​घोक्र्याउने काम, मिल्ला र आराम ?


Thursday, 12 Apr, 2018 3:04 PM

  • विदुर खड्का

विचार, नीति र कार्यदिशाबारे स्पष्ट र घनीभूत बहस गरेर स्पष्ट नभईकन कम्युनिस्ट पार्टीका कुनै पनि नेता–कार्यकर्ता आन्दोलनमा सितिमिति होमिँदैनन्, होमिनु हँुदैन । वामपन्थीहरू कार्यान्वयनभन्दा पहिला योजना र योजनापहिला घनीभूत बहसको पक्षधर हुन्छन् । 

४०औं वर्ष सशक्त गृहयुद्ध गरेर शान्तिप्रक्रियामा आएको कोलम्बियाको फार्क विद्रोहीले चुनावमा जम्मा एक प्रतिशत मत पनि कटाउन नसकेको परिप्रेक्षमा  माओवादीले ०६४ सालमा झन्डै बहुमत ल्यायो । तर आज परिस्थिति उल्टो छ । जनताले नेपालमा एकपटक प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय सरकार हेर्न चाहेका छन् । यसमा एमालेको अवरोध कायमै छ । मधेस र जनजातिलाई हेर्ने दृष्टिकोणमा एमालेको नजर कडै छ । नेपालमा वामएकता र एउटै मात्र कम्युनिस्ट पार्टी हुनुपर्छ भन्ने स्वच्छन्द भावनासाथ अघि बढेको माओवादीलाई भरखरैको चुनावी परिणामसँग दाँज्दै सानो पार्टी भएकाले घोक्र्याएर मात्रै एकता गर्नुपर्छ भन्ने तुच्छ भावना पाल्नु कदापि राजनीतिक चरित्र हुन सक्दैन । माओवादी अन्तर्राष्ट्रिय अदालतमा उभिनुपर्छ भन्ने भयले, पार्टी सकिन्छ भन्ने डरले एमालेजस्तो ठूलो र दह्रो संगठन आधार भएको दलसँग जसरी पनि एकता गर्न लालायित भएको भन्ने गरिएको पाइन्छ । यो मनोरोग नेपालमा अभूतपूर्व रूपमा हुन लागेको वामएकताका लागि मात्रै नभएर एमाले आफ्नै भविष्यका लागि समेत घातक सिद्ध हुनेछ ।

०५० सालदेखि ०७२ सालको संविधान निर्माण प्रक्रिया र अहिलेसम्म पनि एमालेको चरित्र सन्देहपूर्ण र भूमिका अकर्मण्यतामै सीमित भएका कारण वर्तमान परिवर्तन जबजका कारण भएको भ्रम पाल्नु जगहँसाइसिवाय केही होइन । यसरी एमाले नेताले आफैंलाई समेत गुमराहमा राखेर गरेको राजनीतिले वाम एकतालाई दीर्घजीवन देला भनेर विश्वास गर्ने आधार रहँदैन । 

पार्टी एकता प्रक्रिया अघि बढिरहेको र त्यसका लागि साझा विधान, दस्ताबेज निर्माण हँुदै गरेको, साझा संगठनको अवधारणा बन्दै गरेको वर्तमान अवस्थामा दुवैतिरका नेता–कार्यकर्ताको भावना, क्षमता, लगानी र मनोविज्ञानलाई उचित सम्मान हुने ढंगले मिलाउन आवश्यक छ । यसमा दुवै पक्षले आडम्बर र मैमत्ता देखाउनु हुँदैन । ठूलो÷सानो, बलियो÷कमजोर, धेरै÷थोरै इत्यादि विषयलाई अवरोध बन्न दिनुहँुदैन । ०४८ सालमा तत्कालीन मालेले मनमोहन अधिकारीको पार्टीसँग एकता गर्दा मालेको १० प्रतिशत पनि थिएन माक्र्सवादीको संगठन र शक्ति । तर, त्यसबेला बराबरीको हैसियतमा एकता भएको थियो । आफ्नै इतिहासको यो महान् नजीरबाट एमाले कसरी तर्किन मिल्छ ? जनताको शासनका लागि १० वर्षसम्म जनयुद्धको कहर पार गरेर एजेण्डाका हिसाबले समेत सफल राजनीतिक पार्टीको रूपमा स्थापित पार्टीलाई बराबरीको हैसियत दिन हिच्किचाउनु एकता नचाहनु भन्ने अर्थ लाग्न सक्छ । 

