एक धर्को सिन्दूर, के थियो उनको कसुर ?


Friday, 6 Apr, 2018 6:36 PM

एक धर्काे सिन्दूरका कारण धेरै चेलीको जिन्दगी आवाद भएको छ । र, यही सिन्दूरका कारण धेरै चेली बर्बाद पनि भएका छन् । हतारमा बिहे गरेर फुर्सदमा पछुताउने माइतीहरू धेरै छन् । आफ्नो छोरी–चेली अन्माउनुअगाडि कुलघरानबारे बुझेर मात्र विवाह गर्नुपर्ने हो । तर, जब अभिभावकका लागि छोरी चेली बोझ ठहरिन्छ र हतार–हतार छोरीको हात पराइलाई सुम्पिइन्छ अनि सुरु हुन्छ छोरीको भागमा आँसु । उनी पनि त्यसको सिकार बन्न पुगिन् । 

भन्छन्, जन्म, मृत्यु र विवाह पूर्वनिर्धारित हुन्छ । कोही रहरले जन्मेका हुँदैनन् । र, उस्तै हो विवाह पनि । कहाँको केटीको सिउँदो, कहाँको केटाले विवाहमण्डपमा सातफेर घुमेर रंगाइदिन्छ र कसम खान्छ सातै जुनी सँगै मर्ने सँगै बाँच्ने तर त्यो कसम सात दिन पनि टिक्दैन । त्यही विवाह मण्डपमा रंगाइदिन्छ एक धर्काे सिन्दूर हालेर । र, त्यही एक धर्काे सिन्दूरले जीवनभर सास्ती, पीडा र आँसु दिन्छ । जस्तो आँसु पिएर बाँचिरहेकी छन् सुशीला पाण्डे । १० वर्ष बित्यो यिनले शारीरिक र मानसिक प्रताडना व्यहोरेको । २१ फागुन ०६५ – सुशीलाको थर बदलिएको कालो दिन । जुन दिन चितवन बरुवाको कृष्णप्रसादले सुशीलाको थर बदलेर आचार्य बनाइदिए । दुवैतर्फबाट मागीविवाह सम्पन्न भयो । तर, आज त्यही मण्डपको असली कृष्णले उनको जिन्दगी तहसनहस बनाइदियो । थर मात्र बिलाए केही हुन्न थियो तर सारा जिन्दगी नै डामाडोल भएपछि उनी न्यायको खोजीमा चारैतिर भौंैतारिरहेकी छन् । भन्छन्, कानुनको नौ सिङ हुन्छ, उनले कहीँ–कतैबाट न्याय पाउन सकेकी छैनन् । चौतर्फी निराशासिवाय । 

सिउँदोको एक चिम्टी सिन्दूर र गलामा पोते लगाइदिएर यौन प्यासका निम्ति झुटो लगनगाँठो कस्ने श्रीमान््ले विवाह भएको हप्ता दिन नपुग्दै ‘मेरो बाहिर अर्कै केटी छ, तँसँग विवाह समाजलाई देखाउनका लागि मात्र गरेको हो । घरपरिवारको करकापले । यो समाजले इज्जत, कुल र पढेको केटी खोज्दो रहेछ । त्यही कारण तँसँग विवाह गरेको हुँ ।’ भन्दा सुरुमा त सुशीलाले गल्ती आफ्नो पनि रहेको महसुस गरिन् । जब कि दुईबीच कुनै चिनजान थिएन, अप्रत्यासित रूपमा परिवारको करकापले लगनगाँठो कसिएको थियो । माइतीले त ‘ऊजस्तो खास्साको केटो पाइँदैन, एक दिन चेलीले पराइ घर जानैपर्ने र त्यसमाथि उमेर पनि भइसकेको छ’ भन्दै सुझाएको हो । बुबाआमाको मन राख्नकै लागि त्यो केटालाई रोजिन् । यसरी नै सुरु भयो, कालो दिनका गोरेटोहरू । सास रहुञ्जेल आस ! उनी पनि हरेश नखाई आफ्नो अधिकारप्राप्तिका लागि दगुरिरहेकी छन् । तर कहिले पाउलिन् त न्याय ? 

विवाहपूर्व सोचेकी थिइन्, सुन्दर घरपरिवार हुन्छ । श्रीमान्् र बच्चाको हात समाउँदै आउने–जाने गर्नेछु माइती । तर, सोचेजस्तो कहाँ हुने रहेछ र जीवन ? विवाहको सुरुवाती दिनदेखि नै उल्टो घुम्न थाल्यो चक्र । एउटै बिच्छ्यौनामा हुन्थे र पनि कोसौं टाढा थियो मन । आखिर जीवनमा मनको नेटवर्क नै नमिलेपछि अरू के मिल्न सक्थ्यो ? यद्यपि, पतिमाथि दया देखाउँथिन् । सोच्थिन्, एकदिन ढुंगा पनि रसाउनेछ । तर, प्रतिदिन पति हिसं्रक बन्न थाले । उनी आफ्नै भाग्यलाई सरापेर बाँच्न विवश भइन्् । 

