​मीठो चास्नीमा नभुलौं महोदय


Thursday, 12 Apr, 2018 2:38 PM

  • सुशील पन्त

२५ महिनाअघि दिल्लीको राजकीय पाहुना बनेका केपी ओलीले विगतका कतिपय परम्परालाई तोड्दै तीनदिने भ्रमण सकेका छन् । ०७२ फागुनमा ६ दिने भ्रमण गर्दाताका सम्बन्धमा चिसोपना थियो । पहिलो भ्रमण दिनका हिसाबले लामो भयो, उपलब्धिको हिसाबले छोटो । ओलीको पहिलो भ्रमणमा संयुक्त वक्तव्य जारी भएको थिएन । त्यही वक्तव्य नआउँदा उक्त भ्रमणलाई असफल भनेर टिप्पणी भयो । यसपटक समय छोटो भए पनि केही उपलब्धि भए, कतिपय परम्परा तोडिए । स्वागतका लागि मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका राजनाथ सिंह विमानस्थलमा आए । प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा राख्ने, गार्ड अफ अनर दिने, हैदरावाद हाउसमा दिवा भोज दिने आदि÷इत्यादि पुरानै प्रचलन हो । तर, यसपटक केही फरक भएको छ । सबभन्दा ठूलो कुरा ‘ठूल्दाइ’ को शेखी झरेको छ ।

भारतले नेपालको सहअस्तित्व स्वीकार गरेको छ । नेपालको राजनीतिक परिवर्तनलाई ‘रिकग्नाइज’ गरेको छ । यो भन्नुको अर्थ संविधानलाई स्वागत गर्नु हो । यसअघि यही संविधानलाई विभेदपूर्ण भनेर अमानवीय नाकाबन्दी लगाइएको थियो, मधेसकेन्द्रित दलहरूलाई उचाल्दै । अहिले नेपालमा सम्पन्न तीन तहको चुनावको स्वागत मात्र होइन प्रशंसा नै गरिएको छ । दिल्लीदेखि काठमाडौंलाई रेल्वे सञ्जालले जोड्ने आश्वासन दिइएको छ । परन्तु यो आश्वासन नेपालीको सुविधाभन्दा पनि चिनियाँ रेलको सम्भावित प्रवेशको भयका रूपमा अगाडि सारिएको एजेण्डा हो । 

काठमाडौंलाई रेल्वे लाइनले जोड्ने भारतीय प्रस्ताव नौलो होइन । यस्ता आश्वासन हरेक प्रधानमन्त्रीको भ्रमणमा नआएका होइनन् । ०६५ सालमा पुष्पकमल दाहाल प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बनेर भारत जाँदा नौमुरे जलविद्युत्् आयोजना बनाइदिने आश्वासन पाइएको थियो । त्यो रित्तो आश्वासनबाट अति फुर्केका प्रचण्डले स्वदेश फर्केपछि विमानस्थलमा गणतन्त्र स्थापनापछिको पहिलो सरकारलाई भारतले जलविद्युत् आयोजना बनाइदिने भयो भनेका थिए । दशक बित्दासमेत त्यसमा कुनै प्रगति भएन । भारतले बनाइदिने भनेको हुलाकी राजमार्गको हालत उस्तै छ । कुनै पनि आयोजना समयमा बनेका छैनन् र बन्ने पनि छैनन् ।

हाम्रा प्रधानमन्त्रीको यसपटकको भ्रमण परम्परागतभन्दा केही फरक हो भन्ने कुरा भारतीय मिडिया पढ्दा पनि अनुभूत गर्न सकिन्छ । प्रचण्ड र शेरबहादुर देउवा जाँदा ‘नेपालमें नही गलेगी चीन कि दाल’ लेख्ने भारतीय मिडियाको टोन फेरिएको छ । हिन्दी भाषामा प्रकाशित हुने नवभारत टाइम्सले ‘भारत और नेपालके बीच चलेगी रिश्ताें की रेल’ शीर्षकमा आइतवार महŒवका साथ समाचार लेखेको छ । हिन्दी भाषाको अर्को पत्रिका दैनिक जागरणले पनि उस्तै समाचार छापेको छ, शीर्षक छ, ‘दिल्ली और काठमाडौंके बीच दौडेंगे टे«न’ । अंग्रेजी पत्रिकाले कूटनीतिक भाषामा समाचार लेखे पनि सनसनीपूर्ण खबर दिने जागरणजस्ता पत्रिकाको भाका फेरिएको देख्दा पक्कै पनि केही परिवर्तन भएको महसुस गर्न सकिन्छ । नेपालप्रति भारतीय दृष्टिकोण बुझ्न हिन्दी पत्रिका गतिलो माध्यम हुन्, उनीहरू खुलस्त लेख्छन् ।

