, संरक्षण गर्ने र मलजल गर्ने काम गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद सिटौलाले गरे । ०६३ सालपछि उनीहरूकै सक्रियतामा संगठित दादागिरीलाई राज्यले अनुमोदन गर्न थाल्यो । तराईमा र पूर्वीपहाडमा समेत खुंखार अपराधी र गुन्डाहरूले आपराधिक क्रियाकलाप तीव्र पार्थे । सरकारले चाहिँ तिनीहरूलाई राजनीतिक आवरण दिएर भेटघाट गथ्र्याे । त्यो संगठित गिरोहका साथी जेल परेको रहेछ भने छुटाइदिन्थे, मुद्दा फिर्ता लिइदिन्थे । हुँदो÷नहुँदो सबै माग पूरा गरिदिन्थे । उनीहरूको मनोबल बढाइदिन कुनै कसर बाँकी राख्दैनथे । ती दिनमा संगठित भएर हुलदंगा र ढुंगामुढा गर्दै आउनेजति सबैलाई राज्यले स्वागतसत्कार गथ्र्याे भने अर्कोतर राज्यले गर्नै पर्ने कर्तव्यको ध्यानाकर्षण गराउन कुनै सज्जन आयोभने त्यसलाई दुत्कार्थे र अपमानित गर्थे । संगठित अपराधीको गिरोहतिर राज्य ढल्केको थियो र सज्जनहरूलाई लात हानिरहेको स्थिति थियो । 

सबै रोगको औषधि हिमालय तेल भनेझैं के त अब जेमा पनि हिंसाकै प्रयोग गर्ने हो ? सरकारका व्यवहार र सरकारी मनोविज्ञानले त त्यही भन्छ । जसले बढी हिंसा प्रयोग गर्न सक्छ सरकारले त्यसैको कुरा सुन्छ । निमुखा भुइँमान्छेहरू, जसलाई न आफ्नो हकअधिकारकै विषयमा ज्ञान छ, न त संगठित हुन सक्छन्, न त हिंसाकै प्रयोग गर्छन् । जब सरकारले नै हाक्काहाक्की हुलहुज्जत र ढुंगामुढालाई स्वीकार र असंगठित आवाजलाई अस्वीकार गर्छ, तब पिल्सिएर बसेका सीमान्तकृत वर्गको मझेरीमा घाम लाग्दैन भनेर बुझे हुन्छ । केही वर्षअघि मेरो जिल्लाबाट आएको डेलिगेसनले सिंहदरबारबाट फर्केपछि भनेको सम्झना छ । उनीहरूले भनेका थिए, ‘गृह मन्त्रालयमा साइनबोर्ड विजय गच्छदारको छ तर मन्त्रालय गणेश लामाले चलाइरहेछन् कि विजय गच्छदारले, छुट्याउन नसकेर मान्छे अलमलमा पर्दारहेछन् ।’

चर्चित व्यक्तिका हत्या हुँदा जनदबाबलाई पर्गेल्न सरकारले न्यायिक आयोग बनाइटोपल्ने गरेको छ । त्यस्ता आयोग अनगिन्ती बने । तर, ती आयोगका प्रतिवेदनका पानासम्म कसैले पल्टाएन । हरिप्रसाद शर्मा आयोगले प्रतिवेदनमा यस्तो लेखेको थियो, ‘शान्तिसुरक्षा र व्यवस्थाको चर्को नारा घन्काउनेहरू नै अपराधीको संरक्षक, अभिभावक र पृष्ठपोषक हुनु दुर्भाग्य हो । उच्चस्तरका राजनीतिक व्यक्तिले नै अपराधी पाल्ने, संरक्षण गर्ने र अभिन्न मित्र बनाउने कार्य गर्छन् भने शान्तिव्यवस्था कायम हुन सक्दैन । हिंसाको माध्यमबाट आएको अभिव्यक्तिलाई सरकारले मान्यता दिने मात्र होइन, विशिष्ट व्यवहार गर्ने भएपछि सबैले विस्तारै हिंसालाई रोज्न थाल्छन् । ७ वर्षअघि हाम्रा मित्रहरू डडेल्धुरा पुगेका थिए । डडेलधुरा, आलिताल गाविसस्थित स्यालचौडी माविमा बैठक बसिरहेको थियो । माओवादीका तत्कालीन सभासद् हरिलाल थापा बैठककक्षमा प्रवेश गरे र आउनासाथ प्रअ महादेव भट्टमाथि लात्तीमुंग्री बजार्न थाले । सर्वथा अयोग्य व्यक्तिलाई नियुक्ति गर्न दिएको दबाबलाई इन्कार गरेको कारणले गर्दा भट्टजीले त्यो आक्रोशको सिकार हुनुपरेको थियो । त्यत्रा मान्छेका सामुन्ने एक जना निर्दोष व्यक्तिलाई निर्घात चुटिरहेछन् तर रामबहादुर कुँवरबाहेक कसैले बीचबचाउ गरेन । बैठक कक्षमै पसेर हरिलाल थापाले हेडसरलाई निर्घात चुट्नु घीनलाग्दो हो भने, त्यहाँ उपस्थित समूह चुपचाप हेरेर बस्यो त्योचाहिँ भयावह स्थिति हो । यिनै हरिलाल थापाले एउटा आमभेलामा दुर्गा उच्च माविका प्रअ प्रताप धामीलाई देखे । देख्नासाथ, ‘राजीनामा गर्छस् कि तँलाई जिउँदै जलाइदिऊँ’ भनेर झम्टिहाले । 

