​रह्यो बाँस, बजेन बाँसुरी


Friday, 9 Feb, 2018 2:11 PM

  • संकेत कोइराला 

ब्रिटिश प्रधानमन्त्री चर्चिल अमेरिका घुम्न गएका बेला राष्ट्रपति भवनमा बसेका थिए । राष्ट्रपति रुजबेल्ट पक्षघातको बिरामीका कारण गुड्ने कुर्सीमा बसेर चर्चिल बसेको कोठामा आए । उता चर्चिलचाहिँ बाथरुमको ढोका खुल्लै राखी नाङ्गै नुहाइरहेका थिए । यस्तो अनपेक्षित दृश्य देखेर उनले रिसाउँदै प्रश्न गरे– ‘यस्तो के तमाशा देखाउनुभएको ?’ चर्चिलले हाजिरी शैलीमा उत्तर दिए– ‘म तपाईंलाई केवल यो बताउन चाहान्थें कि यो अवस्थामा ब्रिटिश सरकारसमक्ष त्यस्तो कुनै कुरा छैन । जो अमेरिकी राष्ट्रपतिका सामु गुप्त राख्न सकियोस् ।’ 

अनेक वर्णमा आएका नेपालका शासकहरूले छातीमा हात राखेर बोलिदिने हो भने अधिकांशको हालत चर्चिलको जस्तै छ । अरूले भरिदिएको हावाको अनुपातमा उड्ने बेलुनभन्दा परको अवस्था यहाँका सत्तारुढहरूको कहिल्यै रहेन । जसले हावा भरिने मौका पाएनन् , तिनीहरूका लागि सत्ता सधैं अंगुर अमिलोको कथासरह बन्यो । हिन्दी सिनेमाको यो गीत शायद नेपाली राजनीतिलाई देखेर बनाएको हुनुपर्छ– ‘जितनी चाभी भरी राम ने, उतनी चली खिलोना ।’ राजनीतिक नामको बाँस त सधैं रह्यो तर सेवाको बाँसुरी कहिल्यै बजेन । कुनै आग्रह, पूर्वाग्रह होइन अहिलेसम्म सर्वाधिक महत्वपूर्ण भनिएको २००७ सालको राजनीतिक क्रान्तिका नायक मानिएका त्रिभुवनले आत्मसमर्पण गरेका थिए तर विभूषित गरियो राष्ट्रपिताको । गाँस, बास, कपास सुरक्षित गरेर प्रवासमा मुन्टो लुकाउनु नायकत्व हँुदै होइन । यसरी रोपिएको निर्र्देिशत प्रजातन्त्रको बीउ बिपी, जिपी, पीके हुँदै केपी पथसम्म आउँदा पनि दुईपाते हुन सकेको छैन । त्यो समयका लेखकले त्रिभुवनलाई राष्ट्रपिताको पदवी भिराए भने अहिलेका लेखकहरूले पीकेलाई देव अवतार हुँदै भित्ते राष्ट्रपतिमा थन्क्याए । देवत्वको आखिर विन्दुमा पु¥याइएका केपी ओलीलाई प्रधानमन्त्री नबन्दै खुइल्याउने प्रतिस्पर्धा शुरु भएको छ । दशकौंदेखि चल्दै आएको यसखाले कपटी खेलले राजनीतिक कोर्स एकपाना पनि अघि बढेन । स्वस्थानी वर्षैपिच्छे पढिए । तर साङ्गेको १०८ रोटी छोरा भए छोरा, छोरा नभएर मित छोरालाई दिनुमै सीमित भयो । समानताको आवाज उठाउनेले समेत त्यो रोटी छोरीलाई दिने हिम्मत गरेनन् । सन्तान नभएकाले शास्त्रीय मान्यतामुताविक नदीमा बगाइदिए तर गरिबलाई दिने चेष्टा गरेनन । मुलुक राणाशासनबाट मुक्त भएपछि प्रजातान्त्रिक नेपालका ‘लोकप्रिय’ राजा त्रिभुवनले भनेका थिए– ‘जनताहरूद्वारा निर्वाचित हुने प्रतिनिधिहरूद्वारा बनाइने प्रजातान्त्रिक संविधानअनुसार शासित होउन् भन्ने हाम्रो सदैवदेखिको इच्छा र संकल्प छ । हाम्रो देशको परिस्थितिमा सम्भव हुने यथाशक्य शीघ्रताको साथ संविधानसभाका लागि चुनाव गरिने प्रयत्न गरिँदै छ । हाम्रो देशको संविधान त्यही हुनेछ । जुन यस संविधानसभाद्वारा तयार गरिनेछ ।’ राजा त्रिभुवनको यो सपना उनी बाँचुञ्जेल पूरा हुने छाँटकाँट कतै देखिएन, उनका छोरा महेन्द्रले राजपाट सम्हालेको चार वर्षपछि देशबासीका नाममा गरेको संबोधन यस्तो विरक्तलाग्दो थियो– ‘हालै इलेक्सन कमिसनबाट पेश भएको रिपोर्ट र मन्त्रिमण्डलबाट उक्त घोषित तिथिमा आमचुनाव हुन नसक्ने व्यहोरा उल्लेख गरी चुनाव यथाशक्य, यथाशीघ्र गराउन प्रयत्नशील हुनेछ भन्ने हाम्रो हजुरमा जाहेर हुन आएबाट सो घोषित तिथिमा चुनाव हुन नसक्ने भएको छ भनी आज फेरि घोषणा गर्नुपरेकोमा स्वभावतः हामीलाई जति खेद लागेको छ सो देशवासीलाई पनि भनिरहनुपर्ने कुरो छैन ।’ यी सवै घटनाक्रमले उब्जाएको एउटै प्रश्न हो– ६ दशकसम्म एउटै रोटेपिङमा हामी किन मच्चिरहेका छौं ? कहिल्यै घिउ नलाग्ने धोका र कपटको राजनीतिक खेल कहिलेसम्म खेलिरहने ? यस विषयमा घोत्लिने समय धेरैपल्ट घर्किसकेको छ । अनि सधैं हात लाग्ने गरेको एउटै वस्तु हो– पश्चाताप । 

