रोल्पालाई नबिर्स है कमरेड


Friday, 9 Mar, 2018 11:52 AM

  • रामकुमार एलन

‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्दै संगीतमार्फत चेत भर्न रामेश, रायन, मञ्जुुलहरूले गरेको संघर्ष चानचुने थिएन । अर्थ नभए पनि बीसको दशकदेखि यहाँसम्म राल्फामा अथाह श्रद्धा छ जनमनको । ‘राजा फाल्ने आन्दोलन राल्फा ।’ बुझ्नेले यही बुझेका छन् । बुझाउनेले गीतसंगीतमार्फत बुझाएका छन् । 

राल्फाका मञ्जु, रामेश, रायन गीत लेख्थे, संगीत भर्थे, गाउँथे । रेडियो नेपालमा पारिश्रमिक नपाएपछिको असन्तुष्टिमा बनेको यो अभियानमा गणेश रसिक पनि थिए तर पछि भूमिका नपाएर छुटे । राल्फा भन्नेबित्तिकै अहिले पनि रामेश र रायनलाई सम्झिने गरिन्छ । दलहरूको गुट–उपगुटमा मठाधीश बन्ने योग्यता नदेखाउनाले उनीहरू दललाई यहाँसम्म ल्याएर आफूहरूको भविष्य भने दलदलमा भासिँदा पनि दुःखी छैनन् । जनताको मनमा राज गरेका छन् । 

साप्ताहिक पत्रिकामा के लेख्ने ? लेख्नेलाई सुख छैन । क्षणभरमै अनेक उतारचढावको बादल मडारिन्छ । छिनछिनका अनलाइनहरूले दिने सूचना पूर्ण नभए पनि मानिसमा आदत बसेको छ कि, त्यही अनलाइन हेरेर, पढेर कुलमान घिसिङले दिएको ऊर्जा खपत गर्ने चलन बनेको छ । त्यसैले पत्रिका पढ्ने घटेका छन् । बजारमा पुग्दासम्म नयाँ र ताजा अपडेटेड जानकारी दिनु साप्ताहिक पत्रिकाको चुनौति नै हो । त्यसैले
अन्तिम सूचना कुर्न पर्ने स्थिति छ । 

अनलाइनहरूकै कुरा पत्याउँदा, माओवादीबाट सरकारमा जाने मन्त्रीहरू टुंगिएको त धेरै दिन भइसक्यो । त्यसमा केही मन्त्रीको नाम हेरफेर भएको पनि निकै भइसक्यो । तर सरकार गठनमा उल्झन नै देखिन्छ । ३ फागुनमा जो–जो मन्त्री हुन्छन् भनेका थिए, भएनन् । ११ दिनपछि जो जो जे मन्त्री हुँदैछन् भनिएको थियो, त्यो पनि आधा मिलेन । अब कसको सूचना पत्याउने ? कसलाई विश्वास गर्ने ? सही सूचना आएन भनेर के के पढ्ने, के के नपढ्ने ? 

बरु एउटा सूचनाचाहिँँ लगातार आइरहेको छ कि, माओवादी अध्यक्ष पुष्पकमल दाहाल यतिखेर रोल्पालीको घेराबन्दीमा परेका छन् । हुन त जनयुद्धको उद्गमथलो नै हो रोल्पा । माओवादीको आधारभूमि नै बन्यो त्यो । त्यतिमात्र होइन, अहिले पनि रोल्पा आसपासको राजनीति माओवादीकै पोल्टामा छ । यसैले रोल्पा भुल्नुहुन्न माओवादीले नयाँ पार्टीमा पुग्दासम्म । यसको अर्थ यो होइन कि, ७७ जिल्ला बनाउने काममा समेत सफलता पाएको माओवादीले भएभरका अवसरमा रोल्पालीलाई हालिमुहाली गराइरहोस् । 

