ओलीलाई ब्यांकमा भेट्दा देखिएको आत्मविश्वास


Saturday, 20 Jan, 2018 1:17 PM

  • विष्णु रिजाल

नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको राजधानी ब्यांकक पुग्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा कुनै समस्या देखिएन । नेपालमा उहाँको स्वास्थ्य नियमित हेरिरहनुभएका डा. यादव भट्ट र दिब्यासिंह शाह साथै हुनुहुन्छ । केही थप परीक्षण र आरामका लागि ब्यांककमै रहनुभएका ओलीलाई आइतबार बिहान भेट्दा कुनै तनाव देखिँदैनथ्यो । कुराकानीको सुरुमै आफूलाई कतिले मरे हुन्थ्यो भनेर धुप हाले पनि स्वास्थ्यमा कुनै समस्या नदेखिएको बताउँदै उहाँले त्यस्ता केही प्रसंग पनि सुनाउनुभयो ।

कुनै एक राति दुई बजे पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले डराईडराई फोन गरेर ‘हेलो हेलो’ मात्रै भनिरहँदा ओलीले सोध्नुभएछ, ‘यति राति फोन गरेर किन हेलो हेलो गर्नुहुन्छ ? भन्नुहोस् न !’ श्रेष्ठले ‘होइन, कमरेड नै बोलिरहनुभएको छ ? कहाँ हुनुहुन्छ ?’ भनेपछि उहाँले उत्तर दिनुभएछ, ‘राति दुई बजे कहाँ हुन्छ मान्छे ? म बेडमा छु नि † कसैले श्रेष्ठलाई फोन गरेर ओलीलाई हृदयाघात भई शिक्षण अस्पताल लगिएको कुरा सुनाएको रहेछ । त्यसपछि फोन आउने क्रम रातभर चलेछ । कस्तो संयोग, यही बेला संखुवासभाका एकजना गाउँपालिका अध्यक्ष खड्ग कटवालको निधन भएको समाचारमा कुनै एक अनलाइनले ओलीको तस्बिर राख्न भ्याएको छ ।

सामान्यतः केपी ओलीलाई हतार हुँदैन । बाहिर भेट्न आउनेहरूको भीड भए पनि भेटिरहेको मानिसलाई उठेर जाऊ भन्ने उहाँको विशेषता छैन । यही लक्षण राजनीतिमा पनि देखा परेको छ । उहाँको नेतृत्वमा बनेको गठबन्धनले करिब दुई तिहाई मत ल्याएको छ, सरकार बन्ने निश्चित छ, राष्ट्रपति पनि आफ्नै पार्टीकी पूर्वउपाध्यक्ष हुनुहुन्छ, सारा जनमत आफूसँग छ, प्रधानमन्त्री हुने पनि उहाँ नै हो भन्ने निश्चित छ । तर, ओलीले खास कुनै हतार गर्नुभएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवासँग केही सानातिना सम्झौता गरेको भए यो काम छिटो हुन सक्थ्यो भन्नेहरू पनि नभएका होइनन् । तर, ओलीलाई लागेको छ– हेरौँ न कति रोक्दा रहेछन् । ब्यांककमा भन्नुभयो, ‘जनमत एकातिर छ, सरकार अर्कोतिर चलाइरहेका छन् । कति रोक्न सक्दा रहेछन्, जनताले हेरिरहेका छन् ।’ 

०७२ वैशाखतिर केपी ओलीलाई प्रधानमन्त्री बन्ने अवसर आएको थियो । ०७१ माघ ७ गतेभित्र संविधान बनाउने कांग्रेस र एमालेको प्रयासमा माओवादी अवरोध बनेपछि ती दुई दलको गठबन्धन टुटाएर एमाले र माओवादीको सरकार बनाउने प्रस्ताव अघि सारिएको थियो ।

त्यतिबेलासम्म ओली प्रधानमन्त्री बन्नुभएको थिएन । नेतामा एक पटक प्रधानमन्त्री बन्न पाए हुन्थ्यो भन्ने चाहना पक्कै हुन्छ । तर, ओलीले तत्कालको नाफा हेर्नुभएन । उहाँले त्यो प्रस्ताव स्विकारेको भए प्रधानमन्त्री त सजिलै बन्नुहुन्थ्यो तर संविधान बन्ने थिएन, सम्पूर्ण प्रक्रिया बिथोलिन्थ्यो । यही कुरा बुझेर उहाँले बरु १६ बुँदे सहमति निर्माण गर्न भूमिका खेल्नुभयो र संविधान जारी भएपछि प्रधानमन्त्री बन्ने बाटो रोज्नुभयो । त्यही विन्दुदेखि छिमेकीले उहाँलाई कुन रूपमा हेरे र राजनीति के–कसरी अघि बढ्यो, छर्लंगै छ ।

यसपटक केपी ओलीले धेरै अर्थमा चमत्कार गर्नुभएको छ । सामान्य सहकार्य समेत हुन नसकेर सरकारबाट बाहिरिएको माओवादीलाई पार्टी एकतामा ल्याउनु चानचुने कुरा होइन । एमालेका धेरै नेता–कार्यकर्तालाई डर लागेको थियो– यसपटकको चुनावमा पार्टीले नराम्रो पराजय भोग्छ कि ! जनाधारका हिसावले एमाले कत्ति पनि कमजोर थिएन । तर, सत्तारुढ कांग्रेस र माओवादी मिलेमा एमालेको हालत अहिलेको कांग्रेसको जस्तो नहोला भन्न सकिँदैनथ्यो । आन्तरिक छलफलहरूमा नेता–कार्यकर्ताबीच यस विषयले राम्रै स्थान पाएको थियो । स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टी भए पनि बाँकी दुई ठूला दल मिल्ने हो भने यस पटकको निर्वाचनमा त्यस्तो अवस्था नआउन सक्थ्यो ।

