​अन्तर्घातीलाई त्यत्तिकै छाडेपछि क्यान्सर हुनेछ


Thursday, 29 Mar, 2018 1:25 PM

  • वामदेव गौतम, एमाले उपाध्यक्ष

दुई ठूला कम्युनिष्ट घटकबीच एकताको दिन नजिकिँदैछ । यसका मुख्य सूत्रधार एमाले उपाध्यक्ष वामदेव गौतमचाहिँ राजनीतिक दृश्यमा अहिले ओझेल छन् । प्रतिनिधिसभा सदस्यको चुनाव हारे । अन्तर्घातै पनि भयो भनिन्छ । तर, प्रदेश पार्टी कमिटीले गठन गरेको छानवीन समितिले अहिलेसम्म दोषी किटान गरेर कारवाही गरेको छैन । यसबीच सरकार गठन भयो । त्यसमा वामदेवले के भूमिका खेले ? सरकारसँग अनगिन्ती कार्यभार छन् । उनको भागमा के–के जिम्मा छ ? यीसहित थुप्रै प्रश्न अनुत्तरित छन् ।
 
० पार्टी एकता प्रधानमन्त्रीको दिल्ली भ्रमणपूर्व नै हुने कुरा छ । कत्तिको सत्य हो ?

– परिस्थिति विकास भएको छ । मसहितका कतिपय साथीले वैशाख ९ गतेको अनुमान गरेका छौं । किनभने नेपाल कम्युनिष्ट पार्टीे वैशाख ९ (अप्रिल २२) गते स्थापना भएको हो, हामीले त्यो दिनलाई महत्व दिनुपर्छ । संस्थापक नेताहरुले लेनिनको जन्मदिन पारेर पार्टी गठन गरे । अबचाहिँ लेनिनको जन्मदिन भएको हुनाले होइन । पार्टी स्थापना भएको दिन भएको हुनाले त्यही दिन एकताको घोषणा गरौं भनेको हो । प्रधानमन्त्रीले भारत भ्रमणभन्दा पहिले पार्टी एकताको प्रस्ताव गर्नुभएको छ भने पनि त्यसलाई स्वभाविक मान्नुपर्छ । अहिलेको सरकार विगतका सरकारहरु जस्तो होइन । यसको पछाडि शक्तिशाली पार्टी र दुई तिहाइ भन्दा धेरै संसदीय शक्ति पनि छ भन्ने पार्न सकियो भने मित्रहरुका वीच राम्रै प्रभाव पर्नेछ । 

० पार्टी एकता ढिलोचाहिँ किन भइरहेको ?

– कार्यदलहरुले नै काम ढिला गरेको हुनाले एकता पनि ढिला भएको हो कि ! म त्यो कार्यदलमा हुन्थेँ भने, आजसम्म सबै प्रतिवेदन बुझाइसक्थेँ । तीनवटा कार्यदलमध्ये मेरो नेतृत्वमा बनेको सरकारको सुशासन र विकासका निम्ति प्राथमिकतासम्बन्धी सुझाव दिने कार्यदलले उहिल्यै रिपोर्ट बुझाइसक्यो । हाम्रोभन्दा पछि बनेका दुई कार्यदललाई १५ दिनको समय दिइएको थियो । त्यो थोरै समय भयो कि भन्ने मलाई त्यसबेला नै लागेको हो । १५ दिन होइन, अहिले अर्को १५ दिनभन्दा बढी बितिसकेको छ । कार्यदलहरुले संगठनात्मक संरचनाका सम्बन्धमा केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्युरो कति संख्याको बनाउने, प्रदेश, जिल्ला, स्थानीय तह र शाखा कमिटी कत्रो बनाउने तथा जनवर्गीय संगठनहरुको एकीकरण कसरी गर्ने ? यस्ता प्राविधिक कुराहरु र विधानको टुंगो लगाउनुपर्छ । यी सबै कार्यदलले प्रस्ताव ल्याएपछि त्यही आधारमा एकता हुने हो । यी काम आजसम्म भइसकेको भए सरकार निर्माण र सञ्चालनमा पनि सहजता आउने थियो । 

० प्राविधिक एकता त होला । तर, दुई पार्टीका नेता–कार्यकर्ताबीच फेरि समस्या नआउला भन्ने के ग्यारेण्टी छ ?

