आफ्नो मान्छे, जसले रुन दिन्नन्


Thursday, 12 Apr, 2018 3:02 PM

जीवनमा खुशीको प्याला पिउने त धेरै भेटिन्छन् तर दुःखको आँशु विल्कुलै एक्लै रित्याउनुपर्ने रहेछ । एकबारको जुनीमा जब आफन्ती नै बैरी बन्छन्, आफन्त भनिएकाहरूले नै छुरा धस्छन्, आफ्नै रगत भनिएकाहरूले घात/प्रतिघात गर्छन् । तब हाँस्नु कसरी ? बाँच्नु कसरी ? भन्छन् नि, ‘आफन्त ती होइनन्, जसले रुँदा साथ दिन्छन्, आफन्त त ती हुन् जसले रुन दिँदैनन् ।’ हो, यस्तै आफ्नै रगतबाट प्रताडित व्यक्ति हुँ म । 

मान्छेहरू भन्छन् आफ्नै आङ कन्याएर छारो उडाउनु बेकार हो । तैपनि मनभरी सम्हालेको दुःखको पहाड आज फुकाउँदै छु । एक बारको जुनीमा आफन्तबाटै भोगिएका घातका कहानीहरू पोख्दै छु आज र आफ्नो यो भारी मनलाई केही भए पनि हल्का बनाउने प्रयास गर्दै छु । आफ्नोपन देखाउन त सबै आउँँछन् तर को आफन्त, को पराइ भन्ने समयले देखाउँदो रहेछ । भाइ र म झापामै जन्मियौँ, हुर्कियौँ । मेरो प्रारम्भिक शिक्षा दार्जिलिङबाट भएको हो । घरको आर्थिक अवस्था राम्रै थियो । फुपू बीणा उप्रेती अमेरिका बस्नुहुन्थ्यो । फुपू र ममीबीच कहिलेकाहीँ सम्पर्क हुँदा मैले पनि बोल्ने मौका पाउँथें । फुपूले मलाई राम्ररी पढ्नू पछि नेपाल आउँदा अमेरिका ल्याउँछु भन्दै मायालु स्वरले मुटुको धड्कन बढाउनुहुन्थ्यो । म पनि कहिले जान पाइन्छ भन्दै प्रतीक्षारत थिएँ । एक दिन फुपूको फोन आयो । १३ वर्षको थिएँ । ममीलाई फुपूले भन्नुभएछ, ‘मनीषालाई पढ्न यता पठाउनुप¥यो दिदी । उता र यताको पढाइबीच आकाश पातालको फरक छ ।’ खै एकचोटि फोन दिनुस् त भन्दै फुपूले मलाई अध्ययनका लागि अमेरिका बोलाउनुभयो । म दिनरात त्यो बोली सुन्न प्रतीक्षारत थिएँ । नभन्दै त्यो दिन पनि आयो । अमेरिकामा पढेर भविष्य बनाउने फुपूको सल्लाहलाई कुन भदैनीले नकार्लिन् ? अहँ ! जोकोहीले त्यो सोच्न पनि सक्दैन । करिब २० वर्षअघिको कुरा हो । जतिखेर समाजमा अमेरिका बस्नेहरूप्रति हेर्ने दृष्टिकोण देउतासरह थियो । सायद हामी पनि त्यही क्याटेगोरीमा पथ्र्यौं कि ! बुबा–आमाले मलाई अमेरिका पढाउन पठाउनुभयो । बुबा स्वर्गलोक हुनुभयो । आमा कहाँ हुनुहुन्छ केही पत्तो छैन । लुगामा उनिएको धागो फुस्किएझैँ भएको छ जिन्दगी तर जसोतसो एकमुठी सास अड्काएर बाँचिरहेकी छु, बाँकी भविष्यलाई सम्झेर । 

त्यो कोठरीमा बसेर बाहिर निस्किएपछि मन कठोर बनेछ । हत्तपत्त आँशु पनि झर्न मान्दैन । सोच्छु, संसारमा मैले मात्रै यस्तो वेदना खेपेकी छु । तर, होइन रहेछ । मजस्ता हजारौँ महिला बाहिर हाँसेर भित्र मर्दारहेछन् । जब फुपूले मलाई अमेरिका अध्ययनका लागि भनेर ल्याउनुभयो । एक दिन दुई दिन गर्दै हप्ता दिन बिते । फुपूले आफ्ना छोराछोरीभन्दा बिछट्टै माया गर्नुहुन्थ्यो । जे खान मन लाग्थ्यो, नजिकै जहाँ डुल्न मन लाग्थ्यो उतै लैजानुहुन्थ्यो । तर, जब हप्ता दिन बित्यो त्यसपछि फुपूले असली व्यवहार देखाउन थाल्नुभयो । अमेरिका स्वर्ग रहेछ भन्दै बुबाआमालाई अब छोरीले तपाईंहरूलाई पाल्छे भनी उक्साउँथें । आफ्ना सन्तानले यसो भन्दा कसको बुबा आमा खुसी नहोलान् ? आमा ‘हिक्कहिक्क’ गर्दै रुनु पनि भएको थियो । बुबाले फुपूको व्यवहार थाहा पाएर होला नपठाउने निधो गर्नुभएको थियो तर बहिनीको जिद्धी र मेरो ढिपीबीच उहाँको केही जोर चलेन । आज सम्झन्छु त्यतिबेला बुबाको कुरा सुनेको भए आज यस्तो अवस्था आउने थिएन । तर, त्यतिबेलाको बालापनको चञ्चले मन न जोकोहीले ढिपी त गरिहाल्छ ! 

