​माओले जुन कुराबाट मोडेनन् मन


Sunday, 31 Dec, 2017 9:12 AM

त्यो बेला चिनियाँ जनता निकै गरिब थिए  । गाउँले त झनै दरिद्र  । लगाउन एकसरो लुगासम्म हुन्नथ्यो । काम गर्न जाँदा जमिन्दार परिवारले दिई पठाएको फाटेको र लगाइसकेको पुरानो लुगा लगाउन विवश थिए  । माओ पनि गाउँले नै, त्यसैले दश ठाउँ टालेको लुगा लगाउन मन पराउँथे । गाउँलेले अरु बेला नसके पनि चाडपर्वको बेला वर्षमा एकपटक नयाँ लुगा लगाउँथे तर माओ त्यसो पनि गर्दैनथे । प्रायः उनले लगाउने कमिज र पाइन्ट ठाउँ–ठाउँमा टालिएको हुन्थ्यो । जुत्ताको त झन् के कुरा ! सधैं छालाको चप्पल लगाउँथे । विदेशी कूटनीतिज्ञ तथा मित्रहरूसँग भेटघाट गर्नका लागि भनेर बरु एक जोर बुट जतन गरी राखेका थिए  ।

यसबीच सन् १९४९ मा चीन स्वतन्त्र भयो । अक्टोबर १ को दिन बेइजिबस्थित तियानमेन चोकमा चीन जनवादी गणतन्त्र बनेको घोषणा कार्यक्रम राखियो । घोषणा माओ स्वयंले गर्ने तय भयो । अंगरक्षकहरू दौडादौड गर्न थाले किनभने दशौं लाख चिनियाँ उपस्थित हुने सभालाई संबोधन गर्न जाने माओसँग ठाउँठाउँमा टालेको कमिज, पाइन्ट र ज्याकेट तथा ऊन उप्किसकेको र छाला खिइसकेको १० वर्ष पुरानो त्यही ‘सेरेमोनियल शू’ (जुत्ता) एक जोरबाहेक थिएन  । समारोहमा माओ त्यही जुत्ता लगाएर उपस्थित भए  । सुट एक जोर भने उनले थाहै नपाउने गरी अंगरक्षकहरूले मिलेर सिलाउन दिएका थिए  । जोड जबर्जस्ती त्यही सुट लगाउन दिए  । माओले यसपछि सन् १९६२ सम्म अर्को कुनै सुट सिलाउन दिएनन् । 

माओ कुनाकाप्चामा पुगे । गाउँ, सहर मात्र होइन, देश–विदेश पनि घुमे तर गाउँले पारालाई छाड्नै सकेनन् । खासगरी सन् १९६२ अघिसम्म नुहाउने साबुन प्रयोग गर्दैनथे, लुगा धुने साबुनबाटै काम चलाउँथे । दाँत टुथब्रस होइन, औंलाले सफा गर्थे  । कहिलेकाहीं करकापमा ब्रस प्रयोग गर्थे, ब्रस पूरै खिइसकेको हुन्थ्यो तर पनि त्यसैबाट दाँत माझ्दै बस्थे । पिरो खानेकुराको अम्मली थिए  । हरियो खुर्सानी सिंगै निल्ने बानी  । क्रान्तिकाल मात्र होइन, पछि पनि धेरैले लुगा र जुत्ता उपहार ल्याइदिन्थे । तर, उपहारमा पाएको नयाँ लुगा र जुत्ता लगाउँदैनथे, अंगरक्षक वा आसेपासेलाई दिन्थे र फाटिसकेपछि, खिइसकेपछि र रंग उडिसकेपछि मर्मत गरी बल्ल आफू लगाउँथे । एकपटक एकजना विदेशीले यसो गर्नुको कारण सोध्दा मुसुमुसु हाँस्दै जवाफ फर्काए,  ‘पहिलो कुरो नयाँ लगाउने शौख छैन  । अर्को कुरा, नयाँ लुगा होस् वा जुत्ता लगाउँदा कस्सिएको हुन्छ, जुत्ता त झनै लगाउन मुस्किल  । हिँडडुल गर्ने अप्ठेरो । अरुले लगाइसकेको जुत्ता खुकुलो भइसकेको हुन्छ, लगाउन पनि सजिलो । अरुले लगाइसकेको जुत्ता लगाउनुमा मज्जा नै बेग्लै! मलाई यस्तै मनपर्छ  ।’