यसैले पार्टीभित्र भएभरका अवसर रोल्पामा बन्धक भयो भनेर गरेको गुनासो गलत हुनै सक्दैन । युद्ध गरेर राज्यसत्तामा पुगेको पार्टी उसै पनि २०४९ सालको एमाले भयो भन्ने आरोपको झरीमा रुझिरहेका बेला सत्ताको बागडोरमा रोल्पालाई ‘कोखाइ–कोखाइ–हाम’ गराउनु न्यायोचित पनि होइन । अध्यक्ष दाहाल अहिले यो आरोपको कालकुट विष निलेर घाँटी निलो पारिरहेको महादेवको अवस्थामा छन् । वरपरका ब्रह्मा र विष्णुले सरकारमा जान खुट्टा उचालेर बेलाबखत नन्दी र भृंगी बन्देलान् भन्ने डरले पनि माओवादी सरकारमा पुग्न विभिन्न किस्ता तिरिरहेको छ । जसरी १७ असोजमा पार्टी एउटै चिह्नमा एमालेसँग मिलेर चुनावमा जानेभन्दा केही नेताले बखेडा झिके र दुई वटा चुनावचिह्नमा जाँदा १० लाख मत बदर भयो । 

यो क्रम रोकिएन । एमालेसँगको एकतामा पनि धेरै नेताले ‘म कहाँनिर’ भनेर हेडक्वार्टरलाई हैरान पारे । कम लेखिए होलान् । मेरो नाममा किन ‘कमा’ भन्नेहरूले पार्टी एकतालाई धुजाधुजा नै पार्लान् भन्ने डर भयो । सातबुँदे सहमति हेर्दा केही देखिएन । तर नेताको असन्तुष्टिकै कारण एकतामा पक्कै कालो बादल मडारिएकै थियो । 

काम गर्नेलाई पक्कै सम्झन्छन् जनताले । तिनीहरू पदमा पुगुन्–नपुगुन् । भारतीय जनता पार्टीमा विशिष्ठ स्थान थियो लालकृष्ण आडवाणीको । तर गुजरातका मुख्यमन्त्री नरेन्द्र दामोदरदास मोदी प्रधानमन्त्रीमा सिफारिस भएपछि उनको असन्तुष्टि हेर्दा पार्टी नै फुट्लाजस्तो थियो । अहिले मोदी कांग्रेसरहित भारत अभियान २०२२ को कल्पनामा हिँडिरहँदा मिलेको सफलतामा आडवाणी कहाँ छन् ? अरविन्द केजरीवाल दुईपटक दिल्लीका मुख्यमन्त्री थिए तर श्वेत भारत अभियानका अन्ना हजारेका चेला हुन् । धेरैले अन्नालाई बिर्सेका छन्, आडवाणीलाई सम्झिन छाडे । किनभने उनीहरू अभियान चलाउँथे, कार्यान्वयन गर्न अर्को पुस्ता आइपुग्यो । लेख्न त जनताको बहुदलीय जनवाद मदन भण्डारीले लेखे, कार्यान्वयन गर्न अर्को पुस्ता आइपुग्यो । समयले सबैलाई सही ठाउँमा पु¥याउँछ–पु¥याउँछ । 

यतिखेर नेपाली राजनीति र त्यसमा पनि मियो बन्न लागेका पुष्पकमल दाहाललाई अप्ठेरोमा पार्ने काम रोल्पालीहरूले गरे भनेर आलोचना भइरहेको छ । त्यही आलोचना एमालेमा किन मिहिन छ ? पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले झापा गौरादहकै डा. युवराज खतिवडा, अग्नि खरेल, हिक्मत कार्कीलाई अवसर दिँदा असन्तुष्टि नदेखिने, माओवादीमा चैँ यसपटक पनि रोल्पालीले अवसर पाएनन् भनेर अध्यक्षलाई घाँटी निमोठ्ने कस्तो राजनीति भित्रियो गणतन्त्रमा ?