दुष्टहरूको दुष्टताले यो संसार जति बिग्रिएको छ, त्योभन्दा हजारौं गुना बढी सज्जन भनाउँदाहरूको निष्क्रियताले बर्बाद भएको छ । लाग्छ, नेपालीमा प्रतिरोधचेत निख्रिसकेको छ । हिजो उद्योग व्यवसायीलाई आक्रमण हुँदा अरू बोलेन । तिनीहरूलाई मात्रै गरेका हुन्, हामी किन बोल्ने भने । हिजो शिक्षा क्षेत्रमा आक्रमण हुँदा अरूले मतलव गरेनन् । भोलि अर्को क्षेत्रमा आक्रमण हुँदा पनि कोही बोल्ने छैनन् । उनीहरू छानीछानी आक्रमण गरिरहनेछन्, हामी सिकार भइरहनेछौं । सूर्य टोबाकोका म्यानेजर रवि केसीले भनेअनुसार नै शरद दुलाल, शालिकराम जम्मरकट्टेलहरूको हालिमुहाली चलिरहनेछ र बद्री बजगाईंहरू सकिनेछन् । 

जब मुख्य स्रोत र मुहान नै रचनात्मक र सिर्जनात्मक नभएर सर्वनाशी छ भने त्यसबाट निसृत प्रवाह अमृतधारा होला भनेर अपेक्षा राख्नु मूर्खतासिवाय केही होइन । हरेक पार्टीमा शीर्षस्थ नेता यो दुनियाँमा केवल मै मात्र सही छु भन्ने देखाउन अरूलाई सिध्याउने एक सूत्रीय अभियानमा छन् । यो सरासर फाँसीवाद नै हो । यो फाँसीवादको नेपाली संस्करण हो । आफैंलाई मात्र ठीक ठान्ने, आफैंले भनेको हुनुपर्ने, असहमतिलाई निषेध मात्र होइन दमनै गर्ने र जबर्जस्ती गर्ने सोच, चरित्र, व्यवहार र कर्म नै फाँसीवादको मूलभूत प्रवृत्ति हो । यो प्रवृत्ति हिटलर र मुसोलिनीको तानाशाही व्यवहारमा मात्र सीमित छैन, झन्–झन् जरा हाल्दै र फैलिँदै गएको छ, केवल यसको अनुहार र शैली मात्र फेरिएको छ । हिटलर र मुसोलिनीको फाँसीवाद त बरु घोषित थियो । जो घोषणा गरेर सामुन्ने आउँछ र घोषणाअनुसारकै कर्म गर्छ भने त्यससँगको व्यवहार कठिन होला तर जटिलचाहिँ हुँदैन । उसले के गर्दै छ भन्ने पत्तो भएपछि आफूले के गर्नुपर्ला भनेर सोच्न सहज हुन्छ । क्रूरता, निर्दयता र कठोरतामा आनन्द लिने (स्याडिस्ट) प्रवृत्ति अरूलाई पूर्ण नियन्त्रणमा राख्ने अनुराग हो भनेर एरिक फोमले चिन्ता गरे पनि र एउटा मान्छेको चाहनाअनुसार नै अरू सबैले चल्नुपर्छ भन्ने सोच जत्तिको भयावह अरू केही हुँदैन भनेर दार्शनिक इमानुएल काण्टले कराए पनि आफूलाई विकसित भनेर दाबी गर्ने आजको मान्छे झन् आत्मकेन्द्रित हुँदै गएको छ । 

