​छोरा रोज्ने कि सौता ?


Friday, 9 Feb, 2018 2:04 PM

– यमुना अर्याल काफ्ले

भर्खर स्नातक तह दोस्रो वर्ष अध्ययन गर्दै थिइन् छिमेकी मामाले बिहेको कुरा ल्याए । स्नातक सकाएर सिधै लोकसेवा लडी अधिकृतमा नाम निकाल्ने धोका सँगालेकी पवित्रा खत्री (नाम परिवर्तन) को सपनामा एक्कासि औँसीको कालरात्रि छाइदियो जतिबेला बुबाआमाले बिहेको निधो गरिसकेका थिए । नाइँनास्ती गर्दा पनि जित हुने कुनै उपाय देखिएन । केटो सरकारी जागिरे भन्नासाथ बुबाआमाले अरू पारिवारिक पृष्ठभूमि कोट्याउने आँट गरेनन् । न त केटाको आनिबानी, उसको व्यवहार, आचरणबारेमै खोजीनीति गर्ने जरुरत देखियो । 

०५८ साल मंसिर दोस्रो साता धुमधामसँग काठमाडौंको एक पार्टीप्यालेसबाट पवित्रा बेहुली बनेर अन्मिइन् । आफ्नै खुट्टामा उभिएर केही गर्नुपर्छ भन्ने सोचले अध्ययनमा कटिबद्ध पवित्राको सुरुवाती वैवाहिक जीवन निकै सुखी, खुशी र रसिलो बन्दै थियो । श्रीमान्् सरकारी जागिरे त्यसमा पनि अधिकृत, आफू पनि अर्को वर्ष स्नातक सकाएर अधिकृतको तयारी गर्ने सुरसारमा– दुवैको एउटै लाइन भएकोमा हौसिएकी थिइन् । 
दुई वर्ष बच्चा नजन्माउने सोच थियो तर श्रीमान्ले बिहेको दुई÷चार महिनापछि बच्चा जन्माउन दबाब दिन थाले । ‘तिमीले किन जागिर खानुप¥यो ? आफ्नै घर छ काठमाडौंमा, दाजुभाइ छैनन्, अंश लगाउँदा पछि के होला भन्नु पर्दैन, दिदीको बिहे भइसक्यो, बुबाआमा र हामी दुई जना त हौँ नि † मेरो जागिर सोखका लागि भन्दा पनि हुन्छ, महिनामा ४० हजार घरभाडा आउँछ तिमीले मरिमरी पढेर नाम निकाली अधिकृत नै भयौ भने पनि कति नै कमाउँछ्यौ ? त्यो पैसाले के गर्ने ? कसका लागि कमाउने ? अभाव भयो भने दुःख गर्ने हो, तिमीलाई यही घर स्वर्ग छ भने किन दुःख गर्न मरिमेट्छौ ? बेलैमा सन्तान जन्माउने, हुर्काउने त्यतातिर पो सोच्नुपर्छ’.... यस्ता अनगिन्ती कुराको चाङ श्रीमान्ले धाराप्रवाह सुनाउँदा पवित्रा अवाक भइन्, रच्छ्यानमा मिल्काएको फोहोरसँग आफ्नो तुलना गरिन् । ‘भात पकाउनकै लागि, जुठा भाँडा माझ्नकै लागि त मेरी आमा पनि छिन् नि केही गरौँला भनेर यत्रो पढेकी हुँ । क नपढेकी मेरी आमा र म मा के फरक भयो त ? भात पकाउनकै लागि स्नातक पढेकी हुँ मैले ?’ धिक्कार जिन्दगी..... निरास बन्न थालिन् । 

‘आफू त पहाडको गरिब परिवारकी छोरी, कति दुःख गरेर बाआमाले पढाए, भविष्यमा केही गरांैला, कसैसँग हात थाप्न नपरोस् भन्ने अपेक्षा थियो, श्रीमान् सरकारी अधिकृत भएपछि आफूलाई पूरा सपोर्ट होला भन्ने सोच थियो ।’ 

के सोच्थँे मैले...के भयो अहिले भनेजस्तै भयो । पवित्राको इच्छामाथि सीधै बज्रपात बर्सियो, ‘श्रीमान्सामु न आँशु झरे न त दिल खुशी भयो । एक किसिमले मरेकै जुनी भयो भन्दा पनि हुन्छ’ पवित्राले गला अवरुद्ध पार्दै भनिन् । सरकारी अधिकृत हुने त सपना मात्रै भयो स्नातकसम्म पनि पूरा गर्न पाइनन् श्रीमान्का कारण । 

