​दुष्ट रानीकी छोरीको दुखेसो


Thursday, 12 Apr, 2018 2:54 PM

  • राजेन्द्र स्थापित

क्यारोलिन एमिलिया एलिजाबेथको जन्म बु्रन्सविकमा भयो । त्यसबेला ब्रुन्सविक रोमन साम्राज्यअन्तर्गत जर्मनीको भूभाग थियो । क्यारोलिनका पिता चाल्र्स विलियम फर्डिनान्ड त्यहाँका शासक थिए । उनकी पत्नी अर्थात् क्यारोलिनकी आमा अगुस्टा संयुक्त अधिराज्य (ग्रेट ब्रिटेन) का राजा जर्ज (तृतीय) की बहिनी थिइन् । तर, सन् १७९४ मा जर्ज (तृतीय) ले आफ्नो छोरा जर्जको बिहे आफ्नै भाञ्जी क्यारोलिनसँग गराइदिन चाहे । यसअघि क्यारोलिन र जर्जको कहिल्यै भेट भएको थिएन । 

एउटा रात्रिभोजको दौरान जम्काभेट भयो । जर्ज त्यसबेला वेल्सका राजकुमार थिए । रात्रिभोजमा जर्ज साथीहरुसहित सम्मिलित हुन आएका थिए । क्यारोलिनलाई जब पहिलोपटक देखे, उनको व्यक्तित्वबाट रत्तिभर पनि आकर्षित भएनन् । होचो कद, मोटो शरीर र नराम्री । जर्जले मित्रहरुलाई यो पनि भने कि शरीरको बनोट हेर्दा यी केटी कुमारीजस्ती पनि लाग्दिनन् । उनले फेरि भने, ‘मलाई त चक्कर आयो । कृपया, एक गिलास अर्को रक्सी थपिदिनु । यसलाई देखेर अस्वस्थजस्तै भएँ ।’

जर्जले यो कुरा क्यारोलिनले सुन्ने गरी भनेका थिए । क्यारोलिन उस्तै रुखो स्वभावकी । व्यंग्यात्मक कुरा सुनेपछि रिसको पारो चढ्यो । सबैले सुन्ने गरी जवाफ फर्काइन्, ‘के राजकुमारको रूप यस्तो हुन्छ ? हे भगवान, कत्रो मोटो र स्थुल शरीर ! तस्बिरमा मात्र सुन्दर !’ क्यारोलिन बाल्यकालदेखि नै जंगली स्वभावकी । १६ वर्षको उमेरमा एकदिन आफू गर्भवती भएको कुरो सुनाइन् । अगुस्टा छोरी कुमारी आमा बन्न लागेकोमा साह्रै चिन्तित बनिन् । स्वास्थ्य परीक्षण गर्न लगाइन् तर कुरा झूठो सावित भयो । अगुस्ताले छोरीसँग प्रश्न गरिन्, ‘यस्तो किन गरेको ?’ क्यारोलिनले सहजै जवाफ फर्काइन्, ‘तिमीसित बदला लिन किनभने तिमीले बलरुम नृत्यमा जानबाट मलाई रोक्यौ ।’

भेट भएको एक वर्षपछि युवराज जर्ज र क्यारोलिनबीच लण्डनमा विवाह भयो । जर्ज ३३ र क्यारोलिन २७ वर्षका । विवाह एक राजनीतिक सम्झौता थियो । जर्ज त्यसबेला ऋणमा डुबेका थिए । बिहेपछि संसद्ले दिने भत्ता स्वतः दोब्बर हुने निश्चित थियो । बिहेलगत्तै क्यारोलिनले थाहा पाइन् कि जर्जले मारिया फिट्जहर्बट नाउँकी एउटी सुन्दरीलाई पत्नीको दर्जा दिएर दरबारमै राखेका रहेछन् । यसपछि क्यारोलिन जथाभावी बोल्न थालिन् । ‘हाम्रो सुहागरातमा त केही नै भएन । त्यो नपुंशक कोठाको कुनामा रहेको कुर्सीमा बसेर घुर्न थाल्यो । मैले पनि उसलाई उठाउन जरुरी ठानिनँ ।’

यो कुरा कसैलाई नभन्नू भन्दै नोकर–चाकरलाई सुनाइन् । उनीहरुले पनि त्यसैगरी अरुलाई सुनाए । उक्त ‘रहस्य’ अन्त्यमा जर्जको कानसम्म पुग्यो । जर्ज मुर्मुरिएर बसे । नौ महिनापछि क्यारोलिन छोरी (शार्लोट) को आमा बनिन् । जर्जले आफ्नो डायरीमा लेखे, ‘मेरी छोरीले त्यस्ती आमाको गर्भबाट मुक्ति पाइन्, जो ऊभन्दा अज्ञानी छे ।’

