पानी पकाएर बाक्लो, हुन्न मान्छे फकाएर आफ्नो


Friday, 6 Apr, 2018 6:32 PM

  • संकेत कोइराला

सन्दर्भ ६ दशकअघिको हो । बिपी कोइराला दुई तिहाई जनमतप्राप्त संसद्का सर्वाधिक शक्तिशाली प्रधानमन्त्री । चीनको निम्तामा राजकीय भ्रमण तय भयो । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले चीनमा उठाउने एजेण्डा दिए । उनलाई नेहरूको शैली पचेन । तत्काल प्रतिवाद गरे– ‘एउटा सार्वभौम मुलुकको प्रधानमन्त्रीले स्वतन्त्र मुलुकको सरकार प्रमुखसँग वार्ता गर्ने विषय खुट्याउन आपैंm सक्षम छ । मलाई कुरा गर्ने तरिका सिकाउन जरुरी छैन ।’ यही भ्रमणमा भारतनिकट मानिने गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई लगे । तर द्विपक्षीय वार्तामा समावेश नगरी बरु बालक छोरो प्रकाशको हेरालु बनाएर होटलमै छोडिदिए । यो प्रकरणबाट आगो भएका नेहरूले तत्काल राजा महेन्द्रसँग सम्बन्ध बढाई बिपीको पखेटा काट्ने काम थाले । सबैलाई हेक्का छँदै छ, त्यसपछि ०१७ सालको नाटक पूर्वाभ्यासको नर्सरी बिरुवा यहीँबाट रोपियो । नेहरू डक्ट्रिन यस्तो खतरनाक थियो, जसले हिमालय पर्वतलाई भारतको अन्तिम सीमारेखा ठान्थ्यो । छोरी इन्दिरा गान्धीको शासनकालमा नेपालप्रतिको हेपाहा दृष्टिकोण झन् लाभा बनेर प्रकट भयो । 

देश समृद्ध हुन ठूलो भइरहन जरुरी छैन । काठमाडौं जत्रो सिंगापुरका जनताले भीसाका लागि संसारका कुनै देशमा लाइन लाग्न जरुरी छैन । बरु ‘मेरो देशमा पाइला टेकिदेऊ’ भनेर रातो कार्पेट बिछ्याउनेको ओइरो छ । एउटा दलदले जमिन स्वर्ग बनाउने लिक्वान युमा माइक मेनियाको भूत कहिल्यै सवार भएन । बरु देश निर्माणको भिजनका विषयमा सबैका भनाइ सुन्थे । विद्वत समूहसँग बहस गर्थे । अन्तिममा उनको एउटै जिज्ञासा हुन्थ्यो– ‘यो निर्णय गर्दा सिंगापुरले कति पाउँछ, कति गुमाउँछ ?’ जब गुमाउने बद्लामा पाउने पल्ला भारी भएको निश्कर्ष निस्कन्थ्यो, आँखा चिम्लिएर ल्याप्चे लगाउँथे । नेपालीको मानसपटलमा दरिद्र मुलुकको दृश्य घुम्ने इथियोपिया दोहोरो आर्थिक वृद्धि दरको बाटोमा लागिसक्यो । अहिले त्यहाँ विकासको विकल्प विकास मात्र देख्न पाइन्छ । इथियोपियाबाट थाइल्याण्ड दैनिक सीधा हवाई सेवा छ । यो यथार्थसँग कति नेपाली जानकार छन् ?

