​संसारभरका रोचक सम्झना


Sunday, 19 Nov, 2017 2:27 PM

  • राजेन्द्र स्थापित


शुद्ध बुद्ध

माओत्सेतुङ पहेँलो नदीको पूर्वी क्षेत्रमा जाँदै थिए । ग्राभेलिङ गरिएको पहाडी बाटो । एक ठाउँ बाटोछेउ ८÷९ वर्षकी बालिका पल्टिराखेको र सँगै ३० वर्ष जतिकी महिला रोइरहेको देखे । मोटरबाट ओर्लेर  नजिक पुगे । बालिकाको निधार छुँदै महिलासँग सोधे, ‘के भयो यिनलाई ?’

‘सञ्चो छैन ।’

‘किन, के भयो ?’ माओले पुनः प्रश्न गरे । 

‘डाक्टरले शंखेकिरा छोएकाले ज्वरो आएको हो भनेको छ तर औषधिले कामै गरेन । ज्वरो घट्नुको साटो झन् बढ्यो । रुँदारुँदा बेहाल भइसकेको छ । आवाजै निस्कन छोडिसक्यो,’ महिलाले रुँदै बताइन् । 

माओले बालिका र महिलाको अनुहार पालैपालो हेरे । साँच्चिकै रुँदारुँदा दुवैको आँखामा आँशु नै सुकिसकेको महसुस गरे । आफ्नो जिप (गाडी) तर्फ हेरे । निजी चिकित्सक नजिक पुगेर माओलाई भने, ‘तपाईं उता बस्नुस्, के भएको रहेछ, म हेर्छु ।’

माओले ज्वरोको कारण छिट्टो पत्ता लगाउन आग्रह गरे । चिकित्सकले स्टेथेस्कोपले बालिकाको छाती जाँचे । डिग्रीले ज्वरो नापे । माओको आँखामा आँशु टल्पलायो । रुञ्चो स्वरमा सोधे, ‘जीवित त छ ?’

चिकित्सकले भने, ‘जीवित छ, सास चलिरहेको छ ।’

माओले याचना गर्दै भने, ‘यसलाई जसरी भए पनि बचाऊ ।’

चिकित्सकले भने, ‘तर औषधि...!’

वाक्य पूरा नहुँदै रुष्ट भएर सोधे, ‘औषधि छैन ?’

चिकित्सकले केवल माओका लागि कुनै पनि बेला आवश्यक हुनसक्छ भनेर सञ्चित गरिराखेको विदेशी कम्पनीको एउटा पेन्सिलिन मात्र छ भनी जवाफ दिए । माओले तत्काल आदेशात्मक स्वरमा भने, ‘तब के हेर्दै बसेको ? जाऊ तुरुन्त लिएर आऊ । त्यो औषधिको आवश्यकता यो बच्चीलाई छ, मलाई हैन ।’

औषधि खाएको एकछिनपछि बालिकाले बिस्तारै आँखा उघार्न थालिन् । अनि म...म.. उच्चारण गर्न थालिन् । छोरीले बोलेको सुनेर महिलाले अश्रुधारा बगाइन् । अनि एक्कासि घुँडा टेकेर माओलाई अभिवादन गर्दै भनिन्, ‘तपाईं बुद्ध हुनुहुन्छ बुद्ध ! जीवन दिने बुद्ध !!
 

मन महान

एकजना अंग्रेजले महात्मा गान्धीलाई पत्र लेखे । त्यसमा गालीबाहेक केही थिएन । गान्धीले पत्र पढिसकेपछि त्यसलाई रद्दीको टोकरीमा फ्याँकिदिए । त्यसमा भएको पिन झिकेर सुरक्षित स्थानमा राखे । गान्धीले कुनै प्रत्युत्तर नदिएपछि अंग्रेज भेट्न गए । गान्धीलाई देख्नेबित्तिकै सोधे, ‘महात्माजी, तपाईंले मेरो पत्र पढ्नुभयो कि भएन ?’

गान्धीले उत्तर दिए, ‘पढें, एकदम ध्यान दिएर पढें ।’

अंग्रेजले फेरि प्रश्न गरे, ‘के सार निकाल्नुभयो त ?’

