​रक्सीमा डुबीडुबी सिर्जनाको रस


Sunday, 28 Jan, 2018 2:54 PM

  • राजेन्द्र स्थापित

वादे पे वह ऐतबार नहीं करते,
हम जिक्र मोहब्बत सरे–बाजार नहीं करते ।
डरता है दिल उनकी रुसवाइ से,
और वह सोचता है, हम उनसे प्यार नहीं करते ।

इस दिलको किसीके आहटकी आस रहती
है, निगाहको किसी सुरतकी प्यास रहती है
तेरे बिना जिन्दगीमें कोइ कमी तो नहीं, फिर
भी तेरे बिना जिन्दगी उदास रहती है ।

यी दुई गजल मिर्जा गालिबका हुन् । उर्दू र फारसी भाषाका महान् शायर । उर्दूका त सर्वकालीन शायर । प्रेम, विरह, दर्शन र रहस्यवादमाथि कलम चलाउँथे । वास्तविक नाउँ मिर्जा असदुल्लाह बेग खाँ हो । पुर्खा तुर्क । सेल्जुक वंशको शासन पतनपछि मिर्जा कोकान वेग खाँले उज्बेकिस्तान छाडे । लाहोर, जयपुर हुँदै आगरा पुगे । त्यसबखत भारतमा मुगल वंशका राजा अहमद साहको शासन थियो । मिर्जा कोकानका छोरा मिर्जा अब्दुल्लाहले काश्मिरी युवती इज्जत उल–निसा बेगमसित बिहे गरे । मिर्जा गालिब उनीहरुकै पुत्र हुन्, जसको बिहे १३ वर्षकै उमेरमा उमराव बेगमसँग भयो । सात सन्तानको बाबु बने तर सबैको मृत्यु बाल्यकालमै भयो । गालिबको निधन ७२ वर्षको उमेरमा सन् १८६९ मा दिल्लीमा भयो । 

गालिब आफैं गजल थिए । पिउने मामिलामा उनलाई कसैले सक्दैनथ्यो । रक्सी त पिउँथे नै रक्सी पिउने मदिरालय र पिलाउने ‘शाकी’ का खास ‘दिवाना’ थिए । मौका मिल्नेबित्तिकै मदिरालय छिरिहाल्थे । जीवनमा ‘रक्सी’ जति ठूलो कुनै कमजोरी थिएन । रक्सीको ‘गुलाम’ बन्दै गएपछि यस व्यवहारको निन्दा गर्दै मिल्ने साथीले एकदिन प्रश्न गरे, ‘तिमी यो खराब लतमा किन फस्यौ ? किन रक्सी पिएको पियै गर्छौ ?’

गालिबले उल्टै प्रश्न गरे, ‘किन, के भयो ? यसलाई नराम्रो मान्नुपर्ने के छ र ?’

साथीले रक्सी सेवनबाट हुने एक–एक खराबी बताइदिए । मदिरा सेवन मुस्लिम धर्म सम्प्रदायको अनुशासन उल्लंघन हो भनी सम्झाए । कुरा सुनेर गालिब मुसुमुसु हाँसे । साथीचाहिँले मदिरा ‘हराम’ हो भन्ने कुरालाई पुष्टि गर्ने क्रममा भनेका थिए कि ‘खुदा (भगवान) ले पनि रक्स्याहाको नमाज स्वीकार्दैन ।’ गालिबले हाँस्दै जवाफ दिए, ‘जनाब (श्रीमान), मनुष्यको निम्ति यो कम सन्तोषको विषय हैन कि ऊसित पिउन रक्सी छ । यति भएपछि उसलाई अरुथोकको चाहना राख्न आवश्यक नै हुँदैन ।’

सन् १८५७ मा भारतमा पहिलोपटक इष्टइण्डिया कम्पनीको शासनविरुद्ध सशस्त्र विद्रोह भयो । १० मेमा मेरठबाट शुरु भएको विद्रोहको आगो कानपुर, बरेली, झाँसी, दिल्ली, अवधलगायत स्थानसम्म फैलियो । यसै विद्रोहबाट भारतमा इष्ट इण्डिया कम्पनीको शासन अन्त्य भई बेलायतले प्रत्यक्ष शासन गर्न थालेको हो । भारतीयहरु यो विद्रोहलाई ‘गदर’ भन्ने गर्छन् । 