– अहिले पार्टी एकता भए पनि सबै नेता–कार्यकर्ताको मन मिलिहाल्छ भन्ने हुँदैन । मन मिल्न समय लाग्छ । अहिलेको समस्या भनेको दुई पार्टीबीच भावनात्मक एकता कायम गर्ने गरी तयार गर्ने हो । त्यसलाई पूरा गर्नसक्ने हो भने सबै समस्या समाधान गर्न सकिन्छ । बाहिरबाट आउने जुनसुकै चुनौतीलाई सफलतासाथ सामना गर्न सकिन्छ ।

० एकीकृत भएपछि पनि कुनै मुख्य चुनौती देख्नुभएको छ ?

– मैले गुटबन्दीको खतरा देखेको छु । गुटबन्दी मौलायो भने पार्टी एकीकृत हुनेभन्दा पनि धराशायी हुने डर रहन्छ । गुटबन्दीमा आधारित भएर गरिने कुनै पनि निर्णयले निश्चित व्यक्ति त खुशी हुन सक्ला तर सिंगो पार्टी कहिल्यै खुशी हुन सक्ने छैन । 

० आजकल एकदमै बेखबर हुनुहुन्छ । किन ?

– अहिले पनि निर्वाचन, नयाँ संसद्, त्यसले निर्माण गरेका संरचनाहरू, प्रधानमन्त्री, सभामुख, राष्ट्रपति आदिका बारेमा नै चर्चा चुलिएको पाएको छु । मैले चुनाव हारेपिछ यी सबै चर्चामा आउन सक्ने कुरै भएन । चुनावका कारण उत्पन्न परिस्थितिमा म नदेखिनु वा नबोल्नु स्वाभाविक पनि हो । खेल्नुपर्ने भूमिका, निर्वाह गर्नुपर्ने जिम्मेवारीमा अहिले पनि म अवसर पाउँदा पछाडि पर्ने छैन ।

० जिल्लाको प्रचार समिति र योजनालाई बेवास्ता गरी आफ्नै निर्वाचन कमाण्ड बनाएकाले हारेको भन्छन् नि ? 

– मैले आफ्नै नेतृत्वमा निर्वाचन कमाण्ड बनाएको भए कुनै पनि हालतमा हार्नुपर्ने थिएन । जसले मलाई त्यस्तो आरोप लगाएका छन्, तिनीहरु अन्तरघाती र निर्वाचन अपराधीहरूलाई जोगाउनका निम्ति प्रयोग भएका व्यक्तिहरु हुन् र आफैँ पनि आपराधिक मनोवृत्तिका हुन् । अत्यन्तै घटिया स्तरमा उत्रिएका र्निलज्ज र प्रायोजित प्रचारक हुन् । मैले हार्नुका पछाडि के–के कारण छन् ? प्रदेश कमिटीले बनाएको छानबिन समितिले प्रतिवेदनमा उल्लेख गर्ला नै । मैले आफ्नो तर्फबाट पनि कमजोरी भएको स्वीकारेको छु । निर्वाचन क्षेत्रको यथार्थ अवस्था नबुझिकन जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरेर उम्मेदवार बन्न अनुरोध गरेको भरमा गएँ । बर्दियाको त्यो निर्वाचन क्षेत्रमा पहिले पहिले पनि अन्तरघात भएका थिए । तिनको पहिचान हुँदा पनि कारबाही गर्नुभन्दा त्यत्तिकै सन्तुष्ट पारी काममा लगाउने गरियो । यसपटक पनि उनीहरुलाई सन्तुष्ट पार्ने कोसिस भयो । तर पटक–पटक अन्तरघात गरेकाहरुले यसपटक पनि गर्न सक्छन् भन्ने कल्पना पनि गर्न सकिएन । स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई मतदान गर्नेहरु मध्ये उल्लेख्य संख्याले मलाई मत दिएन । निर्वाचित वडा अध्यक्षहरु समेतले कांग्रेसको निम्ति प्रचार गरेको पछि थाहा भयो ।

एमालेमा रहेर एमालेकै उम्मेदवारलाई हराउन लाग्नेहरु एमाले हुन सक्दैनन् । माओवादी केन्द्रमा रहेर सो पार्टीकै उम्मेदवारलाई हराउन लाग्नेहरु माओवादी केन्द्रका हुन सक्दैनन् । मेराविरुद्ध अन्तरघात गर्ने दुबै पार्टीका व्यक्तिहरुलाई कारबाही भएन भने यो रोग कहिल्यै सञ्चो नहुुने क्यान्सर हुनेछ  र यसले पार्टीलाई समाप्त गर्नेछ । 

० वर्तमान सरकारको भविश्यलाई कसरी हेर्नुहुन्छ ? 