जर्ज उत्तराधिकारी चाहन्थे । छोरी जन्मेको शोकमा बिरामी परे । उनले अब बाँच्दिन भन्ने सम्झे र वसियत (इच्छापत्र) लेखिहाले । इच्छापत्रमा ‘मेरो अंशमा पर्ने सम्पूर्ण निजी सम्पत्ति मारिया फिट्जहर्बटले पाउन् । जहाँसम्म छोरीको कुरा छ, उसको संरक्षण र सम्पूर्ण रेखदेख सम्राटबाटै होस् । म चाहन्न ऊ उसकी आमाजस्ती बनोस् ।’

जर्ज केही समयपछि स्वस्थ बने तर इच्छापत्रमा उल्लेखित बुँदाका कारण क्यारोलिन रणचण्डी बनिन् । लोग्नेसित अलग्गिएर बस्न थालिन् । महलको एउटा हिस्सा क्यारोलिनको र अर्को हिस्सा जर्जको भयो । बीचको भाग छोरी शार्लोटको । शार्लोटको पालनपोषण त्यसै हिस्सामा सयौं धाईआमाले गर्न थाले तर क्यारोलिनको मन त्यता रमेन । छुट्टै भवनमा बस्न थालिन् । उक्त भवन मौन्टेग्युको थियो । सयौं नोकरचाकर थिए अनि गुप्तचर कर्मचारी पनि । ती गुप्तचरहरुले एक–एक सूचना सम्राटसमक्ष पु¥याउन थाले । ‘राजकुमारी क्यारोलिनले आजकल अभद्र र अश्लिल पार्टी दिने गरेको, सो पार्टीमा सेनाका अधिकृतहरुलाई सामेल गर्ने गरेको, ग्रिनवीच बन्दरगाहका एडमिरल सिड्नी स्मिथ र क्याप्टेन मैनबी पछिल्लो सातादेखि दैनिक क्यारोलिनसँग भेट्न आउने गरेको, एउटी नोकर्नीले सिड्नी र क्यारोलिनलाई आपत्तिजनक अवस्थामा देखेको, क्यारोलिनले पार्टीमा पुरुषलाई मात्र बोलाउने गरेको, पार्टी सकिएपछि मनपर्ने पुरुष छानेर शयनकक्षमा लाने गरेको, पारदर्शी लुगामा पार्टीमा सामेल हुने गरेको आदि–इत्यादि ।’ यी सूचनापछि क्यारोलिनले बचेको इज्जत पनि गुमाइन् । 

क्यारोलिनले एउटा सानो बालक पाल्न थालेकी थिइन् । बालक कसको हो भन्ने धेरै टिकाटिप्पणी भएपछि एकदिन भनिदिइन्, ‘सक्छ भने सावित गरिदिउन् कि यसका आमा–बाबु को हुन्, जसको सन्तान भए पनि हेर्दै जाऊ यो बालक नै भोलि राजा बन्नेछ ।’ क्यारोलिनको उक्त चुनौतीपछि जर्जले छानबिन गर्न आदेश दिए । शार्लोट नाउँकी एउटी सेविकाले गलत सूचना प्रवाह गरिदिइन् कि उक्त बालकलाई क्यारोलिन आफैंले सन् १८०२ मा जन्माएकी हुन् । त्यसबेलासम्ममा छोरी शार्लोट १६ वर्षको भइसकेकी थिइन् । फेरि क्यारोलिनले छोरीलाई सेनाको अधिकृत हेससँग शारीरिक सम्बन्ध बनाउन उक्साएपछि उनी सबैको हेयको पात्र बनिन् । 