०५९ सालको चैतमा पवित्राले छोरी जन्माइन् । परिवारमा लक्ष्मीको बास भयो भन्दै निकै खुशियाली गरियो । सबै जना छोरीको आगमनमा निकै खुशी देखिए, पवित्राले सोचिन् ‘छोरी जन्माएकी भनेर केही नराम्रो गर्लान् कि भन्ने सोचेको सबैजना खुशी भए, सोच त आधुनिक नै रहेछ’ गद्गद् भइन् । मलाई जागिर खानु पर्दैन भन्ने श्रीमान् पनि यिनै छोरीका लागि हामीले गर्ने हो, राम्रो शिक्षा, संस्कार  दिनुपर्छ भन्दै निकै खुशी भए । दिनहरू बित्दै गए, छोरी हुर्कंदै गइन्, एक सन्तानभन्दा नजन्माउने भन्दै श्रीमान्ले निकै आश्वस्त बनाउँथे । घरीघरी पवित्रा सोच्थिन् केटा मान्छेको मन त हो कतिबेला फेरिन्छ के थाहा ? एउटा छोरा नभइ हुँदैन भने त्यो बेलामा के गर्ने ? उता पवित्राका श्रीमान्ले अर्को सन्तान नजन्माउने भन्दै छोरी तीन वर्षकी भएपछि स्थायी बन्ध्याकरण गर्न कर गरिरहे । 

श्रीमान् कार्यालयको कामले विदेश हान्निए, पवित्राले त्यही मौकामा परिवार नियोजन गरेको साविती दिइन्, श्रीमान् ढुक्क भए । छोरी हुर्कंदै गइन्, पवित्रा विस्तारै फुर्सदिली हुन थालिन्, बाँकी रहेको स्नातक तहको पढाइ सकाइन्, स्नातकोत्तर पनि राजनीतिशास्त्रमा सकाइन् । सरकारी जागिर खाने इच्छा भने अधुरै रह्यो । ‘अब त उमेर पनि गइसक्यो, पहिलाजस्तो आत्मविश्वास आउँदैन, जिन्दगीको अपूरो सपना त्यही एउटा सधैँभरि खड्किने भयो । मेरो साटो छोरीलाई अधिकृत बनाउँछु’ चित्त बुझाउँथिन् । छोरीको ६ वर्षको जन्मदिन मनाएपछि भने छोरी भनेर मरिहत्ते गर्ने बाबाको आचरणमा परिवर्तन आउन थाल्यो, एक्कासि मुटुको टुक्राजस्तै ठानेर माया गर्ने छोरीलाई हेयभावले हेर्न थाले । छोरी देख्यो कि अर्कै व्यवहार देखाउन थाले, आमा–छोरीप्रति नै उनको शैली विगतभन्दा फरक देखिन थाल्यो । कुनै दिन जाँड–रक्सी नखाने श्रीमान् मात्तिएर आउन थाले, एक घण्टा ढिलो हुँदा पनि घरमा जानकारी गराउने व्यक्ति हप्तादिनसम्म कार्यालयको काम छ भन्दै हराउन थाले । श्रीमतीसँग झर्कोफर्को गर्न थाले, बाआमासँग विनाकारण चिढिन थाले ।

एक दिन पवित्राले बाध्य भएर मुख खोलिन्, ‘तपाईं किन यस्तो व्यवहार देखाउनुहुन्छ ? बूढा भएका बाआमाले के भन्लान् ? छिमेकी–आफन्तले के भन्लान् ? भर्खर सात वर्षमा पाइला टेकेकी यो अवोध छोरीले तपाईंबाट कस्तो पाठ सिक्ली ? छोरीको राम्रो शिक्षा र संस्कार सिकाउनुपर्छ भन्ने हिजोको तपाईं र आजको तपाईंमा किन यस्तो फरक ?’ पवित्राको कुरा एक टकले सुनेका श्रीमान् राता आँखा फर्काएर जवाफ दिन थाले । ‘केका लागि सम्पत्ति जोगाउने ? कसका लागि जोगाउने ? भोलि यत्रो दुःख गरेर कमाएको सम्पत्ति खाने को छ ? अहिले यो छोरी सात वर्षमा लागि, अलि ठूली हुन्छे, यसको बैंस आउँछ, बैंसको उन्मादमा यो पोइल जान्छे अनि यो सम्पत्ति कसले खान्छ र कसका लागि जोगाउने’......
सिंगो आकाश बर्सिएर आफ्नो मुटुमा धक्का दिएजस्तै भयो पवित्रालाई, हिजो आफूलाई एउटी छोरी भए अर्को सन्तान चाहिँदैन भनेर परिवार नियोजन गर्न लगाउने भलादमी श्रीमान्लाई सात वर्षपछि आएर छोराको भूत चढ्यो ।