– जनताबाट अनुमोदित साझा घोषणामा उल्लेखित प्रतिवद्धताअनुरुपका कामहरु गर्न सकियो भने वामपन्थीहरुको नेतृत्वमा अबको तेस्रो पिढीँसम्मका सबै सरकार जानसक्ने अनुमान मैले गरेको छु । २५ वर्षको एउटा पिँढी हुन्छ । हामीपछिका  दुई पिँढी, पुग्दा नपुग्दै नेपालको संविधानले परिकल्पना गरेको समृद्ध समाजवाद निर्माण हुनेछ । वर्षमै भन्ने हो भने त्यस्तो समाज बन्नलाई ५० वर्ष लाग्ला । तर साझा घोषणामा उल्लेखित प्रतिवद्धता पुरा भएनन् भने फेरि उठ्नै नसक्ने गरी पछारिनु हुनसक्छ ।
 
० तर, सरकार गठनमै असहमतिहरु सुनिन्छ नि !

– ठूलो पार्टीले सानो आकारको सरकार बनाउनुपर्दा र अरु पार्टीलाई पनि मिलाउनुपर्दा यस्तै हुन्छ । त्यसमा पनि सक्षम व्यक्तिहरु आउनुपर्छ भन्ने कुरालाई ध्यान दिँदा सहमति असहमति जस्तो सुन्न परेको हो । यसपटक स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षले मन्त्रिपरिषद्मा लैजान ‘एक–एक जना व्यक्तिका बारेमा यो सक्षम, यो असक्षम भनेर छलफल गर्दा नराम्रो हुन सक्छ । विचार गरेर आवश्यक सुझाव लिँदै निर्णय गर्छु । जस–अपजस सबै व्यर्होछु । त्यसैले सम्पूर्ण अधिकार मलाई दिनुस्’ भन्नुभयो । उहाँले नै यसो भनेपछि सर्वसहमतिमा स्थायी कमिटीले अधिकार दियो । त्यसैले अब यो भयो, त्यो भएन, त्यो हुनुपथ्र्यो भनेर हामीले बोल्ने कुरै रहेन ।

० आजकल तपाईंसँग नेताहरू कत्तिको सोधखोज गर्न रुचाउँछन् ?

– म पार्टीको आवश्यकताका आधारमा परिचालित हुने हो । पार्टी, संगठन निर्माण, सञ्चालन र आन्तरिक एकता सुदृढ पार्ने कामलाई आफ्नो नैतिक दायित्व सम्झेको छु । यसमा कसले सोध्यो, कसले सोधेन भनेर हिसाब–किताब गर्ने होइन । कमरेड ओली र कमरेड प्रचण्डलाई सोध्नुभयो भने अरु सबै थाहा होला । म अनुकूल परिस्थिति निर्माण गर्दै, त्यसअन्तर्गत नेता–कार्यकर्ता साथीहरु समेट्दै उपलब्धि हासिल गर्नेतर्फ निरन्तर लागिरहेको छु । पार्टी एकता पनि यही कारण सम्भव भएको होे । यस काममा  पार्टी कमिटीले थोरै र आफै दायित्वबोध गरेर धेरै लागेको छु । यस्तो भूमिकामा म आज पनि छु । कुनै न कुनै दिन उहाँहरुले भन्नुहुनेछ वामदेवबिना गठबन्धन र पार्टी एकता सम्भव हुने थिएन ।’ त्यसबेला गर्वको अनुभूति गर्नेछु । 

० एकताको सूत्रधार तपाईं मात्र हो त ?