गदरलगत्तै एकजना ब्रिटिश अधिकृतले गालिबलाई आफ्नो कार्यालयमा बोलाए । गालिबलाई अलिकति डर पनि लाग्यो कि उपस्थित हुने जनाउ दिनुको मतलब के होला ? यो त्यस्तो बखत हो, मुगल दरबारसित सम्बन्ध राख्ने जो कोहीलाई ब्रिटिश सरकार शंकाको दृष्टिले हेथ्र्यो । उनलाई लाग्यो के केही गल्ती भयो र ? ब्रिटिश अधिकृतहरु शंकाले हेर्न थाले । फाँसी दिइने त होइन ? जेल पठाउने तयारी त हैन ? आदि । यसको बाबजुद उपस्थित हुने जनाउको उल्लंघन गर्न पनि सक्दैनथे, गालिब । डराइडराइकनै गए । उनलाई देख्नेबित्तिकै ब्रिटिश अधिकृतले तलदेखि माथिसम्म घुरेर हेरे । त्यसपछि अगाडि बस्न भने । गालिब कुर्ता लगाउँथे । अंग्रेज अधिकृतलाई गालिबको लुगा लगाइ कस्तो कस्तो लाग्यो । र, सोधी हाले, ‘गालिब साहब, पहिला यो बताउनुस् कि तपाईं मुसलमान हो ?’

गालिबलाई प्रश्न अजीब लाग्यो । अंग्रेजले थाहा पाउनुपर्ने कि नाउँबाटै कुन व्यक्तिको धर्म सम्प्रदाय के हो भन्ने ? त्यसैले ठट्यौली पारामा उत्तर दिए, ‘आधा ।’

जवाफ सुनेर अंग्रेज एकछिन अकमकिए । फेरि सोधे, ‘तपाईंको भनाइ के हो ? बुझिनँ ।’

गालिबले तुरुन्त जवाफ फर्काए, ‘म सिर्फ आधा मुसलमान हुँ किनभने म रक्सी मात्र पिउँछु, सुँगुरको मासु खान्न ।’

अंग्रेज अधिकृत प्रसन्न भए । अनि बताए कि गालिबले ब्रिटेनकी महारानी भिक्टोरियाको तारिफ गर्दै जुन शायरी लेखेका थिए, त्यसलाई अंग्रेज अधिकृतहरुले सराहना गरेका छन् । गालिब ‘ज्यान बचे तो लाखों पाए’ भन्दै खुशी भएर घर फर्के । 


तनाव दिने टाउको

भारत स्वतन्त्र भएको दिन अगस्त १५ (सन् १९४७) मै पण्डित जवाहरलाल नेहरु प्रधानमन्त्री बने । त्यसबेलासम्म पनि राष्ट्राध्यक्ष जर्ज (षष्टम) नै थिए । पाँच महिनापछि बल्ल सन् १९५० को जनवरी २६ मा भारत गणतन्त्र बन्यो । राजेन्द्रप्रसाद प्रथम राष्ट्रपति बने । नेहरुको निधन प्रधानमन्त्रीकै रुपमा सन् १९६४ को मे २७ मा भयो । 

एकपटक नेहरु कास्मिरमा बिदा मनाउन गए । त्यहाँका शेख अब्दुल्लाह, छोरी इन्दिरा गान्धी, मियाँ इफ्तिखारुद्दिन तथा अन्य केहीसँग गुलमर्गमा एकदिन पूरै घुमे । साँझ फर्कने तयारी गरे । नेहरु र शेख अब्दुल्लाहले घोडा चढी फर्कने तय भयो । इन्दिरा भने पैदलै जाने भइन् । मियाँले पनि घोडा चढे तर उनी घोडा चढ्न जान्दैनथे । त्यसैले नेहरु र शेख अब्दुल्लाह टाढा पुगिसक्दा पनि मियाँ जहाँको त्यहीं रहे । घोडामाथि नियन्त्रण जमाउन कोसिस गरिरहे । एकछिनपछि घोडाले मियाँलाई जमिनमा पछारिदियो । त्यतिञ्जेलमा पण्डित नेहरु र शेख अब्दुल्लाह धेरै अगाडि पुगिसकेका थिए । दुवैले फर्केर हेर्दा मियाँलाई कतै देखेनन् । घोडा मोडेर फर्किए । इन्दिरा गान्धी र अन्य केही व्यक्ति मियाँलाई सहारा दिएर हिँडाइरहेका थिए । नेहरुले के भयो भनी सोधे । मियाँ घोडाबाट खसेको र टाउकोमा चोट लागेको जवाफ पाए । नेहरुले मियाँको टाउको छोएर हेरे । चोट मामुली थियो । अनि गिज्याउँदै भने, ‘ओह, यो त साह्रै नराम्रो भयो । यही (टाउको) त हो तपाईंको सबैभन्दा कमजोर अंग ।’ नेहरुको परिहास सुनेर सबै गलल्ल हाँसे । 
 