कालो हरिण प्रकरणमा जेल परेका सलमान खानको रिहाइ तथा इण्डियन प्रिमियर लिग (आइपीएल)को समाचार र ज्याकेट एडले भरिएका अंग्रेजी पत्रिकाले पनि प्रधानमन्त्री ओली–मोदी भेटको समाचारलाई महŒव दिएका थिए । द इण्डियन एक्सप्रेसले ‘आइ अन चाइना, इण्डिया पुसेज रेल, वाटर लिंकस् वीथ नेपाल’ शीर्षकमा समाचार छापेको छ भने द हिन्दुस्तान टाइम्सले ‘इण्डिया, नेपाल टु रिसेट टाइज् वीथ रेल वाटर लिंकस्’ शीर्षकमा मुख्य समाचार बनाएको छ । द टाइम्स अफ इण्डियाले पनि ओली–मोदी भेटको समाचारलाई आइतबार प्रथम पृष्ठमा प्रकाशित गरेको थियो । यी समाचार पढ्दा स्पष्ट हुन्छ भारतीय रेलको कुरा चीनसँग ठोक्किएर आएको छ ।

भारत भ्रमणमा जानुपूर्व संसद्लाई संबोधन गर्दै ओलीले नेपालको शिर झुक्ने, नेपालीको अपमान हुने कुनै काम नगर्ने प्रतिबद्धता जनाएका थिए । ‘भारत जानुअघि संसद् र सार्वजनिक रूपमा भनेको थिएँ– हाम्रो वैदेशिक मामिला मित्रताबाट प्रस्थान हुन्छ । त्यो मित्रता खुलस्त, पारस्परिक सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, जायज हित र स्वाभिमानको सम्मान, अहस्तक्षेप र पारस्पारिक लाभका आधारमा हुन्छ । यसलाई बेठीक ढंगले सञ्चालन गर्न खोज्दा वास्तविक मित्रता हुँदैन’ ओलीले स्वदेश फर्केपछि आइतबार भने, ‘हामीले त्यहाँ पनि त्यसैगरी कुरा ग¥र्यौं । २१औँ शताब्दीमा भारतलगायत अन्य मुलुकसँग कसरी सम्बन्ध स्थापित गर्न चाहन्छौँ भन्ने बतायौँ । उहाँहरूले नेतृत्व तहबाटै सकारात्मक रूपमा लिएर स्वागत गर्नुभो ।’ सार्वजनिक रूपमा बोलेजस्तै मोदीसँगका एक्लाएक्लै वार्तामा पनि ओलीले यी अडान राखेका हुन् भने प्रशंसा गर्नुपर्छ ।

भ्रमणको उपलब्धि त आगामी दिनमा देखिने छ । नेपालको सांसद भएर पनि भारतको गुणगान गाउने कांग्रेसी एक सांसदका अनुसार ओलीप्रति देखाएको नरमपन देखावटी र कस्मेटिक मात्र हो । सन् २०१९ मा हुने आमनिर्वाचन पार्टीका लागि प्रत्युत्पादक नहोस् भन्ने अभिप्रायले भारत ओलीप्रति नरम भएको उनको विश्लेषण छ । आफ्नो दादागिरीका कारण छिमेकी देशमा एक्लिँदै गएको परिवेशमा भारतले नेपालप्रति केही नरमपन देखाएको उनको बुझाइ छ । हैदरावाद हाउसमा दुई प्रधानमन्त्रीको संबोधनपछि विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेशसचिव विजय गोखलेको टोन हेर्दा पनि यो आशंकामा दम देखिन्छ । नेपाली पत्रकारलाई निषेध गरिएको पत्रकार सम्मेलनमा भारतीय पत्रकारले विगतको नाकाबन्दी, संविधान संशोधनजस्ता प्रश्न गर्दा टारिदिए । नेपालमा चीनको प्रभाव बढेको प्रश्न सोध्दा तर्किए । हैदरावाद हाउसमा ओलीसँग उभिएर मधुर भाषामा दुई शब्द नेपालीमा बोल्दैमा ज्यादै उत्साहीत हुनु पर्ने केही छैन । यस्तै मीठा भाषण उनले नेपालको संसद्मा उभिएर नगरेका होइनन्, बदलामा अमानवीय नाकाबन्दी थोपरे । अहिले मिठो बोल्दैमा यो पुस्ताले त्यो अमानवीय नाकाबन्दीलाई सजिलै बिर्सन सक्ला र ?


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top