चिनियाँ खानेकुरा विश्वमै प्रसिद्ध छ  । प्रमुख कारण परिकार धेरै हुनु पनि हो । तीमध्येको एउटा परिकार हो, ‘होंगसाओरो  ।’ ब्राउन सससित खाने बंगुरको मासुको एउटा परिकार  । प्रायः चिनियाँले मन पराएको परिकार  । होंगसाओरो भनेपछि माओ ज्यानै फाल्थे । होंगसाओरोप्रति उनको विश्वास उल्लेखित कुरोले सहज अनुमान गर्न सकिन्छ  । चिनियाँ लालसेना च्याब काइसेकको सरकारी सेनासँग लड्दै थियो । त्यसबेला सरकारी सेना पराजित भएर पछि हट्दै थियो । माओले लालसेनाका कमाण्डरहरूलाई आदेश दिए कि यस्तो बेला छापामारहरूलाई लगातार दुई–तीन दिन हांगसाओरो ख्वाइदिनू । उनको आशय थियो, होंगसाओरो खाएपछि छापामारमा थप ऊर्जा र उत्साह पैदा हुन्छ र सरकारी सेनालाई सहजै पराजित गर्न सकिन्छ  । माओ त्यसबेला बेइजिबमा थिए  । होंगसाओरो चाख्न नपाएको धेरै दिन भइसकेको थियो । त्यसैले अंगरक्षकलाई बोलाएर भने, ‘आज बेलुकीको भोजनमा होंगसाओरो पकाउन भान्छेलाई भनिदेऊ  ।’ 

त्यसबेलासम्ममा माओको जीवनमा चौथो पत्नी चियाब चिबको प्रवेश भइसकेको थियो । माओमाथि प्रभाव जमाइसकेकी उनी लोग्नेलाई के ख्वाउने, के नख्वाउने निर्णय गर्थिन् । लोग्नेले होंगसाओरो खाने इच्छा गरेको थाहा पाएपछि अंगरक्षकलाई भनिन्, ‘भो, होंगसाओरो तयार गर्न नलगाऊ  ।’ अंगरक्षक ख्वान यान्चीलाई होंगसाओरोप्रतिको माओको कमजोरीबारे पुरापुर ज्ञान थियो । त्यसैले भने, ‘म्याडम, यो माओको विशेष आग्रह हो ।’
याञ्चीले त्यतिमात्रै के भन्न भ्याएका थिए, चियाब क्रुद्ध बनिन् । झपार्दै भनिन्, ‘मसँग सवालजवाफ गर्ने होइन, मैले पर्दैन भनेपछि पर्दैन  । खानेकुरो खान पटक्कै जानेका छैनन् । स्वादिष्ट भए पनि एउटा कुरा ! यसको पाखे (गाउँले) मिजास कहिल्यै सुध्रिने भएन !’ चियाब त्यसबेला अंगरक्षकहरूको पनि प्रमुख थिइन्, त्यसैले अंगरक्षक याञ्ची चुप लागे । कोठाबाट बाहिरिए  । खाने समय भयो । टेबुलमा सबैथोक सजियो । माओले होंगसाओरो नदेखेपछि सोधे, ‘खोइ ?’ अंगरक्षक नबोलिकन शिर निहु¥याएर उभिइराखे । चियाब माओको कुरो नसुनेझैं गरी कुर्सीबाट उठिन् र अर्को कोठातर्फ लागिन् । माओले अंगरक्षकसँग फेरि सोधे, ‘ल भन, यहाँ अब तिमी र मबाहेक अरु कोही छैन  । होंगसाओरो किन ल्याएनौ? यथार्थ कुरो भन  ।’ 