क्यारोलिन सन् १८१४ मा इटली गइन् । त्यहाँ बार्टोलोनियो पेर्गामी नाउँ गरेको कुल्लीसँग शारीरिक सम्बन्ध बनाइन् । यो कुराको जानकारी पनि जर्जले पाए । यसबीच सन् १८२० मा जर्ज (तृतीय) को निधन भयो । लोग्ने जर्ज (चतुर्थ) को रुपमा सम्राट हुने भएपछि क्यारोलिन स्वदेश फर्किन् । जर्ज क्यारोलिनलाई रानी स्वीकार्न तयार भएनन् । बरु ५० हजार पौण्ड वार्षिक भत्ता दिने प्रस्ताव अघि सारे तर क्यारोलिनले लिन मानिनन् । दरबारले धम्क्यायो तर टसमस भइनन् । राज्याभिषेकको दिन दरबारअगाडि पुगिन् । आफूले पालेको बालकलाई राजा बनाउनुपर्छ भनी नारा लगाइन् । ‘म तिमीहरुको महारानी हुँ । भित्र जानलाई पास माग्ने हिम्मत कसरी गर्न सक्यौ ?’ भनी चौकीदारहरुसँग झगडा गर्न थालिन् । सैनिकले ढोका बन्द गरिदियो । उनी पुनः नारा लगाउँदै सडकमा हिँड्न थालेपछि नवसम्राट जर्ज (चतुर्थ) ले उनीविरुद्ध २३ वटा आरोप लगाउँदै जाँचबुझ गर्न लगाए तर आरोप सिद्ध भएन । सम्राटले फेरि जनमत लिन लगाए । सन् १८२० को नोभेम्बर १० मा बसेको संसद्ले ९९ को विरुद्ध १०८ मतले क्यारोलिन निर्दोष भएको निर्णय दियो । यद्यपि क्यारोलिनको लोग्नेविरुद्धको आवाज पनि सुस्त हुँदै गयो । उनी पेट दुख्ने रोगको शिकार बनिन् र ५३ वर्षको उमेरमा सन् १८२१ को अगस्त ७ मा बितिन् । आमाको मृत्युपछि शार्लोटले डायरीमा यस्तो लेखिन्, ‘मेरी आमा दुष्ट थिइन् तर उनीभन्दा बढी दुष्ट मेरो पिता बने, जसले आफ्नो दुष्टताको सामु मेरी आमाको दुष्टतालाई न्यून बनाइदिए ।’

जर्ज (चतुर्थ) को निधन नौ वर्षपछि सन् १८३० मा भयो । उनले १० वर्ष मात्र शासन गर्न पाए । 

कैदी हाँस्दै कारागारमा
जर्ज बर्गेस अमेरिकाको जेलमा सजाय काट्दै थिए । त्यसो त उनी आजीवन कारावासको सजाय भोग्दै थिए तैपनि सुखी थिए । सधैं हाँसेरै बस्थे । एकदिन राति बत्ती गएको मौका पारेर पर्खाल नाघी भागे । प्रहरी उनलाई समात्न सक्रिय थियो तर सफल भएन । यसै काण्डमा परेर बरु जेलरलगायत दर्जनौं जेल अधिकारीले जागिरबाट हात धोए ।

केही दिनपछि जर्ज आफैँ हाँस्दै जेल अधिकारीसमक्ष उभिन पुगे । उनलाई देखेर अधिकृतहरु आश्चर्यमा परे । विश्वासै गर्न सकेनन् । एकजनाले सोधे पनि, ‘जर्ज, तिमी यहाँ ? के मैले सपना त देखिरहेको छैन ?’

जर्ज मुसुक्क हाँसे अनि भने, ‘होइन सर, यो सपना होइन यथार्थ हो । म त आउनैपर्ने मान्छे हुँ, त्यसैले आइपुगें ।’

अधिकृतले फेरि सोधे, ‘तिमी यहाँबाट किन भागेको त ?’

जर्ज अलि गम्भीर बने । एकछिन सोचे । अनि जवाफ दिए, ‘सर, तपाईंलाई थाहा छ कि म एकजना विज्ञानको विद्यार्थी । जेलमै बस्दाबस्दै पनि समुद्रको पानी पिउनलायक बनाउने सूत्र पत्ता लगाएको हुँ । त्यसैले जेलबाट भागें ।’

जर्जले फेरि भने, ‘सर, तपाईं नै हुनुहुन्छ, मलाई जेलबाट भाग्न विवश पार्ने व्यक्ति ।’

जर्जको कुरा सुनेर अधिकृत जिल्ल । यो देखेर जर्जले फेरि भने, ‘सर सम्झने प्रयास गर्नुस् । मैले तयार पारेको वैज्ञानिक सूत्रलाई व्यवहारमा उतारेर देखाउन मलाई प्रयोगशाला जान दिनुस् भनेर दुईपटक अनुमति माग्दा तपाईंले दिनुभएन । र, बाध्य भएर मैले भाग्ने मार्ग अपनाउनुप¥यो । म यहाँबाट भागें र सिधै मिजौरी विश्वविद्यालय पुगें । त्यहाँ कार्यरत वैज्ञानिकहरुले मलाई मेरो सूत्र प्रयोग गर्न अनुमति दिए । प्रयोगमा म सफल भएँ । अनि खुशी हुँदै यहाँ फर्कें ।’

जर्जको कुरा सुनेर अधिकारीहरु दंग परे । जेलरले उनको काँधमा हात राखेर भने, ‘जर्ज, तिमीले मानव कल्याणार्थ वैज्ञानिक आविष्कार गरेका छौ । यसकारण तिमी जेलबाट रिहा मात्र होइन, पुरस्कारको समेत हकदार हौ ।’ नभन्दै प्रशंसात्मक टिप्पणीसहित जर्ज जेलबाट छुटे । भव्य बिदाइको आयोजनासमेत गरियो । जर्जको निधन सन् १९३२ मा भयो ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top