राजनीतिमा मात्र हैन, हामीले दैनिक भोग्ने र सुन्ने आख्यानका नियति उस्तै छन् । रामायणकालिन महर्षि परशुराम यति घमण्डी र रिसाहा थिए कि जोसँग पनि लड्न तयार हुन्थे । कतिसम्म भने आफ्ना पिताजी क्षेत्रीयसंगको युद्धमा मारिएपछि उनले क्षेत्रीलाई विद्या नै नसिकाउने संकल्प गरे । आखिर आख्यानको त्यही हठी परशुराम पात्रले अहिले पनि समाजमा विचित्र लीला देखाइरहेका छन् । यी पात्र कतै पुलिसको भेषमा बलात्कारी, कतै गुण्डागर्दीको कमाइमा कानुन आफ्नो मुट्ठीमा कैद गर्ने अघोरी त कतै जातीय नारा उचालेर वर्ग विभाजनको अभियन्ता बन्दै हिँडेका छन् । त्यतिबेलै किताब लेख्ने, स्वर्ग मत्र्य सुनको सिंढीले जोड्ने महत्वाकांक्षी रावण राक्षस बनाइए । तर सत्यको जामा लगाएका हामीमा त्यो रामराज्यदेखि यो रामराज्यसम्म आउँदा उही गरिवी, उही आर्तनाद छ । 

भनिरहनु पर्दैन थुप्रै कालखण्डमा जन्मिएका निरंकुशताको पर्दा च्यातिएपछि हामीले उन्मुक्तिको संसार पाएका हौं । यो स्वतन्त्र आकाश खोज्ने कयौं स्वतन्त्रता सेनानीहरूले पाएको यातना, नेल र हतकडीका डोबहरू आलै छन् । परिवर्तनको यो मोडसम्म आइपुग्दा असंख्य लडाकुहरूको बलिदानको सट्टा यो अवसर प्राप्त भएको हो । लोकतन्त्र काख रित्तिएका आमाहरूको भरिलो आशा हो , सिन्दुर पुछिएका युवतीहरूको गौरवको प्रतिक हो । टुहुरा नानीहरूको अभिभावक हो अनि सहारा गुमाएका बाबुआमाको टेक्ने लौरो हो । समग्रमा मुलुक डो¥याउने अनुशासनको डोरी हो लोकतन्त्र । यद्यपी राजनीति नामको कमण्डलु बोकेर हिँड्ने गरिब सोचका वर्णशंकर सन्तानले सामाजिक मूल्य, मान्यता र पद्दतिमा धावा बोल्दा लोकतन्त्रको अनुहार अमिबाजस्तै भएको छ । न पढ्नुपर्ने, न लोकसेवा लड्नुपर्ने, न कुनै दायित्वबोध गर्नुपर्ने– बस् गरिदिए पुग्ने जागिर बनेको छ राजनीति । यसअघिका परिवर्तनले केही औंठा छापेलाई हैसियत दिंदा त्यो राजनीतिमा खोट देखाएर गणतन्त्रको यात्रा तय गरिएको थियो । तर अहिले त झन् गाउँका नामी कुखुरा चोर, भट्टीका दिग्विजयी ट्वाके, हुल्याहा, बताहाहरू सत्ताको केन्द्रविन्दुमा पुगेका छन् । 