– नारायणकाजी कमरेड र मैले ०७२ वैशाख १२ गतेदेखि पार्टी एकताको पहल शुरु ग¥यौँ । ०७४ साल भदौ १४ गतेसम्म पार्टी एकता, गठबन्धन निर्माणकै विषयमा निरन्तर सँगसंगै छौं । बीचमा माओवादी र कांग्रेस गठबन्धनको सरकार बन्यो र स्थानीय चुनावमा पनि गयो । नारायणकाजी त्यसको विरोधमा हुनुहुन्थ्यो । उहाँले र मैले त्यो गठबन्धन कसरी तोड्न सकिन्छ भनेर धेरैपटक छलफल ग¥यौं । त्यस्तो गठबन्धन हुनै नदिनका निम्ति पनि झलनाथ, माधव नेपाल, नारायणकाजी, विष्णु पौडेल र मैले सक्रिय भूमिका खेलेका हौं । पहिलेको एमाले माओवादी गठबन्धन जोगाउन र तोडिएपछि पुनः कायम गर्न लाग्दा अन्तिम अवस्थमा पुगेर पनि कति पटक असफल भइयो । तर, भदौको १४ गतेबाट के भएर हो नारायणकाजी पछाडि पर्नुुभयो । त्यसपछि उहाँको भूमिकामा जनार्दन शर्मा प्रभाकर देखिनुभयो । एमालेबाट पनि विष्णु पौडेल आउनुभयो । म पनि सामेल भइरहेँ । हामीले दुवै पार्टीका अध्यक्षहरुलाई रिपोर्टिङ गरिरह्यौं र आवश्यक निर्देशन लिइरह्यौं । हामीले निकालेको निष्कर्षमा दुवै नेता जब सहमत हुनुभयो एक सेकेण्ड पनि ढिला नगरी सहमति पत्रमा हस्ताक्षर गर्नुभयो । यो एकताका अगाडि हामी केही व्यक्ति देखिए पनि पछाडि अनेकौं नेता, अनेकौं कार्यकर्ता र लाखौं समर्थक रहेका छन् । त्यसो भएर नै कतिपयले नपत्याएको ऐतिहासिक काम सम्पन्न हुन सकेको हो ।

० एकतामा आइसकेका बाबुरामलाई तपाईंहरूले नै लखेट्नुभएको त हैन ? 

– हाम्रो कारणले बाबुराम भट्टराईजी एकताबाट लखेटिनुभएको भन्ने कुरा बिल्कुल गलत हो । आफ्नै कारणले उहाँ हस्ताक्षर गरेर पनि बाहिरिनुभयो । असोज १६ गते राति एकतामा सामेल हुनुभयो र १७ गतेको एकता घोषणामा सामेल हुन पाउनुभयो । केही समयपछि गोरखा २ नं. निर्वाचन क्षेत्रको उम्मेदवारीमा उहाँ र नारायणकाजीबीच असहमति हुँदा एकता प्रक्रियाबाटै बाहिरिनुभयो । हाम्रोलागि त दुःखद् नै हो, सबभन्दा बढी दुःखद्चाहिँ स्वयं बाबुरामजीका लागि भयो । उहाँलाई गोरखाबाहेक देशको जुनसुकै निर्वाचन क्षेत्र रोज्नुस्, माधव नेपाल उठ्ने क्षेत्रबाहेक उपत्यकाका १४ वटामध्ये जहाँसुकै भन्नुस्, तयार छौँ भनियो । गोरखा बाबुरामजीलाई छाडिदिनुस् भनेर नारायणकाजीजीलाई भनेको मैले नै हो । तर, सम्भव भएन । बाबुरामजीले कांग्रेसको सहयोगमा चुनाव जित्नुभयो तर गोरखामा जिते पनि समग्रमा नराम्रोसँग हार्नुभयो । बाबुरामजीले जितेर के पाउनुभयो ? पार्टीको हैसियत कहाँ पु¥याउनुभयो ? एक्लै बसेर संसारलाई हेरेर, एक्लै भुट्भुटिएर के हुन्छ ? कम्तीमा दुवैजना जित्ने उपाय हामीसँग थियो र त्यसका लागि हुनुसम्म लचिलो भएकै हो । तर, दुवै कामरेड ‘गोरखा–गोरखा’ भनेर लाग्नुभयो । एउटाले हार्नुभयो, एउटाले जित्नुभयो । त्यस्तो हुनु नै थियो । तर, नारायणकाजीले हारेर पनि उहाँको अभियानले जितेको छ । बाबुरामजीले एउटा निर्वाचन जितेर संसार हार्नुभएको छ । 

० पार्टी एकताका क्रममा अब जबज र मालेमावादबीच कसरी कुरा मिल्छ ?

– दुवै विचारधारालाई महाधिवेशनसम्म छलफलमा लैजाने र अब मार्गदर्शक सिद्धान्तका रुपमा माक्र्सवाद र लेनिनवादलाई मात्र राख्ने टुंगो भइसकेको छ । जबजले दुनियाँमा भएका न्यायपूर्ण, सशस्त्र संघर्ष र युद्धको विरोध गर्दैन । त्यसमा जोड–कोणका कुरामा मात्र फरक होला । आज पनि माओवादी केन्द्रले हतियार उठाउनुपर्छ भन्ने विचार बोकेजस्तो लाग्दैन । एकताका लागि ९५ प्रतिशत कुरा टुंगिएका छन् । पाँच प्रतिशत कुरा मिल्न बाँकी छन् । 

० अब उमेरका हिसाबले पनि तपाईं पार्टी नेतृत्वमा रहने कुरा बिग्रिएको हो र ?

