​पढ्ने रामायण, मच्चाउने महाभारत ?


Monday, 8 Jan, 2018 9:59 AM

  • संकेत कोइराला

एउटा गाउँमा बुद्धिचालका प्रकाण्ड खेलाडी रहेछन् । यति निपुण कि गाउँदेखि शहर बजारसम्म प्रसिद्धि फैलिएको । पारंगत ठानेर घमण्डले चुर उनले आफ्नो घरको ढोकामा समेत ‘बुद्धिचाल बादशाह’ झुण्ड्याएका थिए ।

एकदिन त्यो गाउँमा अर्को गाउँका कुनै अपरिचित बटुवा एउटा लंगडो गधा डो¥याउँदै आइपुगे । अँध्यारो हुनै लाग्दा ती बटुवा बुद्धिचाल बादशाहको ढोका ढक्ढक्याउँदै पुगेर भनेछन् ‘मलाई तपाईंसँग एकपटक बुद्धिचाल खेल्ने धोको छ । कृपा गरेर अन्तिम इच्छा पूरा गरिदिनुस् ।’ उनले आफू जो पायो त्यहीसँग नखेल्ने यदि खेल्ने नै भए कुनै वस्तु या पैसाको बाजी राख्नुपर्ने शर्त तेस्र्याएछन् । बटुवाले आफूसँग बिरामी गधाबाहेक केही नभएको तर बुद्धिचाल खेल्ने ठूलो इच्छा भएकाले गधा बाजी राखेर खेल्ने बताएछन् ।

खेलाडी तयार भए ।  खेल शुरु भयो ।  नभन्दै ५, ७ चाल चल्न नपाई बटुवा हारेर गधा सुम्पी आफ्नो बाटो लागेछन् । यता, बुद्धिचालको खेलाडीले बिरामी गधाको उपचार गरेर ठीक पारी त्यसलाई आफ्नो काममा लगाउन थालेछन् ।

केही दिनपछि ती बटुवा त्यही गाउँ हुँदै फर्किए छन् ।  तिनले फेरि खेल्ने इच्छा व्यक्त गरेछन् । हारेमा सय वटा चाँदीका सिक्का दिने र जिते आफ्नो गधा फिर्ता लिने शर्तमा दुवै जना खेल्न राजी भए । 

यसपटक भने ४, ५ चाल चल्नेबित्तिकै बुद्धिचालका बादशाहको नराम्रो हार भयो । ती बटुवा कुनै साधारण नभई प्रतिभाशाली खेलाडी भएको थाहा पाएपछि गाउँलेले सोधेछन्, ‘यस्तो प्रतिभावान खेलाडी अघिल्लो पटक शर्मनाक पराजय भोग्न किन तयार हुनुभयो ?’ उनले गम्भीर हुँदै जवाफ दिएछन्, ‘पहाडभन्दा ठूलो अर्को पहाड र आकाशभन्दा बाहिर अर्को आकाश हुन्छ । त्यसैले घमण्ड कसैले गर्नुहुँदैन । अघिल्लो पटक म यो गाउँबाट हिँड्ने क्रममा मेरो गधा बिरामी भयो, त्यसैले मैले यसको निःशुल्क उपचार र हेरचाह गराउनका लागि मात्रै यो चाल चलेको थिएँ ।’