ठालुहरुका कुरै ठूला


सन् १९५५ को शिशिर मौसममा नेहरु सोभियत संघ जाँदा उराल नदीमाथि बनेको पुल हेर्न गए । साथमा इन्दिरा गान्धी र भारतीय राजदूत केपिएस मेनन पनि थिए । पाहुनाको साथमा थिए सोभियत संघका प्रथम विदेश उपमन्त्री भ्यासिली कुज्नेत्सोभ । नेहरुले यात्राको आनन्द उठाए । पुलको पश्चिमी छेउबाट बढे । पुलपारि केही स्थानमा धुवाँ उडाइरहेको कारखाना देखे, जबकि वारि भवन, सिनेमा हल, क्लब र नाट्यशाला थियो । त्यो स्थान विकसित र सम्पन्न जस्तो देखिन्थ्यो । नेहरुले किन यस्तो योजना बनाइएको होला भनी सोच्न थाले । यत्तिकैमा कुज्नेत्सोभले नेहरुको हात समातेर भने ‘अब हामी पुल तरेर पूर्वीछेउमा आइपुग्यौं ।’ साथै नेहरुलाई छक्क पार्ने उद्देश्यले यो पनि भनिदिए कि ‘प्रधानमन्त्री महाशय, के तपाईंलाई थाहा छ ? हामी युरोप पार गरेर एशियातर्फ आइपुग्यौं भन्ने ?’

कुरा सुनेर नेहरु हाँसे । त्यो पुलले युरोप र एशियालाई जोड्थ्यो । उनले जवाफ दिए, ‘हो, मैले थाहा पाइसकें कि हामी युरोप हुँदै एशिया आइपुग्यौं । यो कुरो कसैले बताउनै पर्दैन । स्पष्ट देखिरहेको छु, एकदम स्पष्ट ।’

‘स्पष्ट ?’ सोभियत मन्त्री छक्क परे । नेहरुले के संकेत गर्न खोज्दै छन् भन्ने चाल पाउनै सकेनन् । इन्दिरा गान्धी र राजदूत मेनन पनि जिज्ञासापूर्वक नेहरुको मुख ताक्न थाले ।’

नेहरुले भने, ‘सम्पूर्ण कारखाना पूर्वतर्फ छन्, होइन ? नदीको एशियातर्फको किनारमा ?’

‘हजुर, हो ।’

‘र, म पश्चिमी किनारतर्फ के देख्दैछु ? ठुल्ठूला घर, सुन्दर पार्क । सबका सब युरोपतिरको किनारमा ।’

‘ओह...!’ कुत्जेनोत्सोभ बर्बराए । 

‘यसमा एउटा सन्देश लुकेको छ । तपाईंहरु (रुसी कम्युनिष्टहरु) पनि यो कुरो चाहनुहुँदो रहेछ कि एशियाली मिहिनेत गरुन् अनि युरोपेलीले त्यसबाट मज्जा लुटुन् ।’ पण्डित नेहरुले मुसुमुसु हाँस्दै भनाइ अन्त्य गरे । 

नेहरुको कुरो सुनेर कुत्जेनेत्सोभ नाजवाफ बने । इन्दिरा र मेननको अनुहारमा प्रसन्नता झल्कियो ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउपालिका ,मैनापोखरीमा नयां शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैकको कार्यालय  संख्या ५३…

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक

Public Notice
Top