– म कोअर्डिनेशन केन्द्र (कोके) मा सामेल भएर २०३६ सालदेखि कम्युनिष्ट आन्दोलनको नेतृत्वमा छु । ०३४ सालमा कोकेमा सामेल हुँदा जेलमा थिएँ । हाम्रो टीमले पुष्पलाल समूहसँग विद्रोह गर्दा मसहित जीवराज आश्रित, मोदनाथ प्रश्रित, मदन भण्डारी, देवेन्द्र घिमिरे, सिद्धिनाथ ज्ञवाली, भीमनारायण चौधरीलगायतका हजारौँ साथी थियौँ । त्यो विद्रोहमा राप्ती, भेरी हुँदै लुम्बिनी, गण्डकी, बागमति, नारायणी, सगरमाथा र कोशी–मेचीबाट पुष्पलालको पार्टीमा रहेका हजारौँ कार्यकर्ता र समर्थकहरु सामेल भएका थिए । हाम्रो समूह कोकेसँग एकता भएपछि माले गठन भयो र ०३६ सालदेखि म लगातार केन्द्रीय कमिटीमा छु । 

अहिले पनि २५–३० वर्षको नौजवानसित प्रतिष्पर्धा गर्दै काम गरिरहेको छु । आजसम्म मेरा कदमहरु थोरै असफल र अत्यधिक सफल भएका छन् । नेतृत्वमा अहिले सबभन्दा जेठो पनि हुँ । कम्युनिष्ट पार्टीको कार्यकर्ता उमेरको हदबन्दीमा बाँधिँदैन । जसले कम्युनिष्ट पार्टीमा उमेरको हदबन्दीलाई षड्यन्त्रपूर्ण ढंगबाट घुसायो, त्यो पापी हो । 

० अब प्रधानमन्त्री बन्ने आश हरायो कि बाँकी छ ?

– पार्टी एकता हुने सन्दर्भमा हामीले दुई पार्टीका नेतालाई  व्यवस्थापन गरेका छौँ । यो सबै व्यवस्थामा मेरो ठाउँ के हुन्छ, अर्काको के हुन्छ ? अहिल्यै भन्न सकिन्नँ । पार्टी एकता भइसकेपछि बल्ल यो विषयले महत्व पाउने छ । अब एमाले मात्र सरकारमा जानेवाला छैन । एकीकृत केन्द्रीय कमिटीले छलफल गर्दा के निर्णय हुन्छ, त्यो आजै भन्नु हतारो हुनेछ । तर, हाम्रो पार्टी अध्यक्ष र माओवादी अध्यक्षले पहिलेको अवस्थामा अब एकपटक प्रधानमन्त्री बन्ने पालो तपाईंको हो भनेर धेरैपटक भन्नुभएको थियो । आजको अवस्था पहिलेको भन्दा केही फरक छ । नयाँ अवस्थामा म प्रतिनिधिसभामा पनि छैन । उपयुक्त अवस्था सिर्जना भयो र दुबै अध्यक्षले चाहनुभयो भने प्रधानमन्त्री नहुने भन्ने पनि छैन । 

० यहाँले श्रीमती तुलसी थापालाई समानुपातिकमा प्रतिनिधिसभा सदस्य बनाउनुभएको भनेर यदाकदा आलोचना हुन थालेको छ नि !