चुनावी परिणाम (नेपाली जनताले दिएको नासो) पनि हुबहु यस्तै हो । न यसको अर्थ, न पेटी ठेकेदार, न त कसैलाई दम्भको खस्रे भ्यागुतो बनाउने अभिप्राय । अबको संसारमा शासक हुन्छु भन्ने घमण्ड कसैले पाल्छ भने त्योभन्दा हुस्सु, घामट र अशिष्ट मानिस कोही हुँदैन । अब शासन हैन, समन्वय गरिन्छ । संसारमा ठूलो मानिसको नभएर सुसंस्कृत विचारको पूजा हुन्छ । जेलनेलको ढड्डा पल्टाएर कसैले वरिष्ठताको ताउ लगाउन खोज्छ भने ऊ सबैभन्दा पहिला घरबाटै बहिष्कृत हुन्छ । यही समाजमा एउटा समय थियो– घरमा मुरीका मुरी मसिना धान, लैना गाईभैंसी र धेरै जहान हुनेहरू समाजका वरिष्ठ ठहरिन्थे । अर्को समय आयो– हातमा चुरोट, औंठी, सिको फाइभ घडी, बेलिबटम प्यान्ट र टेपरिकर्डर बोक्नेहरू समाजका हिरो मानिए । यो दृश्य पनि समयलाई धेरै समय मञ्जुर भएन ।

त्यसपछि काठमाडौंमा जग्गा र दाँती मिलेका घर जोड्नेहरू डन ठहरिए । एक दशक यता यी सबै श्रृंखला अन्त्य हुँदै पीआरको भीडमा संसार कुदेको छ । कोही परिवार शिक्षित, सभ्य र समृद्ध उसका आफन्त को, कति विदेशमा छन् ? परिवार सूचना प्रविधि क्षेत्रमा कति मैत्रीपूर्ण छ भन्ने तथ्यले ठूलो अर्थ राख्छ । भात पकाउन नजाने केही फरक पर्दैन तर आइफोन र आइप्याड चलाउने ढंग भएन भने छोरीबुहारीको आलोचना हुन सक्छ । आईटीका सामग्री आधुनिकता सम्पन्नताको मानक भएका छन् । गाई, भैंसी, रोपनीको ठाउँ आइफोन र आइप्याडले लिएको छ । अब कुनै बहादुर या प्रसाद मन्त्री, प्रधानमन्त्री बन्यो भन्ने समाचार चासोको विषय हुन छोड्यो ।

यिनै सञ्चार माध्यम थिए– कुनै देशले भूउपग्रहमा रकेट प्रक्षेपण गरेको हेडलाइन बनाउँथे । अहिले त्यो ठाउँ सफ्टवेयर र एप्सले लिएको छ । सूचना प्रविधिले संसारलाई यसरी जोडिदियो कि घरमा एक्लिने तर संसारसँग जोडिने सूत्र फेला पारिदियो । पुस माघको जाडोमा कार्यकर्तालाई आइसक्रिम बेच्न पठाउने पुरातन कम्युनिष्ट दर्शनमाथि व्यंग्य प्रहार गर्दै सामाजिक सञ्जालहरूले समानताको अनौठो प्रयोग गरिदिए । फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम जुनसुकै प्रयोग गर्नुस् त तिनीहरूले राजादेखि रंकसम्मलाई दिने सुविधा एउटै हो । वास्तवमा साँचो राजनीतिक समाजवादका असली प्रयोगकर्ता यिनीहरू हुन सक्छन् । नेपालमा राजनीति गर्ने मुखियाहरूमध्ये कसैले बुर्जुवाको अन्त्य गर्ने शंखघोष गरे । कोही शोषक, सामन्तविरुद्ध ओर्लिएको नाटक गरे । कसैले बिपीको सपना साकार पार्ने नाममा आफ्नै विपनाको जोहो गरे । सबैलाई समान बनाउने संकल्प फगत नाटक सावित भयो । उनीहरूले मात्र बुझ्ने अमूर्त शब्दावलीले जनतालाई दशकौं कुहिरोको काग बनायो । नेताहरूले व्यापारिक अस्पताल बनाउने संकल्प गर्नुअघि रोगमुक्त स्वस्थ जनताको परिकल्पना गर्न किन सकेनन् ?