 औंलाले एक÷दुई दिन गर्दै महिनौंसम्म त्यो जंगली व्यवहार सहिन् । ‘ओई ! बाहिर राम्रो देखाउँछु, भित्र यस्तो यातना दिन्छु कि । त्यति मात्र होइन, तँलाई पिटी पिटी मार्छु र ऊ त्यो रूखमा झुन्ड्याइदिन्छु ।’ उनले त्यो यातना कसरी खपिन् होला ? उनले झैँ विवाहित नारीहरूले विवाहपछिको जीवन कसरी जिइरहेका होलान् ? भन्छिन्, ‘मैले त यस्तो यातना खपेँ खपेँ । मजस्तै अन्य विवाहित नारीले खप्नु नपरोस् ।’ यस्ता श्रीमान्् पाउनुभन्दा बरु जीवनभर बूढीकन्या बस्नु बेस !’ छातीमा, पेटमा, टाउकोमा र पिठ्युँमा पतिले कति लात बजारे ? कहाँ कहाँ छैन नीलडाम ! तर, हिंस्रक पतिले के नै बुझ्थे र ! दिनभर शारीरिक यातना, फेरि रातभर मानसिक र यौन प्रताडना । यसरी नै उनले काला रात काटिन् । पति नै आफ्नो नभएपछि तिनका बुबाआमा दाजुभाइ कसरी आफ्नो बन्लान् ? बनेनन् । ओरालो लागेको मृगलाई बाच्छाले खेदेझैं खेदे उनलाई पनि आफ्नै भाग्यले लखेट्यो । आफूमाथि भएको अन्यायविरुद्ध मुख खोल्ने आँट कसरी गरूँ ? सुनाउँछिन्, ‘मैले भनेको कुरा समाजले कसरी पत्याउँछ ? उल्टै ममाथि झम्टिने खतरा थियो ।’ यसरी नै दिन बित्दै जाँदा उनले आफूमाथिको त्यो अत्याचार बाहिर निकाल्न खोजिन् तर श्रीमान््ले थर्काए, ‘तैंले मलाई चिनेकै छैनस् । मजस्तो हरामी कोही छैन । तैंले सक्या गर्, मैले सक्या म गर्छु तर तँलाई बाँच्न मन छ भने यो घर छाडेर जा, कसै–कसैले त अर्काकी छोरीसहितकी श्रीमती भिœयाएर तँजस्तीलाई उल्टै अंशमुद्दा हालेको पनि देखेको छु बुझिस् ?’

ठ्याक्कै विवाह भएको एक वसन्त पार गरेर चार महिना कटेछ । त्यसपछि उनलाई केही हल्काजस्तो महसुस भयो । जंगली यातना दिने श्रीमान्् विदेश गए । जानुअघि बारम्बार भन्ने गर्थे, ‘लाइफ भनेकै रिल्याक्स गर्नका लागि हो । म मस्ती गर्न मलेसिया जान लागेको हुँ, पैसा कमाउन होइन ।’ त्यति मात्र कहाँ हो र ! मलेसियाका जस्ता राम्रा महिला संसारमा कहीँ पाइँदैन । त्यहाँका महिलाले जस्तो माया संसारका कसैले गर्दैनन् । तँसँग त त्यो माया गर्न चिज नै गतिलो छैन र माया गर्न पनि जान्दिनस् ।’ श्रीमान्् बाहिर उडेको केही समय भएको थियो भनी धक्कु लाउँथे । औँला भाँच्दै भनिन्, विवाह गरेको दुई वर्षपछि छोरा जन्मियो । यसअघि जे–जस्तो भए पनि छोराको अनुहार देखेपछि त्यो हिंस्रक पति पनि आफ्नो हुँदोरहेछ । श्रीमान्् मलेसियामा जे–जसरी मोजमस्ती गरिरहे पनि सिउँदो रंग्याइदिने त उनै हुन् नि ! त्यसपछि उनले पतिलाई फोन लगाइन् । छोराको अनुहार काटीकुटी बुबाजस्तै भएको सुनाउन के अघि बढेकी थिइन् उताबाट पतिले छोरालाई डन बनाउने हो डन भन्दै धम्क्याए, ‘डन बनाउन पैसा खर्च लाग्दैन । तँलाई पाल्न पनि गाह्रो हुँदैन । यदि पाल्न गाह्रो भयो र धर्मछोरो पाल्ने कुनै धनी मान्छे भेटियो भने दिनू ।’ अरू आमाले झंै आफ्नो छोरोलाई पनि डाक्टर, पाइलट, वकिल बनाउने मन कस्तो भयो होला ? वर्षांैदेखि रुँदा–रुँदा सकिएको ओभानो आँखालाई हत्केलाले पुछ्दै भन्छिन्, ‘मप्रतिको माया–ममता नभए पनि छोराको माया लाग्नुपर्ने हो । किनकि ऊ त उसकै रगत हो ।’