– जसले मेरो परिवार बुझेका छैनन्, तिनले यस्तै भन्छन् । तुलसी थापा र म पार्टी कामको सिलसिलामा भेट भएका हाँै । उनी अर्कोतिरबाट पार्टी काममा थिइन्, म अर्कैतिरबाट । पहिलोपटक २०२१ सालमा गोरखपुरको कुदाघाटमा देखेको थिएँ । त्यहाँ त्यसबेला कम्युनिष्ट र कांग्रेस पार्टीका नेताहरुको आप्रवासन थियो । नेपाल कम्युनिष्ट पार्टीको एउटा सम्पर्क कार्यालय थियो, जहाँ एकदेव आले रहनुहुन्थ्यो । त्यो कार्यालयमा तुलसी सहयोगीको रुपमा थिइन् । २०३६ सालमा म रुपन्देहीमा भूमिगत कार्यकर्ता भएर काम गर्न थालेँ । त्यसपछि तुलसीसँग मेरो भेट हुन थाल्यो । हामी रुपन्देहीबाट गाडी चढेर गोरखपुर पुग्थ्यौँ । गोरखपुरबाट ट्रेन चढेर बनारस जान्थ्यौँ । आउँदा–जाँदा यसो बास बस्ने र खाना खाने, सुस्ताउने थलो तुलसीका बा, आमाको डेरा थियो । गोरखपुर आउँदा पुष्पलाल पनि त्यहीँ बस्नुहुन्थ्यो । आउँदा–जाँदा भेट हुने नै भयो । तुलसीको बा र आमा पार्टीकै सक्रिय समर्थक हुनुहुन्थ्यो । तुलसीले विद्यार्थी संगठनमा काम गर्थिन् । ०३१ सालमा तुलसी पेशा गर्दै पार्टी काम गर्ने भनेर रुपन्देही आइन् । हाम्रो विवाह २०३२ सालमा पार्टीको निर्णयबमोजिम रुपन्देहीमा भयो । जीवनका प्रत्येक कठिन अवस्थामा उनले पार्टीमा काम गरिन् । तुलसी आज हैन, २० वर्षअघि नै संसद्मा पुग्नुपर्ने हो । तर, म नै अगाडि बढेको हुनाले उनी सधैँ पछाडि परिन् । यसपालि पार्टी अध्यक्षले ‘म जसरी पनि संसद्मा ल्याउँछु’ भन्नुभयो । मैले ‘तुलसीलाई सांसद बनाइदिनुस् न’ भनेर एक बचन कहीँ भनेको पनि थिइनँ । फेरि मैले हारेपछि उनलाई सांसद बनाइएको होइन । मैले टिकट पाउने र तुलसीलाई समानुपातिक उम्मेदवार बनाउने निर्णय एकैदिन भएको हो । उनलाई जित्ने गरी नै समानुपातिकमा राख्ने काम पनि अध्यक्ष कमरेडले गर्नुभएको हो । ५०–५२ वर्षको पार्टी जीवनमा एकपल्ट त अवसर दिनुपर्छ भनेर तुलसी र क.जीवराज आश्रितकी श्रीमती माया ज्ञवालीलाई सांसद बनाउने कामको अगुवाई अध्यक्ष कमरेडकै हो । 
    
० यो सरकारले गर्ने भनेका कामहरु गर्न सकेन भने के हुन्छ ?

– मरियो भने के गर्ने भनेर सोध्नुभयो भने मैले के भन्ने ? हामीसित समृद्धिका स्रोतहरु प्रशस्तै छन् । त्यसलाई सदुपयोग गर्छौं र राष्ट्रलाई समृद्ध बनाउँछौँ भनिसकेपछि नभए के हुन्छ भनेजस्तो प्रश्न गर्दै नगर्नु प्लिज ! यो सरकारलाई असफल हुने छूट एक प्रतिशत पनि छैन र त्यसो हुन हामी कुनै पनि हालतमा दिने छैनौँ । जसरी पनि जनताका बीच गरिएका बाचा पूरा गरिनेछ । सयमा सय गरिएन भने पनि असी–नब्बे त गर्नैपर्छ । अहिले सरकार गठनको एकदम प्रारम्भिक कालमा छौँ । आजै केही गर्न सक्दैन कि भनेर कल्पना नगरौँ । काम गर्नका लागि वातावरण बन्दै छ ।

० चुनावअघि तपाईंको घरमै पार्टीका बैठक, निर्णय हुन्थे । हिजोआज किन त्यस्तो भएको छैन ?

– मेरो घर हैन, सचिवालय हो । वास्तवमा यो सचिवालयको बैठक कक्ष मैले पार्टीलाई उपयोग गर्न दिइसकेँ । पार्टीले चाहेको बेला उपयोग गर्नसक्छ । यसलाई स्थायी कमिटी बैठक र पार्टी एकता संयोजन समितिको बैठक बस्दा प्रयोग गरिन्थ्यो र भिडभाड हुन्थ्यो । अब तुरुन्तातुरुन्त बैठक गर्न बालुवाटार, प्रधानमन्त्री निवास भएको हुनाले यतातिर भिडभाड छैन ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउपालिका ,मैनापोखरीमा नयां शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैकको कार्यालय  संख्या ५३…

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक

Mega Bank Ltd.
Top