​मभन्दा जखमले अरु नै निस्किए


Thursday, 12 Apr, 2018 2:41 PM

  • टंक कार्की, एमाले नेता÷चीनका लागि पूर्वराजदूत

बोआओ सम्मेलनको पूर्वसन्ध्यामा हाम्रा प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गए । यसअघि राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुने गरेको त्यही बोआओ फोरममा यसचोटि नेपालको उपस्थिति शून्य छ । नेपालको तर्फबाट राजदूत भएर चार वर्षे कार्यकाल पूरा गरेका एमाले नेता टंक कार्की राजदूत भएयता उताको विशेष ज्ञान राख्छन् । उनीसँगको जिज्ञासा हो, चीनको नजरले केपी ओलीको भारत भ्रमण कस्तो देखिन्छ ? अर्कातर्फ देशका दुई ठूला कम्युनिष्ट पार्टी एकीकरणको संघारमा छन् । उनी नेपाली कम्युनिष्ट आन्दोलनको विभाजनकालीन नेता हुन् । ०३० को दशकमा कम्युनिष्ट पार्टीहरु छिन्नभिन्न भइरहँदा उनी विद्यार्थी फाँटमा थिए । अखिलको पाँचौ राष्ट्रिय सम्मेलनमा मातृपार्टीको कलह छिर्दा अखिल पाँचौ र छैठौँका रुपमा विभाजित भयो, जसमा पाँचौको नेतृत्व टंकले र छैठौँको लीलामणि पोखरेलले गरेका थिए । त्यो अनुभवको चस्माबाट अहिले हुन लागेको एकतामा के देखिन्छ ? यो पनि उनीसँग सरोकार राख्ने विषय हो । 

० चीनले केरुङबाट काठमाडौंमा रेल ल्याउने भनेलगत्तै भारतले पनि रक्सौलबाट रेल ल्याउने भन्यो । यसलाई कसरी लिनुहुन्छ ?

– भारतीय संस्थापनको एउटा पक्षमा के धारणा छ भने, नेपाल ‘एक्स्क्ल्युसिभ्ली’ इण्डियन स्पेयर अफ इन्फ्लुएन्स, अर्थात् प्रभावक्षेत्रभित्रको हो । अथवा, नेपाल भारतकै स्याटेलाइट हो । भोकल्ली बाहिर त्यसो नभने पनि उनीहरुको चिन्तन प्रणालीमा त्यो अवधारणा पाइन्छ । नेपालले हामीभन्दा परतिर गएर, हाम्रो मर्जीबेगर अन्यत्र सम्पर्क, सम्बन्ध राख्नुहुँदैन भन्ने मानसिकता छ । औपनिवेशिक विरासतमा ग्रहण गरेको मनोवृत्तिले पनि यसमा काम गरेको होला । तर, नेपाल अहिले जहाँ छ, आफ्नो जीवनकालकै आधारमा पनि भन्नुपर्दा एकतर्फी परनिर्भरता आफ्नै लागि पनि दीर्घकालीन रुपमा हितकर छैन । त्यो रियलाइजेशन नेपालले गरेको छ । भारतले गरेको नाकाबन्दीबाट पनि त्यस्तो भयो । ओलीले चीनसँग पारवहन तथा यातायातसम्बन्धी जुन सम्झौता गरे, भारत असहमत हुँदाहुँदै बिआरआईमा नेपाल एउटा समर्थक पक्ष बन्यो– त्यसले भारतीयहरुलाई नेपाल चीनतिर ढल्कियो भन्ने प¥यो । नेपाल चीनतिर नजाओस् भन्नका निम्ति पनि होला, उसले अहिले महत्व दिन थालेको छ । भारतले जेसुकै प्रयोजनका निम्ति रेल ल्याउने भनेको होस्, चीनले ल्याउँछु भनेकै कारणले भनेको हो भने पनि हामीलाई घाटा छैन ।

० बोआओमा नगएर भारत मात्र जाने कुराले चीनसँग नेपालले दूरी राख्न खोज्यो भन्ने बुझाइ भयो भने समस्या पर्दैन ? 