अमेरिका गएको ६ वर्ष पुगेछ । काम थियो, फुपूको कोठा सफा गर्ने, लुगा धुने, बाथरुम सफा गर्ने त्यसपछि गार्डेनको दुबो काट्ने । यसरी नै ६ महिना बिताएँ । यतिन्जेलसम्म परिवारसँग सम्पर्क थिएन । फुपूले परिवारसँग कुराकानी गर्छु भन्दा उल्टै जगल्टा लुछिदिनुभयो । आँखाको परेलीमा कुटेर नीलडाम बनाइदिनुभयो । पछि थाहा पाएँ, बुबाआमालाई फुपूले मनीषा अध्ययनमा व्यस्त भएकीले फोनमा कुराकानी गर्न पाएकी छैन । बिदा भएलगत्तै कुरा गर्न लगाउँछु भनिछन् । यसरी फुपूको घरमा नोकर बनेर दिन कटाइरहेका बेला एक्कासि घरबाट भाइ (अमृत) पनि अमेरिका आउने थाहा पाएँ । मैले भाइलाई यता नल्याउन अनेक अनुनय–विनय गरेँ । तर, उल्टै चुटिएँ । त्यसपछि कैयौँ रात भोकै राखियो । केही दिनपछि भाइलाई देखेँ । 

भेट्नेबित्तिकै सबै कुरा सरसर्ती कहुँझैँ लाग्यो तर भन्न सक्ने अवस्था थिएन । फुपूले चुटिहाल्थिन् । फुपूले भनेबमोजिम भाइसामु चिटिक्कै भएर गफिएँ । भाइसँग पहिलो प्रश्न आमाबुबाको अवस्थाबारे सोधेँ । उसले सबैलाई आरामकुशल रहेको सुनाएपछि ढुक्क भएँ । भाइले अध्ययनबारे सोधपुछ गर्दा भक्कानिएँ । अमेरिका आएको ६ महिना भए पनि कुनै ठाउँ चिनेको थिइनँ । कोठाबाहिरको मौसम कस्तो हुन्छ थाहा थिएन । मलाई पनि भाइलाई अमेरिकाको कुनाकन्दरा घुमाउने रहर कहाँ नभएको हो र ! यी सबै सोच्नुको विकल्प थिएन । यसरी भाइ र म ६ महिनाको अन्तरालमा फुपूको त्यो कोठीमा बेचिन पुग्यौँ । केही दिनसम्म भाइलाई पनि फुपूले मलाई जसरी नै पुल्पुलाउनुभयो । त्यसपछि विस्तारै दुवैलाई कपडा धुने, भाँडा माझ्ने, कोठा सफा गर्ने जिम्मेवारी दिनुभयो । केही दिन फुपूको त्यो व्यवहार भाइले सह्यो । आफ्नै घरको कपडा धुँदा के नै बिग्रन्छ र ! तर, भाइको त्यो सोचाइ विल्कुलै गलत थियो । त्यसपछि भाइले त्यो दुव्र्यवहारको प्रतिरोध गर्न खोज्दा फुपूले एकरात स्टोरमा थुनिन् । मैले के नै गर्न सक्थँे र ! त्यसपछि त हामी दुवै दिदीभाइको दैनिकी कोठाभित्रको काम गर्नुपर्ने भयो । फुपूकी छोरीलेझैँ साथीभाइसँग खेल्न मन लाग्थ्यो तर त्यो छुट कहाँ थियो र हामीलाई ! त्यसपछि त झन् नेपालमा बुबाआमासँग कुराकानी गर्न पनि दिइएन । बुबाआमा र फुपूबीच कुराकानी हुँदा अध्ययनले फुर्सद नपाएको जानकारी दिइन्थ्यो । फुपूहरू घरबाट बाहिर निस्किएको समयमा बुबाआमालाई चिठी कोर्थें तर कसरी, कहाँबाट पठाउने केही थाहा थिएन । पछि फुपूले यी सबै कुरा थाहा पाइछन्, सच्याएर बुबाआमालाई पठाइन् । त्यसपछि त चिठी लेख्न पनि फुपूसँग स्वीकृति लिनुपथ्र्याे । साँझ–बिहान एक छाक भात खान पाइन्थ्यो । धेरै त स्यान्डविच नै दिइन्थ्यो । फुपूले छोराछोरीलाई भने मीठो–मीठो खाना दिन्थिन् । हामी दिदीभाइले त्यो हेरेर चित्त बुझाउँथ्यौं । 