छोराको भविष्य नबिगार्न मलेसियामा मोजमस्तीको जीवन जिइरहेका श्रीमान््लाई पटक पटक आग्रह गरिन् । तर, उल्टै मानसिक यातना पाइन् । स्वरूप फेरियो, यातना उही । ‘अबआइन्दा मलाई फोन गर्ने होइन । र, सुन् तँ पोइला जान्छेस् कि बस्छेस् ? बरु पोइला जाने केटा पाइस् भने एक लाख दिन्छु ।’ दाइले विदेशबाट यसरी यातना दिँदा साथ दिने परिवारले हो तर सासू, ससुरा, देवर र देवरानी सबैबाट उस्तै प्रताडना । त्यो दिन सम्झिन्छन्, जब देवर घाँटी अँठ्याएरै मार्न तम्सिए । तर, धन्न बचिन् । ०७१ साल जेठको घटना हो यो । जेजस्तो भए पनि माया त माया नै रहेछ । यत्तिका धेरै यातना दिए पनि श्रीमान््लाई सम्झिएर फोन गर्थिन् । श्रीमान्् त ढुंगा भइहाले । फोनमै च्याँठ्ठिन्थे । ‘तँलाई जिन्दगीभर बाँच्न दिन्न, बाँचिस् भने पनि हाँस्न दिन्नँ ।’ र, चट्टै फोन काट्थे । यता, देवर र देउरानी देखिसहँदैनथे । जबकि दिदीको पीडा देउरानीले बुझिदिनुपर्ने । तर, उनी दुस्मन भइदिइन् र आफ्नो श्रीमान््सँग मिलेर उल्टै कपालको चुल्ठो समाउँथिन् । 

आफ्नो जिन्दगी बिग्रिए पनि उनलाई त्यो जिन्दगीको खासै अर्थ थिएन । तर, आफ्नो त्यो नासोका निम्ति मैदानमा उत्रिइन् । र, डरका बाबजुद अघि बढेर परिवारविरुद्ध अंशमुद्दा हालिन् । मुद्दा हालेपछि देवर–देउरानीको चड्कन पनि खाइन् । यही मुद्दाका कारण श्रीमान्् स्वदेश फर्किए र उल्टै यातना दिन थाले । मुद्दा फिर्ता लिन दबाब दिन थाले । समाजका अगाडि चरित्रहीनको आरोप लगाए । भद्रभलाद्मीसामु श्रीमान्ले रुँदै भने, ‘गल्ती मेरै हो । मैले गरेकै हो । यत्रो वर्ष विदेश बस्दा एक रूपैयाँ पठाइनँ । अब यतै केही गर्न चाहन्छु ।’ 

तर, जब त्यो भीड सुनसान बन्यो त्यसपछि लात्ताले बजारे । ‘मलाई श्रीमती चाहिएर विवाह गरेको होइन । म कति हरामी छु भन्ने तँलाई र मलाई मात्र थाहा हुन्छ । तेरो ज्यान बचाउनु छ भने अंशमुद्दा फिर्ता लिई । होइन भने तेरो ज्यान प्राण रहँदैन ।’ यसपटक हिंसाको रूप फेरियो । ती चेलीविरुद्ध लोग्ने त झम्टेनन् तर ससुरा र देवर जाइलागे । श्रीमान् भनाउँदो दर्शक बने । भाइसँग मिलेर हत्या गर्ने धम्की दिँदै जतिसक्दो चाँडो मुद्दा फिर्ता लिन धम्क्याइरहे । आफूलाई मारे पनि मुद्दा फिर्ता नलिने अडान लिइरहिन् । शरीरलाई जति यातना दिइए पनि एक हिसाबले बानी परिसकेको थियो । फिर्ता लिन नछाडेपछि श्रीमान्ले फेरि धम्क्याए, ‘तंैले माना चामल मुद्दा त हालिस् तर अब म मलेसिया नै जान्छु । त्यहाँ कसैलाई मैले काम गर्ने कम्पनी थाहा छैन । न त आम्दानी कति हुन्छ भनेर थाहा हुन्छ । तँ माइतीको आड लिएर मुद्दा लडिराख् । म यो मुद्दा अरू १० वर्ष मुद्दा लम्ब्याइदिन्छु र तेरो माइतीलाई पनि घर न घाटको बनाइदिन्छु ।’ आखिर एक धर्काे सिन्दूरका कारण एउटी चेलीको जिन्दगी नर्कतुल्य बन्न पुगेको छ । उनी केवल एक मुठी सास अड्याइरहेकी छन् छोराको भविष्य हेर्दै । थाहा छैन यी चेलीले न्याय पाउन कति वर्ष अझै कुर्नुपर्छ । यस्ता हरामी पुरुषहरू कानुनी कठघरामा पुगेको हेर्न पाइन्छ कि पाइँदैन ! 

– विजया चौलागार्इं, चितवन


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.725/-

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top