​हण्डर ठक्करले दिएको हैरानी


Friday, 9 Mar, 2018 11:56 AM

सुनमा जन्मिएर हीरामा हुर्किएको मान्छे । दुःख, पीडा र अभाव के हो ? पाठ्यपुस्तकमा पढेको थिएँ, बुबाआमाको काखमा हुँदा यसको आभाष थिएन । छायासमेत पर्न पाएको थिएन । परभूमिमा भोग्दै छु जीवन । नजिक हँुदा कहिल्यै महसुस नगरेको बुबाआमा र संगीहरूको माया अनुभव गर्दै छु । र, आज परदेशमा नसम्झेको क्षण छैन बुबाआमालाई । जसै कल्पन्छु जन्मदाताको माया टिलफिल टिलपिल हुन्छ आँखा । बाल्यकाल काठमाडौंमै बित्यो । बुबा–आमा सरकारी जागिरे । चार्टर्ड एकाउन्टेन्ट सकाएर पढाउँथें प्लस टुका विद्यार्थीलाई । आइएनजिओसँग पनि जोडिएको थिएँ । चलिरहेकै थियो दिनचर्या ।

भन्छन्, मान्छे आफ्नो दुःखले होइन, अरूको प्रगति र सुखले जल्छ । सम्भवतः मेरो अवचेतन मनलाई पनि अरूको प्रगति र सुखले पोल्न थाल्यो क्यार । सहपाठीहरू अध्ययन÷रोजगारीका लागि अमेरिका, अष्टे«लिया, जापानतिर बिदेसिएको देख्दा ममा पनि विदेश जाने सनक चढ्यो । बुबाआमाले मायाले सम्झाउनुभएको पनि हो । तर, राजहठ, स्त्रीहठ र बालहठको अगाडि कसैको जोर नचल्ने रहेछ । मेरो हठका अगाडि बुबाआमा गल्नुभयो । ०७१ साल साउन १८ गते स्वदेशको धर्ती रोइरहेको थियो । मेरा पाइला साइप्रसतिर मोडिए । बुबाआमालाई साइप्रसको बाटो हुँदै युरोपियन मुलुक छिर्छु भनेर सम्झाएको थिएँ । साइप्रस छिरेपछि सुरु भयो दुःख, पीडा र अभावका कहानी । बाउले तह लगाउन नसकेको सन्तान साहुले तह लगाउँछ भन्ने सुनेको थिएँ, भोगेँ ।

कठै कहाँ नेपालमा भाइबहिनीलाई पढाएर सम्मानपूर्वक जिइरहेको मान्छे त्यो परभूमिमा बिहान ६ बजेदेखि राति १२ बजेसम्म कुकुरलाई घुमाउने, दिसापिसाब गराउने, ट्वाइलेट सफा गर्ने, कोठा सफा गर्ने, भ्याकुम लगाउने, भाँडा माझ्ने काम गर्दै थिएँ । मासिक ३ सय १४ युरो अर्थात् नेपाली ३६ हजार रुपैयाँमा जोतिरहेको थिएँ, हाउस मेडको रूपमा । जुन काम गर्छु भनेर जीवनमा कल्पना पनि गरेको थिइनँ । अशोचनीय काम गर्न थालें जबकि त्यहाँ म बाध्यताको डोरीले जकडिएको थिएँ । युरोपियन केटासँग पेपर म्यारिज गर्न भनेको थियो, गरिनँ ।

पेपरबिनै युरोपियन दलालको श्रीमती बन्न पुगेँ । त्यहाँ दलालले यसरी रटाए कि केही सोध्यो भने के भन्ने ? सबै चिज घोकेकै थिएँ । कुनै उपाय थिएन । पढ्न भनेर बिदेसिएकी । अभाव र तनावको माखेसाङ्लोमा जेलिएँ । साइप्रसको १३ महिनाको बसाइ १३ वर्षबराबर कष्टपूर्ण रह्यो । 
जिन्दगीमा आँखा उघारे पनि पिर, आँखा चिम्ले पनि पिर । यस्तै पिरै पिरको झिरमा उनिएको थियो जिन्दगी । ‘घरको याद नआएको कुनै क्षण हुँदैनथ्यो । त्यसमाथि साहुको व्यवहारले झन् दिक्क बनाउँथ्यो, सोच्थे कि म खान नपाएरै उनको मुलुकमा आएको ।’ पासपोर्ट थिएन, कार्ड थिएन, आमा बिरामी हुनुहुन्थ्यो, भेट्न जान पाइनँ । म बिदेसिँदा आमाले पठाएको १० हजार युरोमध्ये पोर्चुगल आइपुग्दा ७ सय बाँकी थियो । सो पैसा आमाको सम्झनास्वरूप गाँठो पारेर राखेको छु । एकान्तमा रुन्थें, भक्कानो छुट्थ्यो । धेरै बेर लुकेर आँसु झर्दै बिताएँ ।