एमाले र माओवादी परिवर्तनका लागि इतिहासमा संघर्षको एउटा एउटा विरासत बनाएका पार्टी हुन् । अहिले पनि दुवै पार्टीको साझा लक्ष्य छ । उद्देश्य समाजवाद हो । सो प्राप्तिका लागि हिजो फरक फरक बाटो झगडा गर्दै हिँडे, अब एउटै बाटो मिलेर हिँड्न चाहन्छन्, हिँड्नुपर्ने अवस्था आएको छ, नेपाली जनताको आदेश छ । यस्तो अवस्थामा परिवर्तनका लागि दुवैले भए गरिएका सबै आन्दोलनका इतिहासलाई स्वीकार गर्नुपर्छ, गर्वसाथ आत्मसात् गर्ने हिम्मत गर्नुपर्छ । कसैको पनि विगतलाई सरापेर मात्रै भविष्यको बाटो सुखमय बनाउन खोज्नु कोरा कल्पना मात्रै हो । एउटाले अर्कोको इतिहासलाई सम्मान गर्नुमा नै भावनात्मक एकताको मर्म अन्तरनिहित छ । एकले अर्काको विगतलाई अस्वीकार गरेर कुनै पनि पार्टीबीच एकता हुन सक्दैन । त्यो त एउटाले आफ्नो विगतप्रति पश्चात्ताप गर्दै घिटघिटाएर आत्मसमर्पण गर्न जाने वा पार्टी प्रवेश गर्नेजस्तो तुच्छ काम मात्रै हुन जान्छ । जुन अहिले दुई पार्टीबीचमा हुन गइरहेको एकतासँग कतैबाट पनि मेल खाँदैन । 

नेपालमा राजनीतिक परिवर्तनका लागि सशस्त्र जनआन्दोलन वा जनयुद्धको आवश्यकता २००७ साल र २०५२–२०६३ सालमा भएको जनयुद्धले प्रमाणित गरिसकेका छन् । २०२८ सालमा तत्कालीन कम्युनिस्ट पार्टी कोअर्डिनेशन केन्द्रले झापाबाट सशस्त्र जनयुद्धको जग हाल्ने कोसिस गरेको थियो । विचार र योजना परिपक्व नहँदा त्यसले सही दिशा र गति लिन सकेन । यसैको साकार रूप ०६२/६३ सालको जनयुद्ध थियो । जसकारण नेपालमा शताब्दीयौंदेखिको सामन्ती राजतन्त्र समाप्त भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव भयो । झापा विद्रोहको उठान गलत थिएन, तरिका मात्रै गलत थियो भनेर एमालेले त्यसबेला गरेको आन्दोलनप्रति माओवादीले गर्वसाथ सम्मान गरेको छ । २००७ सालको राजनीतिक परिवर्तनप्रति कांग्रेसले अहिलेसम्म पनि गर्वसाथ अपनत्व लिन्छ । तर, एमाले २०२८ सालको असफल विद्रोहको स्वामित्व लिन किन तयार हँुदैन ? किन त्यसलाई इतिहासको गल्ती मान्ने लघुताभाष देखाउँछ ? राजनीतिक परिवर्तनका लागि अग्रगामी नेतृत्व गरेको सहयोद्धा पार्टीको इतिहासलाई नामेट पार्ने मनोविज्ञान पालेर एकताको हात बढाउनु हुँदैन ।

त्यो त एउटा हातमा तरबार लुकाएर अर्को हातमा घाँस राखी बाख्रालाई बोलाएझैं हुँदैन र ? राजनीतिमा गरिने काम पारदर्शी र स्पष्ट भए जनतामा त्यस्तो दलको विश्वास सधैं रहनेछ । इतिहास साक्षी छ, दम्भ र घमण्ड देखाउने, अरूको अस्तित्वलाई स्वीकार नगर्नेको राजनीतिक इतिहास जनताले गुगलमा खोज्नुपर्ने बनाइदिएका छन् ।

समानताको आधारमा पार्टी एकता गर्ने कुरामा एकमत हुन आवश्यक छ । बरु अब यसपछिको वैचारिक पथप्रदर्शक सिद्धान्त के हुने भन्ने विषयमा व्यापक बहस चलाउन सकिन्छ । आखिर जित सत्यको हुन्छ भन्नेमा हामी सबै सहमतै छौं भने किन डराउने ? महाधिवेशनपूर्वको दस्ताबेजमा माओवादी सिद्धान्तमा आधारित भएर लडिएको मौलिकताको जनयुद्धलाई सम्मान गर्न हिचकिचाउँदा कतै अपराध त हुने होइन भनेर एमाले नेताले बेलैमा सोच्दा पछि पछुताउनु नपर्ला । आधासरो नेपालीको जीवन र भावना जोडिएको नेपाली मौलिकताको जनयुद्ध जसले यत्रो परिवर्तनको नेतृत्व ग¥यो, यसै छाडेर अघि बढ्नु अपराध नै हो । जनताले यसको जवाफ एमालेसँग पनि माग्नेछन् । 

मिलेर चुनाव लडेपछि आएको सकारात्मक परिणामपछि वाम गठबन्धनबाट जनताले धेरै ठूलो आशा राखेका छन् । एकता मागेका छन् । एमालेले हठ र दम्भ पालेर माओवादीलाई सरकार, सदन र पार्टी सबैतिर पेल्ने, हेप्ने र घोक्र्याउने शैलीमा प्रस्तुत हुँदा जनचाहनामा कुठाराघात हुने देखिन्छ । माओवादी पार्टी वर्तमान अवस्थामा चुनावी परिणामका हिसाबले एमाले भन्दा आकारमा सानो भए पनि राजनीति, एजेण्डा र प्रभावका हिसाबले किमार्थ कमजोर छैन भन्ने कुरा नेपाली जनताले बुझेका छन् । 


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top