पवित्राले फेरि सोधिन्, ‘तपाईंलाई छोरा नै चाहिने हो ? मैले पहिले नै त्यत्रो बिन्ती गर्दा किन जबर्जस्ती परिवार नियोजन गर्न बाध्य पार्नुभयो ? लोग्ने मान्छेको द्वैध चरित्रबारे सुने÷देखेको भएरै पटक–पटक के गरौँ भनेर सोधेकै हो, अब यो बेलामा आएर छोरा पाइदिनुपर्ने ? हिजो बोलेका कुरामा अलिकति प्रायःश्चित लाग्दैन ? पदको इज्जत लाग्दैन ? भोलि समाजले के भन्ला भन्ने लाग्दैन ? राजधानीमा बसेको, सरकारी जागिर खाएको शिक्षित मान्छेको थुइक्क बुद्धि ? तपाईं आफू छोरा भएर बाबुआमाको सम्पत्तिमा दाइँ गर्नुबाहेक के गर्नुभयो खै ? परिवार नियोजन गर्न लगाउने तपाईं, अहिले आएर छोरा चाहिन्छ भन्दै मनलाग्दी बोल्दै हिँड्ने पनि तपाईं ? कहाँका डाक्टरले सिकाए तपाईंलाई एकपटक परिवारनियोजन गरिसकेपछि फेरि बच्चा जन्माउन सकिन्छ भनेर ? कि आफंै डाक्टर बनेर यी कुरा बोल्दै हुनुहुन्छ ?’ श्रीमान् केही बोलेनन् ‘मलाई छोरा चाहिन्छ अर्को बिहे गरूँ कि अप्रेसन गरेको उल्टाउन मिल्छ रे उल्टाउने ? जे गरेर हुन्छ छोरा चाहिन्छ .....।’ 

पवित्रा एक÷दुई महिनासम्म त डिप्रेसनको सिकार भइन्, केही सोच्न सकिनन् ‘सौता व्यहोर्नुभन्दा एकपटक चिकित्सकको सल्लाह लिन बेस ठानेर परामर्शमा लागँे, आफन्तलाई परिवार नियोजन गरेको भनिसकेकी छु.’.. विगत कोट्याइन् । उनको कुरा सुन्नासाथ डाक्टरले, खै तपाईंको श्रीमान्लाई बोलाउनू भने तर श्रीमान् कहाँ श्रीमतीको साथ लागेर अस्पताल जान्थे र ! उहाँ अफिस जानुभएको छ भन्दै टार्थिन् पवित्रा । दुईपटक पत्थरीको अप्रेसन, पहिलो बच्चा अप्रेसन गरेर जन्माएको, पाठेघरमा घाउ देखिएकाले दुई वर्षअघि पाठेघरको अप्रेसन गरिसकेको मान्छे फेरि बच्चा जन्माउने दबाब सामना गर्दै छ, एउटी महिलाका लागि योभन्दा बढी पीडा के होला ? 

अन्ततः ०७४ सालको कात्तिक दोस्रो साता बानेश्वरको सिभिल अस्पतालमा उनै पवित्राले दोस्रो सन्तानको रूपमा छोरा जन्माइन् । उनको स्याहारसुसार छोरीले गर्दै थिइन्, श्रीमान् देखिएका थिएनन् । बूढीआमा र छोरीले पवित्रा र बच्चाको हेरचाह गरेका थिए । श्रीमान् खै त ? पवित्राले रुञ्चे अनुहारमा भन्थिन्, ‘विदेशको तालिममा गएका छन् ।’ वरपरका सबै बिरामी कुरुवा पवित्रालाई नै हेर्थे, बूढी आमैहरू सोध्थे ‘नानी, तपाईंलाई हेरचाह गर्ने यी फुच्ची बहिनी हुन् ?’ पवित्रा लाजले भुतुक्क हुन्थिन्, र विस्तारै जवाफमा ‘बहिनी होइन छोरी हो’ भन्थिन् । छोरी यति ठूली भइसकेपछि किन बच्चा जन्माको त ? जन्माउने नै भएपछि ५÷६ वर्षको अन्तरमा जन्माको भए हुन्थ्यो, सँगसँगै हुर्कन्थे, अब त बहिनी तपाईंका छोरा र छोरीको त पुस्तान्तरण नै हुन्छ । पवित्रासँग जवाफ थिएन, भित्रभित्रै धिक्कार्थिन् श्रीमान्लाई पापी, अधर्मी यो बेलामा मलाई यस्तो भोग्नुपर्ने ? जन्माउनु नै पर्ने भएपछि बेलैमा जन्माएर उम्किसक्थँे ..... पवित्रालाई भित्रभित्रै ऐठन हुन्थ्यो । अप्रेसन गरेर बच्चा जन्माएका कारण ४ दिनको उनको अस्पताल बसाइ साँच्चिकै पीडादायी भयो अरू कारणले भन्दा पनि प्रश्न सोध्नेलाई दिएका जवाफका कारण । 


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.725/-

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top