नेपाल छाड्नुअघि मेरो उद्देश्य थियो साइप्रसबाट युरोपका ठूला र राम्रा देशमा छिर्छु । साइप्रस ट्रान्जिटका रूपमा परिचित छ । चाहना थियो नर्वे वा जर्मनी जाने । तर, सोचेजस्तो कहाँ सहज रहेछ र जिन्दगी ? पाइला–पाइलामा जोखिम थियो । भेटियो एउटा दलाल । उसले त्यहाँबाट निकाल्ने वचन दियो । मेरालागि त्यो मान्छे भगवान्झैं लाग्यो । दलालले भनेको थियो टर्कीको बाटो हुँदै युरोप छिराउनका लागि ४५ सय युरो (झण्डै सवा पाँच लाख रुपैयाँ) लाग्छ । 

दायाँ–बायाँ केही हेरिनँ । त्यो नर्कबाट छिटोभन्दा छिटो उन्मुक्ति चाहिएको थियो । भाँडा माझेर बुझाएको सबै पैसा दलाललाई बुझाएँ । पैसा नपाउञ्जेल तारन्तर सम्पर्क गर्ने दलाल पैसा बुझेपछि गायब भयो । त्यो दलालसँग दोस्रोपटक फेरि भेट हुन सकेन । पढेलेखेको थिएँ तर भाषा बुझ्दिनथें । भाषा अभावमा लाटो भएको थिएँ । यसरी तावाबाट उम्कौंला भनेको म फेरि भुंग्रामा खसेको माछाको हालतमा पुगें । \

दलालबाट ठगिएको कुरा मनमै गाँठो पारेर राखें । बुबालाई सुनाउन सकिनँ । त्यही काम गर्दा आमा बित्नुभयो । घर जान सक्ने अवस्था थिएन । अर्काेतिर पढ्न भनेर आएकी छोरीले साइप्रसमा भाँडा माझ्दै छे भनेर कसरी भन्नु ? ‘घरमा फोन गरेर छोरी यो देशमा नपढी अर्को देशमा जाने भई भनेर फकाएँ । आखिर बुबाको मन न हो १२ लाखभन्दा बढी पठाइदिनुभयो ।’ एउटा दलालबाट ठगिएको म फेरि अर्काे दलालको खोजीमा लागें । भेटियो पनि । ‘मसँग पैसा छ यहाँबाट निकाल भनी एक महिनाको प्रयासपछि ५ हजार युरोमा (झण्डै ६ लाख रुपैयाँ) राजी भयो । अनेक हण्डर खाँदै अष्ट्रिया पुगें । त्यो दलाल पनि मलाई अष्ट्रिया छिराएर लापत्ता भयो । अब म परें एक्लै । अवस्था यस्तो आयो ‘कि गर नभए मर’ ।

वैधानिक कागजात केही थिएन । के गर्ने, कहाँ जाने केही टुंगो भएन । अंग्रेजी जान्दथें । तर, मैले बोलेको कसैले बुझ्दैनथ्यो । म युरोप छिरिसकेको थिएँ । युरोपमा हाम्रो नजिकको कोही छ कि भनेर सोधखोज गरें । तर, कोही रहेनछ । त्यहाँबाट जर्मनीतिर छिरें । एक हप्ताजति त्यहाँ बसेँ । काम पाउने अवस्था थिएन । पैसा सकिँदै थियो । त्यसैले सस्तो देशका लागि स्पेन वा पोर्चुगल रोज्दै थिएँ । पोर्चुगलमा पेपर पनि बन्छ भन्ने थाहा भयो । चिनेको त कोही थिएन तर पनि ट्रेनको टिकट काटेर पोर्चुगलतिर लागेँ । आखिर जहाँ गए पनि दुःख र पीडाले छोडेन । भन्छन् नि बर्मा गए कर्मसँगै । बुबाआमाको माया ममतामा हुर्किएको एउटा चेली, हातमा चार्टड एकाउन्टेन्टको सर्टिफिकेट छ । तर, यो सर्टिफिकेट सिरानी हालेर सुत्नुबाहेक केही काम आएन । एकमुठी सास अड्याउन के मात्र गरिएन ? परदेशमा कुकुर चराइएन कि भाँडा माझिएन कि ! चाइनिजको, बंगालीको रेष्टुरेन्टमा काम गरें, एउटा बारमा काम गरें । तर, जे काम गरे पनि हिम्मत हारिनँ ।

भन्छन् नि बूढापाका– चरेस खानू हरेश नखानू । नियमित बग्ने पानीको धारले ठुल्ठूला चट्टानलाई त खियाएर बालुवा बनाउँछ । नियमितको कर्मसँगै भाषा र जनसम्पर्क बढ्दै थियो । आत्मविश्वास चुलिँदै गयो । आमा बितेपछि बाबालाई मनको बह बेसाएँ । आखिर बाबाको मन न हो, आमाको सबै गहना बेचेर रकम पठाइदिनुभयो । बुबाले पठाइदिएको पैसामा केही पैसा थपेर अहिले पोर्चुगलमा कफी सप चलाइरहेको छु । 

– मुना पाण्डे


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउपालिका ,मैनापोखरीमा नयां शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैकको कार्यालय  संख्या ५३…

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक

Public Notice
Top