​राष्ट्रपतिको प्रेमपूर्ण सम्बन्धका थप रहस्य


Thursday, 5 Apr, 2018 3:46 PM

  • राजेन्द्र स्थापित

घटना अमेरिका स्वतन्त्र हुनुअघिको हो । जर्ज वासिंगटन स्वतन्त्रताको लडाइँ लड्दै थिए । भर्जिनिया राज्यको प्रथम सेनापति बनिसकेका थिए । सन् १७५८ मा कर्नेल जर्ज विलियम्सबर्गसँग जाँदै गर्दा बाटोमा एउटा ठूलो बंगलामा अतिथि बन्न पुगे । सो घर मार्था ड्याण्ड्रिज कुर्तिसको थियो । मार्था विधवा थिइन् र दुई सन्तानको साथमा बस्थिन् । उनले १९ वर्षकै उमेरमा धनी कृषक तथा राजनीतिज्ञ ड्यानियल पार्क कुर्तिससँग बिहे गरी र छोटो समयमै चार सन्तानको आमा बनिन् । तर दाम्पत्य जीवनमा प्रवेश गरेको सात वर्षमै ड्यानियलको निधन भयो । पतिको निधन हुनुपूर्व दुई नावालिग सन्तान पनि गुमाइसकेकी थिइन् । पतिको मृत्युपछि अकूत धनसम्पत्तिको मालिक्नी बनिन् । १७ हजार पाँच सय एकड भूमि र तीन सय दासको मालिक्नी बन्दा उनको उमेर २५ वर्ष थियो ।

जर्ज वासिंगटनलाई मार्था पनि चिन्थिन् । जर्जले यसअघि पनि एकपटक मार्था र ड्यानियलको घरमा एकरात बिताइसकेका थिए । तर, त्यसबेला मार्था ड्यानियलकी पत्नी थिइन् । तीन छोरा र एक छोरीको आमा । यसपटक भने विधवाको जीवन बिताउँदै थिइन् । लोग्ने ड्यानियलको निधन भएको एक वर्ष मात्र भएको थियो । मार्था २७ र जर्ज २६ का थिए । एक दिन, एक रातमै दुवै समिप पुगे । प्रेमीप्रेमिका बने । जर्जको त्यो प्रथम प्रेम थियो । उनले अर्को वर्ष सन् १७५९ मा विधवा मार्थासँग बिहे गरे । मार्थाका छोराछोरीलाई सकारे । दाम्पत्य जीवन सुखका साथ बित्दै थियो । यसबीच जर्जका दाजु लरेन्सको निधन भयो । उनी भर्जिनिया राज्यको सेनामा मेजर थिए । लरेन्सको मृत्युपछि रिक्त पदमा त्यस राज्यका ब्रिटिश गभर्नर लर्ड फेयरफैक्सले जर्ज वासिंगटनलाई नियुक्त गरे । राज्यका अन्य अधिकारीहरूले यो नियुक्तिमा आपत्ति जनाए । कम उमेरकालाई ठाडो आदेशको भरमा नियुक्ति दिइएको भनी विरोध जनाए तर लर्ड फेयरफैक्सले जवाफ दिए, ‘सेनामा वासिंगटनको उपस्थिति नै हाम्रालागि काफी छ, उनको नाउँ नै परिपक्वताको प्रमाण हो ।’

मेजर बनिसकेपछि लर्डको घरमा जर्जको आतेजाते शुरु भयो । लर्डकी जेठी छोरी सैली केरी अत्यन्त सुन्दर थिइन् । जर्जभन्दा दुई वर्ष जेठी । कलेज जीवनमा सैलीका थुप्रै प्रेमी थिए तर अन्त्यमा कर्नेल जर्ज विलियम सैलीको मन जित्न सफल भए र सन् १७४८ मा बिहे गरे । लगत्तै विलियमकी बहिनी ऐनीले जर्ज वासिंगटनका दाजु लरेन्ससँग बिहे गरे । यसकारण सैली नाताले जर्जको भाउजूको पनि भाउजू परिन् । एकदिन लरेन्सले भाइ जर्जलाई घरमा बोलाए । रात्रिभोजमा विलियम पनि सहभागी थिए । एक–अर्काबीच परिचय आदानप्रदानपछि जर्ज र विलियम मित्र बने । यसो हुनुको एउटा कारण दुवैको उमेर समान हुनु हो । पछि जर्ज विलियमको घरमा जान थाले । यसैक्रममा विलियमकी पत्नी शैलीसँग पनि मित्रता बढ्यो । शैली धेरै पढेकी शिक्षित र तीक्ष्ण बुद्धिकी थिइन् । तुलनात्मक रुपमा जर्ज कम पढेका सैन्य अधिकृत थिए । चाँडै नै जर्ज सैलीको सुन्दरता र तीक्ष्णताबाट प्रभावित बने भने उनी जर्जको व्यक्तित्वबाट । 