गान्धीले नम्र भएर जवाफ फर्काए, ‘मैले एउटा पिन निकालें । बस्, उक्त पत्रमा भएको सार यत्ति नै थियो, त्यसलाई ग्रहण गरें । जो सारहीन थियो, त्यसलाई फ्याँकिदिएँ ।’

गान्धी छुवाछुतविरोधी थिए । एकपटक आफ्नै आश्रममा दलित र सवर्ण (एउटै जात) बीच विवाह गराइदिए । यद्यपि त्यसबखत स्वतन्त्रताका लागि संघर्षरत र आन्दोलनको नेतृत्व गरिरहेको पार्टी कांग्रेस दलितहरुको सामाजिक उत्थान हेतु चालिएको गान्धीको यो पहलप्रति असहमति राख्थ्यो । कांग्रेसको धारणा ‘सामाजिक सुधार’ लाई स्वतन्त्रताको आन्दोलनबाट पृथक राख्नुपर्छ भन्ने थियो । यही सोचका कारण भीमराव अम्बेडकर अंग्रेजहरुलाई साथ दिन र गान्धीको प्रखर आलोचक बन्न पुगेका थिए । यहाँसम्म कि अंग्रेजविरुद्धको ‘भारत छोडो आन्दोलन’ ताका भाइसरायको कार्यकारी परिषद्मा सदस्यसमेत बने । 

अम्बेडकर सोच्थे, कांग्रेस पार्टीमा ब्राह्मणवाद हावी छ । दलितवर्गको हितमा छैन । त्यसैले विरोधी बने । पछि जब भारत स्वतन्त्र बन्यो, तब नवगठित मन्त्रिमण्डलमा अम्बेडकरलाई राख्न कांग्रेस, खासगरी जवाहरलाल नेहरु र सरदार बल्लभभाइ पटेल सहमत भएनन् । तर गान्धीले हस्तक्षेप गरी दुवैलाई सम्झाए, ‘स्वतन्त्रता कांग्रेसले होइन, सम्पूर्ण भारतीयले पाएका हुन् । अतः मन्त्रिमण्डलमा सबैभन्दा असल र प्रतिभाशाली व्यक्तित्वहरुलाई राख्नुपर्छ, त्यो व्यक्ति कुनै दल र समुदायकै किन नहोस् ?’ गान्धी कुनै जात, धर्म, समुदायप्रति वैरभाव राख्दैनथे । त्यसैले मन्त्रिमण्डल गठनमा हस्तक्षेप गरे । नतिजा, अम्बेडकरलाई स्वतन्त्र भारतको पहिलो कानुनमन्त्री बनाउन कांग्रेस बाध्य भयो । स्मरणीय छ, उनै अम्बेडकर पछि भारतीय संविधानका प्रमुख वास्तुकार (निर्माता) बने । 
 

बाटो बिराउँदा

एउटी महिला अलेक्ज्याण्डर महानका् क्रुरताको बखान सुनेपछि सधैं दुःखी बन्थिन् । र, भन्थिन्, ‘अरुको रगत बगाएर थुपारेको सम्पत्तिबाट कहिल्यै कसैले सुख र शान्ति प्राप्त गर्न सक्दैन । कसैले यो कुरो अलेक्ज्याण्डरलाई किन बताउँदैन ?’

एकदिन अलेक्ज्याण्डरले एउटा नगरलाई चारै दिशाबाट घेरे । भोक लागेपछि एउटा घरको ढोका ढक्ढक्याउन पुगे । उक्त घर उनै वृद्धाको थियो । उनैले ढोका खोलिन् । सेनाको भेषमा उभिएका व्यक्तिलाई देखेपछि तिनी अलेक्ज्याण्डर हुन् भन्ने ठानिन् । अलेक्ज्याण्डरले भने, ‘आमा, म भोको छु । केही खानेकुरा दिनुस् ।’

कुरो सुनेपछि महिला भित्र पसिन् । कपडाले छोपेर थाल बोकी निस्किन् । अलेक्ज्याण्डरले थाल लिएपछि छोपी राखेको कपडा हटाए । थालमा खोनुकरा थिएन । सुनका गहना मात्र । यो देखेपछि अलेक्ज्याण्डरले भने, ‘आमा, मैले त खानेकुरा मागेको थिएँ । के यी गहनाले मेरो भोक मेटाउन सक्छ ?’