डा. सर्वपल्ली राधाकृष्णनले भारतीय राजदूतका हैसियतमा पूर्व सोभियत संघमा रहँदा त्यहाँका राष्ट्रपति जोसेफ स्टालिनलाई आख्यान यसरी सुनाएका थिए– हाम्रो देशमा एकजना सम्राट जीवनभर भयंकर खुंखार लडाईं लडेर वृद्धावस्थामा पुगेपछि सारा राजपाट त्यागी भिक्षु बनेका थिए । राष्ट्रपति महोदय ! तपाईं पनि रक्तपथको लामो यात्राबाट प्रभुताको यो महान सिंहासनमा आइपुग्नुभएको छ । भोलिका दिनमा यहाँ पनि हाम्रै देशको उक्त सम्राटजस्तो बन्न सक्नुहुन्न भनेर अहिल्यै कसले ग्यारेन्टी गर्न सक्छ ? डा. राधाकृष्णनको कुरा सुनेर स्टालिन जीवनमा पहिलोपल्ट दिल खोली मुस्कुराएका थिए । उनले उत्साहित हँुदै भने– ‘हो कहिलेकाहीँ चमत्कार सिर्जना हुनसक्छ । म पनि ५ वर्षसम्म धर्मशास्त्रका स्कुलमा बसेको छु ।’ स्टालिनसंग विदाईको गला मिलाएर उनको पिठ्यूँ सुम्सुम्याउँदा स्टालिनको आँखामा आँसुको सागर उर्लिएको थियो । उनको अनुहार मलिन थियो र कण्ठ पनि अवरुद्ध । आफ्ना अश्रुमिश्रित नेत्र उचालेर भनेका थिए– ‘तपाईं पहिलो व्यक्ति हो जसले मलाई मनुष्य सम्झिएर मानवीय व्यवहार गर्नुभयो । मलाई कहिल्यै पनि दानव ठान्नुभएन । तपाईं हामी सबलाई छोडेर जाँदै हुनुहुन्छ । म चाहन्छु कि तपाईं दीर्घजीवी रहनुहोस् । अब म धेरै दिन बाँच्दिन ।’ स्टालिन रोएको यस घटनालाई सारा विश्वले इस्पातको मानिस रोएको भन्दै टिप्पणी गरेको थियो । 

कुनैबेला स्टालिनकै झल्को दिने नेपाली राजनीतिका तिलस्मी र रहस्यमयी पात्र पुष्पकमल दाहाल हेर्दाहेर्दै अहिले सिल्भरको ताप्केजस्तो रन्की नसकी थन्किने नेतामा परिणत भएका छन् । बाम गठबन्धनको विजय शीर्ष नेताहरूका लागि महाभारतका लाचार पात्र भीष्मको उत्तराद्र्धजस्तै भएको छ । न पाण्डवको जितमा हाँस्न सक्छन्, न प्रतिरोधमा उत्रन ।

क्रान्तिका लागि मात्र हैन, देशको अखण्डता जोगाउन पनि संसारमा लाखौं मानिस मारिएका छन् । अब्राहम लिंकनका पालामा हजारौं अमेरिकी मारिए तर उनीहरूले दक्षिण अमेरिकी राज्य चोइटिन दिएनन् । यही राष्ट्रप्रेमले लिंकनलाई पूज्य बनायो । एउटा मात्र राम्रो कुरा देखिँदा छनौटमा कठिन हुन्छ । उत्तिक्कै राम्रा सिद्धान्त र भावनाबीच टक्कर हुन्छ । सिद्धान्तको आधारमा सत्य नभई, सत्यको आधारमा सिद्धान्त हेरिनुपर्छ । बंगलादेश, पाकिस्तान, भुटान देखाएर राजनीतिक परिवर्तनको वकालत गर्नु भनेको आफ्नो कमजोरी लुकाउनु हो । अरूले भनेको बाटोमा अहिलेसम्म श्रीलंका हिँडेको भए के हुन्थ्यो ? आजभन्दा ६२ वर्षअघि राष्ट्रसंघमा भाषण गरेर काश्मिरीको आत्मनिर्णयको अधिकार स्वीकार्ने नेहरूको संकल्प हावामा हानेको बन्दुकभन्दा माथि उठ्न सकेन । काश्मिरमा स्वतन्त्रता चाहनेहरू अहिले पनि शिकार भइरहेका छन् । 