– नियत नहोला, काकताली नै हो भने पनि भारत यसपालि नेपाललाई बोआओमा जानबाट रोक्न सफल भएको छ । म नियत नै त भन्दिनँ, काकतालीचाहिँ पक्कै हो । प्रधानमन्त्रीको तहबाट सहभागिता हुन नसके पनि नेपाल प्रतिनिधित्वविहीन हुनहुँदैनथ्यो । किनभने त्यो सम्मेलन एसियाकै सबभन्दा ठूूलो फोरम हो । विश्व राजनीतिक रंगमञ्चमा नेपालले आफूलाई प्रस्तुत गर्ने ठूलो अवसर यसबाट गुमेको छ ।

० यो घटनाले चीनको बुझाइ कस्तो होला ? 

– चिनियाँहरुले नेपालको राजनीतिक, साँस्कृतिक कठिानाइहरु बुझेका छन् । नेपालका बाध्यता के–के हुन् भनेर पनि बुझ्छन् । यही कुरालाई ठूलो अर्थमा लिन्छन् जस्तो मलाई लाग्दैन । तर, नेपालले ठूलो मौकाचाहिँ गुमाएकै हो । 

० पहिला चिनियाँ राष्ट्रपति सि जिनपिङ आउने कार्यक्रम बन्यो । तर स्थगित भयो । फेरि पनि आउने चर्चा छ । कत्तिको विश्वस्त हुनहुन्छ ?

– चीनको राष्ट्रपति नेपाल आउने भनेको कुनै मामुली टुरिस्ट घुम्न आउने होइन । सहजता जति बढ्ने हो, विदेश सम्बन्धलाई माथिल्लो उचाइमा लैजाने हो भने भ्रमण हुनसक्छ । चीनसँग विगतमा भएका रणनीतिक महत्वका सम्झौताहरुको प्रोटोकल डेभलपमेन्ट जुन तदारुकताका साथ हुनुपथ्र्यो, भएका छैनन् । नियत सफा होला तर वास्ता गरिएजस्तो देखिएन । दुई वर्षभित्र चिनियाँ रेल सिगात्से–केरुङ हुँदै आइपुग्ने कुरा थियो तर हाम्रो परराष्ट्रमन्त्रीले चार वर्षमा आउँछ भने । यसमा नियत ठीक देखिएन । कतै चीनका प्रोजेक्टहरु अवरुद्ध पारिने त हैन भन्ने शंका पैदा भयो । विश्वास बढाउने काम हामी आफैँले गरेका छैनौँ । समस्या हाम्रै लघुताभाषमा छ । चीनको पिछलग्गु बन्नुपर्छ, चिनियाँहरु त्यस्तो चाहिरहेका छैनन् । तर, हामी चीनसँग उभिन हिच्किचायौँ कि ? गम्भीर प्रश्न हो यो । 

० बिआरआईबाट नेपालले लिने फाइदा के–के हुन् ?

– हाम्रो आर्थिक औकात कत्रो छ भन्ने कुरामा निर्भर हुन्छ । समृद्ध र सुखी नेपालीको सपना साकार पार्न हाम्रै स्रोतहरु पर्याप्त छैनन् । त्यसका लागि विदेशी सहयोगको हात थाप्नै पर्छ । ती विदेशी को–को हुन् ? दुवै छिमेकी यी दुई संसारका राइजिङ इकोनोमिक जोन हुन् । चीन संसारको दोस्रो ठूलो आर्थिक शक्तिराष्ट्र र भारत पनि उदीयमान आर्थिक शक्ति हो । हामीले फाइदा लिने यीबाटै हो । उनीहरुले थोरै मात्र प्रमोट गरे भने हामी उक्सिन्छौँ । राजनीतिक प्रणालीमा पनि नेपाल जति स्थिर भयो, त्यसको फाइदा उनीहरुलाई नै छ । ५० को दशकमा चीन भारतीयभन्दा आधा अर्थतन्त्र भएको मुलुक थियो । आज त्यही चीनले संसार चिहाएको छ । संसारमा आफ्नो वर्चस्व विस्तार गरिसकेको छ । चाँडै नै पहिलो अर्थतन्त्र पनि बन्दैछ । चीनसँग सहयोग लिँदा भारतको अहित नहुने गरी, भारतसँग सहयोग लिँदा चीनको अहित नहुने गरी लिन सकिन्छ, लिनुपर्छ । 