महिलाले नडराइकन जवाफ फर्काइन्, ‘यदि तिम्रो भोक दाल–भात, रोटीले मेटिन्थ्यो भने आफ्नो घर र देश छाडेर यहाँ सम्पत्ति लुट्न किन आउँथ्यौ ? मेरो जीवनभरिको कमाइ यही सुनका गहना हुन्, ठीक छ लिएर जाऊ तर मेरो नगरमाथि कब्जा नगर, लुटपाट नगर ।’

वृद्धाको कुरा सुनेर अलेक्ज्याण्डर एकछिन मौन बसे । बोल्नै सकेनन् । एकछिनपछि आफूलाई सम्हालेर वृद्धाको खुट्टा समाउन पुगे । माफी मागे । अलेक्ज्याण्डरको मन पग्लेको देखेर वृद्धा पनि प्रसन्न भइन् । अलेक्ज्याण्डरलाई भित्र लगेर खाना ख्वाइन् । अलेक्ज्याण्डर उक्त नगरमाथि विजय प्राप्त नगरीकनै फर्के । 
 

धराप धर्म

प्रायः धर्माधिकारी राजनीतिबाट टाढै बस्न रुचाउँछन् तर दक्षिण अफ्रिकाका इसाइ धर्माधिकारी बिशप डेस्मण्ड टुटु राष्ट्रवादी हुन् । नेल्सन मण्डेलाको नेतृत्वमा सम्पन्न रंगभेद विरोधी, समता र न्यायको लडाइँमा होमिए । नतिजा सन् १९८४ मा नोबेल शान्ति पुरस्कार र सन् २००५ मा गान्धी शान्ति पुरस्कारसमेत हात पारे । 

टुटु सन् १९८४ को नोभेम्बरमा अमेरिका पुगे । न्यूयोर्कको सबै चर्चमा आयोजना गरिएको प्रार्थना सभामा भाग लिए । उनको प्रवचन सुन्न हजारौं–लाखौं भेला भए । त्यसबेला दक्षिण अफ्रिकामा गोराहरुको सरकार थियो । उपस्थित सबैको एउटै जिज्ञासा हुन्थ्यो– आफ्नो मुलुकको अवस्थाबारे उनको भनाइ के छ ? के इतिहासको ज्ञाता हुन् ? दक्षिण अफ्रिकामा गोराहरु कसरी पसे ? अश्वेतहरु गुलाम कसरी बने ? आदि, इत्यादि । 

टुटुले सबैको प्रश्न ध्यानपूर्वक सुने । हात हल्लाइकन शान्त बसिदिन सबैलाई आग्रह गरे । अनि भने, ‘जब इसाइ मिशनरी पहिलोपटक अफ्रिका आए, उनीहरुसँग बाइबल थियो भने हामीसित भूमि ।’ उपस्थित जन मन्त्रमुग्ध भई सुनिरहेका थिए । टुटुले फेरि भने, ‘उनीहरुले हामीलाई भने आउनु, इश्वरको आराधना गर्नू । हामीले ईश्वरको प्रार्थना गर्न आँखा चिम्ल्यौं तर आँखा खोल्दा पासा पल्टिसकेको थियो ।’

स्रोताहरुले कुरा बुझेनन् । वाल्ल परे । बिशप टुटले आफ्नो भनाइलाई सरल भाषामा स्पष्ट पार्दै भने, ‘अर्थात् हाम्रो हातमा उनीहरुको बाइबल र उनीहरुको हातमा हाम्रो भूमि ।’ रंगभेद र न्याय, समानताको विषयमा स्पष्ट धारणा सुनेपछि सबैले ताली बजाए । टुटु यतिखेर ८७ वर्ष पुगेका छन् ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top