२१औं शताब्दी जनताका लागि हुनुपर्छ भन्ने उद्देश्य प्राप्तिका लागि गठन भएको ‘पिपुल्स प्लान एन्ड सेन्चुरी-२१पिपि (२१)’ को सन् १९९५ फागुन २५गते काठमाडौंमा भएको मुख्य सम्मेलनमा गणेशमान सिंहले भन्नुभएको थियो, ‘मानवताविरोधी प्रवृत्तिलाई बारम्बार धरासयी पा¥यौं भने पनि तिनीहरूले आफ्नो नाम, चाल र अनुहार बदलेर पुनः हामीसामु आइरहेका छन् । आज मानवीय शोषणका रूप फेरिएका छन्, अन्यायका अनुहार बदलिएका छन्, दासताका बन्धन रूपान्तरित भएका छन्, क्रूरताले नयाँ मुखुण्डो लगाएको छ र साम्राज्यवाद तथा अधिनायकवादले नौला भावभंगीमाका साथ नयाँ–नयाँ क्षेत्रमा आफ्नो पञ्जा पसारेको छ ।’ गणेशमान सिंहको यो कथन उहाँको आफ्नै पीडाको अभिव्यक्ति पनि हुन सक्छ । राणा शासनविरुद्ध र पञ्चायती शासनविरुद्ध लडेर नथाकेका गणेशमान आफैंले ल्याएको बहुदलकालमा आफ्नै पार्टीका सहकर्मी गिरिजाप्रसाद कोइरालाको चक्रब्यूह तोड्न नसकेर अभिमन्यु बन्न पुग्नुभएको थियो । पिपी–२१मा उहाँले भन्नुभयो, ‘मानवीय अस्मितालाई आहत पार्ने र मानवतालाई कलंकित पार्ने दानवी दुष्प्रवृत्तिले हाम्रो चेतना र विवेकलाई बारम्बार चुनौती दिइरहेछन्, जसलाई सधैंका लागि परास्त गर्न त्यति सजिलो छैन ।’ गणेशमान सिंह त बित्नुभो, तर उहाँले दिनुभएको चेतावनी आज हाम्रो आकाशमाथि घना कालो बादल भएर मडारिइरहेछ । 

लाखौं वर्षदेखिको मानवीय इतिहासमा एउटा स्वतन्त्र मान्छे आजको यो कालखण्डमा जति एक्लो, निरीह र बबुरो कहिल्यै थिएन । आज नेपालमा जो जति बचेका छन्, तिनीहरू मारिन, अपहृत हुन र धम्क्याउन आवश्यक नठानिएकाले मात्र बचेका हुन् । ४०–५० वर्ष अघिसम्म समाज थियो, समाजको सशक्त उपस्थिति थियो र सक्रिय तथा प्रभावकारी भूमिका थियो । आज शहरमा समाज छैन । गाउँघरमा समाज कतै भेटिए पनि अत्यन्तै निम्छरो र प्रभावहीन छ । एउटा सामान्य नेपालीका लागि एकातिर समाज छैन, अर्कोतिर ‘देश आफ्नो, राज्य पराइ’ को अवस्था छ । सरकार कतै छ भने पनि भ्रष्टाचार गर्न र अपराधीलाई संरक्षण गर्नका लागि मात्रै छ । हिजोका मूल्य निख्रिएका छन्, नयाँ मूल्यले प्रवेश पाएको छैन र आस्थामा धमिरा लाग्दै गएको छ । यो कोलाहलमा एउटा एक्लो नेपाली टेक्ने, समाउने र आड लिने ठाउँ नपाएर छट्पटिरहेको छ । अब प्रत्येक नेपालीले सोचे हुन्छ, जो संगठित छैन, समूहमा छैन र एक्लाएक्लै छन् तिनीहरू सिद्धिन्छन् । 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top