त्यो समय मार्थासँग भेट हुनुअघिको थियो । जर्ज सैलीसँग प्रेम गर्न थालिसकेका थिए तर सैली विवाहिता र आत्मीय मित्रकी पत्नी भएकीले बिहेको सम्भावना देखेनन् । सैलीको मृत्युपछि फेला परेको प्रेमपत्रबाट जर्जले सन् १७५८ मा नै सैलीलाई चिठी लेख्न थालिसकेको थाहा हुन्छ । यसबीच जर्जले मार्थासँग बिहे गरे । जर्जले सैलीसँग प्रेम गरे पनि बिहेको प्रस्ताव राख्न सकेका थिएनन् तर सैलीले आफूलाई थाम्न सकिनन् र मनको कुरो प्रष्ट पारिदिइन् । जर्ज एकदम संकटमा परे । एकतर्फ उनी सैलीप्रति एकदम आशक्त बनिसकेका थिए भने अर्कोतर्फ मार्थासँग बिहे गर@Xसन्तानको जिम्मा पनि लिइसकेका थिए । उनी एकदम संवेदनशील व्यक्ति थिए, यसर्थ मार्थालाई त्यागेर उनको मन दुखाउने हिम्मत गर्नै सकेनन् । त्यसमाथि मार्था जर्जलाई एकदम माया गर्थिन् । त्यसैले सैलीसितको प्रेमलाई जर्जले सार्वजनिक गर्न चाहेनन् । प्रेम भने गर्दै गए ।
 
उता, मार्था लोग्ने जर्जलाई अत्यन्त विश्वास गर्थिन् । लोग्नेको संरक्षणमा दंग थिइन् । छोराछोरी र घरको हेरचाहबाहेक केही सोच्दैन थिइन् । कतै बाहिर जाँदैन थिइन् । यदि सन् १८११ मा सैलीको निधनपश्चात् कोठामा लुकाइराखेको तैलचित्र फेला नपरेको भए मार्थालाई त के संसारलाई थाहा हुन्नथ्यो कि अमेरिकाका राष्ट्रपिता तथा प्रथम राष्ट्रपति जर्ज वासिंगटनले मार्थाबाहेक अन्य स्त्रीसँग पनि प्रेम गरेका थिए भन्ने रहस्य ! फेला परेको सोही तैलचित्रको आधारमा खोजी गर्दा जर्जले लेखेको प्रेमपत्रलगायत दुवैको प्रेमलाई प्रमाणित गर्ने अन्य कागजात पनि फेला परे । जर्ज र शैलीको प्रेमकथाको अन्त्य कसरी भयो भन्दा, सन् १७७३ मा विलियम परिवारसहित घरायसी समस्या सुल्झाउन बेलायत फर्के । यसबीच अमेरिकामा स्वतन्त्रता संग्राम चर्कियो । विलियमको भविष्य अन्धकार बन्न पुग्यो । अमेरिकामा बसेका बेलायतीहरु पनि भागेर स्वदेश फर्के । तीन वर्षपछि सन् १७७६ को जुलाई ४ मा अमेरिका स्वतन्त्र भएको घोषणा भयो । स्वतन्त्रतापश्चात् पनि विलियम र सैलीहरुले अमेरिका फर्कने कोसिस गरे । सैलीले आफ्नी नन्द (लरेन्सकी पत्नी तथा जर्ज वासिंगटनकी भाउजू) लाई पत्र लेखेर अमेरिका फर्कने इच्छा जाहेर गरिन् र जर्जसँग कुराकानी गर्न आग्रह गरिन् तर सम्भव भएन । किनभने क्रान्ति सफल भएलगत्तै बेलायतीहरुलाई अमेरिका प्रवेशमा रोक लगाइसकिएको थियो । विलियमको मृत्यु सन् १७८७ मा बेलायतमै भयो । सैलीले पनि बाँकी जीवन बेलायतको बाथमै बिताइन् र उनको मृत्यु सन् १८११ मा त्यहीँ भयो । उनको मृत्यु हुनु १२ वर्षपूर्व नै जर्ज वासिंगटनको निधन भइसकेको थियो । 

युद्ध जित्ने उपाय
युद्धको समय । फ्रान्सिसी सम्राट नेपोलियन पालभित्र मस्तले निदाइरहेका थिए । मध्यराति अंगरक्षकले उठाए । नेपोलियनले सोधे, ‘मलाई किन उठा’को ?’