अंगरक्षक याञ्चीले चियाब चिबले भनेको सबै कुरा सुनाए  । माओ खाना नखाइकनै जुरुक्क उठेर चियाब चिब बसिराखेको कोठामा भए  । अनि जंगिदै भने, ‘हो, म पाखे । गाउँले । किसानको छोरो । अनि तिमी ? शहरी, सभ्य र बुद्धिजीवी  । त्यसैले आइन्दादेखि मसँगै बसेर खान लाज लाग्छ भने भो, नखानू । म एक्लै खान्छु । यसो गर्दा मैले खाने खानेकुराको गन्धसमेत तिमी भएसम्म पुग्दैन  ।’ यति भनी फनक्क फर्केर कोठाबाट बाहिरिए  । त्यो दिन  केही नखाई सुते । हुन पनि यो घटनापछि केही अवसर र अपवादबाहेक लोग्ने–स्वास्नीले कहिल्यै एकसाथ सँगै बसेर खाएनन् । बेइजिब बसाइ शुरु भएपछि महँगो र स्वादिष्ट खान माओलाई कर लाग्यो । तर, उनी यी खाना मन पराउँदैनथे । सधैं त्यही बफाएको बंगुरको मासु खोज्थे । भन्थे, ‘हामीलाई यही संसारमा बाँच्नु छ  । सधैं अरुले ख्वाएको विदेशी खाना खाएर साध्य हुँदैन  । सधैं जे खाएर यहाँसम्म आइपुग्यौं, त्यही खानुपर्छ  ।’

डा. सु ताओ माओका निजी चिकित्सक  । उनले धेरैपटक माओलाई खाना बदल्न सुझाए  । बंगुरको मासु धेरै नखान र अन्य पौष्टिक खाना लिन आग्रह गरे तर माओ सुझाव दिने प्रत्येकपटक कपाल कन्याउँदै ‘नाईं’ मा टाउको हल्लाइ बस्थे । अरु जे सुझाव पनि मान्थे तर खानेकुरो परिवर्तन गर्ने सवालमा कहिल्यै कसैको कुरा सुनेनन् । एकदिन डा. सुकै सामु एक कचौरा भात माओलाई ख्वाउन ल्याइयो । उनका लागि भनेरै पकाएको खानाको स्तर पनि राम्रो थिएन  । माओले कचौराको भात देखाउँदै डा. सुलाई भने, ‘हेर्नुस् चीनका ८० करोड किसान यस्ता कमसल भात खान विवश छन् । सर्वप्रथम सबै जनतालाई हामी असल र गुणस्तरको भात ख्वाउन सकौं  । त्यसपछि तपाईं मकहाँ आउनुस्, खानेकुरा बदल्न सल्लाह दिनुस् । बल्ल त्यसबेला तपाईंको कुरा मान्न तयार हुनेछु ।’ 

यस्तै एकदिन डा. सु पौष्टिक खानेकुरोबारे बखान गर्न थाले । सुन्दासुन्दा वाक्क भइसकेका माओले हातले इशारा गर्दै रोके । अनि आँखा तर्दै भने, ‘यस्ता कुरा गर्न छाड्नुस् । हेर्नुस्, म एक किसानको छोरा, बच्चैदेखि गाउँले जीवन व्यतित गर्दै आएको मान्छे, यसमै रमाउँछु । कृपया, मेरो बानीव्यहोरा बदल्न लगाउने कोशिश नगर्नुस्, म गर्दिनँ पनि  ।’ अर्काे एकपटक त उनले डा. सुलाई सुनाउने अभिप्रायःले अंगरक्षक याञ्चीलाई भने, ‘हेर, हामीले डाक्टरले दिएको सुझाव नकार्न मिल्दैन तर यो पनि बुझी राख कि उनीहरूले दिएको सबै सुझाव लागू गर्न मिल्दैन  । कहिलेकाहीं बहिरो बनेर सुन्दिनुपर्छ  । तर दिएको सुझावको उल्टो भने गर्नुहुँदैन  । यसो ग¥यौं भने हामी सिद्धिन्छौं  ।’


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.725/-

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

सम्माननिय राष्ट्रपति बिद्या देवी भण्डारीको बाहुली बाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई योर पाटर्नर फर प्रोग्रेस् -YOUR PARTNER FOR PROGRESS_ नाराबाट सम्मानित  गरिएको छ…

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ

Public Notice
Top