आफ्नो देशलाई साँचो अर्थको देश बनाउने प्रयास यहाँ कहिल्यै भएन । जसले प्रयत्न ग¥यो, त्यसको प्रयासमा चरु हाल्ने कर्तव्य सम्झेनौं । यो पुस्तौं पुस्ताबाट हुँदै आएको गल्ती हो । सबैभन्दा चुरो सत्य त के भने फेसबुकमा राष्ट्रियता पोख्यौं, उठायौं । चन्द्र–सूर्यअंकित झण्डाको कपडामा गलफत्ती ग¥यौं । स्वदेशमा पृथ्वीनारायण शाहको सालिक उखेल्यौं, चीन गएर माओको सालिक परिक्रमा ग¥यौं । गाईको मासुबारे वाकयुद्ध गर्नमा रमायौं तर तारे होटलमा ‘बिफ’ मगाएर युद्धको रोडम्याप कोर्नेहरूको अनुहार सम्झिने दरकार राखेनौं । सवै नामका अगाडि जन थप्नुलाई राजनीतिक उपलब्धिको मापन बनाइयो । चालीस लाख नेपाली मुलुक बाहिर छन् । हो, संसार गाउँ बनेको अवस्थामा जो जहाँ जान, कर्म गर्न र पढ्न स्वतन्त्र छन् । तर ३ सय ६५ दिन देशलाई सराप्ने खेती कुन देशको सभ्यताभित्र पर्छ ? कचौरा जत्रो देशमा खेलकुद टुँडिखेलभन्दा ठूलो भयो । सबैथोकको सट्टा अर्ती उत्पादन हुन थाल्यो । फेसबुकमा प्रकाशित दिउँसै रात पार्ने खालका अपराध र स्वार्थ प्रेरित वाणीहरूको बिस्कुनमा सबै रमाए । व्यक्तिपिच्छेका प्रवक्ता जन्माइए । विदेशमा चौकीदारी गर्नेलाई देशको मन्त्री, प्रधानमन्त्री भएको भ्रम पलाउन थाल्यो । राजनीतिको मात यसरी लाग्यो कि घरबार साहुको नाममा बन्धकी राखेर अरबमा पसिना बगाउन गएको एउटा नेपाली कामदार सुत्केरी श्रीमतीलाई ज्वानो ख्वाउने खर्च पठाउन चुक्यो । दमले ग्रस्त बाउआमाको स्वास्थ्योपचारमा सहायक बन्न बिर्सियो । बरु नेताको आतेजाते, लवाई खवाई, बसाईको जिम्मा लिएर विमानस्थलमा खादा ओढाउँदै ऊसँग सेल्फी खिचेर फेसबुकमा अपलोड गरेको क्षण उसका लागि जीवनको सर्वाधिक सुखद र उपलब्धिमूलक घडी बन्न थाल्यो ।

विश्वमा एक देशबाट अर्को देशमा काममा जानु अब सभ्यताभित्र पर्छ तर नेपाली मात्र त्यस्ता कामदार हुन्, जसलाई मजदुरीभन्दा नेतागिरीको भोक छ । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाका भाइ चीनमा मजदुरी गर्छन् । उनले दाजुको पूmर्ती लगाएको समाचार मिडियामा कहिल्यै सार्वजनिक भएन । दाजु अमेरिकाको राष्ट्रपति हुँदा जागिर छोडेर किचेन क्याबिनेटको धूनी बाल्न अमेरिका फर्किएको खबर पनि कतै सुनिएन । बरु बाइबल समाएर अमेरिकी राष्ट्रपतिको त्यो सर्वोच्चताको धरहरा चढेका बाराक ओबामाले मारिया र हनुमानको लकेट आपूmसँग चौबीसै घण्टा खल्तीमा रहने गरेको बताएर विश्वलाई चकित बनाए । भारतका वैज्ञानिक राष्ट्रपति अब्दुल कलामको बिहानी सत्र सितारमा रामधून बजाएर शुरु, नमाज पढेर अन्त्य हुन्थ्यो । यी सत्य हाम्रा निम्ति प्रेरक नभएर गाईको मासुमा किन अल्मलियौं ? यी सवै गतिविधि काम नपुगेको छटपटी हो । सबैलाई अर्गानिक दूध चाहिने, गाई पाल्नु नपर्ने । विशुद्ध अन्नपात चाहिने, खेत बाँझो राख्ने । सीप गाडी चलाउने, सोख जहाज उडाउने । खानुपर्ने अम्लेट, फुटाउन नदिने अण्डा । यस्तै अप्राकृतिक गतिविधिमा रम्नु दैनिकी बन्दै गयो । 