राल्फाले संस्थागत गरेको जनवादी समाज निर्माण अभियानमा रोल्पाको विशिष्ट भूमिका छ । त्यो भूमिका, बलिदानको उसले अवसर पनि पाएको छ । यतिखेर पार्टी एकता, एकताको सरकार निर्माणमा माओवादीभित्रको असन्तुष्टि र त्यहाँ झाँगिएको रोल्पाली राग कतै गणतन्त्र अनुभूत गर्ने साध्य नबन्ने त होइन ? धूलाम्मे सडक । भ्रष्टाचाररहित निकायको कल्पनै गर्न नसकिने अवस्था । कुनै सरकारी कार्यालयमा पुगेका सेवाग्राहीको कागजात होइन, योसँग कति पैसा झार्न सकिएला भनेर हेरिने हुलिया । बजेट यति महिनामा सकाउने, यति कमाउने भन्ने ढंगमा विनियोजित विकास निर्माण । अस्तव्यस्तता । यो अवस्थामा जनतामा बढिरहेको निराशा । 

सञ्चारकर्मीले नलेखेका मात्रै हुन्, पछिल्लो ९ महिनामा जनप्रतिनिधिले केही देखिने काम गरेका छैनन् स्थानीय तहमा । छ भने त्यो हो, एकहजार प्रतिशतसम्म दस्तुर वृद्धि । एक त जनतालाई सेवाकेन्द्र पुग्नै अप्ठेरो । पुग्दा कर्मचारी अभाव । अनि दस्तुरमा भारी वृद्धिको भार । नेता पाल्नै यो गणतन्त्र खपत हुने भयो ? आम सर्वसाधारणले भनिरहेका छन् । जुन देशमा गाउँपालिका अध्यक्षभन्दा बढी सांसद छन्, नगरपालिकाको संख्याको आधाको हाराहारीमा बहालवाला मन्त्री छन् । अनि विकासका नाममा शुल्क वृद्धिबाहेक देखिने काम हुन सकेको छैन । 
यस्तो अवस्थामा कतै नागरिक वितृष्णित भइरहेका छन् कि ? कतै गणतन्त्र जनतालाई उकुसमुकुस भइरहेको छ कि ? दलहरूले सोचेका छैनन् । सत्तामा पुग्नेले आफन्तलाई बाँडेको रकमले कैयौँ बाटोघाटो बन्थ्यो । उपचार खर्चले अस्पताल नै बन्न सक्ने अवस्था छ । हिजो राजनीतिमा गरिएको त्याग, समर्पण र बलिदानको थोरै ज्याला खोजेका हुन् ? हुन् भने यो बाटो गलत छ । यसले भारत र नेपालमा एकसाथ कांग्रेसको विकल्प अरु दल खोजेका जनताले यी यावत् समस्या निदान गरी नागरिकलाई राहत दिन सकेनन् भने मुलुक अरु जर्जर हुने छ ।

त्यतिखेर फेरि अर्का रायन र रामेशहरू राल्फाको ठाउँमा ‘गल्फा’ लिएर आउने छन् । शब्दकोषमा त केही नहोला अर्थ गल्फाको जसरी राल्फाको थिएन । तर जनताले बुझ्नेछन्, ‘राजा फाल्ने राल्फा भनेजस्तै गणतन्त्र फाल्ने गल्फा ।’ गणतन्त्र संस्थागत गर्ने अभियानमा नेता नन्दी, भृंगी, ऐँजेरु होइन, ब्रम्हा विष्णु महेश्वर बनुन् । अवसर नपाए गणतन्त्र कमजोर हुने हावादारी गफ गर्न छाडेर कार्यकर्तालाई उत्पादनसँग जोडौँ । जब जनता र कार्यकर्ता व्यस्त हुन्छन् र अभ्यस्त जीवन बिताउँछन्, तिनलाई आन्दोलन गर्ने र अनशन बस्ने फुर्सद नै हुँदैन । व्यस्त बनाउने उत्पादनमूलक काममा हो, गफ उद्योगमा स्रोता बनाएर होइन । 


सुन चांदी बिक्रि दर

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top