० पछिल्लो समय चीनसँग सम्झौता भएका परियोजनामध्ये जम्मा चक्रपथ विस्तारको काममात्र भइरहेको छ । ती परियोजनाहरु अलपत्र पारिँदा चीनसँग लिन सकिने थप विषय कसरी पाइएला ? 

– आफ्नो राष्ट्रिय स्वार्थमा सीधा उभिन, विदेश नीतिका मर्मभित्र तद्नुरुपको इच्छाशक्ति प्रकट गर्न हामीलाई अझ लामो समय लाग्छ । हामीमा इन्फेरिटी कम्प्लेक्स (लघुताभाष) छ (सानो राष्ट्र हो भनेर) । तर, डराउनुपर्ने कुरा केही छैन । एउटासँग सहयोग लिँदा अर्कोलाई अहित नगरे भइगो नि !

० केपी ओली सरकारले गर्ने भनेका कामहरु गर्ला भन्नेमा कत्तिको विश्वास गर्नुहुन्छ ?

– जनतालाई अब घोषणाहरु चाहिएको छैन, (पर्फमेन्स) कार्यान्वयनको खाँचो छ । अब पनि घोषणा गरेर बस्ने हो भने जनताले पत्याउन छाड्छन् । यदि फेरि पनि घोषणाकै ओइरो लगाउने र भइसकेका घोषणा कार्यान्वयन नगर्ने हो भने जनताले सरकारलाई जोक्कर ठान्छन् । तर, यो सरकारको होमवर्क राम्रो छैन । यो सरकारले गर्नुपर्छ भन्ने कुरा त जनमतले बोलेको छ । आफ्नो राष्ट्रियस्वार्थमा सीधा उभिनुपर्छ भन्ने जनादेश छ । एउटासँग पौंठेजोडी खेल्नुपर्छ, अर्कोसँग अंगालो मार्नुपर्छ भन्ने अभिमत होइन । मिलेरै जाने हो । 

० सरकार गठन भयो । केही मान्छे मन्त्री भएका छन् । यी कुरा जसरी भए, त्यही आधारमा भन्नुस् न, गर्ने छाँट छ कि नगर्ने छाँट हो ?

– मन्त्री छान्दा वा केही हप्तायता विभिन्न पदीय जिम्मेवारी दिइँदा मानिसका क्वालिटी (गुण) होइन, लोयल्टी (आफूअनुकूल) खोजियो । सामाजिक यथार्थका आधारमा देश बनाउनुपर्छ । हामीले दुत्कारेको सत्ता राजतन्त्र– त्यो निरंकुश थियो, तानाशाही थियो, जसमा कुनै शंका छैन । तर, त्यसले विकास के हो भन्ने कुरा सिकाएको छ । विकास भनेको फिजिकल (भौतिक) मात्र होइन रहेछ । विकासका निम्ति संगीतकार अम्बर गुरुङ चाहिँदो रहेछ, चित्रकार लैनसिंह वाङ्देल चाहिँदोरहेछ, अमेरिकामा पढिरहेका डा.भेषबहादुर थापा पनि चाहिँदोरहेछ ! राजाले लोयलिस्ट (आफूअनुकूलका) खोजेका भए दरबारभित्रै एकसे एक थिए होलान् । शाहमा नभए राणामा थिए होलान्, राणामा नभए थापाखलकमा थिए होलान् । तर, लोयलिस्टले हुँदैन, क्वालिटी चाहिन्छ । दार्जिलिङबाट अम्बर गुरुङ ल्याउनु, अमेरिकाबाट भेषबहादुर ल्याउनु जी–हजुरी गर्नेहरु थुपार्नु थिएन । जे गर्न खोजिएको थियो, त्यो विषयका काबिल मान्छे भेला पार्न खोजिएको हो । शासन गलत थियो, हामीले फ्याँक्यौँ । तर, त्यसभित्रका सकारात्मक कुरा पनि फ्याँक्दै जाँदा पुगिन्छ कहाँ ? आज हामीले ७० वर्षदेखि खोजेको राजनीतिक प्रणाली पाइसकेका छौँ । यसलाई संघीय लोकतान्त्रिक गणतन्त्र भनेर परिभाषित पनि गरेका छौँ । तर, देश बन्ने भनेको प्रणालीले मात्र हैन, ंसंरचनाले हो । प्रणालीमा युक्तिसंगत पात्र पनि चाहिन्छ । ती पात्रले बनाउने न्यायोचित संरचनाबाट देश बन्ने हो । 