राजनीतिमा एक एक जोड्दा दुई नभएर एघार हुन्छ भन्ने दृष्टान्त बन्यो । यी सवै संयोगको एउटै निश्कर्ष हो– बलवान मानिस नभएर समय हुन्छ । हलहली बढेको बर्खे झारले पिपलको बिरुवा छेकिदिँदा पिपल हराएको भ्रम पर्ने गरेपनि झार सुकेपछि पिपल जस्ताको तस्तै रहेजस्तै सत्यमा लागेको भ्रमको बादल फाट्दै गएपछि राजनीतिक भ्रम पनि चिरिँदै गएका छन् । 

तीर्थाटनमा आएकी एउटी महिलासंग घरजम गर्न पदीय गरिमा र मर्यादासम्म दाउमा लाउन पछि नपर्ने रणबहादुर शाहले विरासतको रोलक्रम नै तहसनहस् बनाइदिए । ‘राष्ट्रपिता’ भनिएका राजा त्रिभुवन त आफ्नै धर्तीमा तिरंगा फर्फराएको झण्डावाल गाडी चढेर प्रवास गए । सत्तामा हुञ्जेल गोलचक्करमा फस्ने, त्यहाँबाट झरेपछि जाँडको धङधङेले नछोडेको जँड्याहाजस्तो भएर जीवन गुजार्ने थुप्रै नेता भेटिन्छन् । यसैको परिणाम चटकमा मुलुक सिंगापुर बनाउनेदेखि लिएर स्याटेलाइटबाट बिजुली बत्ती बाल्नेहरू समेत देखा परे । कृष्णलाल अधिकारी मकैको खेती पुस्तक लेखेको अभियोगमा मारिए । कृष्णलाल मारिएपनि उनको लेखनी सत्यबाट डगमगाएको छैन । मकैको खेती पुस्तकको भूमिकामा भनिएको छ– ....सरकारले आफ्ना देशका कुकुरहरूभन्दा विदेशी कुकुरहरूको बढ्ता मान गर्छ तर चोर–डाँकाहरूबाट हाम्रो रक्षा गर्ने बखत गद्दामा सुत्ने विदेशी कुकुरहरू काम लाग्दैनन् । स्वदेशी कुकुरहरू नै काम लाग्छन् ।’ 

राजनीतिलाई त्रिकालदर्शी आँखीझ्यालबाट हेर्नेहरू महामानव बनेका छन् । राजनीतिलाई व्यापार र जागिर ठान्नेहरूको बर्दी दलालबाट माथि उठ्न सकेको छैन । जसले आफूले आपैंmलाई शासन गर्न सक्दैन, त्यसले गरेको शासन गलत हुन्छ । भाषण, आश्वासन, ठगी नभएर सम्पूर्ण जनताको व्यवस्थापकीय जिम्मेवारी नै राज्यको अपरिवर्तनीय सिद्धान्त हो । 

संसारको कुनै मानिस सतप्रतिशत ठीक र सतप्रतिशत गलत हुँदैन । यदि शंकालु नजरले हेरियो भने आफ्नै बाउलाई पनि ढेडू देखिन्छ रे ! तथ्य वस्तुनिष्ठ हुन्छ तर सत्य जहाँ गए पनि एउटै हुन्छ । सूर्य निश्चित समयमा उदाउँछ, अस्ताउँछ भनेर मान्नु एउटा मान्यता हो । साँचो अर्थमा सूर्य न कहिल्यै उदाउँछ, न अस्ताउँछ । एकातिर रहेका बेला अर्कातिर केही घण्टा अनुपस्थित हुने मात्र हो । घोडा जतिसुकै पाइनदार भए पनि जोत्न त सिङ नभएको पुँडे गोरु नै काम लाग्छ नि !


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.664/-

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top