​केपी नबनुन् अर्को कोइराला


Thursday, 29 Mar, 2018 1:17 PM

  • कुसुम भट्टराई 
केही दिनअघि एक जना कूटनीतिज्ञसँग भलाकुसारी गर्ने मौका मिल्यो । प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणको सन्दर्भमा कुरा हुँदा उनले हँसीमजाकको शैलीमा भने, ‘हेर्नुस् भाइ, नयाँ दिल्लीमा एउटा यस्तो अद्भूत मेसिन छ । जसको एकातर्फको पाइपबाट कुनै पनि राष्ट्रवादी नेतालाई छिराउने हो भने अर्कोतर्फबाट ऊ शुद्ध भारतपरस्त भएर निस्कन्छ ।’

उनले थपे, ‘प्रधानमन्त्री ओलीलाई पनि त्यो मेसिनमा छिराउने कोसिस हुन सक्छ, त्यसप्रति उहाँ सजग हुनुपर्छ ।’

एउटा सुखद पक्ष के हो भने प्रधानमन्त्रीको भारत भ्रमणको चर्चा हुनासाथ नेपालीले सशंकित हुनुपर्ने अवस्था अहिले भने छैन । प्रधानमन्त्री ओलीको राष्ट्रवादी निष्ठामा यी पंक्ति लेखिरहँदासम्म कुनै प्रश्न उठाउनुपर्ने अवस्था देखिँदैन । भारत भ्रमणका क्रममा राष्ट्रहितका पक्षमा दरिलो अडान राख्छन् कि राख्दैनन्, त्यसमै उनको ‘राजनेता’को व्यक्तित्व निर्भर छ । 

‘निमित्त नायक’ नबनुन्
इतिहासकालदेखि देख्दै आएका छौं कि भारतसँगको सम्बन्धमा हाम्रा नेता नायक हैन ‘निमित्त नायक’ बन्दै आएका छन् । १९५० को सन्धिपछि पनि मातृका कोइराला, बिपी कोइराला, तुलसी गिरी, सूर्यबहादुर थापा, गिरिजा कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराईलगायतलाई ‘निमित्त नायक’ बनाइयो । तिनका पालामा हाम्रो देश घटी या बढी रूपमा भारतबाट ठगिएकै हो । 

पछिल्लो कालखण्डमा केपी ओलीको दरिलो अडानका कारण राष्ट्रिय स्वाभिमानका पक्षमा हामी नेपालीको आत्मविश्वास जुर्मराएको छ । छिमेकीले थोपरेको नाकाबन्दीका बेला ओलीबाट निर्वाह गरिएको भूमिकाकै प्रतिफल जनताले ओली, उनको दल एमाले र उनीसँग मिल्ने दल माकेलाई समेत भारी बहुमत दिलाएका छन् । नेपालमा कम्युनिस्टको जुन अपार बहुमत छ, यसको जगमा राष्ट्रवादी अडानकै बलियो ढलान छ । ओलीको भारत भ्रमणका क्रममा राष्ट्रवादी अडानको यो ढलान हल्लाउने या भत्काउने कोसिस पनि हुन सक्छ, त्यसप्रति सजग हुनै पर्छ ।
 
सम्बन्धको बदलिँदो स्वभाव 
नेपाल, भारत र चीन । हाम्रो परराष्ट्र सम्बन्धको मुख्य विषय नै यही हो । र अब भारत र चीनसँग सम्बन्धको पुरानो स्वभाव बदलिँदै छ । नेपालको चीन र भारत दुवैसँग सन्तुलित सम्बन्ध कि भारतसँग मात्र विशिष्ट सम्बन्ध ? भन्ने प्रश्नमा अब हामी अल्मलिनु जरुरी छैन । हामीले दुवै छिमेकीबीच सन्तुलित सम्बन्ध राख्नुपर्छ, भारतसँग मात्र विशिष्ट सम्बन्ध राख्ने युग सकियो । 

हो, भारत चाहन्छ, नेपालले आफूसँग मात्र विशिष्ट सम्बन्ध राखोस् । चीनसँग बंगलादेश, श्रीलंका या पाकिस्तानको साझेदारी हुँदा भारतलाई त्यति आपत्ति नहोला तर चीन र नेपालबीच घनिष्टता बढ्दै जाँदा दिल्लीका मिडियाले ‘ड्र्यागन निगल रहा है नेपालको’ भन्दै कोकोहोलो मच्चाउँछन् । भारतीय मित्रहरूले पनि अब यस्तो हीन मानसिकता त्याग्नु जरुरी छ । 

कतिपय जानकार भाषा, धर्म, संस्कृति जाति, लिपि, भूगोल आदि अनेक सामीप्यको दुहाइ दिँदै भारतसँग नेपालको बढी सम्बन्ध रहेको जिकिर गर्छन् । कसै–कसैले ‘रोटी–बेटीको सम्बन्ध’कै हवाला पनि दिन्छन् । यसमा दुईमत नहोला । तर, इतिहासका पाना पल्टाउने हो भने भारतभन्दा पहिले चीनसँगै हाम्रो रोटी–बेटीको सम्बन्ध थियो । छैटौंै शताब्दीदेखि नै नेपालको वैदेशिक व्यापारको मुख्य नाका कुती र केरुङ थिए ।