गाउँगाउँमा हेलिप्याड र सुपथ औषधिको बन्दोबस्त गर्छु भनेर घोषणापत्रमा लेख्नेहरूले ५० रुपैयाँ किलोमा बोइलर मासु उपलब्ध गराएर जनतालाई मासुभात ख्वाई स्वस्थ बनाउँछु भन्न किन हिच्किचाए ? भरपर्दो सुरक्षा व्यवस्था मिलाउँछु भन्नेहरूले काम र दामको समायोजन गर्नेबित्तिकै कसैले कसैको गोजी काट्नु पर्दैन भन्ने तथ्य किन बिर्सिए ? मोटरबाटो सबै ठाउँ पु¥याइदिने हो भने गाडी किन्न सरकारको मुख ताकेर कोही बस्दैन भनेर अथ्र्याउनु चिनी गुलियो भनेर बर्बराउनु जस्तै हो । राजनीति सेवाको अर्को नाम हो । यो सटर चौबीस घण्टा खुल्ला रहन्छ । अनि सफल नेता त्यो हो, जो आपूm कुटीमा बसेर जनतालाई महलमा राख्ने साहस राख्छ । आपूm महलमा बसेर जनतालाई आकाशमुनिको बास बनाउनु भनेको राजनीति नभएर दलाली हो । नेता साँचो बोल्ने मात्र भइदिए पनि देशका लागि ठूलो गुन लाग्छ । आफ्नो आत्मकथामा महात्मा गान्धी भन्छन्–         

‘खल्तीबाट पैसा चोर्ने, बिंडी पिउने, दुर्गुण सिक्ने बेलामा मेरो उमेर १२, १३ वर्षको थियो होला । तेस्रोचोटि मेरो चोरी मांसाहारी दाजुको सुनको बालाको टुक्रा थियो । उनलाई लगभग २५ रूपैयाँको मामुली कर्जा लागेको थियो । त्यसको भुक्तानीका बारेमा हामी दाजुभाइले सोचिरहेका थियौं । दाजुका हातमा सुनका खँदुवा बाला थिए, त्यसबाट एक तोला झिक्नु ठूलो कुरा थिएन् । बाला काटियो कर्जा तिरियो तर मेरा लागि यो कुरा असह्य भयो । मैले भित्रभित्रै निश्चय गरें कहिल्यै चोरी गर्ने छैन । लाग्यो– यो कुरा पिताजीलाई भन्नुपर्छ । मुख खुलेन । मैले चिठीमा दोष कबुल गर्दै सजाय माग गरें । चिठी दिँदा हात कामेका थिए । उहाँले चिठी पढ्नुभयो । आँखाबाट आँसु झार्नुभयो । चिठी आँसुले भिज्यो । म पनि रोएँ । बुबाको दुःख बुभेंm । यदि चित्रकार हुन्थें भने त्यो चित्र आज राम्रोसँग तयार गर्न सक्थें ।’

कवि धरणीधर कोइरालाको जाग न जागजस्ता कविताले त्यसवेलाका क्रान्तिवीरहरूलाई यसरी जगायो, बन्दुकको नालमाथि विजय पाउन रणमैदानमा ओर्लिए । गोपालप्रसाद रिमालको आमा कविताको भावभूमि त विचित्रैको छ । जुन अहिले पनि आलै छ । राजनीतिक क्रान्ति भलै नहोस्, भानुभक्तले कविताबाटै घुस्याहा डिट्ठा, विचारीहरूको उछित्तो काढे । आफ्नै साथी गजाधर सोतीकी श्रीमतीको असभ्य र अशिष्ट व्यवहारलाई उनले कलमबाट बाहिर ल्याएर अरुलाई असभ्य हुनबाट जोगाए । संसारमा नयाँ भनेको केही हुँदैन । नयाँ भनेको प्रयोगको चलाखी मात्र हो । सम्पत्ति नामको राति गेडी एउटा कलम र कागज भएको एउटा कविले समाजमा यत्रो तरंग ल्याउन सक्छ । चेतनाको छालमा समाजलाई पौड्याउन सक्छ । सत्मार्ग हिँड्नेले एक्काइसौं शताब्दी मात्र होइन पाषाण युगबाट पनि उत्तिकै मार्गदर्शन पाउन सक्छ । सच्चा मानिसले कमिलाबाट पनि मेहनत सिक्न सक्छ । त्यो मेहनत सार्थक हुँदा मह जम्मा गर्न मौरीको बाटो हेर्नु पर्दैन, झारपात नै काफी हुन्छ । त्यसैले भनिन्छ– भाले नबासेर बिहान हुन रोकिँदैन । 