अंगरक्षकले बिन्ती गर्दै भने, ‘महाराज, सेनापति तपाईंसित अहिल्यै भेट्न चाहन्छन् ।’

नेपोलियनले कोल्टे फेर्दै सोधे, ‘सोध, के कुरा हो ?’

अंगरक्षक, ‘दक्षिणतिरबाट शत्रुको सेनाले हमला ग¥यो । सेनापति अब के गर्ने भन्ने हजुरको आदेशको प्रतीक्षामा छन् ।’

शत्रुले गरेको हमलाको कुरा सुनेर नेपोलियन अलिकति पनि विचलित भएनन् । यहाँसम्म कि सेनापतिलाई नजिक बोलाउन आवश्यक ठानेनन् । अंगरक्षकलाई आदेश दिए, ‘कुनामा ३४ नम्बरको बक्सा छ । त्यो सेनापतिलाई देऊ र बिहान मलाई समाचार सुनाउन आउनु भन्देऊ ।’

३४ नम्बरको बक्सामा दक्षिणतिरका सेनाले आक्रमण गर्न आए जवाफी कारबाही कसरी गर्ने भन्ने देखाइएको नक्सा रहेछ । सोहीअनुरुप युद्ध भयो र फ्रान्सको सेना विजयी भयो । भोलिपल्ट सेनापति बिहानै उपस्थित भई नेपोलियनसित सोधे, ‘यति छिट्टै युद्धको योजना कसरी बनाउनुभयो ? के कुनै देउताले तपाईंलाई मद्दत गर्छन् ?’

नेपोलियनले जवाफ दिए, ‘हो, विचार र दूरदर्शिता नामक दुई देवता सधैं मेरो साथमा रहन्छन् । उनैले भविष्यको सम्भावनाप्रति मानिसले पहिल्यैदेखि जागृत र सावधान हुनुपर्छ भन्ने सिकाएका छन् ।’

सेनापति नेपोलियनको युद्धकौशल देखेर छक्क परे । अनि स्यालुट मारी छाउनीतिर फर्के । 

स्वतन्त्रताको स्वाद
जवाहरलाल नेहरु प्रधानमन्त्री बनेको केही समयपश्चात इलाहावादमा लाग्ने कुम्भ मेला अवलोकन गर्न गए । प्रधानमन्त्री स्वयं उपस्थित हुने समाचार फैलिएपछि सडकमा अपार जनसमूह भेला भयो । नेहरुको गाडी भीडको बीचबाट विस्तारै अघि बढ्यो । जनता तँछाडमछाड गर्दै थिए । भीडले ‘जवाहरलाल नेहरुको जय होस्’ भन्ने नारा लगाउन थाल्यो । अचानक एकजना वृद्धा धक्कमधक्का गर्दै अघि बढिन् र गाडीको नजिक पुगिन् । अनि चिच्याउँदै कराउन थालिन्, ‘हे जवाहर, तिमी कहाँ छौ ? मेरो कुरा सुन । तिमी नै हैन, हामीले स्वतन्त्रता पायौं भन्दै हिँड्ने ? खोइ कसले पाएको छ स्वतन्त्रता ? कसले पाएको छ मुक्ति ? तिमीजस्ता मोटर चढ्नेले पायौ होला स्वतन्त्रता, हामीजस्ता गरिबले कहाँ पाउनु ? हेर, मेरो छोराले एउटा जागिरसम्म पाएको छैन । अब भन, खोइ हामीले स्वतन्त्रता पाएको ?’

वृद्धा कराएको सुनेर नेहरुले गाडी रोक्न लगाए । वृद्धाको नजिक पुगे । दुई हात जोडेर नमस्ते गर्दै भने, ‘आमा, तपाईं सोध्दै हुनुहुन्छ खोई स्वतन्त्रता ?’ के तपाईंले स्वतन्त्र भएको महसुस गरिरहनुभएको छैन ? तपाईं आज देशको प्रधानमन्त्रीलाई औंला ठड्याउँदै ‘तँ’ भनेर संबोधन गर्दै हुनुहुन्छ, उसलाई गाली गर्दै हुनुहुन्छ । के तपाईंले यसअघि यस्तो गर्न सक्नुहुन्थ्यो ? तपाईं बिनाहिच्किचाहट आफ्नो गुनासो सुनाउन मेरो अगाडि उभिन आउनुभयो । यही त हो, हामीले पाएको स्वतन्त्रता !

नेहरुको कुरा सुनेपछि वृद्धाको रिसको पारो स्वात्तै झ¥यो । नम्र भएर प्रस्तुत भइन् । नेहरु ‘तपाईंको गुनासोप्रति अवश्य ध्यान दिनेछु’ भन्दै गाडी चढेर अघि बढे ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top