त्यसअघिसम्म चिनियाँ हिन्दुकुश र अफगानिस्तान भएर व्यापार गर्न भारतसम्म जान्थे । अंशुवर्माको पालामा तिब्बतले अध्ययनका सिलसिलामा १६ जना विद्यार्थीलाई नेपाल पठायो । त्यसबेलादेखि नै व्यापार मार्गका रूपमा परापूर्वकालदेखि प्रख्यात सिल्क रुट (रेशमी मार्ग)सँग नेपालको व्यापार जोडिएको थियो । लिच्छविकालदेखि मल्ल कालसम्म नेपाल–तिब्बतबीच रोटी–बेटीकै सम्बन्ध थियो । 
सातौं शताब्दीमा नेपालकी राजकुमारी भृकुटीको विवाह भोटका राजा स्रङ चङ गम्पोसँग भएको थियो । त्यतिबेला भोटका अन्य व्यापारीले पनि नेपाली चेली विवाह गरेका थिए । वि.सं. १३१७ मा नेपालका शिल्पकार अरनिको ८० जना कलाकारका साथ तिब्बतको ल्हासा पुगेर चीनकै राजाको दरबारमा शिल्पकारिता गरी बसे । १७०४ सालताका राजा भीम मल्लका पालामा नेपाली व्यापारीका लागि ल्हासामा ३२ कोठी भवन नै बनाइएको थियो । के त्यो रोटी र बेटीको सम्बन्ध थिएन ? 

अब एक्काइशौं शताब्दीमा हामीले केरुङ र काठमाडौं रेलमार्गमार्फत चीनसँग पनि रोटी र बेटीको त्यो सम्बन्धको कडीलाई जोड्नुपर्छ । चीनको ओबिओर प्रस्तावमा हस्ताक्षर गरिसकेका छौं । छिमेकीबीचको यही सन्तुलित स्वभावको तराजुमा भारतसँग पनि मित्रताको समान व्यवहार गर्नुपर्छ भन्ने नयाँ सोचको विकास भइसकेको छ । वर्तमान सरकार यही सोचको पक्षमा दृढ छ र हुनुपर्छ । 

यसो भन्दैमा भारतसँग भिड्ने पनि त हैन । उताका प्रधानमन्त्री नरेन्द्र मोदी हाम्रा प्रधानमन्त्रीलाई बारम्बार फोन गरिरहन्छन् । विदेशमन्त्री सुष्मा स्वराजले मिठै कुरा गरेर गइन् । नेपाललाई चीनले आफूतिर ढल्काउने हो कि भन्ने चिन्ता भारतमा पनि देखिन्छ । सौर्य मण्डलमा ग्रहबीच एकअर्कालाई धकेल्ने र तान्ने सिद्धान्तले नै सन्तुलन ल्याएझैं नेपाल, भारत र चीनबीच सन्तुलनको यही सिद्धान्त लागू हुँदै गएको देखिन्छ । 

भारतका अपेक्षा
भारत र चीन दुवैलाई विश्वासमा लिन भारतका अपेक्षालाई उपेक्षा गर्न पनि भएन । भारत यतिबेला नेपालसँग मूलभूत रूपमा दुई वटा कुरा चाहन्छ । जानकारहरूका अनुसार नेपालको महाकाली नदीबाट बगेको पानीलाई भारत दिल्ली नजिकै यमुना नदीमा मिसाउन चाहन्छ । त्यसका लागि ‘रिभर लिंक प्रोजेक्ट’मा नेपालको सहमति जरुरी छ । 

हाम्रा नदीनालाबाट भारतले बिजुलीभन्दा पनि पानीकै बढी अपेक्षा गरिरहेको हो भन्ने कुरा स्पष्ट भइसकेको छ । यसैगरी कोशी उच्च बाँध भारतको अर्को स्वार्थ हो । अब प्रश्न उठ्छ, भारतले हाम्रो प्राकृतिक स्रोत– साधनमाथि पहिलाझैं रजगज गर्ने या समान लाभका आधारमा सौदाबाजी गर्ने ? भारतलाई पानीको खाँचो छ । नेपाल त्यो मर्म बुझिदिन तयार हुन सक्छ तर त्यसको बदलामा हामीले के पाउने ? सरकार गिराउने र बनाउने खेल ? या नेपालको पनि समृद्धि, विकास र स्थिरता ? मूल प्रश्न यो हो । 

प्रधानमन्त्री केपी ओलीले आफ्नो भ्रमणका क्रममा अन्य झिनामसिना कुरामा नअल्झीकन भारतसँग डटेर केवल यत्ति प्रश्न गर्न सक्नुभयो भने त्यो नै राष्ट्रिय हितमा हुनेछ । कामना र आशा गरौं, २०४८ सालमा टनकपुर सन्धिमा गिरिजाप्रसाद कोइराला चिप्लिएझैं हाम्रा राष्ट्रवादी नेता केपी ओली नचिप्लियुन् । केपी कमरेड ‘ओली’ नै कायम रहून्, ‘कोइराला’ चाहिँ नबनून् ।


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top