लवाई खवाई र कागजी चिर्कटोमा पाएको प्रमाणपत्र हेर्ने हो भने हाम्रा नेताहरू एक से एक छन् । घरमा ¥याकभरि किताव पनि राख्छन् । मेला लाग्दा हाँप र झाँप गर्दै हजारौंको किताव किन्छन् । तर उदेकलाग्दो यिनीहरू पढ्छन्चाहिँ के ? पढ्ने सुसंस्कारयुक्त मानिसको गतिमति यस्तै हुन्छ ? उनीहरूको जीवनमा कितावी ज्ञानको थोरै तत्वबोधले प्रवेश पाएको देखिँदैन । रामायण पढ्छन् अनि मच्चाउँछन् महाभारत । हातमा गीता लिन्छन्, बाइबलको रोडम्याप तय गर्र्छन् । बाटो र माटोको अन्तर भेउ पाइन्न भने त्यस्तो ज्ञानको के अर्थ ? कुनै शास्त्रले पनि जन्ती र मलामी हिँड्ने बाटो अलग अलग कल्पना गरेको छैन । भनिन्छ– गुरुले ज्ञान बाँड्छन् अनि शिक्षकले सूचना । सायद गुरुको ज्ञान हैन, शिक्षकको सूचना हाम्रा लागि मूलमन्त्र बन्दै गएको छ । पढेर यस्तै घामट हुने हो भने संसारबाट कागजको कारखाना बन्द गरिदिए केही फरक पर्दैन । दूध खाएर सर्पले भैंm विष निकाल्ने हो भने त्यो ज्ञानको अर्थ छैन । बरु ज्ञान भनेको त घाँस खाएर दूध दिने गाईभैंसीजस्तो पो हुनुपर्छ ।

नेताहरूले साँच्चै पढ्ेकै हुन भने या पढ्नकै लागि कितावको ठेलीले दराज भरेका हुन् भने लेखनाथको काल महिमाले किन पेट पोल्दैन ? भानुभक्तको प्रश्नोत्तरले केही गरौं भने अभिलाषा किन जाग्दैन ? धरणीधरको जागरण कविताको गद्यधाराले किन अल्छी पखाल्दैन ? माधव घिमिरेको राष्ट्र निर्माता कविता देश केक बनाउने विक्षिप्त मानसिकतामा किन परिवर्तन ल्याउँदैन ? भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’को व्यंग्यले किन कसैको ह्याकुलोमा प्रहार गर्दैन ? जर्ज बर्नाड शाले भनेका छन्– पढ्नुपर्छ भन्ने सबैलाई थाहा छ । तर के पढ्नुपर्छ भन्ने ज्ञान छैन । सम्भवतः नेताहरू यही अभिव्यक्तिको शिकार भए । नपढेको पुस्तक, नहिँडेको बाटो, प्यास नमेटिने पानीको के स्वाद हुन्छ र जिन्दगीमा ? जतिसुकै ठूलो समुद्रमा पौडिए पनि मानिसको तिर्खा मेट्ने तागत त त्यही तिरतिरे धाराले राख्छ । समुद्रको नुनिलो पानीले तिर्खा बढाउँछ । घटाउँदैन ।  जतिसुकै राम्रो र आकर्षक भए पनि मानिसको अनुहार २० वर्षसम्म मानसपटलमा रहला । तर विचार २ हजार वर्षसम्म अमर रहन्छ । त्यसैले नेताहरूले जनताको घरमा हैन, मनमा बास बस्ने चेष्टा गर्नुपर्छ । 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top