आफ्नो देशमा प्रदूषणका कारण हुस्स लाग्ने क्रम बाक्लिन थालेपछि भारतले दिउँसै हेडलाइट बल्ने मोटरसाइकल बजारमा ल्यायो । भारतको बजारमा पानी परेपछि नेपालमा छाता ओढ्नुप¥यो नै । आखिर दिउँसै हेडलाइट बल्ने मोटरसाइकल नेपालको सडकमा बगे्रल्ती देखिए । ब्रिटिस उपनिवेश बनेको भारतमा गोराहरूले दाहिने स्टेयरिङ भएको गाडी चलनमा ल्याए । त्यही सक्कल बमोजिम नक्कल नेपालमा उत्रियो । हिन्दी सिनेमा हल गएर हेर्ने सम्मानित नेपाली नागरिक दरिन्छ । हिन्दी गीत हुबहु गुन्गुनाउने अब्बल कलाकार प्रमाणित हुन्छ । चारधाम घुमेर आउनेको स्वर्ग सुरक्षित हुन्छ । काशीमा गएर पिण्ड बाट्नेले पितृका लागि थप भार उठाउनु पर्दैन । अलि कम्मर मर्काउने छोरो जन्म्यो भने सिधै साहरूख खानसँग तुलना गरिन्छ । तर नेपाली नेता भारत छि¥यो कि त सीधै अपराधीको दर्जामा राखिन्छ । राष्ट्रियताको परिभाषा विचित्रको छ । एउटा नर्सरी पढ्ने भारतीय बालकले तोते बोली फुट्नासाथ जानेको डाइलग हो– ‘दूध मागे तो खिर देंगे, कस्मिर मागे तो चिर देंगे ।’ माटोप्रतिको ममता हाम्रो भूमिमा शून्य छ । बोर्डिङ पढ्ने छोरोले टाइगर भन्यो त ठीक छ, झुक्किएर बाघ उच्चारण ग¥यो भने लगानी डुबेको सम्झिएर बाउआमाको रोइलो शुरु हुन्छ । ठेट्ना मकै अखाद्य, पपकर्न प्रिय मानिने दर्शन कहाँबाट शुरु भयो ? आलु कोक्याउने, चिप्सले जीब्रो लठ्याउने, यो संस्कार राज्यले बसाएको कि जनताले ? भारत, चीनका कारण समस्यामा जाकिने हैन । समस्या त सोचमा हो । खसी, कुखुरा, गाई, गोरुको मासुमा हामी विभाजित हुन्छौं भने त्यसको दोषी को ? आफ्नो आँगन फोहोर गरेर अरूलाई बढार्न प्रोत्साहित गरेपछि हस्तक्षेपको राग अलाप्न मिल्छ ? सत्य के हो भने पकाएर पानी बाक्लो र फकाएर मान्छे आफ्नो किमार्थ हुन्न । 

प्रधानमन्त्री केपी ओली भारत जाँदै हुनुहुन्छ । भ्रमणलाई लिएर नाफा घाटाका क्याल्कुलेटर थिच्न शुरु भएको छ । एकपल्ट त्यो समय स्मरण गर्न जरुरी छ, जुनबेला बिपीले भारत जानुअघि नेपाल कम्युनिस्ट पार्टीका नेता केशरजंग रायमाझीलाई बोलाएर १० हजार दिँदै भनेछन्– ‘यो पैसा लिनुस् र मेराविरुद्ध नारा जुलुस गराउनुस् । जसका कारण मैले तपाईंहरूलाई देखाएर भारतबाट बढीभन्दा बढी राष्ट्रिय हितमा काम गरी फर्कन सकौं ।’ नियतिले ओलीलाई बिपीकै हाराहारीमा शक्तिशाली बनाएको छ । यसैको फोटोकपी गर्न त युगअनुकूल हुन्न, तर समस्याका प्रकृति फेरिएका छैनन् । अब उधारोमा सम्झौता गरेर झुक्याउने दिन गए । यो सत्यलाई आत्मसात गर्न जरुरी छ । मानिसले सोचेको विषय त गोपनीयता नहुने समयमा गरिएका सन्धि, सम्झौता, दिएका बचन गोप्य रहलान् भनेर सोच्नु नै गलत हो । यति मात्र सोचिदिए पुग्छ– फलाम कमजोर हुने अरूले नभएर आफूभित्रै उत्पन्न हुने खियाले हो । अहिले अति समृद्ध मुलुक जापानको संविधान अमेरिकाले बनाइदिएको हो । अमेरिका नै त्यो देश हो, जसले जापानमा एटम बम खसालेर लाखौं निर्दोषको ज्यान लिएको थियो । तर, त्यो देशमा अमेरिकाविरुद्ध प्रदर्शन भएको कसैलाई थाहा छैन ।

एक जापानी नागरिकलाई सोधियो, ‘यत्रो अप्रिय इतिहास हुँदा पनि जापानी नागरिक किन कहिल्यै अमेरिका विरुद्ध प्रदर्शन गर्दैनन् ?’ उसले दृढतापूर्वक जवाफ दियो, ‘आफ्नो देशमा आफ्नो शत्रुको विरोध गरेर लफडाबाजी गर्नु ती कमजोर निकम्माको कर्म हो, जो वास्तवमा केही गर्न चाहँदैनन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा जापानमा बनेका टेलिफोन, टिभी सेट राखिएका छन् । यो नै हाम्रो विजय र बदला हो ।’ नेपालको सेतो सुन मानिने पानीबाट उत्पादन भएको बिजुलीको उज्यालोमा उभिएर भारतीय नेताले भर्चुअल बैठक गरेका दिन नेपाली मुटु नाङ्लोभन्दा फराकिलो हुने थियो । त्यो जवाफ अमेरिकासँग जापानले पत्थरको बदला पूmल दिएको भन्दा कम कहाँ हुन्थ्यो र ? 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउपालिका ,मैनापोखरीमा नयां शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैकको कार्यालय  संख्या ५३…

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक

Mega Bank Ltd.
Top