खै, कसको मनमा को पस्न सक्दोरहेछ र ? त्यसमाथि अब कसले कसलाई आफन्त ठान्नु, कसलाई पराइ मान्नु ? फूपुले आमाबुबालाई झुक्याउनसम्म झुक्याएकी रहिछन् । हामीलाई पढाउन होइन, घरभित्रको काम गराउन ल्याएकी थिइन् । यसरी दिदीभाइले एकदिन भान्साको भुइँ सफा गर्दै गर्दा भाइ रोयो । त्यसपछि फुपूको खुट्टा समातेर जसरी भए पनि आफूलाई घर पठाउन आग्रह ग¥यो । तर, फुपूले खुट्टा पन्छाउँदै भनिन्, ‘तँ मात्र होइन, दुवै जना अब कहीँकतै जान पाउँदैनौँ । थोरै खर्चले उताबाट यता ल्याएको छु मैले ?’ आमाझैँ लाग्ने फुपूले भदाभदैनीमाथि यस्तो तिखो शब्द हान्दा को रुँदैन होला ? हामी बेस्सरी रोयौँ । आफ्नै आमासरीकी फुपूले दास बनाउँदा अरू कसले हाम्रो स्वर सुन्थ्यो ! यसरी महिना हुँदै वर्ष बित्यो । भाइ अमेरिका आएको पनि १० वर्ष बितेछ । म १८ वर्षकी थिएँ । तर, यसबीचमा जसोतसो प्रवेशिका परीक्षा (एसएलसी) सम्म अध्ययनचाहिँ गर्न सकेँ । दुवैले स्कुल सकेपछि फुपूले घरबाट निकालिदिइन् । 

त्यसपछि दिदीभाइले अनेक समस्या खेप्यौं । पैसा थिएन । थप अध्ययनका लागि कुन कलेज पढ्ने केही थाहा थिएन । त्यसपछि दुवैले काम गर्दै पढ्न थाल्यौं । तर, बास बस्ने डेराको राम्रो व्यवस्था थिएन । यही बीचमा भाइ घर आयो । भाइ घर आएका बेला फुपूकहाँ गएर डेराको व्यवस्था मिलाइदिन आग्रह गरेँ । तर, फुपूले उल्टै तँलाई डेरा दिन्नँ भनेर गालीगलौज गरिन् । भाइले पनि फुपूको सबै बानी–व्यहोरा थाहा पाएपछि उता घरपरिवारमा झुक्याएछ । फुपूसँग आरामदायी ढंगले बसेको बुबाआमालाई बताएछ । केही दिनको घरको बसाइपछि ऊ अमेरिका फर्कियो । त्यसपछि दिदीभाइ दुवैले पढाइसँगै आफ्नो कर्म गर्न छोडेनौं । अनेक समस्या झेल्दै अध्ययन सकायौँ । अहिले म मेडिकल क्षेत्रमा आबद्ध छु । आफ्नो कमाइले जीवन चलाइरहेकी छु । भाइले पनि एउटा कम्पनीमा राम्रो कामको जिम्मेवारी पाएको छ । दुवै जना आफ्नो खुट्टामा आफैँ उभिएका छौँ । तर, हामीमाझ न बुबा हुनुहुन्छ न आमा । हाम्रो अर्काे भाइले आमा लिएर कहाँ गयो अत्तोपत्तो छैन । 

नेपाल फर्किएको केही समयपछि थाहा भयो हाम्रो सम्पत्तिको लोभमा बुबाको हत्या गरिएको रहेछ । जुन हत्या आफन्त भित्रबाटै भएको खुलेको छ । तर, दोषी पक्रिन सकिएको छैन । दुवै छोराछोरी अमेरिकामा बस्ने भएपछि हाम्रो अर्काे भाइलाई फुपूलगायत केही मानिसले उकासेछन् । त्यसपछि भाइ पनि हाम्रो विरुद्धमा उत्रियो । जतिखेर म बुबाआमा भेट्न अमेरिकाबाट नेपाल आएकी थिएँ । त्यही बेला सम्पत्तिको विषयलाई लिएर ममाथि भाइ र बुहारीले आक्रमणसमेत गरे । अहिले त्यो घटना सम्झिएर भक्कानिन्छु । सुरुमा बुबालाई स्थानीय माओवादी कार्यकर्ता लगाएर खुट्टा भाँचिएछ । बुबाको आँखा फुटाएर अन्धो बनाइएछ । त्यसपछि बुबालाई उपचारका लागि भारतको दिल्ली, बैंगलोर, चेन्नई र मद्राससम्म लगियो तर ठीक भएन । अन्ततः बुबा स्वर्गलोक हुनुभयो । यसरी सम्पत्तिका नाममा बुबाको हत्या गरियो तर जीवित रहेकी मेरी आमालाई कहाँ–कहाँ खोजिनँ । कहीँ–कतै भेट्टाउन सकेकी छैन । बुबाको हत्यारा पत्ता लगाउन न्यायालयको ढोकामा हारगुहार माग्न कसरी जाऊँ ? केही थाहा छैन । केवल आफन्तले दिएको चोटलाई सम्झेर टोलाइरहेछु यो बिरानो सहरमा ! 

  • मनीषा उप्रेती


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top