अझ समानुपातिकमा आफ्नो मत सुरक्षित भए पनि प्रत्यक्षतर्फ आशा गरेअनुरूप सिट नआउने निश्चित नै थियो । यस्तो बेला ओलीले पूर्णरूपमा गोपनीयता कायम राख्दै माओवादीलाई विश्वासमा लैजाने र एकै पटक गठबन्धन मात्र होइन, एकताकै घोषणा गर्ने जुन परिस्थिति निर्माण गर्नुभयो, धेरैका लागि त्यो आश्चर्यजनक थियो । त्यही कदमले एमाले र माओवादीका नेता–कार्यकर्तालाई मात्र होइन, आमजनतालाई नै उत्साहित बनाएको छ र परिणाम वामपन्थीका पक्षमा आएको छ । यसको श्रेय ओलीलाई नै जान्छ । 

जनताले ओलीबाट स्थिरता र समृद्धिको ठूलो अपेक्षा गरेका छन् । कुनै पनि सरकार पाँच वर्ष टिक्न नसकेको विडम्बनापूर्ण स्थिति ओलीबाट अन्त्य हुनेछ भन्ने भरोसामा तटस्थ मतदाताले पनि एमाले वा माओवादीलाई मत हालेका छन् । तीन पटक कांग्रेसले बहुमत ल्याउँदा पनि पाँच वर्ष सरकार टिकाउन सकेन भनेर वामपन्थी नेता–कार्यकर्ताले चुनावमा प्रमुख नारा बनाएका थिए । त्यो कुनै आरोप थिएन । र, जनताले पत्याएका छन् । छ–छ महिनामा प्रधानमन्त्री परिवर्तन हुने, त्यसको असर मन्त्रालयका सचिव, सहसचिवदेखि खरिदार, मुखियासम्म पर्ने, त्यही कारणले बजेट कार्यान्वयन नहुने विडम्बनापूर्ण अवस्थाको अन्त्य नै आजको आवश्यकता हो । कम्तीमा ओलीबाट त्यो आवश्यकता पूर्ति होस् भन्ने जनताको चाहना छ । 

नौ महिना प्रधानमन्त्री हुँदा ओलीले जनतालाई विकासका केही नौला सपनाहरू देखाउनुभएको छ । नेपालले नगरी नहुने तर सुन्दा पनि जिब्रो टोक्नुपर्ने खालका कुरा गरेका कारण ओलीले यी काम गर्न सक्नु होला त भन्ने सकारात्मक आशंका छ । त्यसलाई पूरा गर्न पनि ओलीले पाँच वर्ष बेरोकटोक सरकार चलाउनुपर्छ ।

यसै पनि नयाँ सरकार बन्नका लागि फागुन १५ सम्म पर्खिनुपर्ने देखिएको छ । सरकारको योजना र निर्वाचन आयोगको अकर्मण्यताका कारण राष्ट्रियसभाको निर्वाचनलाई सकेसम्म पर तन्काइएको छ । माघ २५ गते राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि मात्रै प्रतिनिधिसभाको परिणाम घोषणा हुने भएकाले त्यसका लागि फागुन महिना लगाउने योजना छ । स्थानीय, प्रादेशिक र प्रतिनिधिसभाको चुनाव भइसकेपछि राष्ट्रियसभाको निर्वाचनमा भाग लिने दल दर्ताका लागि १५ दिनको समय छुट्याउने निर्वाचन आयोगको रबैया कसैलाई मन परेको छैन । ओली आफैँले सहानुभूतिपूर्वक प्रमुख निर्वाचन आयुक्त नियुक्त गरेका डा. अयोधीप्रसाद यादवले यतिसम्म गर्लान् भन्ने उहाँलाई नै लागेको थिएन । ‘जतिसम्म सक्छन्, तन्काए हुन्छ । सक्छन् भने परिणाम नै घोषणा नगरे पनि हुन्छ’, शान्त मुद्रामा ब्यांककको आफू बस्ने होटलको २४ औँ तलामा ओलीले भन्नुभयो, ‘तर जनता सबभन्दा महान् छन्, जनताले यो कुरा हेरिरहेका छन् ।’ 

हुन पनि ओलीको अहिलेको उचाइ जनताले नै निर्धारण गरिदिएका हुन् । यो निर्वाचनमा उहाँले नेतृत्व गरेको पार्टीले हार व्यहोरेको भए पक्कै पनि यो उचाइ निर्माण हुने थिएन । अनि प्रधानमन्त्री भएको बेला नाकाबन्दीका विरुद्ध र विकासका पक्षमा उहाँले लिएको अडानलाई जनताले स्वीकार नगरेको भए उहाँले यति लोकप्रियता पनि पाउन सक्नुहुने थिएन ।

समग्रमा ओलीमा गजबको आत्मविश्वास देखिन्छ । जनता साथमा छन्, पार्टी एकढिक्का छ, माओवादीसँग एकता हुँदै छ, राष्ट्रले आशा गरेको छ, विदेशीले चासोपूर्वक हेरेका छन् । यस्तो अवस्थामा ओलीमा हतारो होइन, दृढता र धैर्यता देख्न पाइन्छ । सरकार बनाउन त समय लाग्ने भयो भन्ने जिज्ञासामा भन्नुभयो, ‘ठीकै छ, मैले पनि केही दिन आराम गर्न पाउँछु ।’ अब ओलीले आराम गर्न पाउनु हुने छैन । राष्ट्रको नेतृत्व लिएर के कस्तो काम गर्नुहुन्छ भन्ने जिज्ञासाको व्यवहारबाट उत्तर दिनुपर्ने बेलामा आराम कहाँ मिल्ला र ? 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top