० देशमा यत्रा चुनाव भए । तपाईं कुनै पदमा कतै उम्मेदवार बनेको देखिएन । किन ?

– ५० वर्षदेखि गरेको राजनीति नै हो, जोगी बन्नलाई त पक्कै होइन होला । तर, मभन्दा जखमले अरु नै निस्किए । नभए भन्नुस् त, मोहनचन्द्र अधिकारीलाई सम्झिनु नपर्ने, कोमल वलीलाई प्राथमिकता दिनुपर्ने के कारण थियो ? मोहनचन्द्रलाई सम्झनु नपर्ने भएपछि टंक कार्की हो, सम्झिराख्नुपर्ने ?

० तपाईं नेपाली कम्युनिष्ट आन्दोलनको विभाजनकालीन इतिहासको साक्षी । अहिले एकता हुँदैछ । उतिबेलाको विभाजन सम्झँदा अहिलेको एकता कत्तिको सार्थक होला भन्ठान्नुभएको छ ?

– जसले त्यसबेला पुष्पलाललाई महासचिवबाट निकाल्यो त्यो, शक्ति र प्रबृत्ति आज पनि ज्युँदै छ । पुष्पलाललाई हटाउनु कम्युनिष्ट आन्दोलनका आदर्श र मूल्यसँग चासोभन्दा पनि सत्ताको छिनाछपडी नै मुख्य हो भन्ने कुराको पुष्ट्याइँ हो । आज पनि देखिएको त्यही छ । दुई अध्यक्षलाई कहाँ व्यवस्थापन गर्नेभन्दा अर्को कुरा ठूलो होइन भनेजस्तो गरिँदैछ । कम्युनिष्ट भनेको कम्युनिटी, अर्थात् समुदायआधारित राजनीतिक धार हो । जुन वर्गको प्रतिनिधित्व गर्नुपर्ने हो, त्यो वर्गीय चिन्तनबाट हटेर अरु कुरामा लाग्ने देखिन्छ । अहिले पार्टी एकतामा इतिहासको समीक्षा गर्दै हामीले गरेका गल्ती, अब पुग्ने कहाँ हो भन्ने कुरामा छलफल बहस नै भएको छैन । नेतृत्वको प्रश्न गौण त होइन, तर मूल्यका प्रश्नहरु सबभन्दा महत्वपूर्ण हुन् । निष्ठावान कार्यकर्ताहरु भन्दै होलान्, ‘के हामी कम्युनिष्ट त हौँ ?’ त्यसैले फुली (पद) मा अल्मलियौँ भने केही गर्नै सक्दैनौँ । 

० एकताको सकारात्मक पक्षचाहिँ के हो ?

– हामी इतिहासको समीक्षा गर्दै भविष्यका कार्यभार पूरा गर्न अगाडि बढ्छौँ र त्यसका लागि एउटा ठूलो प्लेटफर्म पाउँदैछौँ ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top